४ हजार ७० मिटर उचाइको पिके डाँडा हिउँदमा छपक्कै हिउँले ढाक्छ। डाँडा अग्लो भएकाले हावाको वेग बाह्रैमास एक नासको। आँखै अघिल्तिर नुम्बुर र करेलुङ। शिरानमा सगरमाथा। सँगै नुप्से, लोत्से, चोयु, आमादाब्लम, थामसेर्कु लहरै उभिएका। बाँयातिर पश्चिमपट्टि कुनामा धौलागिरि हिमालदेखि सुदूरपूर्वमा दाँयातिर कञ्चनजंघासम्म।
८ हजार माथिका ९ वटा विश्वप्रसिद्ध हिमाल ३६० डिग्री कोणमा। लाग्छ, एउटै फ्रेममा सबै हिमाल कम्प्युटरका वालपेपर झैं सजिएका छन्।
फाप्लुबाट हिँडेको भोलिपल्ट बिहान सूर्याेदयसँगै हिमशृंखलाको पानोरमिक दृष्य हेर्दा लाग्दै थियो। काठमाडौं फर्किएर शब्दमा सायदै बयान गर्न सकूँला!
कोरोनाले गुम्सिएको छट्पटीलाई खुला स्वछन्द हावामा बहकाउने हुटहुटीले साथी चक्र कार्कीलाई घच्घच्याउँदै थिएँ। नभन्दै तिहार मान्न ओखलढुंगा घर पुगेका चक्रले फोनमा सुनाए, 'मौसम बेजोड खुलेको छ, उँभो लाग्ने हो त?'
सुनेर मेरो मन त्यसै रोमाञ्चित भयो। मैले उत्सुकता जनाएसँगै फाप्लु पश्चिमपट्टिको डाँडा पिके उक्लिने सल्लाह भयो।
दुई वर्षअघि ओखलढुंगा र सोलुखुम्बुको सिमाना पत्ताले पुग्दा साथीहरू भन्थे, 'पिकेबाट पूर्व-पश्चिमका हिमाल देखिन्छ।'
सगरमाथासहित ८ हजारमाथिका हिमाल एकै नजरमा! हेर्ने रहरले मनमा जमाएको डेरा यसपालि पूरा हुँदै थियो।
चक्र र मसँग जोडिए फोटोग्राफीका सौखिन अर्का साथी सुविन गुरुङ। पिके भ्रमण दलमा तीन सदस्यीय टोली तयार भएसँगै हामीले काठमाडौंमा झोला कस्यौं, चक्रले उता ओखलढुंगामा।
सडकमार्ग हुँदै २ सय ५० किलोमिटर दुरीको फाप्लु पुग्न झिसमिसेमा सुविन र म बाटो लाग्यौं। कोरोना संक्रमण त्रासले हामी आफ्नै मोटरमा हुइँकियौं। धुलिखेल कटेपछि सुनकोशी किनारको नागबेली बाटोमा अनेक रमाइला किस्सा र गफ गर्दै हामी खुर्काेटबाट बाँया मोडियौं। ओखलढुंगाबाट चक्र फोन गर्थे, हामी एकनास सुनकोशी तर्दै घुर्मी बजार कटेर हिलेपानीको उकालो लाग्दै थियौं।
८ घण्टाको ड्राइभिङमा हामी ओखलढुंगा पुग्दा दिउँसोको ३ बजिसकेको थियो। रमाइलो डाँडामा भेटिएका चक्र हामीसँग एकाकार भए। चक्र चढेपछि सुविन र मेरो गफमा गाडीभित्र लोकल स्वाद थपियो। त्यहाँको डाँडापाखा, बाटोघाटो सबको नालीबेली सुनाउन थाले चक्रले। उकालो लाग्दा दायाँतिर फेदीमा लमतन्न सुतेको बन्दप्रायः रुम्जाटार एयरपोर्ट र दायाँतिर देखिने बिगुटार फाँटबारे चक्रले हामीलाई दुई चार शब्दमा बयान गरी भ्याए।
पत्ताले नजिक धाप पुग्दा दूधकुण्ड शिरान नुम्बुर, सगरमाथादेखि मकालुसम्म बेलुकाको घाममा सफाचट् टल्किए। यता काठमाडौंमा गणेश, दोर्जे—लाक्पा जुगल र गौरीशंकर हेर्ने बानी परेको हामीलाई सर्लक्कै सर्वाेच्च शिखर र दन्ते लहरझैं उभिएका हिमाल देख्दा मन थामी नसक्नुको भयो।
दुई, चार फोटो खिच्दा झमक्क परेको साँझसँगै हिमालहरूले घुम्टो ओढिहाले। हामी भने दुई घण्टा दुरीको फाप्लुतर्फ सोझिँदा पारि डाँडामा फाप्लु र सल्लेरी तिहारझैं झिलिमिली देखिए।
