संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक आरोहण भएको नेपालको ‘अन्नपूर्ण प्रथम’ हो। त्यसैले यसलाई ‘जेठो हिमाल’ पनि भनिन्छ। फ्रान्सेली पर्वतारोही एवं नेपालका अघोषित पर्यटन सद्भावना दूत मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण आरोहण गर्दा बास बसेको आधार शिविरमा हामी पुग्दा रोमाञ्चक अनुभूति सँगाल्न पायौं।
***
हुमखोलामा लन्च खाएपछि बडो रमणीय ठाउँमा पुगियो। अलि उकालो चढेपछि अति सुन्दर झरना देखियो– फुतफुते झरना। सारा थकान र कष्ट भुलाउने गरी पूरै खोलो झरनाको रूपमा भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्दो रहेछ! अनि तल हरियोनिलो रङको रह बनेको रहेछ।
***
हाम्रो टोलीमा सबैभन्दा जाँगरिला र रसिला व्यतिmत्व हुनुहन्थ्यो अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन। होचो कदका आँटिलो स्वभावका।
मध्य मंसिर। लाम्चो उपत्यकाको उत्तरतर्फ क्षितिजमा गगनचुम्बी हिमशिखरहरू लहरै उभिएका। स्वच्छ मौसम। साँझबिहान मीठो जाडो। दिनचाहिँ घमाइला। स्विस भूर्गभविद् टोनी हेगनले पोखरालाई ‘धर्तीको स्वर्ग’ त्यसै भनेका होइनन्। साँच्चैको स्वर्गै हो पोखरा ।
अनुपम प्राकृतिक छटा र पर्यटन व्यवसायीको आत्मीयताको रसास्वादन गर्न देश देशावरबाट आउने अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकबाट गुल्जार रहने पोखरामा अचेल चहलपहल कम छ। गत चैतदेखि कोरोना महामारीबाट पोखरा पनि आक्रान्त छ। त्यसैले आफ्नो घरभन्दा पनि प्यारो मानेर यहाँ बसेका केही विदेशी र आन्तरिक पर्यटक मात्र फेवाताल वरपर डुलिरहेका देखिन्छन्।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले सन् १९५० को ग्रीष्ममा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) शिखर अरोहण गरी पहिलो पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको चुलीमा पुग्ने सौभाग्य पाएका थिए। यसरी इतिहास रच्नुका साथै उनले ‘अन्नपूर्ण’ पुस्तक लेखेर नेपाललाई गुन लगाए। विदेशीलाई नेपाल चिनाए।
हिमाल चढ्दा हिउँले खाएका आफ्ना अंगहरू पेरिसको अमेरिकी अस्पतालमा उपचार गराउँदागराउँदै लेखाएको ‘अन्नपूर्ण’ पुस्तक १ करोड १० लाख जति प्रति बिक्री भएको अनुमान छ। यसरी नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा उनले महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनै हर्जोगले कोरेको इतिहास पछ्याउँदै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखराको ट्रेकिङ एजेन्सिज् एशोसियसन नेपाल र संचारकर्मीको टोलीले केही दिनअघि एक हप्ते पदयात्रा गर्यो।
थलिएको पर्यटनलाई ऊर्जा दिन हामीले म्याग्दीको मिरिस्ती खोला तिरतिरै उत्तर अन्नपूर्ण हिमालको उत्तरी आधारशिविरतर्फ पदयात्रा गर्यौं। पच्चीस जनाको हाम्रो टोलीमा सबैभन्दा जाँगरिला र रसिला व्यतिmत्व हुनुहन्थ्यो अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन। होचो कदका आँटिलो स्वभावका। बैंसमा भारतीय सेनामा हुँदा उहाँले पौडी खेलमा स्वर्णपदक जित्नुभएको रहेछ। बैंसालु जोस र फूर्ति ७० वर्षको उमेरमा पनि कम छैन। उहाँ आफ्नो गाउँपालिकामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले युवा टोलीमा साहस र ऊर्जा भर्न खोलानाला, भिर, चट्टान, पहरा र छहरासँगै पौंठेजोरी खेल्दै ७० वर्षअघिको इतिहासलाई पछ्याउंदै हुनुहुन्थ्यो।
उहाँलाई न लेक लाग्ने डर थियो न जाडोको। पदमार्गमा भाँचिएका रेलिङ र साँगुरा गोरेटो देख्नेबित्तिकै ‘तत्काल बनाइहाल्नुपर्छ है’ भन्दै गाउँपालिकाका आफ्ना कर्मचारीलाई बारम्बार निर्देशन दिइरहनुहुन्थ्यो।
यात्राको पहिलो दिन बेनी–जोमसोम सडकमा अवस्थित तातोपानी बजारभन्दा केही माथि कालीगण्डकीमा बनेको पुल तरेर तल्लो नारच्याङ छिचोल्दै हाम्रो टोली बसबाटै उपल्लो नारच्याङको होमस्टेमा बास बस्न पुगेको थियो।
