प्राचीन नेपाली भाषा अर्थात् सिंजाली भाषाको उद्गमस्थल जुम्लाको विराट सिंजा पुग्ने धेरै वर्ष पहिलादेखिको मेरो हुटहुटी ठूलो पहाडमा ठोक्किएको हावाको झोका झैं फगत–फगत बन्दै गएको थियो।
रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौं–आठौं शताब्दीदेखि पश्चिम नेपालको विस्तृत पहाडी क्षेत्रमा शासन गर्दै आएको वीरता सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति खसानका बासिन्दालाई त्यही माटोमा पुगेर देख्ने, बुझ्ने र भेट्ने रहर पनि केवल रहरमै सीमित बन्दै आएको थियो।
२०७७ सालको मंसिर दोस्रो हप्तातिर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही हप्तापछि जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्नका निम्ति त्यहाँको यात्रा तय गर्ने र त्यो यात्रामा म पनि सहभागी हुने भनेपछि मनमा केही तर्कनाहरू नाच्न थाले।
एकातिर खसानका बासिन्दालाई त्यही माटोमा पुगेर देख्ने, बुझ्ने र भेट्ने रहर तछाडमछाड गर्दै नाच्न थालेका थिए भने अर्कोतर्फ कोरोना कहरकै कारण केही भ्रमणलाई समेत टार्दै आएको म दोमनमा थिएँ।
त्यसको केही दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पुसको पहिलो हप्ता जुम्ला जाने भन्दै तयारी अवस्थामा रहनु भनेपछि थप कौतुहल मनमा पैदा भयो।
पुसको पहिलो हप्ता संघीय राजधानी काठमाडौंमा चिसोको वेग बढ्दै थियो भने जुम्ला पुग्ने मेरो उत्सुकता पनि त्यही गतिमा अघि बढ्दै थियो।
२०७७ सालको मंसिर ७ गते बिहान काठमाडौं उपत्यकाको मौसम निकै चिसो बनेको थियो भने पछिल्लो राजनीतिक घटनाक्रमका कारण संघीय राजधानी र मुलुकभरिकै राजनीतिलाई ग्रीष्मकालको मौसम जस्तो उष्णताले छपक्क छोपेको थियो।
त्यही बिहान काठमाडौं महानगरपालिकाका प्रमुख शाक्य सहितको टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा मौसम राम्ररी खुलेकै थिएन। पूर्वनिर्धारित समय अनुसार यति एयरको विमानमार्फत् नेपालगञ्ज पुग्ने र त्यहाँबाट तारा एयरको उडानमा जुम्ला पुग्ने योजना थियो।
त्यही अनुसार ७२ सिटे यति एयरमार्फत् १२ हजारदेखि १५ हजार फिटसम्मको उचाइ भर्दै हाम्रो टोली ५५ मिनेटको जहाज यात्रापछि नेपालगञ्ज विमानस्थलमा अवतरण भयो।
नेपालगञ्ज पुग्दा विमानस्थलका प्रमुख प्रेमनारायण ठाकुर हाम्रो स्वागतका लागि तयारी अवस्थामा हुनुहुँदो रहेछ।
उहाँले हाम्रो टोलीलाई भिआइपीलाई स्वागत गर्ने प्रतिक्षालयमा केहीबेर राखेर स्वागतसँगै लञ्चको समेत व्यवस्था गरेको जानकारी दिनुभयो।
केही समयको संवादकै क्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, जनपथ प्रहरीका एसपी ओमबहादुर राना र अनुसन्धानका एसपी नरेन्द्रराज गिरी पनि टुप्लुक्क आइपुग्नुभयो।
