सन्दकपुर। इलामको सबभन्दा अग्लो ठाउँ। अझ इलामको ‘सगरमाथा’ भन्दिम् न!
यसअघि दुईपटक सन्दकपुर गइयो। पहिलोचोटि ७, ८ वर्षको हुँदा दिदीहरूसँग पूजा गर्न। दोस्रोचोटि ७ वर्षअघि साथीहरूसँग ट्रेकिङको लागि। यसपटक पनि संयोग के भने सालले २०७७ भेटेको थियो।
यद्यपि रहर भन्ने कुरा हरेकचोटि गाउँ पुगेको बेला एकपटक फेरि जाने त हुन्छ नै। आफ्नो कार्यव्यस्ततले रोकिरहेको बेला लकडाउन र चाडवाड भन्ने कुरा सबभन्दा ठूलो बहाना रहेछ। र यसले अचानक योजना बन्यो सन्दकपुर जाने। पाँच वटा बाइकमा दश साथी जाने प्लान बन्यो।
‘गाडीमा जाने कि बाइकमा जाने हो ?’ योजना सकिन नपाउँदै एक साथी भन्यो।
हिउँदको चिसो हावाले घरको टिनको तागत जाँच्न थालिसकेको थियो। हुन त महत्वपुर्ण प्रश्न थियो यो तर सन्दकपुर जाने कल्पना गर्दा यही चाहिँ सोचिएको रहेनछौं। तर समस्या थिएन। आखिर घुम्न जाने हो जसरी पनि जाने हो। तर हिँडेर चाहिँ नजाने। आखिरमा हाम्रो एकैछिनको गन्थनपछि मन पनि मिलिहाल्यो।
हामी बाइकमा जाने निर्णयमा पुग्यौं। यात्रामा कुनै किसिमका समस्या नआओस् भनेर हामीले अगाडि बाइकमा पुगेर आइसकेकाहरूलाई सोध्यौं।
अब आँटै दिएपछि पछाडि कसरी सर्ने?
‘बाइकमा सही रमाइलो हुन्छ है, गाडीमा भन्दा,’ यतिको प्रेरणा पाएपछि हामी लाग्यौं इलामको सगरमाथालाई भेट्न।
रमाइलो कुरा के थियो भने।
अघिल्लो पटक सन्दकपुर जाँदा उक्त स्थानमा इमझुवा र मावु गा.वि.समा पथ्र्यो। र म आफैं बस्ने ठाउँ माइपोखरी गा.वि.स. । यसपटक भने हामी तीनै गा.वि.स एउटै सन्दकपुर गाउँपालिकामा पथ्र्यौं। यसले अझ आत्मीय बनाउँदो रहेछ।
यसै पनि आफ्नो गाउँपालिकामा इलामको सबभन्दा अग्लो ठाउँ हुनु भनेको गौरवको कुरै हो नि! हैन र! अघिल्लो दिन ‘सही रमाइलो’ हुन्छ भनेर फुर्काए पनि उकालोको र चिसोमा बाइक कुदाउनु कुनै साहसिक यात्राभन्दा कम थिएन।
वास्तवमा सन्दकपुर सीमानामा पर्छ। भारत र नेपालको सीमानामा। भारततिर सिंहलिला राष्ट्रिय निकुञ्ज पर्छ। भारतपट्टि मानेभञ्ज्याङ्ग हुँदै आउने बाटो छ। धेरै समयसम्म नेपालतिर बाटो बनेको थिएन। यद्यपी हाल भने कच्ची सडक छ।
वि.स.२०७५ सालमा नेपाल सरकारले १०० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । प्रदेश १ का १६ गन्तव्यमध्ये सन्दकपुर पनि पर्न सफल भएको थियो।
नेपाल पर्यटन वर्ष २०२०को दौरान बाटोलाई अझ स्तरोन्नति गरे पनि इलामको मौसमसँग कच्ची बाटोले हार खायो। यसको प्रत्यक्ष साक्षी हामी थियौं।
धेरै ठाउँमा सहज भए पनि घरिघरि बाइकले पनि सहयोग माग्थ्यो। पछाडिको उत्रिने। कहिले दुवै उत्रिएर डोर्याउने क्रम चलिरह्यो।
बाटोमा बस्ती पातलिँदै गए पनि रोमाञ्चकता टुङ्गिएको थिएन। निगालो, चुथ्रो, लोक्ताको साना साना झाडी हाम्रो साहस देखेर नतमस्तक भएको हुनुपर्छ। यदि चिमाल, चाँप, गुराँस फुल्ने मौसम हुँदो हो त हाम्रो बाटोमा ती फूलले स्वागत गरिरहेका हुन्थे।
त्यसो त मखमली, सयपत्री फूलहरूको पर्व तिहारले पनि एउटा खुट्टा त मंसिरसम्म तन्काकै थियो। मानुम्, चाडवाडलाई पनि लकडाउन लागेर निकै ढिलो मात्र सम्झेर आयो!
