काठमाडौंको धुँवाधुलो, कोलाहलमा व्यस्त दैनिकीलाई थाती राखेर हाम्रो १४ जनाको टिमको योजना बन्यो- बेथानचोक क्याम्पिङ।
हामी कसैलाई पनि बेथानचोक नारायणथानको बारेमा पूर्ण जानकारी भने थिएन। तर बेथानचोकको पर्यटकीय चर्चा भने मैले धेरै पटक सुनेको थिएँ। हाम्रो १४ जनाको टिममा नवराज ढुङ्गाना दाइ ( विश्वास) चाहिँ पहिले पुग्नु भएको रहेछ बेथानचोक, जनयुद्धको समयमा एउटा छामारको रूपमा।
शनिबार बिहान ७ बजे हिँड्ने योजना रहे पनि सम्पूर्ण बन्दोबस्तीका सामानको तयारी गर्दागर्दै लगभग घरबाट बाटो लाग्दा समय भने ९ बजिसकेको थियो।
क्याम्पिङको लागि सम्पूर्ण टेण्टलगायत अन्य आवश्यक सामग्री हामीलाई ग्रान्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनका नाम्ग्या शेर्पा दाईले उपलब्ध गराइदिनुभयो।
भक्तपुरको राधे-राधे भाटभटेनीमा सबै जना जम्मा भएर हामीलाई आवश्यक पर्ने रासन, खाद्यान्न र ड्राइ फुडहरूको किनमेलपछि भक्तपुरबाट लगभग १०:३० बजे हामी अब काभ्रे धुङखर्कको लागि छुट्यौं।
४/५ वटा बाइक र एउटा स्कार्पियो चढेर अघि बढेको हाम्रो यात्रा साँगा, बनेपा, पनौती, पार्टीखर्क हुँदै लगभग दिनको १२:३० बजे हामी ढुङखर्क पुग्यौं।
पनौती पछि सडक प्राय: कच्ची रहेको कारणले अलि बढी समय लागेको हामीले महसुस गर्यौं। तर ढुङखर्क पुग्ने भन्दा केही वरबाट भने बाटो पक्की रहेछ त्यसैले पुग्ने बेलामा मन केही खुसी थियो।
टोलीका सम्पूर्ण साथीहरू जम्मा भइसक्दा ढुङखर्कमा लगभग १ बजिसकेको थियो। तर हामीले समयलाई मध्यनजर गरेर पहिले नै खानाको अडर भने गरिसकेका थियौं।
केही साथीहरू भने पहिले पुगेर खाना खाइसकेका थिए र बाँकी सबैले खाना खाइसकेपछि अब हामी ढुङखर्कबाट बेथानचोक नारायणथानको लागि जानु थियो।
हामीलाई आवश्यक पर्ने सम्पूर्ण खाद्यन्न, क्याम्पिङका टेन्टलगायत अन्य सामग्रीले गर्दा हामीले ढुङखर्कबाट २ जना पोर्टरको पनि व्यवस्था गरिसकेका थियौं। ढुङखर्कबाट माथि हाम्रो गाडी बाटोको खराबीले जान नसक्ने भएपछि अर्को अफरोड बोलेरोको पनि व्यवस्था पहिले गरिसकेका थियौं।
त्यही अनुरूप सम्पूर्ण सामान अर्को गाडीमा सार्न केही समय लाग्यो हामीलाई। तर पनि हाम्रो टिम ठूलो भएकाले छोटो समयमा हामीले सक्यौं।
माथि क्याम्पिङ स्थलमा पानीको अत्यन्तै समस्या रहेको पहिले जानकारी भए पनि ढुङखर्क पुगेपछि धेरै कुरा थाहा भइहाल्यो र हामीले त्यहाँबाट ४/५ केस मिनरल वाटर पानी पनी बोक्यौं। यसरी सबै तयारी गरेर ढुङखर्कबाट बाटो लाग्दा लगभग दिनको २ बजिसकेको थियो।