उहाँहरूसँगै लञ्च लिइयो। जुम्लाका लागि तारा एयरको विमान आउन केही समय लाग्ने भनेपछि विमानस्थल प्रमुख ठाकुरले लञ्चपछिको करिब एक घण्टा जतिको नेपालगञ्ज बसाइका क्रममा विमानस्थलको अनुगमन गराउनुभयो।
ह्याङ्गरसम्म पुगेर फोटो सेसन गर्दै गर्दा चरो जत्रो देखिने तारा एयर अग्ला पहाड छिचोल्दै विमानस्थलमा अवतरणका लागि नजिक–नजिक आउँदै गर्दा ठाकुरले ठट्यौली पारामा भन्नुभयो,‘हिमाली र पहाडी भेगतिर जाने जहाज काठमाडौंका विक्रम ट्याम्पु जस्तै हुन्, यिनीहरूलाई न ठूलो ‘रन वे’ चाहिन्छ न त हिमाल, पहाडले नै छेक्छ। सजिलै उडान भर्छन् र अवतरण गर्न सक्छन्। यात्रा पनि विक्रम ट्याम्पुको जस्तै हो, हल्लाउँछन् उस्तै।’ ठाकुरले त्यसो भन्दै गर्दा यति एयरका नेपालगञ्ज विमानस्थल प्रमुख दिलीप कार्की पनि मुसुक्क मुस्कुराउनुभयो।
त्यतिबेलासम्म जहाज रन वेमा अवतरण भइसकेको थियो। हामी त्यहाँबाट बिदा भई जुम्लाको यात्राका लागि तारा एयरमा चढ्यौं।
कहिले पहाडमाथि त कहिले हिउँले सेताम्य भएका हिउँ पहाडमाथि अनि आक्कलझुक्कल खोंच र केही फाँटमा देखिने लोभलाग्दा बस्तीमाथि छाया छाड्दै जहाज उडिरहेको थियो।
पश्चिम पहाडको भूगोलप्रति त्यति धेरै जानकार नरहेको र पहिलो पटकको यात्रा भएका कारणले पनि होला जहाजबाट देखिएका सबै भूगोलबारे अनविज्ञ नै रहें।
यद्यपि जहाजबाट देखिएका सबै हिउँपहाड, खोंच र बस्ती सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटका थिए होलान् भन्ने अनुमान लगाएँ।
सिंजाली भाषाको उद्गमस्थलकै वरिपरिका हिउँपहाड, खोंच र बस्तीमा पनि छाया छोड्दै जहाज खलंगा विमानस्थलका लागि उडिरहेको होला भन्ने सोच्दै थुप्रै पटक मन पुलकित भयो।
करिब ३५ मिनेटको यात्रापछि उक्त जहाजले जुम्ला विमानस्थलमा अवतरण गरायो। त्यतिबेलासम्म ती हिउँपहाडबाट सूर्य अलप हुने अवस्थामा पुगेको थियो।
हामी खलंगा विमानस्थलमा अवतरण हुँदा हाम्रो स्वागतका लागि चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईलगायत विमानस्थलमै आइपुग्नु भएको रहेछ।
नेपाली भाषा र संस्कृतिको उद्गमस्थल जुम्ला पुग्दा विभिन्न सजावट र बाजागाजा सहितका झाँकीले गरेको स्वागतले यहाँ जुम्लेलीले नै संस्कृति धानेका रहेछन् भन्ने भान भयो।
नेपाल र खस भाषाको संगम
हाम्रो यात्राको प्रमुख काम संघीय राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम भएकाले जुम्ला पुगेकै दिन सो कार्य सम्पन्न भयो।
सदरमुकाममै रहेको चन्दननाथ बाबाको मन्दिर नजिकै रहको उद्योग वाणिज्य महासंघको हलमा दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएको सम्झौतापत्रमा हस्ताक्षर भयो।
हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपाल भाषाको उद्गमस्थल काठमाडौं उपत्यका र सिंजा अर्थात् प्राचीन नेपाली खस भाषाको उद्गमस्थल जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनामार्फत् सम्पदा र पर्यटनलाई पनि जोड्न चाहेको बताउनुभयो।
चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले पनि दुई नगरबीच सम्बन्ध गाँस्न पाउँदा खुसी व्यक्त गर्नुभयो।
नगरपालिकाले औपाचारिक कार्यक्रमसहित हाम्रो स्वागतका लागि साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको रहेछ। त्यहीका विद्यालयका भाइ–बहिनीहरूको नृत्य र गायनले दिनभरिको यात्राले थकित बनेको ज्यानमा केही उर्जा भरिएको अनुभूति भयो।
पहिलो रात कान्जिरोवामा
करिब तीन घण्टाको कार्यक्रमपछि त्यो रातको बसाइका लागि हामीलाई कान्जिरोवा होटलमा व्यवस्थापन गरिएको रहेछ।
पुसको महिना भएर पनि होला टलक्क टल्किरहेको कान्जिरोवा हिमालको दृष्यावलोकन गर्दै त्यो रात होटलको न्यानो आतिथ्यतालाई स्वीकार गर्दै हाम्रो टोली त्यही बास बस्यौं।
जुम्लाको माथ बनेर गजधम्मसँग उभिएको कान्जिरोवा हिमाल र वरिपरिका डाँडालाई छिचोल्दै घामका मिर्मिरे किरण कान्जिरोवा होटलका कोठा–कोठामा जबरजस्त प्रवेश गर्दै थिएँ।
जुम्लाका प्रख्यात हिमा, तिला र जुवा हिम नदी बग्दाका कलकल र मधुर आवाज कानमा निरन्तर ठोकिएको अनुभूति भैरहेको थियो।
जुम्लाको पहिलो रात बिताएर सिंजा पुग्ने मनोरथ मनभरि खेलाएर विस्तारामा पल्टिएको मेरो आँखामा समेत झ्यालको कापबाट छिरेर प्रकाशले जबरजस्त प्रवेश गरिरहेको थियो।
त्यसैबेला ढोकामा ढकढक गरेको आवाज आयो। तन्द्राकै अवस्थामा ढोका खोल्न पुगें। मेयर शाक्य ढोकामै उभिनु भएको थियो। ढोका खोल्ने वित्तिकै उहाँले एकै स्वरमा भन्नुभयो– ‘आज विराट सिंजा पुग्ने र त्यहाँ कनकासुन्दरीको दर्शन पनि गर्ने तयारी छ जान मात्रै करिब चार घण्टा लाग्छ रे, फेरि फर्किन ढिला होला छिटो तयारी गर्नू।’ हाम्रो टोलीमा जाने सबैको कोठामा पुगेर उहाँले त्यसै भन्नु भएको रहेको छ।
म तल ओर्लिंदा काठमाडौं महानगरपालिकाको वडा–१ का अध्यक्ष भरतलाल, वडा–६ का दिपेन्द्र लामा, वडा–११ का हिरालाल तण्डुकार, १४ का शोभा सापकोटा, १५ का ईश्वरमान डंगोल र २३ का मचाराजा महर्जनलगाय पनि तयारी अवस्थामा हुनुहुँदो रहेछ।
नगरपालिकाले नै व्यवस्था गरेको गाडीमा सिंजाको यात्रा तय गर्दै–गर्दा मेरो मन खुसीले चंगाझैं भएको थियो।
कान्जिरोवा होटलबाट निस्किएपछि हामी सबैले जुम्ला बजार क्षेत्रमै रहेको बर्मा विष्णु र शिव स्वरुपधारी दत्रात्रेयको चरण पादुका र चाँदीको त्रिमुखी मूर्ति भएको चन्दननाथ बाबाको मन्दिरको दर्शन गर्यौं।