भोलिपल्ट सखारै ब्रेकफास्ट खाएर जङगलको उकालीओराली बाटो हुँदै हामी खानपिन र बन्दोबस्तीका सामान बोकेर बेतोड हिँड्यौं। घाम अस्तायो, बाटो अँध्यारो हुँदै गयो। रात झमक्क पर्यो तर गन्तव्य पुग्ने केही अत्तोपत्तो थिएन।
मास्तिर कतै वस्ती छैन। जति हिँडे पनि गन्तव्य कता हो थाहा छैन, गाइड र सहयोगी पनि थाकेर लखतरान भए। निस्पट्ट अन्धकारमा टर्चको अत्यन्तै मधुरो उज्यालोमा हिँड्दै गर्दा एकजना सहयोगी दाइ लडेर भारी एकातिर र मान्छे अर्कोतिर भए। उनको खुट्टा त्यत्तिकैमा सुनियो। उनको जुत्ताको तलेत्रो फुस्किएर माथिको भाग मात्रै लगाएर घिसार्दै थिए। यसरी यात्राको पूर्वाद्धमै के हुने हो भनेर मनमा चिसो पस्यो।
अलिक समथर ठाउँमा पुगेपछि क्याम्पिङ गर्न पायक पर्ने ठाउँमा भारी बिसाइयो। त्यो ठाउँको नाउँ कालीखोला। अलि तलतिरबाट पानी ओसार्दै खाना पकाउने, टेन्ट बनाउने र धुनी (क्याम्पफायर) जगाउने काम गरियो।
बेलुकीको खाना खाएपछि मान्छे धेरै नहिँड्ने स्थान भएकाले जनावरको आक्रमणबाट बच्न रातभर आगो बालेर टेन्टभित्र गुडुल्किएर सुत्यौं। मोबाइलको टावर पनि नटिप्ने ठाउँ भएकाले हामीले विपद्् अवस्थाका लागि स्याटेलाइट फोन पनि बोकेका थियौं।
भोलिपल्ट पदयात्रीले आ–आफ्ना पोकापुन्तुरा र सहयोगी दाजुभाइले क्यापिङका सामान बोकेर बाटो लाग्दै गर्दा केही घण्टा जङगलभित्रको हिँडाइपछि बाटो अलमल भयो। बाटो खोज्दै चट्टाने बाँदर लड्ने भिरमा डोरी टाँगेर अघि बढ्दा रोमाञ्चित त भइयो तर चिप्लेर खसेमा हाडखोर पनि नभेटिने ठाउँ थियो।
निकैबेर अड्केपछि बाटो भुलेमा खोलालाई पछ्याउनुपर्छ भन्ने भनाइ सम्झँदै खोला सुसाएको ओरालो दिशातर्फ बाक्लो निगालाको गाँज फाँड्दै बाटो बनाउंदै हाम्रो टोली मिरिस्ती खोलाको किनार पुग्यो। त्यहाँ लञ्चको तयारी गरियो।
टानका साथीले पछि आउने पदयात्रीलाई सहज होस् भनेर ठाउँठाउँमा इनामेल रंगले चिन्हहरू पनि राख्दै हिँड्नुभएको थियो।
दिउँसो घाममा मिरिस्ती खोलाको हिउँ पग्लेर बगेको कञ्चन पानीमा केही साहसी साथीहरूले नुहाउने प्रयत्न गरे तर संभव थिएन। केही साथीले हाम्रा ऋषिमुनीलाई सम्झे जो शायद यिनै पर्वतमालामा एकसरो धोती मात्र धारण गरि निराहार हजारौं वर्षसम्म तपस्या गर्न सक्थे। यता हामीलाई भने पानी छुन पनि कठिन भयो।
लन्च खाएपछि खोलामा ढुङ्गा थुपार्दै र पानीले बगाएर ल्याएका मुढाको पुल बनाउँदै खोला तरेपछि नजिकै बन्दै गरेको हाइड्रो कम्पनीले सुरुङ खन्दा खोलातिर फालेको ढुङ्गाको पहिरोको भिरमा टेक्दै रक क्लाइम्बिङको शैलीमा डोरीको सहायताले २ सय मिटरजति चढाइ गर्नुपर्ने रहेछ। धेरैजना एकैपटक हिँड्दा ढुङ्गाको पहिरो खस्छ भनेर एक पटकमा एकजना गर्दै चार खुट्टा टेकेर घिस्रँदै डोरीको सहायताले बाटोसम्म टोली उक्लियौं। त्यस दिन झमक्क साँझ परेपछि मिरिस्ती खोलाको किनार र रमणीय झरना भएको छोटापा भन्ने ठाउँमा बास बसियो।
भोलिपल्ट ब्रेकफास्ट खाईवरी एउटा हाइड्रोपावर स्टेशन बन्न लागेको ठाउँमा हारगुहार गरेर एक जोर जुत्ता मागेर सहयोगी दाइलाई दिएपछि टोली लम्क्यो सम्धिखर्कतिर। त्यस दिन बिहानको यात्रामा दुई भिमकाय चट्टानको बीचबाट बगेको मिरिस्ती खोलाको तिरैतिर कहिले वारि त कहिले पारि गर्दै उकालो लागियो। खोलावारि गरेको विस्फोटबाट उछिट्टिएका चट्टानका चोइटा खोलापारि १ सय मिटरसम्म आइपुग्ने र विस्फोटका कारण जमीन थर्किने, पहाडै हल्लिने र धुँवाको मुस्लोले नीलो आकाश धुलाम्मे बनेको थियो।
शितले भिजेर चिप्लो भएका लेउ लागेका ढुङ्गामाथि हिउँ पग्लिएर बगेको खोलाले बगाएर ल्याएको मुढाहरूले बनेको पुलेसोबाट खोला तर्नुपर्ने रहेछ। भिर त थिएन त्यहाँ तर खुट्टो चिप्लियो भने खोलाले त बगाउने भयोभयो, तर कठ्याङ्ग्रिएर मरिने बढी डर!