त्यसैले पनि यसपालि भने फूलको झिलीमिली भन्न मन लागिहालेन। सायद घुम्न जाने योजना बन्नुमा एउटा कारण यो पनि हुनसक्छ। झुल्के घामको मनोरम दृश्यले बाटोको अप्ठ्यारोलाई मल्हम लगायो। हामी रोकिएर घाम उदाएको हेर्न थाल्यौं।
घामको उज्यालो अब भने बाटोमा पर्न थालिसकेको थियो। घामको पहिलो किरण हाम्रो मुहारमा पनि छरियो। तर न्यानो बनाउन भने चाहिँ सकेन। यद्यपी गर्मीयाम भएको भए। वा घाम चर्केको भए। धुलोले अहिले हालत के हुन्थ्यो होला? यसै सम्झेर एक मनले चित्त पनि बुझ्यो।
सन्दकपुर भारत र नेपालको सीमानामा रहेको स्थान हो।
भारततिरका नेपाल आए नेपालका लागि उनीहरू विदेशी पर्यटक। र नेपालतिरबाट हामी भारत पुगे हामी भारतीयको लागि विदशी पर्यटक। यसरी हामी दुवै देशका स्वदेशी–विदेशी पर्यटकबाहेक तेस्रो मुलुकहरूबाट पनि बाह्य पर्यटकहरू आउँछन्।
चैत वैशाखको समय गुँरासले ढकमक्क हुने सन्दकपुरका डाँडामा मंसिरतिर भने अर्कै सौन्दर्य थपिएको हुन्छ।
खुला आकाशमाझ टाढाटाढासम्म देखिने डाँडाकाँडा अनि वरिपरि हिमालहरू। भन्नेले भुटानसम्म देखिन्छ भनेर भन्छन्।
तर मान्छेले बनाएको सीमालाई सर्लक्क चिन्न गाह्रो। सामुन्ने देखिने कुन हिमाल नेपालको हो कुन भारतको अनि कुन भुटानको थाहा हुन्न। बाटोका अनेकन घुम्ती पार गर्दै अन्ततःहामी कालपोखरी आइपुग्यौं। आप्पा फिल्ममा दयाहाङ्गले ‘यो हावा सरररर सररर उड्दैछ...’ भन्दै सायद यही डाँडामा नाचेका होलान्।
कल्पना जेसुकै होस् तर अब आँखाले भ्याउन्जेल नागिहरूको माझ देखिने मनै लोभ्याउने बाटोमा हामी आइपुगिसकेका थियौं। घाम पनि यो बेला न्यानो भएको थियो। जाने मान्छेहरूको लस्कर थिए।
बाइक बिसाएर हामी एकछिन होटलमा अल्मलियौं। तातो पानीको मजा कुनै चिसो ठाउँमा थाहा हुन्छ। अझ हिउँ परेर सप्पै डाँडा सेताम्मे भएर चिसो भएको होस्। धेरै मानिसहरू सन्दकपुर हिउँ खेल्न पनि आउँछन् । यद्यपी यो बेला हिउँ थिएन। तर यसको पनि छुट्टै आनन्द हुन्छ।
वरिपरिका डाँडाहरू अब साना भइसकेकाथिए। सिर्फ एक सन्दकपुर हाम्रो अघि स्वागत छ भनेर उभिएकोजस्तो देखिन्थ्यो। हामी हुइँकियौं। हरियो चौरमाझ हावालाई चिर्दै।
