आजभन्दा करिब चार वर्ष अगाडि (२०७३ सालको असार महिनामा) प्रचण्ड गर्मी र अविरल झरी छिचोल्दै संखुवासभाको सदरमुकाम खाँदबारीबाट करिब पाँच दिनको यात्रापछि हामी उत्तरी संखुवासभाको अन्तिम गाउँ किमाथान्का पुगेका थियौँ।
किमाथान्का गाउँ चीनको सिमानासँगै जोडिएको छ र निकट भविष्यमा नेपाल र चीनबीचको एउटा प्रमुख व्यापारिक नाका पनि बन्दैछ। भूगोलको कुरा गर्दा, पूर्वमा एउटा खोला र उत्तरमा अरुण नदीले किमाथान्का (नेपाल) वारि र पारि डेडांग र चांग (चीन)लाई छुट्टाएको रहेछ।
वारि किमाथान्का र पारि चांग बजार आवतजावत गर्न करिब २० मिनट लाग्दो रहेछ। चीनको चांग बजार जहाँ मोटर गुड्ने मात्र हैन, बिजुली बत्तीले पनि झलमल्ल छ र विकासको कुरा गर्दा, वारिको नेपालमा रहेको किमाथान्का गाउलाई धेरै गुणाले पछाडि पारेको छ।
केही वर्ष अगाडिसम्म यी वारि र पारिका गाउँलेहरुको बीचमा विवाह मात्र नभई पैसासमेत सरसापटी र मेला पर्वमा एकआपसमा सहयोग गर्ने चलन रहेछ। विडम्बना नेपालमा स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिहरु बढ्न थालेपछि, चीन सरकारले सिमानामा यति कडा निगरानी बढाउँदै लगेको रहेछ कि अहिले दुई देशबीच विवाह गर्न पूर्ण बन्देझ नै लगाइएको रहेछ।
अनुमति लिएर नेपालीहरुलाई केवल हप्ताको दुई दिन मात्र पारि जान दिइँदो रहिछ। वास्तवमा उत्तरी संखुवासभाको भोट खोला गाउँपालिका (साविकको ३ गाविसहरु हटिया, चेपुवा र किमाथान्का)का सबै नागरिकहरु यही चिनियाँ बजार चांगमा आश्रित छन्। त्यसमाथि किमाथान्का त झनै बढी आश्रित हुनु स्वाभाविकै हो।
किमाथान्का, जो नेपालको सबैभन्दा कम जनसंख्या भएको गाउँहरु मध्येमा पर्दछ र जहाँ करिब ८५ घरधुरी मात्रले एउटा सिँगो वार्ड हाल भोटखोला गाउँपालिका ३ (साविकको किमाथान्का गाविस) बनेको छ। भौगोलिक हिसाबले कति विकट छ भन्ने कुरा, त्यहाँसम्म पुग्नेहरुले मात्र अनुभव गर्छन्।
पारि चांगमा मोटर गुडेको देख्ने तथा बिजुलीले झिलिमिली भएको पारिका घरहरु देख्दै आईरहेका किमाथान्काबासीलाई पनि आफ्नो गाउँमा झिलिमिली भएको र मोटर गुडेको सपना देख्नु अन्यथा थिएन।
नेपाल र चीन बीचमा पूर्वको एउटा प्रमुख व्यापारिक नाका बन्ने पक्का भएपछि करिब ६ वर्ष अगाडिबाट नेपाल सरकारले मोटर बाटो खन्ने काम किमाथान्काबाटै सुरु गरेको रहेछ भने बिजुलीको आशा गर्दै चार वर्ष अगाडि कादुरी संस्थालाई अनुरोध गरेअनुसार हामी पहिलो पटक किमाथान्कामा पुगेका थियौँ।
८० वर्षीय आन्ग्बो भोटे भन्छन्- 'करिब १५ वर्ष अगाडि त्यहाँ पारिका मानिसहरु हामी कहाँ काम खोज्न र अन्न किन्न आउँथे। उनीहरु पनि चीनको एउटा दुर्गम गाउँजस्तै थियो। विकास केहि थिएन। तर यो बीचमा चीनले के-के गर्यो, गर्यो। घर घरमा बिजुली, पानी, बाटो सबै बनाइदिएका छन्। त्यहाँका जनतालाई निःशुल्क शिक्षा, बेरोजगारी भत्ता, वृद्ध भत्ता, जाडो भत्ता र हरेक बिपन्न परिवारलाई घर बनाइदिनेदेखि नुन तेल सबै सरकारले दिएका छन्।
साँच्चै उनीहरु हामीभन्दा धेरै भाग्यमानी भाका छन्। मेरी एउटी छोरी पनि त्यही पारिको चाइनिजसँग बिहे भएको छ। हामी मोबाइलमा दिनदिनै कुरा गरे पनि महिनौँ भयो भेटघाट भने भाको छैन। पारिको यता आउन र यताको उता जानलाई सिमानामा चाइनिज सेनाले कडा निगरानी गर्छ र त्यो पनि हप्तामा दुई दिन मात्र छोड्छ।
