अमेरिकामा मंगलबार भएको निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले न्यूयोर्क सहरका मेयरसहित दुई राज्यको गभर्नरमा विजय हासिल गरेको छ।
३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। उनी चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र प्रख्यात विद्वान महमुद ममदानीका छोरा हुन्।
त्यस्तै, न्यूजर्सीमा मिकी शेरिल र भर्जिनियामा एबिगेल स्पेनबर्गर गभर्नर निर्वाचित भएका छन्।
आगामी वर्ष हुने संघीय संसदीय निर्वाचनका लागि क्यालिफोर्निया राज्यमा डेमोक्रेटिक पार्टीलाई फाइदा हुने गरी निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्ने गभर्नर ग्याभिन न्युसमको प्रस्ताव पनि जनताले अनुमोदन गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रिपब्लिकन पार्टीको सरकारले टेक्सासमा आफूलाई फाइदा हुने गरी निर्वाचन क्षेत्र पुनर्निर्धारण गरेको थियो। न्युसमले त्यसैमा जबाफी कदम चालेका हुन्।
न्यूयोर्क र क्यालिफोर्निया डेमोक्रेटिक गढ हुन् भने न्यूजर्सी र भर्जिनियामा पनि पछिल्ला केही राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन्।
यस अर्थमा हेर्दा यी ठाउँमा डेमोक्रेटिक पार्टीको जित अपेक्षित नै थियो। जितको अन्तर भने पार्टीले आशा गरेभन्दा ठूलो आएको छ।
शेरिल र स्पेनबर्गरले लगभग १५ प्रतिशत मतान्तरले जितेका छन्। ममदानीले पनि स्वतन्त्र उम्मेदवारका रूपमा लडेका न्यूयोर्क राज्यका पूर्वगभर्नर एन्ड्रयू कोमोलाई झन्डै १० प्रतिशत मतान्तरले हराएका छन्।
ट्रम्पले समाजवादी विचारधाराका ममदानीलाई 'वामपन्थी' भनेर गाली गर्छन्। उनले चुनावअघि ममदानीलाई मत नदिन अपिल गरेका थिए।
न्यूयोर्कमै जन्मे-हुर्केका र त्यहीँ व्यवसाय गरेका ट्रम्पले रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वालाई भोट हाले ममदानीलाई फाइदा पुग्ने भन्दै आफ्नो दलका मतदातासँग कोमोलाई भोट हाल्न आग्रह गरेका थिए। ममदानीले जिते न्यूयोर्क सहरलाई दिइने लगभग सबै संघीय अनुदान काट्ने धम्की पनि दिएका थिए।
यति हुँदाहुँदै ममदानीले कोमोलाई फराकिलो मतान्तरले हराएका छन्। डेमोक्रेटिक पार्टीको प्राइमरीमा ममदानीसँग हारेपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा लडेका थिए।
निर्वाचन परिणामपछि ट्रम्प रिसले चुर भएका छन् भने ममदानीले जितपछिको पहिलो भाषणमै ट्रम्पलाई गिज्याएका छन्।
'डोनाल्ड ट्रम्पले मेरो यो भाषण पक्कै हेर्दै हुनुहुन्छ। उहाँलाई म तीन शब्द भन्न चाहन्छु — कृपया (टिभीको) आवाज बढाउनुस्,' धेरै टेलिभिजन हेर्ने भनेर चिनिएका ट्रम्पलाई सम्बोधन गर्दै ममदानीले भने।
अमेरिकामा प्रहरीले अश्वेत समुदायमाथि विभेद र दमन गर्ने भएकाले उग्र-डेमोक्रेटहरू प्रहरीको विरोध गर्छन्। ममदानीले त झन् एक कदम अघि बढेर 'प्रहरीलाई पैसा नै दिन नहुने' भनेका थिए।
इसराइलको कट्टर विरोध गर्ने ममदानीले प्यालेस्टिनीहरूको इसराइल विरोधी विद्रोह (इन्तिफादा) लाई विश्वभरि फैलाउनुपर्छ पनि भन्दै आएका छन्।
