'सुसन शैलुङ जाँदै छ रे! कहिले? कसरी? ओहो, म पनि जान्छु है?'
दोलखास्थित शैलुङ गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि काठमाडौंबाट केही पत्रकारको टोलीलाई बोलाएको रहेछ। त्यो टोलीमा सहकर्मी सुसन चौधरी पनि जाने भएपछि म उत्साहित भएँ।
वर्षमा एकचोटि दसैं बेला मात्र काठमाडौंबाट गोरखासम्म पुग्ने मौका पाउने मलाई, लामो यात्रा गरेर घुम्न गएको अनुभव थिएन। बनेका योजना पनि सबै फेल खान्थे।
कहिलेकाहीँ लाग्थ्यो, काठमाडौंबाहिर घुम्न जाने मेरो रहर कहिल्यै पूरा हुँदैन। हराउँदै गएको मेरो यो आशा शैलुङ जाने कुराले एकाएक बढायो।
कक्षा दुईमा पढ्दा स्कुलको एक कार्यक्रममा गायिका कुन्ती मुक्तानको 'माथि माथि शैलुङ्गेमा...' गीतमा नाचेको याद आयो। अनि मनमनै सम्झिएँ, 'अब त सिधै शैलुङको टुप्पोमा पुगेर नाच्ने हो।'
'शैलुङ जाने टिम त प्याक भइसक्यो। तिमी जान मिल्छ कि मिल्दैन एकचोटि सोध्नु पर्छ,' शैलुङ जाने टोलीका दाइले भनेपछि आशा फेरि ओरालो लागेझैं भयो। आफू जान पाउने वा नपाउने तय नहुँदै म आफ्नै दुनियाँमा हराइसकेकी रहेछु।
शैलुङ जस्तो सुन्दर ठाउँ घुम्न पाउने यो अवसर मलाई गुमाउनु थिएन। जसरी पनि आफ्ना लागि एक सिट मिलाइदिन अनुरोध गरेँ।
दाइले टिमका नेता सञ्चारकर्मी ज्ञानेन्द्र कार्कीलाई फोन लगाए। धेरैचोटी शैलुङ पुगिसकेका ज्ञानेन्द्र कार्कीलाई त्यहाँको बाटो र ठाँउबारे जानकारी थियो।
फोनवार्तापछि म पनि जान पाउने खबर पाएँ। म खुसीले दंग परेँ।
शैलुङ जाने पक्का भएपछि गत शनिबार हाम्रो टोली दुइटा गाडी लिएर नौ बजे कोटेश्वरबाट हुँइकियो।
दिउँसोतिर हामी खाना खान सिम्लेको एउटा होटेलमा रोकियौं। पेटपूजा गरेर एकैछिनको आरामपछि हाम्रो यात्रा अगाडि बढ्यो।
हाम्रो यात्रा लगभग १२० किलोमिटरको थियो। अरनिको राजमार्ग हुँदै बीचमा हामी चिया खान सिन्धुपालचोकको मुडे बजारमा उत्रियौं।
हामी पुग्दा मुडे बजारका अधिकांश पसल छुर्पीले भरिएका थिए। फर्किँदा सबैले नरम र स्वादिलो छुर्पी किन्ने वाचा गर्दै आफ्नो गन्तव्यतिर लम्कियौं।
मुडेसम्मको बाटो राम्रै थियो। त्यहाँपछि भने खाल्डाखुल्डी र धूलोले भरिएको कच्ची बाटो पार गर्नुपर्ने। वर्षायाममा भने यो बाटो हिल्लामे हुने भएकाले यात्रा गर्न कठिन हुनसक्छ।
कुन्ती मुक्तानको गीत घन्काउँदै हाम्रो गाडी माथिमाथि गर्दै शैलुङतिर गुडिरहेको थियो। जति माथि पुग्यो, हिमाल झनै नजिक र चम्किला देखिन थाले।
हिमशृखंलाको मनमोहक दृश्य कैद गर्न हाम्रा फोटो पत्रकार साथीहरू बीचबीचमा गाडी रोक्थे। उनीहरूसँगै म पनि आफ्नो मोबाइलमा ती दृश्यका याद कैद गर्न व्यस्त भएँ।
करिब ६ बजेतिर हामी शैलुङ गाउँपालिकास्थित भैंसेमा रहेको होमस्टे पुग्यौं। गाडीबाट झर्ने बित्तिकै चिसो हावाको स्याँठले हान्यो। दक्षिणमा रहेको ठूलो पहाडको जंगल र उत्तरपट्टि देखिने सुन्दर हिमालको दृश्य अगाडि त्यो चिसोले अत्ताएन, उल्टै मन शान्त पार्यो।
गाडीले हाम्रो ज्यान लछारपछार पारिसकेको थियो। सोचेँ, तातो खाना खाएर चाँडै सुत्छु। तर त्यसो भएन।
हाम्रो स्वागतका लागि होमस्टे सञ्चालक भोजराज आचार्यले कोदोको ढिँडो र लोकल भालेको मासु तयार गर्न थाले। यता मुढो बालेर सबै जना त्यहीँको बारीमा फलेका आलु पोल्न व्यस्त भए।
अ साँच्ची ! हामीले त्यहाँ स्पेशल चिया पनि खाएका थियौं। त्यो चिया बजारमा पाइने चियापत्तिको नभएर १३ प्रकारका जडिबुटीले बनेको थियो। त्यो चिया भोजराज आचार्यको 'सिग्नेचर' चिया हो रे। यसलाई बनाउन उनको आफ्नै गोप्य विधि छ।
