अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी अभियानसँग जोडिएको सात वर्षमा आफूले स्थापना गरेको रोटरी क्लब भादगाउँले नेपालको कर्णाली प्रदेशमै पहिलो रोटरी क्लब सुर्खेत स्थापना गर्न सफल भएका थियौं।
रोटरीमा नयाँ क्लब स्थापनापश्चात नयाँ क्लब र क्लबको संस्थापक अध्यक्षको पद तथा कार्यभार प्रतिस्थापन गर्ने परम्परा अनुसार २०७८ भदौ ६ गते ‘चार्टर प्रिजेन्टेसन सेरोमनी’ सुर्खेत जिल्लाको वीरेन्द्रननगरमा राखिएको थियो।
वर्षाको समय त्यसमा पनि यो वर्ष अति नै वर्षा भएकाले बाटोहरू धेरै बिग्रेको थियो। मुख्यत: चितवनको गैंडाकोटदेखिको बुटवल खण्डमा बाटो चौडा गर्ने काम भइरहेको थियो। विभिन्न ठाउँमा गएको पहिरोको कारण अवरूद्ध बाटोबीच हाम्रो ७ जनाको टोली दुइटा कारमा रोटरी क्लब सुर्खेतको ‘चार्टर प्रिजेन्टेसन सेरोमनी’ मा सहभागी हुन एकै दिनमा पुग्ने साहसका साथ बिहान ६ बजे काठमाडौंबाट सुर्खेतको लागि गुड्यौं।
वर्षाको कारण कठिन बनेको बाटो र धेरै ठाउँको पहिरोबाट अवरूद्ध सडकको पट्यारलाग्दो पर्खाइ पार गर्दै हामी राति ११ बजे वीरेन्द्रनगरको एक होटलमा बास बस्न पुग्यौं। रातको ११ बजे हाम्रो विशेष अनुरोधलाई स्वीकार गर्दै होटलका भान्साका कर्मचारीहरूले हामीले ल्याएको भालेको स्पेसल सुपसहित खानाको व्यवस्था गर्नुभयो।
हामी ती कर्मचारीप्रति अति नै आभारी भयौं नै र मिठो खाना र खसी भालेको सुपको अविस्मरणीय स्वादसँगै रातको झण्डै १ बजेको हाराहारीमा थकित टोली निद्रामा पुग्यौं।
५ गते बिहान हामीलाई रोटरी क्लब सुर्खेतको सभापति उपेन्द्र बहादुर खड्का, सचिव प्रकाश शाही, रोटरी क्लब भादगाउँका पूर्वअध्यक्ष तथा सुर्खेत क्लबको सल्लाहकार वशक्ती कुमारीसिंह शाहीलगायत अन्य रोटरीयन साथीहरूले वीरेन्द्रनगरको सुन्दर होटल शुभमा स्वागत गर्नुभयो।
बिहानको नास्ता हामीले सँगै गरे? र भोलि हुने ‘चार्टर प्रिजेन्टेसन सेरोमनी’ कार्यक्रमको तयारीबारे कुराकानी भयो।
सबै साथीहरू हामीलाई न्यानो स्वागत गर्दै आ-आफ्नो जिम्मेवारी पूरा गर्नतिर लाग्नुभयो र हामीले भने केही क्षण आराम गर्ने र सुर्खेतको केही रमाइला ठाउँ घुम्ने योजना बनायौं।
दिउँसोको ११ बजे हामी दैलेख जिल्लास्थित पर्यटनस्थल गुराँसे डाँडाको भ्रमणमा निस्कियौं। वीरेन्द्रनगरबाट करिब ३८ किलोमिटरको यात्रापश्चात् गुराँसे डाँडाको भ्यु टावरमा पुगिने थियो। हामी यात्रामा निस्केको गरिब १५ मिनेटबाटै मुसलधारे पानी पर्न थाल्यो र हामी बाग्लो कुहिरोबाट घेरिन पुग्यौं।
मुसलधारे पानी र बाग्लो कुहिरोबाट निराश हामीलाई गाडी चलाउन पनि गाह्रो भैरहेको थियो।
बाग्लो कुहिरोको कारण भिजिबिलिटी २ मिटर पनि थिएन। गुराँसे डाँडामा वीरेन्द्रनगरको गर्मीबाट थकित र आजित वीरेन्द्रनगरबासी चिसो र रसिलो मौसमको लागि जाने र रमाउने गर्दा रहेछन्।
यो डाँडाको विशेषता भनेको वैशाख जेठमा फुल्ने विभिन्न जातका गुराँसको फूल र यसले दिने सुन्दरता रहेछ।
गुराँसको सुन्दरता जोगाउनको लागि होला ठाउँ-ठाउँमा गुराँस टिप्न निषेध भनेर लेखिएको थियो। गुराँसे डाँडामा भ्यु टावर र पार्क पनि बन्दै रहेछ। उक्त पार्कमा गुराँस र नेपालको राष्ट्रिय चरा डाँफेको मूर्ति राखिएको थियो।
कात्तिक, मंसिरमा भने हिउँसँग खेल्न वीरेन्द्रनगरबासी गुराँसे डाँडा जाने रहेछन्। यसरी यी क्षेत्र वीरेन्द्रनगरबासीको थकाइ मार्ने, माया प्रेम गर्ने र दु:ख सुख साट्ने सुन्दर रमणीय प्राकृतिक छटाको रूपमा स्थापित हुँदै गरेको प्रष्ट देखिन्थ्यो।