फाप्लु पुग्दा साँझ ७ बजे बजिसकेको थियो। बाह्र घण्टाको ड्राइभिङले म थकित थिएँ भने पहिलो पल्ट सोलु पुगेका सुविन फुरुङ्ग थिए।
'साथी हो, रमाइलो त गर्नै पर्यो, के छ विचार?' - फाप्लुमा के खान्छौ केटा हो? शैलीमा चक्रले लोकल स्वाद पस्किने फूर्ति लाए।
'तिम्रो राज्यमा आइयो हेर, खातिरदारी गर' सुविन र मैले चक्रलाई हौस्यायौं।
चक्रले हौसिएर तीन-तीन प्लेट सुकुटी र तोङ्बा अर्डर गरे। सुविनले 'तोङ्बा दुइटा मात्र है' भनेपछि गुरुङका छोरोलाई केही नचल्ने चक्रले थाहा पाए।
'बनारसी ब्राह्मणलाई एक थर्मस पानी' भन्दै चक्रले तोङ्बाको भाँडो मतिर सारे।
पिकेको यात्रामा तोङ्बा र सुकुटीको पार्टी फाप्लुमै सुरू भयो। चक्रले 'चिसो पानीमा पाकेको जे पनि मिठो' भन्दै लोकल सागको स्वादमा मासुभात खुवाउने भए।
चक्र र मेरो दोस्ती कान्तिपुरमा छँदादेखि कै हो। सोलु डेटलाइनमा उनी कान्तिपुर पत्रिकालाई लेख्थे, म कान्तिपुर एफएमको न्युज रूममा थिएँ।
'घले गाउँतिरैको नारेपा नखाएकालाई यताको आरक के खुवाउनु!' तातोपानीमै चियर्स गरिरहेका सुविन चक्रको घोचपेचमा रमाइलो मानिरहेका थिए।
मंसिरमा परेको यसपालिको तिहारसम्म पनि काठमाडौंमा चिसो खासै थिएन। तर पत्ताले नाघेर मास्तिर लागेपछि भने चिसोको बेजोड स्वाद हामीले भेटेका थियौं। राती दस बजे साहुनीले खाना पस्किँदा चक्र र मैले दुईटा तोङ्बा सिध्याएछौं।
तोङ्बाको भित्री कोट लाएर सिरक ओडेपछि चिसोको पत्तै भएन। सुविन भने स्लिपिङ ब्यागमा छिरे।
झिस्मिसेमा आँखा खुल्दा झ्याल बाहिर नुम्बुर छ्याङ्ङ खुलिरहेको देखियो। भोलि बिहान यही नुम्बुरलाई ३६० डिग्रीमा हेर्दै थियौं।
ब्रेकफास्ट खाएर फाप्लु तल सोलु खोला हुँदै हामी पिके तर्फ लम्कियौं। ट्रेकिङ ब्याग मेरो आफ्नै नभएकाले सामानको अन्दाजै भएन, झोला केही भारी भयो। ६/७ घण्टा हिँड्नुपर्ने, एकै घण्टा हिँड्न मुस्किल हुने भयो मलाई। त्यसमाथि लोदिङमाथिको ठाडो उकालो आउनै बाँकी थियो। चक्रको लामा खुट्टा पछ्याउँदै सुविन पनि ओझेल पर्थे। म विस्तारै हिँडिरहेँ।
बाटोमा पर्ने तामाखानी पार गरेर अघि बढ्दा बायाँतिर शेर्पा गाउँ, खेतबारीको मनोरम दृष्य र दायाँतिर अग्लो भिर छिचोल्दै हामी अघि बढ्यौं। मैले बोकेको झोला ८० लिटरको परेछ। खासमा चक्रको पुरानो झोलामा मैले पिके यात्राका लागि सरसामान हालेको थिएँ।
'हैट, के धोक्रो दियौ यार तिमीले?' लोदिङ पुग्दै गर्दा चक्रलाई झोला भारी भएको रिस पोख्दै भने, '१८/२० किलोको झोला मलाई महाभारत भयो।'
'तिम्रो स्टामिना देखेँ मैले' चक्रले व्यंग्यात्मक शैलीमा मलाई उडाउँदै भने, 'उकालो हिँड्नै नसक्ने भएछौ।'
पिके मार्गमा लोदिङ अन्तिम शेर्पा बस्ती भएकाले हामीले मध्य दिउँसो त्यहीँ खाना खाने निधो गर्यौं। बिहान फाप्लुमा चिसो भएपनि लोदिङमा घाम पारिलो थियो। बाटै छेउको शेर्पा होटलमा चक्र छिरेर खानाको बन्दोबस्त गरे।
भात पाक्दै थियो, शेर्पा दिदीलाई मैले विनम्रताका साथ अनुनय गरेँ, 'दिदी हामीसँग पिके जाने कोही भाइ पाइन्छ कि?'
