पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा हुन लागेको सम्भावित पुनरागमन रोक्न वैधानिक व्यवस्था गर्नुपर्ने विषयले नेकपा एमालेको पार्टी बैठकमै प्रवेश पाएको छ।
विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने विषय महासचिव शंकर पोखरेल स्वयंले अघि सारेका छन्।
बुधबार एमालेको सचिवालयको ५३ औं बैठकमा महासचिव पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले राम्रो नगर्ने भन्दै विषय प्रवेश गराए।
सचिवालयका एक सदस्यका अनुसार त्यसपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले महासचिवलाई ‘तपाईंले के भन्न खोज्नु भएको प्रष्ट बुझिएन, अलि ब्याख्या गर्नुस् न’ भने।
पाण्डेले प्रश्न गरेपछि पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा प्रवेश गर्दा त्यसले गणतन्त्रमा गर्ने हानिको व्याख्या मात्र गरेनन् विधानमै व्यवस्था गरेर त्यसलाई रोक्नुपर्ने प्रस्ताव पनि अघि सारे।
सचिवालय बैठकमा महासचिव पोखरेलले भनेका विषय उद्धृत गर्दै ती सदस्यले भने, ‘अहिले गणतन्त्रप्रति सबै तिरबाट प्रहार भइरहेको छ। गणतन्त्र अफ्ठयारोमा परिरहेको छ। यहीबेला पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको छ। यसले गणतन्त्रलाई झनै कमजोर पार्छ।’
केही बेर ब्याख्या गरेपछि पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई एमाले राजनीतिमा आउन रोक्नु पर्ने बताएका थिए।
‘पछिल्लो समय गणतन्त्र र एमालेमाथि प्रहार बढिरहेको कुरा झिकेर महासचिव कमरेडले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कनबाट रोक्नुपर्ने प्रस्ताव गर्नुभयो,’ एमाले सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने, ‘उहाँले यो विषय उठाएपछि त्यसमा केहीबेर छलफल भयो।’
पोखरेलले यस्तो प्रस्ताव अघि सारेपछि उपाध्यक्ष पाण्डेले बिमति प्रकट गरेका थिए।
‘यसरी विधानमै निषेधकारी व्यवस्था गरेर कसैलाई पनि वर्जित गर्न मिल्दैन,’ उपाध्यक्ष पाण्डेले बैठकमा भनेका उद्धृत गर्दै एक सदस्यले सेतोपाटीसँग भने, ‘राष्ट्रपति पनि राजनीतिक पद हो। उसले राजनीतिमा आउन नमिल्ने भनेर संविधान वा कानुनमा कहिँ लेखेको छैन। अनि, यो विषय गणतन्त्र कमजोर हुने कुरासँग कसरी जोडिन्छ?’
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने वा नफर्कने कुराले गणतन्त्र कमजोर वा बलियो नहुने पाण्डेको मत थियो। पाण्डेले बोलेपछि अर्का उपाध्यक्ष युवराज ज्ञवालीसहित नेताहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायतले पनि व्यक्तिलाई छेक्ने गरी विधानमा व्यवस्था गर्ने विषय उचित नहुने भनेर बोलेका थिए।
तर पोखरेलको प्रस्तावको पक्षमा कोही पनि बोलेन।
सचिवालयका ती सदस्यका अनुसार उनीहरुबाहेकका अरु सदस्यहरु यस विषयमा मौन बसेका थिए। ‘यो विषयमा धेरै जसो त मौन बसे, जतिले बोल्नुभयो, सबैले महासचिवले अघि सारेको विषयको विपक्षमै बोल्नुभयो,’ उनले भने।
महासचिव पोखरेलसहितका नेताहरुको संवाद सुनिरहेका पार्टी अध्यक्ष ओलीले अन्तिममा आफूले बोलेर यो विषय टुंग्याएका थिए।
महासचिव पोखलेरलाई अफ्ठ्यारो परेपछि र विद्या भण्डारीलाई राजनीतिमा आउन रोक्नुपर्छ भन्ने पक्षमा सचिवालयमा कोही पनि नउभिएपछि अध्यक्ष ओलीले यो विषयलाई ‘सेफ ल्याण्डिङ’ गराएको ती सदस्यले बताए।