लगभग ४५ मिनेटको मोटर बाटो तर पूर्ण अफरोड र उकालो रहेछ।
हामी ५ वटा बाइक र बाँकी साथीहरू सामानसहित बोलेरो जीपमा आउनुभयो। हाम्रो बाइकलाई उकालो चढ्न निकै मुश्किल पर्यो। तर पनि हामी ३ बजे मोटर पुग्ने ठाउँसम्म पुग्यौं।
अब भने हाम्रो यात्रा सबै सरसामन बोकेर पैदल जानु थियो। बेथानचोक नारायणथान लगभग ३००० मिटरको उचाइमा छ भन्ने जानकारीपछि अबको बाटो उकालो हुनेमा कुनै दुई मत थिएन।
बोलेरो जीपबाट सबै क्याम्पिङका सामान निकालेर केही हेबी सामान दुई जना पोर्टरलाई बोकाएर बाँकी रहेको सम्पूर्ण सामान स्लिपिङ ब्याग, टेन्ट, म्याट्रेस लगायत सबैले केही न केही सामान कसैले हातमा, कसैले झोला काँधमा झुण्ड्याउँदाको दृश्य हेर्दा निकै नै रमाइलो कतै टाढाको बस्तीमा बसाइ सरे जस्तो देखिन्थ्यो।
साथीहरू तीतामीठा बात गर्दै निरन्तर कोही अघि कोही पछि गर्दै बढिरहे।
कतै फुलेका राष्ट्रिय फूल लालीगुँरासले सबैको ध्यान भने तानिरहेकै थियो। मौसम चिसो रहे पनि उकालोमा छुटेको पसिनाले भने जिउ पूर्ण भिजेक़ो जस्तो थियो। त्यही माथि हरेकको हात र काँधमा झुन्डिएको म्याट, झोलाले भने उकालोमा सबैलाई केही गाह्रो भइरहेको भने अनुहारमा छुटेको पसिना र गलेको मुहारले आफैं बताइरहन्थ्यो।
हामी समयमा गन्तव्य पुग्नु निकै नै आवश्यक थियो। किनभने क्याम्पिङको लागि ६/७ ओटा टेन्टहरू व्यवस्थित गर्न हामीलाई केही समय लाग्ने थियो।
हामी दुई जना सुबोध दाइ र म भने हिँडाइको गति बढाएर अघि बढ्यौं।
दुईतिर ठूलठूला भिर र बीचको बाटो हुँदै अन्तत: हामी दिनको ३:३० तिर बेथानचोक नारायणथान पुगियो।
काठमाडौंबाट सबभन्दा नजिकको दूरीमा रहेको सुन्दर पर्यटकीय गन्तव्यहरूमध्ये एक हो- बेथानचोक नारायणथान।
लगभग ३०२० मिटरको उचाइमा रहेको बेथानचोक नारायणथान निकै नै सुन्दर र रमणीय गन्तव्य रहेछ। यहाँबाट तराईका फाँटदेखि विभिन्न हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
राष्ट्रिय फूल लालीगुँरासले पनि हामीलाई न्यानो स्वागत गर्दै पर्खिरहेको आभास दिलायो।
बेथानचोक नारायणथानको अलिकति समतल भू-भागबाहेक वरिपरि टाउको रिङ्गाउने भिर रहेछ। तर त्यहाँबाट देखिने सुन्दर दृश्यले सबैको मन भने भुलाइरहेको थियो।
बेथानचोक डाँडा पुगेपछि हामीलाई लागेको थियो। समथर ठूलो चउर होला भनेर तर सोचेजस्तो भू-भाग भने थिएन।
सानो उपत्यकाजस्तो केही गहिरो भाग जहाँ एउटा सानो मन्दिर हामी त्यहाँनेर सबै टेन्टहरू बनाएर बस्यौं।