मानसरोवरको कैलाश दर्शन गर्न भनी हिँड्नुभएका सिद्धबाबा चन्दननाथ जुम्ला पुगेपछि ताल, तलाउ, सुन्दर हिमाल र जंगलले मनोहर ठाउँ देखेपछि त्यहाँ बसेको किम्बदन्ती रहेछ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले खस राजाको राज्यकालदेखि नै स्थापना भएको उक्त भैरवनाथ मन्दिरको सबै रेखदेख गर्ने रहेछ।
चन्दननाथ मन्दिर जस्तै: पाण्डव देवल, सत्र खम्बा, ठाकुरज्यू, गिडी दह, बासी मालिकाजस्ता धार्मिक तथा पर्यटकीयस्थलहरूले चन्दननाथलाई चम्किलो बनाउन सक्ने अनुमान गरें।
मन्दिरको दर्शनपछि जुम्लाको नेवाः दवू परिवारले स्वागतको कार्यक्रम आयोजना गरेको रहेछ।
सातौं पुस्तादेखि जुम्लामै बसेका ६७ घरधुरीका नेवार समुदायले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएपछि हाम्रो टोली फेरि जुम्लाका प्रमुख जिल्ला अधिकारी थापाको आग्रहमा उहाँकै कार्यकक्षमा सामान्य स्वागत र चियापानका लागि सहभागी भयो।
त्यसपछि हाम्रो यात्रा सदरमुकाम खलंगादेखि १९ कोष टाढा रहेको ऐतिहासिक, पर्यटकीय, धार्मिक, र साँस्कृतिक विविधताले भरिएको सिंजाका लागि तय भयो।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको गाउँ पनि नगरपालिकाकासँगै जोडिएको तातोपानी गाउँपालिका रहेछ।
एउटै गाडीको अगाडि सिटमा बस्नुभएका चौलागाईं त्यो यात्रामा हाम्रो लागि पथप्रदर्शक नै बन्नुभयो। तिला नदीको किनारैकिनार हुँदै सिंजाको यात्रामा निस्किँदा हामीलाई दायाँबायाँ उर्वर जमिनले स्वागत गरिरहेको अनुभूति भयो। त्यतिमात्रै होइन कर्णालीको कहरका कथा मात्रै सुनेको मलाई त्यहाँको माटोसँग स्पर्श गर्दा फरक खालको अनुभूति भयो।
जुम्लाको माटोसँग स्पर्श गर्दा मैले जुम्लाको ऐतिहासिक, पर्यटकीय, धार्मिक र साँस्कृतिक विविधता ओझेल पारेर कर्णालीका पीडाका कथा–व्यथा मात्रै बेच्ने राज्य र एनजिओ, आइएनजीओलाई पनि सम्झिएँ।
जुम्लाका उर्वर फाँटहरूमा अझ भन्ने हो भने विश्वको उच्च स्थानमा फल्ने मार्सी धान मात्रै होइन मकै, कोदो, जौ, गहुँ, कागुनो, चिनो, फापर, उवा पनि जुम्ला जिल्लाको प्रमुख अन्नबालीहरू रहेछन्।
सिमी, भट्मास, आलु, गाँजर, केराउ, केशर, गुच्चे च्याउ, खुर्पानीबाट मनग्ने आन्दामी गरी जुम्लेली जीवन धान्न सक्षम बन्दै गएका छन् भन्ने बोध पनि मलाई जुम्ला पुगेपछि मात्रै भयो।
मौरीपालन, भेडा–बाख्रा पालन व्यवसायबाट मनग्य नगद आय–आर्जन गरी जुम्लेलीको जीवन जुनेली बनेको रहेछ भन्ने पनि यात्राकै क्रममा जानकारी भयो।
पाखोवारी समेत कतै खुला नछाडी स्याउ, ओखरको व्यवसायिक खेती गरेका जुम्लेलीको सीप देख्दा अघिल्लो वर्ष चीनको सिचुवान लगायतका प्रान्तको भ्रमणको स्मरण भयो।
मौसम अनुसारको व्यवसायिक खेती गर्ने चीनको सीमा नजिकैका जुम्लेलीको जाँगरले थप मोहित बनायो।
हिमा नदीको किनारको सिंजा उपत्यका पुग्न तातोपानी, तिला र हिमा गाउँपालिका पार गरेर जानुपर्ने रहेछ।