झोला बोकेर उकालो चढ्ने आँट थिएन। दिदीको जवाफले म निराश भएँ, कोही छैनन्। कुरा गर्दागर्दै खाना तयार भयो। सोलुको सेतो सिमी, काउलीको तरकारी र अकबरे खुर्सानीसँग चक्रले भने जस्तो चिसो पानीमा पाकेको तातो भात बेजोड मिठो भयो।
होटल्नी दिदी भान्साबाटै एक जना आगन्तुक भाइसँग शेर्पा भाषामा कुरा गर्दै थिइन्। चक्र कुराकानी सुनिरहेका थिए। दिदीले हामीलाई हेर्दै भनिन्, 'तपाईंहरूसँग भाइ गइदिन्छन्।'
'हुन्छ, सारहरूसँग म गइदिन्छु नि!' आगन्तुक भाइ शेर्पा लवजमा बोले। उनी त्यहीँ लोदिङकै ३१ वर्षीय मिङमा शेर्पा रहेछन्।
मलाई ती भाइ भगवानले पठाएझैं लाग्यो। साथीहरूले पनि झोला जिम्मा लाएपछि सबैको हालत थाहा भयो।
आफ्नै झोला हम्मेहम्मे थियो हामीलाई। ती भाइ एक्लैले तीन जनाको झोला सहजै बोक्न कस्सिए। त्यति नै बेला मैले मेरो स्टामिनालाई तिलाञ्जली दिएँ। ज्यान हेर्दा मोटो, बल तागत फिस्स...
लोदिङबाट उकालो लागेसँगै गाउँ ओझेल पर्दै जंगलभित्र ठाडो उकालो सुरू भयो। जंगलबीचमा ठाउँठाउँमा रित्ता चौंरी गोठ भेटिए। सँगै भेटिए एक हुल साइकले ठिटाहरू। १६ वर्षदेखि ३५ वर्षसम्मका पाँच ठिटाहरू काठमाडौंबाट फाप्लु सेरोफेरोमा साइकलमार्फत पर्यटन प्रवर्द्धन गर्न पुगेका रहेछन्। आफूलाई इन्डुरो साइक्लिस्ट बताउने उनीहरूको डाउनहिल साइक्लिङ गज्जबको थियो।
त्यस रात हामी पिकेभन्दा दुई घण्टा तल जसमाने भञ्ज्याङमा बस्दै थियौं। साँझ नपरी भञ्ज्याङ पुग्ने छाँट देखिएन। ठाडो उकालो भएकाले पिके हाइक चुनौतीपूर्ण भयो। त्यसमाथि मिङमा नभेटिएको भए, कम्तीमा मेरो चाहिँ बाजा बज्थ्यो।
ठाडो उकालोको थकानलाई रोमाञ्चक बनाएको थियो, साथीभाइको जोकले। त्यसैले त उकालोको थकान हाँसोमा गुञ्जिरह्यो।
बोल्दा वाक्यपिच्छे शेर्पा लवजमा 'हाजुर सर' लगाउने मिङमा हामीलाई 'सारहरूलाई गाह्रो भयो होला' भनिरहन्थे। मिङमाको निश्चल आतिथ्य सत्कार देख्दा हामी कृतज्ञ हुन्थ्यौं। उनैले हाम्रा तीन/तीन वटा झोला बोकिरहेका थिए, फेरि उनैले साह्रो गाह्रो सोधिरहेका थिए।