अब त मेरी छोरी, म बूढो कुनै बेला फुसुक्क भए भने मलाई देख्न पनि हप्तौँ दिन कुर्नुपर्ने बाध्यता छ, जबकी हामी वारि र पारिको सिमानामा उभिएर एक अर्कालाई देख्न सक्छौँ। त्यसमाथि अहिले त कोरानाको महामारीले गर्दा चीनले सिमाना बन्द गराएको करिब तीन महिना बढी भैसकेको छ।'
८० वर्षीय आन्ग्बो भोटे सहित सिँगो किमाथान्का बासीमा कति पीडा थपियो होला हामी सहजै अनुमान गर्न सक्छौँl तर किमाथान्काबासीलाई अहिले केही कुराले भने खुशी बनाएको छ l
करिब ६ महिना अगाडिबाट काम सुरु गरेर कादुरी संस्था र स्थानीय नागरिकले स्थानीय खोलाबाट ६० किलो वाटको लघु जल विद्युत आयोजना बनाएर, किमाथान्का गाउँ बिजुलीले झलमल्ल पारेपछि, वर्षौ अगाडिदेखि देख्दै आएको ८० बर्षीय आन्ग्बो भोटे सहित सिँगो किमाथान्काबासीको एउटा सपना भने पूरा भएको छ।
अनेक समस्याको बाबजुद पनि कादुरी संस्थाबाट तोकिएको समय भित्रैमा बिजुली सम्पन्न गर्न सकेकोमा खुशी लागेको स्थानीय विधालयका हेड सर फिन्जो भोटेले बताए। अब त पारिका चाइनिजहरुले पनि हाम्रो किमाथान्कामा बिजुली बलेको देख्ने भए।
अझै मोटर गुडेको पनि देखुन् तर मोटर बाटो पूरा हुनलाई त्यहाँको भौगोलिक जटिलताले पनि साथ नदिएको वडा अध्यक्ष तेन छिबीले बताए। 'अहिलेसम्मको कामको प्रगति हेर्दा, यो बाटोले निकास पाउन भने अझै वर्षौं लाग्ने देखिन्छ,' उनले भने।
महिनौ अगाडिबाट बुनेको किमाथान्कामा बिजुली बलेको हेर्ने मेरो योजना र रहर, देश र विदेशमा फैलिएको कोरना महामारीसँगै विफल त भयो नै, त्यो सँगसँगै किमाथान्काबासीसँग खुसी साट्ने अवसर पनि कोरानाले समाप्त गरिदियो। तर पनि जसै हाम्रो सुपरभाइजर शशीकुमार राई भाईबाट किमाथान्कामा सफलताका साथ बिजुली बालेको खबर पहिलो पटक गर्यो, २२ दिनदेखिको लकडाउनले घरको पर्खालभित्र लक भैरहेको यो शरीरमा, एकाएक खुसीको तरंग उत्पन्न गराई दियो।
अनि सम्झे चार वर्ष अगाडि हामीले किमाथान्काबासीसँग गरेको वाचा। हामीले वाचा गरेजस्तै, आज यी ८० वर्षीय आन्ग्बो भोटे सहित सिँगो किमाथान्काबासीले, किमाथान्कामा बिजुली बलेको त देख्न पाए नै तर आफूले आफैँलाई प्रश्न गरे- आन्ग्बो भोटेले आफ्नो जीवनकालमा किमाथान्कामा मोटर गुडेको हेर्न पाउछन् कि पाउन्नन् होला?
वारि र पारि केवल २० मिनेटको भौगोलिक दूरतामा रहेको यी दुई गाउँमा, उहि भाषा, धर्म संस्कृति अनि भूगोल भएता पनि, सिमानाले गर्दा फरक देश, फरक विकास अनि फरक फरक जीवनशैली छ। यो देख्दा भन्न मन् लाग्छ- कस्तो अचम्मको किमाथान्का अनि सिमानाले कोरेको गरिब किमाथान्काl
घडीले रातको ११ बजाई सकेको रहेछ, निदाउने बेलामा कामना गरे- यी ८० वर्षीय आन्ग्बो भोटे सहित सिँगो किमाथान्काबासीको, किमाथान्कामा मोटर गुडेको हेर्ने सपना पनि छिट्टै पूरा होस् र छिट्टै हामी पनि मोटर चढेर किमाथान्का पुग्न पाईयोस्।
साथै हामी कसैले पनि भन्नु नपरोस्- कस्तो अचम्मको किमाथान्का अनि सिमानाले कोरेको गरिब किमाथान्का भनेर। बरु सिमानामा टक्क उभिएर भन्न पाइयोस्- भाषा उहि, धर्म उहि, संस्कृति उहि, भूगोल उहि अनि विकास पनि उहि। छ त केवल देश मात्र फरक।