‘अध्यक्षले अन्तिममा व्यक्तिलाई लक्ष्य गरेर विधानमै लेख्ने कुरा त आवश्यक हुन्न होला भनपछि यो विषय अघि बढेन,’ सचिवालयका ती सदस्यले भने।
तर ती सदस्यले महासचिवले यो प्रस्ताव पार्टी अध्यक्षसँगै सल्लाह गरेर वा उनकै चाहानामा ल्याएको हुन सक्ने बताए।
‘पार्टी विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई रोक्ने विषय महासचिवले अध्यक्षसँगकै सल्लाह अनुसार अगाडि सारेको हुनुपर्छ। उहाँहरुबीच सल्लाह नभइ यो कुरा आयो होला भन्ने हामीलाई लाग्दैन,’ उनले भने।
सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विधान संशोधन प्रस्ताव तयारी गर्ने जिम्मेवारी दिएको छ। ओली समूहका नेताहरु विधानमार्फत नै भण्डारीलाई रोक्ने कसरतमा लागेको चर्चा चलेका बेला ओलीका निकट सहयोगी महासचिव पोखरेलले सचिवालयमा यो कुरा उठाएका हुन्।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्। यसैका लागि लामो समयदेखि देश दौडाहा गरेर नेता–कार्यकर्ता भेटिरहेकी उनले असार ३ गते साँझ बालुवाटार पुगेर अध्यक्ष ओलीलाई भेटेकी थिइन्। त्यसक्रममा भण्डारीले आफू एमालेको राजनीतिमा फर्कने र नेतृत्वका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेकी थिइन्।
जबाफमा ओलीले एक कार्यकाल आफै अध्यक्ष बन्ने तयारीमा रहेको भन्दै भण्डारीलाई पार्टीमा फर्कने कुरा नसोच्न भनेका थिए।
ओलीपक्षका नेताहरु पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको बताइरहेका छन् भने भण्डारी पक्षका नेताहरु सदस्यता नवीकरण भइसकेको दाबी गरिरहेका छन्।
ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार काठमाडौं जिल्ला कमिटीले नवीकरणको सिफारिश गरेको धेरै भइसकेको छ। तर, केन्द्रले 'होल्ड' गरेर राखिदिएको छ।
संगठन विभागका सचिव माधव ढुंगेलले भण्डारीले चाहनसाथ पार्टी सदस्यता नवीकरण भइहाल्ने भन्दै सेतोपाटीसँग भनेका छन्। ‘उहाँको सदस्यता नवीकरण हुने प्रक्रियामा रहेको छ।’
ओलीनिकट स्रोतका अनुसार ओली र पार्टीमा उनको विकल्प खोज्न नचाहने टिमले भण्डारीको एमाले पुनरागमन रोक्नकै लागि पार्टी सदस्यता रोकेको हो।
ओली पक्षले भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया नै गलत भएको पनि दाबी गरेको छ।
‘पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको सदस्यता केन्द्रमै नवीकरण हुने हो,’ ओली निकट एक नेताले भने ‘मेरो सदस्यता सधैं केन्द्रबाटै नवीकरण हुन्छ। विद्या भण्डारीले पार्टी सदस्यता त्याग्दा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले आफ्नो सदस्यता नवीकरण गर्न केन्द्रीय कार्यालयमै भन्ने हो। तर, प्रक्रिया विपरित उहाँले सदस्यता नै नभएको जिल्ला काठमाडौंबाट नवीकरण सिफारिश गर्न लगाउनुभएको छ। यो नै गलत छ। त्यसैले उहाँको सदस्यता होल्ड भएको हो।’
ओली पक्षले भने जसरी पनि भण्डारीको पुनरागमन रोक्ने नीति अख्तियार गर्ने तयारी गरिरहेको ती केन्द्रीय नेताले सेतोपाटीलाई बताएका थिए। यही सन्दर्भमा महासचिव पोखरेलले सचिवालय बैठकमै यो विषय प्रवेश गराएर ती नेताको भनाइलाई पुष्टि गरेका छन्।
यो पनिः
विद्या भण्डारीले ओलीलाई सोझै भनिन्– म एमालेको सक्रिय राजनीतिमा फर्कन्छु, तपाईं सहयोग गर्नुस्
'अध्यक्ष ओली विद्या भण्डारीसँग फायर भएको स्थिति छ'