ममदानीले चुनावअघि निःशुल्क बस सेवा, शिशु स्याहार केन्द्र र बढ्दो महँगी नियन्त्रण लगायत नारा दिएका थिए। यस्तै नाराका आधारमा समाजवादी विचारधारा राख्ने ममदानीले डेमोक्रेटिक पार्टीको प्राइमरी जितेका थिए। ट्रम्पले उनलाई 'वामपन्थी' भन्दै गाली गर्नुको कारण यही हो। ममदानी विजयी भए झन् धेरै कर लगाउलान् भन्ने डरले न्यूयोर्कका धनाढ्यहरूले पनि उनलाई हराउन कोमोको समर्थनमा पैसाको खोलो बगाएका थिए।
ममदानीको फराकिलो जितले डेमोक्रेटिक पार्टीमा उत्साहको सञ्चार भएको छ। युगान्डामा जन्मेका कारण ममदानीले अमेरिकी राष्ट्रपतिको चुनाव लड्न पाउँदैनन्। तर उनको सफलता देखाएर कतिले डेमोक्रेटिक पार्टीले आफूलाई अझै बायाँतर्फ लगे राष्ट्रपतीय चुनाव पनि जित्न सकिने जिकिर गर्दै छन्।
उदारवादी डेमोक्रेटिक पार्टीमा तुलनात्मक रूपले समाजवादी विचारधारा राख्ने कार्यकर्ताको बाहुल्य हुन्छ भने परम्परावादी रिपब्लिकन पार्टीमा दक्षिणपन्थीको। तर मध्यमार्गी स्वतन्त्र जनताको भोटले मात्र राष्ट्रपतीय निर्वाचन जितिने भएकाले दुवै दलमा प्राय: नरमपन्थीहरूले राष्ट्रपतीय प्राइमरी जित्ने गर्छन्।
उग्र–दक्षिणपन्थी भए पनि ट्रम्पले सन् २०१६ र गत वर्ष गरी दुई पटक निर्वाचन जितेको देखाउँदै पछिल्लो समय डेमोक्रेटिक पार्टी पनि अझ बायाँतर्फ ढल्किनुपर्ने बहस हुन थालेको छ। ममदानीको विजयले उक्त मागलाई अझ बढावा मिल्नेछ। तर ममदानीको विजयबाट त्यस्तो पाठ लिन नहुने कतिपय विश्लेषकहरूले जिकिर गरेका छन्।
उनीहरूका अनुसार ट्रम्पले गत वर्षको चुनाव जित्नुको मुख्य कारण डेमोक्रेटिक पार्टीले जनजीविकाको मुद्दा छाडेर सिद्धान्तका कुरामा धेरै ध्यान दिएर हो। पक्कै पनि तत्कालीन राष्ट्रपति जो बाइडेनले निर्वाचनको केही साताअघि मात्र दौड छाडेका र बाइडेन सरकारका पालामा भएको मूल्यवृद्धिको भारी बोक्नुपरेकाले उनकी उपराष्ट्रपति कमला ह्यारिसलाई घाटा भयो। तर महँगी नियन्त्रणमा ध्यान नदिएर समावेशी, लैंगिक, अल्पसंख्यकको अधिकार, जलवायु परिवर्तन लगायत सैद्धान्तिक मुद्दामा केन्द्रित भएकाले झन् धेरै नोक्सानी भएको यी विश्लेषकहरू तर्क गर्छन्।
ममदानीले पनि चुनाव प्रचारमा प्यालेस्टिनीको अधिकार, प्रहरीमा लगानी र संख्या घटाउने कुरा नगरेर सर्वसाधारणको जीविकोपार्जनको विषयमा ध्यान दिएको औंल्याउँछन्। प्रहरीप्रति आक्रामक भए पनि ममदानीले तुलनात्मक रूपमा अपराधीप्रति कडा स्वभावकी प्रहरी कमिस्नर जेसिका टिस्कलाई नहटाउने चुनाव प्रचार क्रममा आश्वासन दिएका थिए।
न्यूयोर्क सहर गरिब मात्र नभएर मध्यम वर्गले पनि धान्नै नसक्ने गरी महँगो भएको भन्दै ममदानीले त्यसलाई सम्बोधन गर्ने वाचा गरेका छन्। न्यूयोर्कमा मध्यम आम्दानी भएकाले झन्डै एक-तिहाइ कमाइ घर भाडामा खर्च गर्नुपर्छ।