थुप्रै रिसोर्ट, होटल, रेष्टुरेन्टहरू पनि खुलेका रहेछ। कालिज फार्महरू, लोकल कुखुराहरू सहितको अर्गानिक नेपाली खाना यहाँको विशेषता रहेछ।
गुराँसे डाँडाबाट कर्णाली प्रदेशको सुर्खेत लगायतका जिल्लाहरूको मनोरम दृश्य र वीरेन्द्रनगरको पूर्ण दृश्य हेर्ने सकिने हुँदा हामी उत्साहका साथ अगाडि बढिरहेका थियौं।
वीरेन्द्रनगरमा २९ डिग्रीको गर्मीबाट निस्केका हामी झण्डै ४५ मिनेटको घुम्तीमय नागबेली सडकको यात्रापश्चात गुराँसे डाँडामा १५ डिग्रीको जाडोमा रमाउन पुगेका थियौं। यही विशेषता हो नेपालको।
एक आधा घन्टाको यात्राभित्र नै हामी धुपभरि गर्मीबाट शरीर काप्ने जाडोमा पुग्न सक्छौं। विश्वको विरलै देशहरूमा पाउने यो प्राकृतिक विविधता र सुन्दरताले नै नेपाललाई आज पनि विश्वसामु जीवन्त राख्न सकेको छ।
हामीलाई गाइड गरिरहनुभएकी भादगाउँ क्बलकी पूर्वअध्यक्ष बसन्ती जीले मिठो र तातो तातो पकाउँदै गरेको सेल गुराँसे डाँडामा पाउने कुरा सुनाउनु भयो।
गुराँसे भ्यु टावरबाट झण्डै ५ किलोमिटर अगाडि गुराँसे डाँडा रहेछ बसन्ती जी भने गुराँसे डाडालाई 'सेल डाँडा' भन्न रुचाउनु हुँदोरहेछ। त्यही सेल डाँडातिर नै हामीलाई धिसारी रहनु भएको थियो। हामी पनि भ्यु टावरबाट अगाडि बढिसकेका थियौं।
उहाँलाई थाहा थियो मलाई सेल अति नै मनपर्ने। मैले पनि मौसमले हामीलाई गुराँसे डाडाबाट कर्णाली प्रदेशको रमणीय दृश्य हेर्न भने यो यात्रामा साथ नदिए पनि कम्तीमा यो झरी, जाडो र कुहिरोबीच तातो-तातो सेल भने खाने मनमनै निश्चय गरेको थिएँ।
नेपालमा प्रकृतिले मिनेट मिनेटमा लुकामारी गरिरहेको हुन्छ। हामी सेल डाँडोमा पुग्दा नपुग्दै कुहिरो र पानी भने हट्दै थियो। सेल डाँडामा गाडी रोक्यौं अन्तत: सूर्य नारायणले हामीलाई केही क्षणको लागि मात्र भने पनि दर्शन दिनुभयो।
चारैतिर कुहिरोले घेरिएको त्यो 'सेल डाँडो'मा आकाशबाट सूर्य नारायणले टर्च लाइटले प्रकाश दिएजस्तै झुल्किएको त्यो सूर्यको प्रकाशप्रति हामी नतमस्तक भयौं। लाग्यो हामीलाई दैलेख जिल्लामा प्रकृतिले स्वागत गरिरहेको छ। त्यसै पनि कर्णालीका जिल्ला धार्मिक ऐतिहासिक दृष्टिले नेपालको लागि अति महत्वपूर्ण जिल्ला हो।
त्यसमा पनि नेपाली भाषा, सभ्यता र आर्यहरूको उद्गमस्थलको रूपमा सिन्जा भ्याली र दैलेख अझ बढी नै महत्वपूर्ण छ। यसरी तातोतातो पकाउँदै पकाउँदाको मिठो सेल र तरकारीको स्वाद, कुहिरोबीचबाट छिरेको सूर्यको किरण, कुहिरोभित्र लुकेका ती कर्णालीका मनोरम दृश्य र हरियालीलाई मनभित्र कैद गर्दै हामी वीरेन्द्रनगर फर्कियौं।
कर्णालीको ती मनोरम पहाडलाई नियाल्न त हामीले बाग्लो कुइरो र पानीको कारण सकेका थिएनौं तर सबै साथीहरूको इच्छा थियो गुराँसेको त्यो भ्यु प्वाइन्टबाट वीरेन्द्रनगरलाई कम्तीमा कैद गर्न पाइयोस्।
हामीले सोचेजस्तै प्रकृतिले हाम्रो कुरालाई स्वीकार गर्दै कुहिरोको त्यो धुम्टो उघारी दिनुभयो। लगभग २ मिनेट कुहिरोको घुम्टो हटेपछि हामीले वीरेन्द्रनगरलाई हतार हतार मोबाइल र मन मष्तिष्कमा कैद गर्न सफल भयौं।
सबै साथीहरू प्रसंग मुद्रामा देखिनुभयो र भगवानले हामीलाई वरदान नै दिएजस्तो महसुुस गर्दै होटल पुग्यौं। फर्किंदा साथीहरूले कालिज फार्मबाट कालिज र ढिडो खाने रहर गर्नुभएको थियो।
तर अन्तत: हामी फेरि अर्को चोटि आउने निर्णय गर्दै कालिज फार्मको टाढैबाट अवलोकन गर्दै कालिजसँग केही फोटो समेत खिचेर होटलमै खाना खाने योजनाको साथ वीरेन्द्रनगरस्थित होटलमा करिब ४ बजे पुग्यौं।