यात्राकै क्रममा सडकबाट करिब २ सय मिटरको दूरीमा तिला नदीकै छेउमा रहेको जुम्लाकै प्रख्यात धार्मिकस्थल तातोपानी पुगियो।
पर्यटकको पर्खाइमा रहेको तातोपानी पुग्दा स्थानीयहरू आ–आफ्नै पारामा डुबुल्की मारिरहेका थिए।
तिला नदीको किनार र जुम्लाको चिसो ठाउँमा समेत २४ सै घण्टा तातोपानी आउने त्यो धारा र दहमा डुबुल्की मार्दा नशा र बाथका रोगीको रोग जाति हुने भन्ने आस्था परापूर्वकालदेखि रहिआएको रहेछ।
मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायतले तातोपानीमा आफ्नै पारामा डुबुल्की मारिरहेका र नुहाई रहेका स्थानीयसँग केही तस्बिर खिच्नुभयो। स्थानीयले पनि रमाइलो मान्दै सँगै तस्बिर खिचाए।
मैले हँसिला–रसिला जुम्लेलीको मुहार कैद गर्दै तातोपानीको स्पर्श गरें।
हामीसँगै रहनुभएका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले केही तस्बिर खिचेर सडकमा उक्लिएपछि हाम्रो जिज्ञासा मेटाउँदै तातोपानीको इतिहासबारे बताउँदा झन् रोमाञ्चक भइयो।
इतिहास अनुसार कालीमार्सी धान उत्पादनका जननी लथानकृर्ति बैकेलो त्यो बेलाका चर्चित र शक्तिशाली व्यक्ति रहेछन्। बैकेलोले घुँडा धसेर तातो पानी निकालेको र अहिलेसम्म पनि त्यही ठाउँमा तातोपानी आइरहेको कथन रहेछ। बैकेलोको चर्चा र शक्तिबाट डराएका सिंजापति राजालाई आफ्नो राज्य कब्जा होला भन्ने भयले सताएछपछि उनले विभिन्न दूत खटाएर त्यसको शक्ति क्षय गर्ने योजना बनाएछन्।
त्यही योजना अनुरूप सिंजापतिको दूतका रूपमा कुटुमुडी बुढी बैकेलोको फुपूको नाटक गरी बैगोलाको नजिक भइछिन्।
फुपूको नाटक गरी कुटुमुडीले बैकेलाको शक्ति क्षय गर्न सकिने सबै गोप्य कुरा बुझिछन्। बैकेलोको खुँडा आगोमा जलाएपछि उनको शक्ति क्षय हुने योजना कुटुमुडीले पत्ता लगाएपछि सिंजापतिको योजना अनुसार नै खुँडा जलाउने तयारी भएछ।
बैकेलोले त्यो पत्ता पाई कुटुमुडीलाई पनि मुक्का प्रहार गरी मारिदिएको र उनी पनि मरेको किम्बदन्ती रहेछ।
सिंजापतिको कथा सुनाइ नसक्दै चौलागाईंले गाडी भित्रैबाट तिला नदीको फाँटतिर चोरी औंलाले देखाउँदै बलिराजाले सबभन्दा पहिला राज्य गरेको ठाउँ यही हो भन्दा हामी थप पुलकित भयौं।
यात्राकै क्रममा दौरा, सुरुवाल, ढाका टोपी र कोटमा ठाँटिएर हिँडेका पुरूष र गुन्यू, चोली र पटुकीमा सजिएका जुम्लेली महिला देखेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले आफ्नो मोबाइलमा केही तस्बिर कैद गर्दै भन्नुभयो, ‘जुम्लेलीले नेपाली भाषा मात्रै होइन मौलिक र परम्परागत नेपाली भेषभूषाको महत्वलाई पनि अझै जीवन्त बनाएका रहेछन्।’ जुम्लेलीको वर्णन गर्दै गर्दा हामी अघिअघि आफ्नै लयमा दौडिरहेको गाडी घ्याच्च रोकियो। हामी त्यतिबेला तातोपानी गाउँपालिका पुगेका रहेछौं। तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने सहितको टोली हाम्रो स्वागतका लागि खादा र अविरसहित सडकमै प्रतिक्षामा रहेछ।