त्यस दिनको लञ्च हुमखोलामा खाएपछि बडो रमणीय ठाउँमा पुगियो। त्यहाँबाट अलि उकालो चढेपछि अति सुन्दर झरना देखियो। सारा थकान र कष्ट भुलाउने गरी पूरै खोलो झरनाको रूपमा एक भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्दो रहेछ! अनि तल हरियोनिलो रङको रह बनेको रहेछ।
अन्नपूर्ण हिमश्रृंखलाका हिमनदी पग्लेर बगेको पानीले सायद हजारौ वर्षको अनवरत प्रयासपछि चट्टान समेत प्वाल पारेर ३१५७ मिटर उचाइबाट खस्दो रहेछ अद्भूत फुतफुते झरना। त्यस दिन हामी उकालो चढ्दै साँझसम्म खोलाको किनारमा र दुई पहाड बीचमा रहेको अति रमणीय ठाउँ सन्धिखर्क पुग्यौं।
त्यहाँ टेन्ट टाँगेर क्याम्पिङ गरियो। रोमाञ्च, डर र थकानसंगै भोलिपल्ट पाँचौ दिनमा हाम्रो टोली उत्तरी अन्नपूर्ण आधारशिविर पुग्दा सूर्यनारायणले हिमालको दक्षिणतिर विश्राम लिइसकेका थिए। जाडो र चिसो अचाक्ली रहेछ त्यहाँ, राति त माइनस १५ डिग्री सेल्सियस पुग्दो रहेछ। टेण्टले नथेग्ने। स्लिपिङ ब्याग समेत ओसले भिजेर बच्चाले पिसाव फेरेको डाइपरजस्तै भएको थियो।
डड््याम्म्! रातको दुई बजे अचानक बम पड्किएजस्तो आवाज आयो। आधारशिविर वरपरका भिरमा हिमपहिरो गएको रहेछ। हामी बिहान उठ्दा आधारशिविर वरपर हिउँ र माटो मिसिएका धुलोका कणले वातावरण धूमिल देखिन्थ्यो। उच्च हिमाली भेग भएकाले छिनछिनमा मौसम बदलिरहने रहेछ। क्षणभरमै सेता हिमाल हुस्सुले ढपक्क ढाकिने अनि फेरि एकैछिनमा हुस्सु फाटेर चहकिला सेता हिमाल उघ्रिने श्रृङ्खला चलिरहन्छ।
हाम्रो पदयात्रा अवलोकनभन्दा पनि अन्वेषण गर्ने खालको थियो। ऐतिहासिक पदमार्ग भएकाले दिनभरको थकान र रातको अधकल्चो निद्रा भए पनि टोलीका सबैमा स्फूर्तिको कमी भने थिएन।
अन्नपूर्ण हिमालको वास्तविक आधारशिविर भनेर पनि चिनिने हाम्रो गन्तव्यमा पुगेर सकुशल फर्किंदा हामी सबै दंगफुरुङ्ङ थियौं। कोभिड–१९ को महामारीका बेला अत्यन्त चिसो र एकलासको ठाउँमा जानुअघि के कसो हुने हो भन्ने डर फर्किन लाग्दा भने आनन्दमा परिणत भइसकेको थियो। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर भएर पनि ओझेलमा परेको ऐतिहासिक पदमार्गमा हिँड्दा हामी रोमाञ्चित त भयौं नै, सात दशकअघि सात समुन्द्रपारबाट अनेकौ चुनौती पार गर्दै ज्यान जोखिम राखेर सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको मार्ग पछ्याउँदाको यात्रा अविस्मरणीय बनिरहनेछ।
(कँडेल नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रबन्धक हुन्।)