हामीले सुरूमा आचार्यलाई होमस्टेका सञ्चालकका रूपमा चिनेका थियौं। तर उनी त शैलुङको गाउँलेका लागि डाक्टर नै रहेछन्।
उनले डाक्टरी नै पढेका भने होइनन्, उनीसँग औषधि बेच्न पाउने मेडिकलको लाइसेन्स छ। खोटाङमा हुर्केका आचार्यले काठमाडौंमा आफ्नै मेडिकल पनि सञ्चालन गरेका थिए। तर एक घटनाका कारण उनी सधैंका लागि शैलुङका गाउँलेका प्यारा बन्न पुगे।
उनका अनुसार १६ वर्ष अगाडि उनी भाइबुहारीलाई सुत्केरी औषधि पुर्याउन बाइकमा पहिलो पटक शैलुङ पुगेका थिए। त्यहाँ पुग्दा गाउँमा अर्की सुत्केरी महिलाको अवस्था पनि दयनीय भएको थियो। आफूले लिएर गएको औषधीबाट उनले ती महिला र शिशुको ज्यान बचाउन सफल भए।
त्यो दिन उनी गाउँलेका लागि भगवान स्वरुप उपस्थित भएका थिए। गाउँलेको अथाह माया पाएर आर्चायले त्यहीँ बसेर गाउँलेलाई सेवा दिने निर्णय गरेका रहेछन्।
आज उनी शैलुङमा आफ्नो मेडिकलसँगै पर्यटन बढाउन होमस्टे चलाएर बसेका छन्।
आचार्यको कथा र आगोको ताप यादगार रह्यो।
गफगाफ गर्दागर्दै एक्कासि उत्तरबाट चहकिलो बत्तीको किरण आउन थाल्यो। यसो ढल्किएर हेर्दा हिमाल पछाडिबाट चन्द्रमा माथि आउँदै रहेछ। त्यो क्षण अत्यन्तै अविस्मरणीय थियो। जीवनमा पहिलोचोटि मैले चन्द्रमाको किरण हिमालमा ठोक्किएर उदाएको देख्न पाएकी थिएँ।
शैलुङबाट देखिने चन्द्रयोदय त यति सुन्दर छ, सूर्योदय झन् कस्तो होला?
यो जिज्ञासा मेटाउन हामी सबेरै उठेर शैलुङ बजारमा रहेको टावर डाँडा पुग्यौं। बिहानीको किरण, खुलेका आकाश, चारैतिरका ठूला हिमाल र सललल बगेको चिसो हावा। यो अनुभव कुनै शब्दले वर्णन हुँदैन।
मनमा शैलुङ बेसीको न्यानो माया सम्हाल्दै हामी ३१५० मिटर उचाइतिर लम्कियौं।
उकालो चढ्दै जाँदा चिसो झनै बढिरहेको थियो। बाटोमा एउटा सानो झरना बरफ भएर जमेको पनि थियो।
एकैछिन हिँडेपछि हामी गुप्तेश्वर महादेवको मन्दिर पुग्यौं। त्यहाँको शिवलिंगमा बाह्रै महिना पानी चुहिने स्थानीयको भनाइ छ। उनीहरूका अनुसार त्यहाँ कुनै पानीको दह छैन तर शिवलिंगमाथि पानी सधैं चुहिरहन्छ। अझ भाग्यमानी मान्छे गयो भने पानी पन्ध्र सेकेन्डसम्म चुहिरहने विश्वास पनि रहेछ।
चुचुरो पुग्ने पहाडी बाटो करिब दुई घण्टा लामो थियो। तर लालीगुराँसको जंगल छिचोल्दै भेटिएको शैलुङ्गेश्वर महादेवको मन्दिर दर्शन गर्दै जाँदा त्यो उकालो सकस भएन।
हामी जाँदा लालीगुराँस फुलेको भने थिएन। वसन्तऋतुमा भने यहाँ सातथरिका लालीगुराँस ढकमक्क फुल्छ रे।
चिसोकै कारण हामीले डाँडामा चौंरी हेर्न पाउने मौका गुमायौं।
एक-दुई दिन ढिलो गएको भए त्यहाँका सबै पहाड हिउँले छोपिने पनि रहेछ। त्यसैले शैलुङ एकचोटि मात्र जाँदा त्यो घुमाइ अपूरो हुने र यहाँको वास्तविक सुन्दरता नियाल्न हरेक मौसममा घुम्न आउनु पर्ने गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले बताए।
लामो हिँडाइपछि हामी बल्ल शैलुङको चुचुरो पुग्यौं। हावाको वेगले शरीर धकेलिरहेको थियो।
टुप्पोमा रहेको टावरबाट दृश्य अवलोकन गर्दा हामी हिमाल र सय वटा थुम्का, अर्थात् तामाङ भाषामा 'शैलुङ' ले घेरिएका रहेछौं।
सेताम्मे गौरीशंकर, गणेश, लाङटाङ, धौलागिरि, अन्नपूर्ण, मनाश्लु हिमाल आँखा अगाडि नाचिरहेका थिए। मनमोहक!
हामीलाई चुचुरोमै बसेर त्यहाँको सुन्दरतामा हराइरहन मन थियो। तर समयको चालसँगै हाम्रा पाइला धेरैबेर रोक्न पाएनौं।
शैलुङको मिठो सम्झना बोकेर हामी बेसीतिर झर्यौं।
यसपालिलाई यस्तै भयो शैलुङ, अर्को पटक गुराँस फुलेको जंगल वा हिउँले सेताम्मे भएका सय थुम्का सहितको तिम्रो सुन्दर रूप हेर्न फेरि आउँला!
यो पनि