पालैपालो टिका र खादा लगाएपछि अध्यक्ष न्यौपानेले स्थानीय–स्थानीय तहबीचको समन्वय र अनुभव आदान–प्रदानका लागि यस्ता भेटघाट फलदायी हुने भन्दै खुसी व्यक्त गर्नुभयो।
समय अभावका कारण धेरै समय बस्न नपाएकोमा खिन्न हुँदै न्यौपानेले अनुभव आदान–प्रदानका लागि संघीय राजधानीमा रहेको जेठो र ठूलो महानगरपालिकाले गरेको प्रयासबाट भने आफूहरू उत्साहित भएको बताउनुभयो।
छोटो समयको भेटघाटमा पनि उहाँले तातोपानी क्षेत्र जटिबुटीका लागि प्रख्यात रहेको, धेरै पाटन क्षेत्र रहेको, गिडी दह र बलिराजाले पहिलो पटक राज्य सुरू गरेको, २४ बढी हिमाल रहेको जस्ता अनुभव सुनाउन भ्याउनुभयो।
हामी उहाँहरूको न्यानो स्वागतलाई ग्रहण गर्दै फेरि अघि बढ्यौं। बाटोमै रहेको तिला गाउँपालिका अध्यक्षसँग भेटघाट गर्ने योजना रहे पनि उहाँसँग भेट भएन। हाम्रो यात्रा पुनःअघि बढ्यो केही समयपछि हामी कालीकोट र जुम्लाको सीमानामा रहेको नागमघाट पुग्यौं।
करिब ३० मिटर जतिमात्रै कालीकोटको भूगोल टेकेर हामी चढेको गाडी फेरि जुम्लाकै भूगोलमा प्रवेश गर्यो। हिमा गाउँपालिका हुँदै सिंजा भ्यालीका रमणीय फाँटहरूको आनन्द लिँदै फेरि हाम्रो विराट सिंजाको यात्रामा अघि बढ्यौं।
आचार्यालिही पुग्दा...
दुबईको डेजर्ट सफारीको झल्को दिने धुलाम्य कच्ची बाटोको यात्राका क्रममा हामी आचार्यालिही पुग्यौं। धुलाम्य सडकबाट फैलिएको धुलोले छपक्क छोपिएको आचार्यालिहीको धमिलो साइन बोर्डदेखेपछि काठमाडौं महानगरपालिका कानुन विभाग प्रमुख आचार्य हतार–हतार गाडी रोकेर दौडिँदै साइन बोर्डको छेउमा पुग्नुभयो।
एक मुठ्ठी माटो समाएर निधारमा टीका लगाउनुभयो। त्यही माटोलाई कसिलो मुठ्ठी पारेर फेरि केहीबेर छातीमा राख्नुभयो। वर्षौ विदेशी भूमिमा बसेर नेपाल फर्किदा विमानस्थलमा आफ्नो मातृभूमिलाई ढोगेर भावुक बनेजस्तै उहाँ एकछिन टोलाउनुभयो।
हामी सवार गाडीको ड्राइभरले दुई–तीन पटक हर्न बजाएपछि झस्यांग हुँदै दौडिँदै गाडी नजिक आउँदा उहाँको गहभरी आँसु भरिएको थियो।
फेरि एकछिन उहाँ शान्त बन्नुभयो र सिटमा अडेसा लागेर सुस्तरी भन्नुभयो– ‘आचार्यको जनमथात यही आचार्यालिही हो, जीवनमा पहिलो पटक यहाँको माटोसँग स्पर्श गर्दा म अनायस भावुक भएछु।’
गाडी पुनः उही रफ्तारमा अघि बढ्यो। लार्जा, पाण्डव गुफा हुँदै हाम्रो टोली खलंगाबाट हिँडेको करिब चार घण्टाको यात्रापछि विराट कनकासुन्दरी, वुम्रमाडीचौर, मालिकावोता, विराट र पाण्डवगुफा समाहित भएको सिंजाको कनकासुन्दरी गाउँपालिकामा पुग्यो।
