नेपाली कम्युनिस्ट पार्टीको घोषणा सभामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता वामदेव गौतमबीचको सवाल–जबाफले धेरैको ध्यान तान्यो।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीले बुधबार भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गरेको थियो। उक्त सभामा नेता वामदेव गौतमले संयोजक प्रचण्ड र माधवकुमार नेपालमाथि प्रश्नै प्रश्न तेर्स्याएका थिए।
गौतमले कडा शब्दमा सोधेको प्रश्नको जबाफमा प्रचण्ड पनि कडा रूपमै प्रस्तुत भए।
गौतमको पहिलो प्रश्न संविधानको प्रस्तावनामा लेखिएको समाजवाद किन लागू गर्न सकिएन भन्ने विषयमा थियो।
कयौंपटक प्रधानमन्त्री बनेको वा बनाइएको भए पनि संविधानको प्रस्तावनामै व्यवस्था भएको समाजवाद निर्माण नभएको विषयमा उनले प्रचण्डसँग जबाफ मागेका थिए।
संविधानमा लेखिएको कुरा नगरेर नेताहरू क्रान्ति गर्ने भन्दै हिँडेको उल्लेख गर्दै गौतमले सोधे, 'संविधान अनुसारको समाजवाद किन निर्माण भएन? त्यो निर्माण गर्ने कोसिस किन गर्नुभएन? जबाफ दिनुहोला?'
'हामी त्यो समाजवादमा नगएकैले राजा फर्किने घटना भए। जेनजी आन्दोलन भयो। आज हामी फेरि पुरानो अवस्थाबाट फर्केर आउँदै छौं। किनकि हाम्रो सिद्धान्तले भन्छ, जे गर्नुपर्ने हो त्यो गरिएन भने अर्को आउँछ र अर्कोले शासन गर्छ।'
गौतमको दोस्रो प्रश्न प्रचण्ड लगायतका नेताहरूले भन्दै आएको क्रान्ति के हो भन्नेबारे थियो।
'क्रान्ति कुन हो? फेरि बन्दुक बोकेर हिँड्ने क्रान्ति हो कि फेरि जनतालाई बलिदान गर्ने क्रान्ति हो?' उनले भने, 'समाजवादी क्रान्ति भनेको कस्तो किसिमको क्रान्ति हो भन्ने विषयमा प्रस्ट पारेपछि मात्र म कमरेडहरूलाई काँधमा हालेर बोकेर हिँड्छु।'
गौतमको तेस्रो प्रश्न पार्टी सञ्चालनको आर्थिक स्रोतमाथि थियो। उक्त स्रोत के हो भन्ने विषयमा नेताहरूले खुलस्त पार्नुपर्ने उनले बताए।
'पार्टीलाई चाहिने आर्थिक व्यवस्था कसरी गर्ने भन्नेबारे कहिले कुरा भयो? कुनै महाधिवेशनमा पास भयो? पार्टी सञ्चालनको आर्थिक स्रोत के हो? पुँजीपतिहरूसँग चन्दा मागेर पार्टी चलाउने?' उनले प्रश्न गरे।
एकीकृत पार्टीले अब यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने गौतमको भनाइ थियो।
'हामी उत्पादनमा आधारित पार्टी निर्माण गर्छौं। प्रत्येक नेताले कुनै न कुनै संरचनामा रहेर एक महिनामा पाँच दिन भए पनि काम गर्नुहुन्छ। त्यो आम्दानीले खर्च चलाउनुहुन्छ। यो सक्नुहुन्छ कि सक्नुहुन्न?' उनले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई प्रश्न गरे।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने कुरा पनि आफ्नो सम्बोधनमा उठाएका थिए।
गौतमले उठाएका यी सवालमाथि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आफ्नो सम्बोधनमा जबाफ फर्काए।
उनले वामदेवको शैलीलाई विचारोत्तजक भने र समाजवाद के हो भन्ने विषयमा एमालेसँग भएको एकताको क्षण सम्झन आग्रह गरे।
'एमालेसँग एकता गर्दाको क्षण सम्झनुस्। त्यो हामीले केका लागि गरेका थियौं,' उनले भने।
वामदेवले भनेको समाजवादबारे बुझ्न उनले लेखेको किताब पढिरहेको र त्यही किताब अनुसार वातावरण बनाउन आफू तयार रहेको पनि प्रचण्डले बताए।
उनले एकतापछि बन्ने पार्टीले के गर्छ भनेर आफू र माधव नेपाललाई मात्र प्रश्न नगर्न पनि आग्रह गरे।
'के गर्छौं भनेर हामीलाई मात्र प्रश्न गर्ने होइन, तपाईं पनि नेता हो, तपाईं के गर्नुहुन्छ?' प्रचण्डको प्रश्न थियो।
गौतमले पार्टीको खर्च जोहो गर्न कार्यकर्तालाई उत्पादनमा सहभागी गराउनुपर्ने र त्यसका लागि नेतृत्व तयार हुने कि नहुने भनेर सोधेको प्रश्नमा प्रचण्डले भने, 'उत्पादनको जिम्मा उहाँलाई नै दिनुपर्छ कि भनेर सोचेको छु।'
***