घरको एक्लो छोरो मिङमा नवविवाहित रहेछन्। आमाको स्वर्गे भइसकेकाले घरमा बुवा र बहिनी मात्रै। रोजगारीका लागि भारतको मुम्बई हुँदै खाडीसम्म पुगेछन्। आम्दानी गर्न बिजुली वाइरिङको सीप पनि सिकेछन्। सोचे जसरी कमाउन नसकेपछि ३१ वर्षीय मिङमाले अन्ततः पर्यटनमा भविष्य खोजेका रे।
'शेर्पा नै भएपछि सगरमाथा पनि चढौं जस्तो लाग्दैन?' हाम्रो प्रश्नमा मिङमाले भने, 'किन नलाग्नु ! कसैले जाउँ भन्यो भने, म त गइदिन्छु।'
साथीभाइको संगतमा सगरमाथा बेसक्याम्प, लाङटाङ र धौलागिरिसम्म पुगेका मिङमाको सपना ट्रेकिङ गाइडको लाइसेन्स निकाल्ने छ।
जसमाने भञ्ज्याङ नजिक पुग्दै गर्दा झमक्क साँझ पर्यो। चिसो स्याँठ मुटु कमाउने गरी चलिरहेको थियो। निष्पट्ट अध्याँरोमा भञ्ज्याङ मुखैको होटल अघिल्तिर एउटा भर्खरको केटो हाम्रो बाटो हेर्दै रहेछ।
'साह्रै गाह्रो गरी आइपुगियो हौ,' मैले यति भन्नेबित्तिकै ती युवकले जवाफमा भने, 'हाजुर सर। सारहरूलाई निमा मामाले पठाएको हो?'
चक्रले पछाडिबाट सोधे, 'हो, आङ पुला हो तिमी?'
३,६५५ मिटर उचाइको जसमाने भञ्ज्याङ फाप्लुपट्टि र पारि रामेछापपट्टिको मध्यविन्दु। हावाको बेग ननस्टप चलिरहने। साँझ बिहान बाहिर बस्नै नसकिने। हामी हत्तपत्त होटलभित्र छिर्यौं।
बेञ्चमा बस्दै मैले साथीहरुलाई भने, 'हैट, संसार बिसाए जस्तो भयो!'
चुलोमा एक्लै भ्याइनभ्याइ गरिरहेका ती भाइ २५ वर्षे आङ पुला शेर्पा रहेछन्। काठमाडौंको कलेजबाट होटल व्यवस्थापनमा स्नातक गरेका उनी कोरोनाका बेला आमाबुवालाई सघाउन जसमाने उक्लिएका रे। मिङमा जस्तै आङ पुलालाई पनि पर्यटनमै आकर्षण छ। तर आमाबुवाले चलाइरहेको होटल अझ स्तरीय बनाउन उनमा विदेश गएर धन कमाउने चाहना रहेछ।
'पैसा कमाएर यो होटलमा बेकरी थप्ने हो सर' हस्याङफस्याङ गर्दै भात पकाइरहेका आङ पुला आफ्नो भविष्यबारे बोले।
पानी छुन नसकिने कठ्यांग्रिने चिसोमा खटिरहेका आङ पुला घरको सहारा बन्न केही वर्ष विदेश जाने सुरमा रहेछन्। हामीसँग जसमाने उक्लिएका मिङमा भने विदेशबाट थाकेर देशमै भविष्य खोज्दै छन्।
'आङ पुला केही खुवाउँछौं?' थकान मेटाउन केही तातो खाने इच्छा हामीमा थियो।
'भात पाक्दैछ सर,' साग काट्दै गरेका आङ पुलाले सोधे, 'अरु केही खानुहुन्छ अहिले?'