गाउँपालिका अध्यक्ष नरवीर रावत लगायतको टोली हाम्रो स्वागतमा तयार रहेको रहेछ। बिहानको खाना विराट सिंजामा खाएपछि जीवनमा पहिलो पटक सिंजा पुगेको मलाई त्यहीका बासिन्दाबाट नेपालको प्राचीन खस भाषाबारे मुखरित गराउने हुटहुटीले समात्यो।
पात्र खोज्दै जाँदा पद्मशरण उपाध्यय टुप्लुक्क भेटिनुभयो। उपाध्ययले आफूहरू कनकासुन्दरी माताको मन्दिर स्थापना भएदेखि नै पूजा गर्ने पुजारीको सन्तान भएको बताउनुभयो।
सिंजाली भाषाकै लवजमा उपाध्ययले भन्नुभयो,‘पहिला राजा जालन्धरीले राज्य गर्दाखेरी नै कनकासुन्दरी मन्दिरको स्थापना गरेको इतिहास छ। कनक भनेको पहेलो सुनजस्ती सुन्दरी भएकाले उनैको नामबाट कनकासुन्दरी नाम रहन गएको हो। राजा जालन्धरीले ३ सय ६० वर्षसम्म राज्य गरेको भनाइ छ।’ राजा जालन्धरीको अन्त्यपछि काशीचल्ल, अरिचल्ल लगायतले पनि शासन चलाएको र पृथ्वीनारायण शाहले जुम्ला कब्जा गर्न नसकेपछि पछि शोभन शाहीले राज्य गरेका बेला बहादुर शाहले कब्जा गरेको उहाँले बताउनुभयो। उहाँले बाहिर कब्जा हुँदा भित्र ताउलीमा भात खाँदै गरेका जुम्लेली र त्यही ताउली कुम्लो पारेर भागेको इतिहासको उखान यसरी सुनाउनुभयो।
‘भात खायौं शोभन शाहीया ताउली हर्यो कुम्ला’ भनी उखान रचेको पाइन्छ।
विराट सिंजामा केहीबेरको आरामपछि अलिक पर डाँडामा रहेको कनकासुन्दरी मन्दिरको दर्शनमा लागि हाम्रो टोली अघि बढ्यौं।
कनकासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला भण्डारी पनि हाम्रो साथमै जानुभयो।
सिंजाली राजाहरूको दरबार रहेको कनकासुन्दरी मन्दिरको उकालो चढ्दै गर्दा बाटोमै सरकारी विद्यालयकै पोशाकमा लेपोरतली गाँउकी सपरा बुढासँग भेट भयो। उनी लुड्कु माविको कक्षा–९ मा अध्ययनरत् रहिछन्।
उनीसँग सुरूमा केही कुराकानी गर्न खोज्दा जुम्लेली पारामै लजाइन्। के सोचिन कुन्नी केहीबेरपछि फेरि कुराकानीका लागि उनी तयार भइन्।
दैनिक दुई घण्टाको पैदल यात्राबाट विद्यालय आउ–जाउ गर्ने सपराको सपना गाउँसम्म मोटरबाटो पुगोस् भन्ने रहेछ।
उनले जुम्लेली शैलीमा आफ्नो कथा यसरी सुनाइन्।
‘दुई घण्टा लाग्छ, स्कुलमा जानु घर आउनु, हामीलाई एउटा रोड भैदिए स्कुल जाने गाडी–साडी हुने थियो। रोड नहुनका लागि हिँडेर भोग्नुपर्ने भएको छ धेरै दुःख।’
मैले सपरालाई भविष्यमा के बन्ने इच्छा छ भनि फेरि दोस्रो प्रश्न तेर्साएँ।
दोस्रो प्रश्नमा पनि उनी यसरी खुलिन्, ‘केही बन्ने डाक्टर, पुलिस त्यस्तै बन्ने इच्छा छ। तर, इच्छा पूरा हुन्छ कि हुन्न।’
उनले आफ्नै भविष्यबारे आशंका गरिन्। मैले उनलाई ठूलो मान्छे बनेपछि यो गाउँको मुहार फेर्ने कुनै योजना त होला नि भनी तेस्रो तथा अन्तिम प्रश्न गरें। त्यो प्रश्नमा पनि उनले गाउँकै सेवा गर्ने योजना यसरी पोखिन्।