भारततिर सिंहलिला राष्ट्रिय निकुञ्ज छ। सोही निकुञ्जको सल्लाका रूखमा हावा सुइ… सुइ… गरिरहेको पनि सुनिन्थ्यो घरिघरि।
त्यसो त सन्दकपुर आफैंमा अनेकौं प्रकारका चराचुरूंगी, लोपोन्मुख रेड पाण्डा, ३६ खालका लालीगुँरासको पनि घर हो। यदि हामी कुनै वनस्पतिविद भएको भए यहाँ कति किसिमका जडिबुटी, फूल, रूखहरू पाइन्छ भनेर भन्न सक्थ्यौं होला! यो पनि कताकता लागिरह्यो। र मनभरि अनेकन ऊर्जा बोकेर हामी पुग्यौं सन्दकपुर।
सन्दकपुर अर्थात्, इलामका चार माईमध्ये प्रमुख खोला माइखोलाको उद्यगमस्थल।
धेरै वर्ष अघिको सम्झना ताजा भयो। १८० डिग्रीमा फैलिएका हिमाल। अगाडि कुम्भकर्ण, कंचनजंघा, सगरमाथा, मकालु, लगायत हिमालहरू सेताम्मे उभिएका थिए। यस्तो अवसरको सदुपयोग हामीले गरी पनि हाल्यौं। आखिर समयलाई बाँध्न नसकिए, कैद गर्नसम्म त सकिन्छ। एकछिन मोबाइल पनि हाम्रो रहरसँगै व्यस्त भयो।
त्यो पलको आनन्द पक्कै पनि सन्दकपुरबाट देखिने आकाशमा अटाउन सक्थेन। हामीले आफैंलाई नाच्न अनि चिच्याउनबाट रोक्न सकेनौं।
घुम्दाघुम्दै हामी चिच्याएको आवाज डाँडामा पुगेर थर्किन्थ्यो अनि फर्किन्थ्यो। योभन्दा स्वतन्त्र आवाज अरू के हुनसक्थ्यो र!
फर्किन अगाडि हामी माइखोलाको मुहानमा पनि पुग्यौं। पहिले नेपालकै लामो पुल बनाउन बाध्य बनाउने कन्काई खोलासँग मुहानको तुलना गर्दा यो सानै भए पनि इलामेहरूको धेरै जमिन सिँचेर बग्ने खोला हो।
यसैको मुहानको पवित्र पानी शिरमा लगाएर हामी केही पानी भने घरमा लैजान भरेर हिँड्यौं। हामी ओरालो झर्यौं
उज्यालो हराउँदै गएपछि बाइकको बत्ती उज्यालो देखियो। ओरालो भएर होला जाँदा जसरी कठिनाइ भएन। यद्यपि तेस्रोचोटि जाँदै गर्दा मानिसहरूको चाप देखेपछि आन्तरिक पर्यटन बढेको जस्तो भान भने भयो।
चिसो बतासले मेरो गालालाई स्पर्श लगातार गरिरहेको थियो अनि वाफपूर्ण स्वासमा प्रतिउत्तर गरिरहेको थिएँ। अरू जसरी नै। साँझ ६ बजे हामी घर आइपुग्यौं र यो यात्राभरको समिक्षा एक वाक्यका टुगिंयो।
त्यो थियो, ‘अर्को साल पनि घुम्न जानु पर्छ है यसरी नै।’