त्यस्तै, कामकाजी दम्पतीले पनि झन्डै एक-चौथाइ कमाइ आफ्ना बच्चाको दिवा हेरचाहमा खर्चनुपर्छ। ट्रम्पकै छोरी इभान्का ट्रम्पले केही वर्षअघि न्यूयोर्कमा बच्चाको हेरचाह धान्नै नसकिने गरी महँगो भएको टिप्पणी गरेकी थिइन्।
यस्तो महँगीलाई सम्बोधन गर्न ममदानीले न्यूयोर्कमा थप घर-फ्ल्याट बनाउन सजिलो पार्ने नीति ल्याउने वाचा गरेका छन्। त्यहाँका झन्डै ४० प्रतिशत फ्ल्याटमा भाडा बढाउन नदिने भनेका छन्। बच्चाको हेरचाह नि:शुल्क गर्ने प्रतिबद्धता जनाएका छन्।
न्यूयोर्क सहरमा द्रुत गतिका बस नि:शुल्क चलाउने उनको अर्को कार्यक्रम छ। सर्वसाधारणलाई राहत होस् भनेर महानगर सरकारले आफै किराना पसल चलाउने घोषणा गरेका छन्। यी कार्यक्रमलाई चाहिने स्रोत जुटाउन उनले धनीहरूका लागि कर झन् बढाउने प्रस्ताव गरेका छन्।
उसै पनि अमेरिकाका प्राय: सबै ठूला सहरमा सरकार चलाउने डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीको भन्दा उच्च कर लगाउँछन्। डेमोक्रेटिक सरकारले उच्च कर लगाएको भनेर विगत केही वर्षयता न्यूयोर्क, लस एन्जल्स लगायत ठूला सहरबाट धेरै धनाढ्य रिपब्लिकनको सरकार भएका राज्यमा बसाइँ सर्न थालेका छन्। अर्बपति ट्रम्प पनि न्यूयोर्क छाडेर रिपब्लिकनको सरकार भएको फ्लोरिडामा सरेका छन्।
यस्तोमा ममदानीले प्रस्ताव गरेजस्तो कर बढाए न्यूयोर्क राज्यबाट झन् धेरै धनाढ्यहरू पलायन हुने डरले डेमोक्रेटिक पार्टीबाटै निर्वाचित गभर्नर क्याथी होकलले कर नबढाउने भनेकी छन्। होकलले कर बढाउन नदिए आफ्ना चुनावी वाचा पूरा गर्न ममदानीलाई सजिलो हुने छैन।
तैपनि न्यूयोर्कमा मात्र नभएर न्यूजर्सी र भर्जिनियामा पनि मध्यमार्गी उम्मेदवारले जनजीविकाकै मुद्दामा जितेको भन्दै डेमोक्रेटिक पार्टी त्यसमै केन्द्रित हुनुपर्ने विश्लेषकहरू जिकिर गर्छन्।
विशेष गरी भर्जिनियाको विजय डेमोक्रेटिक पार्टीका लागि महत्त्वपूर्ण हुने देखिन्छ। पछिल्ला केही राष्ट्रपतीय निर्वाचनमा भर्जिनियामा लगातार डेमोक्रेटिक पार्टीले जिते पनि त्यहाँको गभर्नरको निर्वाचनले भने भविष्यको परिणाम देखाएको 'द इकोनमिस्ट' ले लेखेको छ।
सन् २०१६ मा ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि २०१७ मा भएको गभर्नर निर्वाचन डेमोक्रेटिक पार्टीले जितेको थियो। त्यसपछि २०१८ मा भएको प्रतिनिधिसभा निर्वाचन र २०२० को राष्ट्रपतीय निर्वाचन दुवै डेमोक्रेटिक पार्टीले जितेको द इकोनमिस्टले औंल्याएको छ।
त्यस्तै, बाइडेनले २०२० मा राष्ट्रपतीय निर्वाचन जितेपछि २०२१ मा भएको गभर्नर निर्वाचन रिपब्लिकन पार्टीले जितेको थियो। त्यसपछि २०२२ मा भएको प्रतिनिधिसभा निर्वाचन र २०२४ को राष्ट्रपतीय निर्वाचन दुवै रिपब्लिकन पार्टीले जित्यो।
यस अनुसार आगामी वर्ष हुने प्रतिनिधिसभा निर्वाचन र २०२८ को राष्ट्रपतीय निर्वाचन दुवै जित्ने पालो अब डेमोक्रेटिक पार्टीको हो। तर त्यसका लागि डेमोक्रेटिक पार्टीले सैद्धान्तिक मुद्दा छाडेर मंगलबार भएका चुनावमा जस्तै जनजीविकामा केन्द्रित हुनुपर्ने देखिन्छ।
***