‘यही गाँमको सेवा गर्ने, हाम्रो गाँमलाई राम्रो बनाम, अनि घरमै रोड लेर आम, बालबालिकाहरू सबैलाई पनि सुविधा बनाम, हाम्लाई त एउटा दुःख भयो–भयो अब बालबालिकालाई धेरै सुविधा बनाम भन्ने छ।’
मेरा यी तीन प्रश्नमा पूरै जुम्लेलीको कथा सुनाएको अनुभव गर्दै सपरालाई हात हल्लाएर उकालो लागें।
त्यतिबेलासम्म मेयर शाक्य, उपमेयर खड्गी लगायतको टोली कनकासुन्दरी मन्दिर आसपास पुग्नुभएको थियो।
उकालो चढ्न हम्मेहम्मे पर्ने म स्याँस्याँ गर्दै थाप्लोमा पुग्दा सिंजाली राजाहरूको भग्नावशेष दरबार नजिकै रहेको कनकासुन्दरी मन्दिरको दर्शन गर्ने कार्यक्रम चलिरहेको रहेछ।
मैले त्यही मौकामा कनकासुन्दरी मन्दिर र चन्द्रमालाई समेत कैद गर्दै भग्नावशेष दरबार नजिकैबाट पालैपालो सबैको तस्बिर खिचे।
त्यसपछि हामी ओरालो झर्दै गर्दा अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमिमा राखेर कर्णालीका उदाउँदै गरेको कोपिला अर्थात् बालबालिकाको तस्बिर कैद गरें। ती बालबालिकाको अनुहारसँग मैले राजधानीको महँगा विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग तुलना गर्न खोजें अहँ ! मन कता–कता अमिलो भएर आयो। अलिक तल ओखलमा धान कुटिरहेका जुम्लेली भेटिए।
मैलै उनीहरूको पनि तस्बिर कैद गरें। बाघका मूर्तिहरू सहितको भग्नावशेष पार गर्दै ओरालो झर्दै गर्दा फेरि गुन्यू, चोली र पटुकीमा सजिएका जुम्लेली एक हुल जुम्लेली महिला भेटिए।
तस्बिर खिच्ने अनुमति माग्दा उनीहरूले सहज अनुमति दिएपछि मैले केही तस्बिर कैद गरें।
उनीहरूमा पनि मैले जुम्लेलीको कथा भेटेको अनुभूति गरें।
मन्दिर दर्शनपछि झोलुंगे पुल तरेर वारि आउँदै गर्दा कनकासुन्दरी गाउँपालिका वडा–४ का वडाअध्यक्ष रविलाल आचायसँग भेट भयो।
राजधानीबाटै आएको हाम्रो टोलीलाई केही सन्देश पठाउने योजनासहित उहाँ हाम्रै प्रतिक्षामा हुनुहुँदो रहेछ।
हामीलाई देख्ने बित्तिकै उहाँले केन्द्र सरकारलाई खबर लगिदिनु होला भन्दै भैंसेश्वरी भन्ने ठाउँमा पक्की पुलको माग गर्नुभयो।
उहाँले कुराकानीकै सिलसिलामा त्यहाँ पक्की पुल निर्माण भए सदरमुकाम खलंगा पुग्न सहज हुने अनुभव सुनाउनुभयो।
उहाँले डिपिआरसहित पुल महाशाखामा बुझाए पनि सुनुवाइ नभएको गुनासा गर्नुभयो।
छुट्ने बेलामा पनि भन्नुभयो, ‘पत्रकारले यो कुराको हाइलाइट गरिदिनुहोला, यो भयो भने हामीलाई धेरै सुविधा हुन्छ।’
उहाँका ती सन्देश बोकेर हामी पुनः जुम्ला फर्कियौं। भोलिपल्ट नगरपालिकाको न्यानो बिदाईसँगै हाम्रो टोली मुगुको रारातिर लाग्दै गर्दा चलचित्रको पर्दामा जसरी जुम्लाका दृष्यहरू वरिपरि नाचिरहेका थिए।
केही बेरको उडानपछि जुम्लाका डाँडाहरू विलिन हुँदै गए। मेरो मन चाहिँ जीवनमा पहिलो पटक सिंजा पुग्ने रहर पूरा भएकोमा आनन्दले नाचिरहेको थियो।