माथिपट्टि पनि सानो भाग रहे पनि हाम्रो सम्पूर्ण टेन्ट नअट्ने अवस्था थियो। बेथानचोक डाँडामा अन्य क्याम्पिङ गर्नेहरू पनि थिए। तर सानोसानो ग्रुपमा।
हामीले हजार रुपैयाँमा राजकुमार दाइकोबाट एक भारी दाउरा किनेर आगो फुक्न सुरू गर्यौं।
खान पकाउनको लागि हामीसँग स्टोभ थियो। केही समय लगाएर स्टोभ बाले पनि सोचेजस्तो आगो नआएपछि हामी केही निरास भयौं। किनभने १४ जनालाई पुग्ने खाना तयार गर्नुथियो।
त्यही बलेको आगोमा हामीले चिया, र अन्य स्न्याक्स बनायौं। तर आगोको गति हेर्दा खाना नपाक्ने देखेपछि स्टोभलाई ठूलो बाल्न चलाउँदा स्टोभ नै निभ्यो। हामीसँग रहेको अन्तिम विकल्प दाउरामा मासु र भात पकाउन बसाल्यौं।
साथीहरू आगो ताप्दै चिसो हावासँगै गीतमा रम्न थालिसकेका थिए।
कोही साथीहरू स्थानीय पसले दाइ राजकुमारसँग गफिन थाले।
उहाँ भन्दै हुनुहुथ्यो- स्थानीय सरकारले लिफ्टिङमार्फत् खानेपानीको व्यवस्थाको लागि ३० लाख बजेट विनियोजन गरेको छ र ८०० मिटर तल भिरमा पानीको मुहान छ।
हामीले पनि महसुस गर्यौं, पानी नभएको कारण मन्दिर वरपर निकै नै फोहोर रहेछ। चर्पीको सुविधा नभएकाले मानिसहरूलाई धेरै नै असहज र जथाभावी फोहोर भएको हामीले अनुभव गर्यौं। आशा छ आगामी दिनमा स्थानीय सरकारले प्रचुर पर्यटकीय सम्भावना बोकेको बेथानचोक नारायणथानलाई व्यवस्थित गर्नेछ।
बढीभन्दा बढी पर्यटकको आगमन गराई स्थानीय अर्थतन्त्रमा पनि टेवा पुर्याउने छ।
रातको १० बजे हाम्रो मेस तयार भयो र खाना पस्कन सुरसार गर्न थाल्नुभयो दाइ दीपशिखा।
सबैजनाले खाना खाएपछि फेरि हाम्रो टिम नाचगान र गीतसंगीतमा रम्न थाल्यो। समय बितेको पत्तै भएन। घडीको गति निकै पर पुगिसकेको रहेछ। मध्यरातको १ बजे चिसो हावासँगै बिहान सबेरै उठने जमर्को गरेर हामी आफ्नो टेन्टतर्फ लाग्यौं।
बिहान सूर्योदय हेर्न भनेर सुबोध दाइ निकै नै चाँडो उठेर सबै साथीहरूलाई उठाउन कोसिस गरिरहनु भएको थियो।
म पनि सुबोध दाइको आवाज सँगै उठें र चिया खाएर सूर्योदय हेर्न टेण्ट मास्तिर उक्लिएँ।
केही साथीहरू भने रातिको नाचगान र सांगीतिक माहोल धेरै नै जमेको कारण अलि ढिलागरी उठ्नु भयो। बिहान साथी जगदिश, जोसेप लगायतको टिम ब्रेकफास्ट तयार गर्नतर्फ लागे।
सबै जना उठिसकेपछि ब्रेकफास्ट गरेर हाम्रो दाइ दीपशिखाको नेतृत्वमा टिम बेथानचोक नारायण मन्दिर सरसफाइ गर्नतर्फ लाग्यो।
फोहोर संकलन व्यवस्थित गरेपछि अन्तिममा हाम्रो ग्रुप लिडर दाइ मिङ्मा डन्डुको ब्रिफिङ र दीपशिखा दाइको केही महत्वपूर्ण भनाइ सकेर हामी आफ्नो सामान प्याक गरी मनभरि बेथानचोकका अविस्मरणीय पल साँचेर उपत्यका फर्कियौं।