'तातो सुप बन्छ?' सुविनले सुप बनाइदिन गरेको आग्रहमा उनको थकाइ झल्किन्थ्यो। आङ पुलाले हाम्रो थकान मेटाउन भेज सुप तयार पारिदिए। तात्तातो सुपपछि कथाले खाना केहीबेरपछि खाने माग गर्यो। आङ पुलाले डाइनिङमा आगो ताप्ने व्यवस्था गरिदिएर चक्रको आग्रहमा मकैको आरक (रक्सी) पार्टी सुरू गरियो।
डाइनिङमा त्यसपछि सुरू भयो देशको राजनीतिमा केपी ओलीको अवतारदेखि गीत संगीतको चिरफार। नारायण गोपालका गीतदेखि पत्रकारिताका नालीबेली चक्र र मैले उदिन्यौं। आरकको स्वाद र शिटाके च्याउको सितनमा हामीले ब्लुज संगीतदेखि घुमफिर र पर्यटनसम्म भ्याउँदा झण्डै मध्यरात भएछ।
भोलि बिहान ४ बजे उठ्ने उत्साहका साथ आरकको भित्री कोट लगाएर कतिबेला सुतियो पत्तै भएन। बिहान ४ बजेको अलार्मसँगै उठेर हामी पिके उक्लिन तयार भयौं। आङ पुलाले तातो पानीमा जौको सातु र चौंरी गाईको घिउ हालेर चम्पा बनाइदिए।
टर्च लाइट बालेर सुविन अघि बढेसँगै पिके आरोहण सुरू भयो। निष्पट्ट अध्याँरो थियो, गोरेटो बाटो पत्ता लगाउँदै हामी उकालो लाग्यौं। उत्तर पश्चिमपट्टिबाट उडाउलाझैं गरी बहने हावाले हिँड्नै कठिन। भिरैभिर हिँड्नु पर्ने। लडे कहाँ हो कहाँ तल पुगिने। डरै डरमा हामी तीन भाइ अघि पछि हुँदै अन्ततः घाम झुल्किएपछि पिके डाँडा पुगियो।
पिके शिरान नपुग्दै उकालो चढ्दा पछिल्तिर झिस्मिसे उज्यालोमा ठिंग उभिएका सगरमाथा सहितका हिमश्रृंखला देख्दा जतिसक्दो छिटो डाँडा पुगौं पुगौं लाग्ने।
पूर्वी क्षितिजमा जसै सूर्याेदय हुन लाग्यो, तत्क्षण पूर्वी आकाशमा देखिएको सुनौलो बिहानीको रंग हेर्दा लाग्थ्यो, कुनै कलाकारले क्यानभास कोर्दैछ। क्षणभरमै विभिन्न रंगले सुशोभित हुँदै घाम उदाउने पूर्वी क्षितिज उजेलिन लाग्यो।
झण्डै दस मिटरको दुरीमा रहेका हामी साथीहरू बोलेको बतासले सुन्न दिइरहेको थिएन। लगत्तै घाम उदायो। सूर्याेदय खिच्न तम्सिएका सुविन पक्कै निराश भए होला, किनभने हामी टुप्पोमा पुगेकै थिएनौं। पछि सुविनले मोबाइलमा खिचेको तस्वीर देखाए, दायाँतिरको नांगो पाखो सूर्याेदय हुँदा सिम्रिक छरेझैं रातै भएको।
क्षणभरमै पिके सहित वरपरका पाखामा घामको किरण पर्यो। पिके उक्लिँदा संसारकै अग्लो ठाउँ पुगेझैं भयो। तर आँखै अघिल्तिर सगरमाथा हेरेपछि आफू उभिएको उचाइ महसुस गरियो।
हिमालबारे राम्रो दख्खल राख्ने चक्रले सुविन र मलाई हिमाल चिनाउन थाले। मैले ३६० डिग्रीमा पश्चिमपट्टि कुनामा धौलागिरि नियालेँ। सँगै सूदुर पूर्वमा दाँयातिर तेर्सिएर बसिरहेको कञ्चनजंघा हेरेँ।
नाकैको डिलमा उभिएको नुम्बुर र करेलुंग फेदको दूधकुण्ड। काठमाडौंबाट देखिने मनाश्लु, गणेश, लाङटाङ, जुगल, दोर्जे—लाक्पा। डाँडा परतिर लजाएर लुक्न खोजेझैं लाग्ने गौरीशंकर। र जति हेर्दा पनि धित नमर्ने सगरमाथा पिकेबाट देखिने आकर्षण हुन्।
सगरमाथा वरिपरिका हिमालहरू नुप्से, लोत्से, चोयु, आमादाब्लम, थामसेर्कु र अलि परतिरको मकालु हेर्दा लाग्थ्यो, त्यो हिमालको एकिकृत वस्ती हो।
हिमाल हेरिरहेको हाम्रो एकाग्रता हिमालकै बतासे सिरेटोले उडाउलाझैं गरेर भंग गरिरह्यो। सँगै गएका मिङमा मानेमा आड लागेर चिसो छल्दै हाम्रो रमाइलो हेरिरहेका थिए।
जाडो सुरू नहुँदै हिमपात हुनुअघि पिके डाँडामा हामीले भरपुर आनन्द लिन पाएका थियौं। पिके पुग्दाको अनुभव जिवन्त राख्न क्यामरामा कैद गरिरह्यौं। तर आँखाले देखेझैं कत्ति पनि कैद नभएकोमा हामी ढुक्क थियौं।
सगरमाथासहित मनोरम हिमश्रृंखला हेर्नका लागि पिके उपयुक्त गन्तव्य हो।
३ हजार पाँच सय मिटर उचाइको लामजुरा पास तल लमतन्न। बाँयातिर तल रामेछापको सबभन्दा माथिल्लो गाउँ क्यामा बाल्दिङ दाँयातिर पर फाप्लुको शिरान रातनागे डाँडा तेर्सो उभिएको देखियो।
पत्ताले तलतिर धापबाट पहिल्यै पिके पुगेका चक्र हौसिए, 'अब गुराँस फुल्ने बेला चैत, वैशाखतिर जिरी हुँदै आउने हो पिके।'
फोटो खिचिरहेका सुविन 'म छुट्नु हुँदैन है' भन्दै थिए।
ठाडो उकालो चढेर जसमाने हुँदै पिके टुप्पोमा पुग्दा आफूभित्रको स्टामिना पनि परीक्षण हुन्छ। यसको अर्थ हामी सहरिया जीवनशैलीका कारण शरीर कति कमजोर बनाउँदैछौं भन्ने प्रमाण हो।
पहिलो पटक सगरमाथा चढ्दा तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पिके हुँदै सगरमाथा हानिएका थिए, जुन बेला जिरी हुँदै पिके नजिकै लामजुरा पास भएर सगरमाथा बेस क्याम्प जानुपर्थ्यो। कालन्तरमा गेटवे टु एभरेष्ट जिरीको बाटो लुक्ला एयरपोर्टले उछिनेपछि सगरमाथा क्षेत्रको तल्लो भाग पिके ओझेलमा पर्यो।
पिके पुगेपछि जानैपर्ने गन्तव्यमा पिकेको महत्व बुझिन्छ। त्यसो त आन्तरिक पर्यटककै प्रचारले पिके फेरि जुर्मुराउँदैछ।
चार घण्टा पिकेमा बसेपछि हामी जसमाने भञ्ज्याङ झर्यौं। उचाइमा चढ्न जति कठिन छ, झर्न कतिबेर पनि नलाग्ने। सफलताको शिखरबाट ओरालो पनि यसैगरी त लागिन्छ। क्षणभरमा हिमाल ओझेल पर्दै गए, हामी भने आङ पुलाले पकाएको भात खाएर फाप्लु फर्कियौं।
घुमफिर गर्दा अनेक किस्सा बन्छन्। यात्रामा यसपटक भेटिएका मिङमा र आङ पुला नर्बिसने पात्र भए हाम्रा लागि। टुरिष्ट गाइडको लाइसेन्स निकाल्ने धोको मिङमाले कसरी पूरा गर्लान्? फेरि आङ पुला वैदेशिक रोजगारमा कोरिया जान भाषा परीक्षा दिएर बसेका छन्। दुःखजिलो जस्तै भए पनि नेपालमै गर्छु भन्ने ३१ वर्षीय मिङमा एकातिर छन् भने २४ वर्षे अर्काे ठिटो पाँच वर्ष विदेश बसेर जसमानेमा बेकरी खोल्छु भन्दैछन्।
फाप्लुबाट काठमाडौं फर्किँदा हामीले पिकेलाई छाडेर फर्किए पनि मिङमा र आङ पुलाका सपना गहिरो गरी हामीलाई पछ्याउँदै आए।
ट्विटरः Dahal_Shankar