साथीहरूसँग छुट्टीको समयमा घुम्न जाने कुरा गर्दा हामीले लाङटाङ जाने निर्णय गर्यौं। विभिन्न घुम्न जाने ठाउँमध्ये लाङटाङ पनि एक उत्कृष्ट गन्तव्य मानिन्छ। धेरै पर्यटकहरू विभिन्न ठाउँबाट यही ठाउँ घुम्न आउने गर्छन् पदमार्गमा भएका दृष्यहरूले जो कोहीको पनि मन लोभ्याउँछ।
केही महिना अघिको कुरा हो, हामी पाँच जना साथीहरू, (म–विधान, जेनिस, समिना र दुवै साथीको नाम अनुप) लाङटाङ भ्याली जान भनेर अघिल्लो दिन नै माछापोखरी बसपार्कमा गएर भोलि बिहान आठ बजेको बसमा स्याफ्रुबेंसी सम्मको टिकट काट्यौँ। त्यस दिन हामीले विभिन्न आवश्यक सामानहरूको पनि किनमेल गर्यौं र भोलि बिहान साढे सात बजे माछापोखरी बसपार्कमा भेट्ने निर्णय गर्यौं।
भोलिपल्ट समयमै बसपार्क पुग्यौं र हुँकियौं स्याफ्रुबेंसीको लागि। करिब १२ बजेतिर हामीले त्रिशूली बजारमा खाना खायौं। बाटो पनि निकै कच्ची र डरलाग्दो थियो। नौ घण्टाको यात्रापछि हामी स्याफ्रुबेंसी पुग्यौं। सबै जना लामो यात्राले थाकेका थियौं र एउटा होटलमा बस्यौं। भोलि बिहानै पदयात्रा सुरू गर्नु थियो। त्यसैले खाना खाइवरी छिट्टै सुत्यौं।
बिहानै उठेर लाग्यौं गन्तव्यतर्फ। हाम्रो त्यस दिनको गन्तव्य लामा होटल रहेको थियो। खुसी हुँदै एक अर्कामा हाँसीमजाक गर्दै हिँड्यौं। बाटामा केही विदेशी पर्यटकलाई भेट्यौं उनीहरू गफगाफ गर्दै अगाडि बढ्यौं।
हरियली वातावरण, छेउमा कलकल बगेको खोला अनि झरनाले मनै लोभ्याएको थियो। बाटोको सात घण्टा कसरी बित्यो पत्तै भएन। ३ बजेतिर गन्तव्यमा पुग्यौं। पहिलो दिन भएर होला हामीमा कुनै थकान भाव थिएन। बरू एक किसिमको उमंग अनि उत्सुकता थियो। निकै रमाइला, उद्यमी र जाँगरिला थिए त्यहाँका मानिसहरू।
तेस्रो दिन हामी सबेरै हिँड्यौं। हामीलाई त्यसदिन लाङटाङ भ्याली पुग्नुपर्ने थियो बाटो निकै ठाडो उकालो भएकाले हामीलाई निकै गाह्रो भएको थियो। विश्राम लिँदै, रमाइलो गर्दै हामी घोडातवेला भन्ने ठाउँमा आइपुग्यौं र तिब्बेतियन दिदीहरूले बनाएर दिनुभएको मीठो चाउचाउ खाएर बाटो लाग्यौं।
हिमाल, पहाड, खोला र झरनाहरूले हाम्रो थकान एकैछिनमा मेटाइदिन्थ्यो।
त्यसपछि एउटा यस्तो ठाउँ देख्यौ जसले हामीलाई २०७२ सालको भूकम्पको याद दिलायो। त्यहाँका स्थानीयका अनुसार पूरै गाउँनै भूकम्पले सखाप बनाएको, धरै पर्यटकहरूको पनि ज्यान गएको भन्ने थाहा पायौं। त्यसदिन हामी धेरै हिँडेर थाकेकाले हामी लाङटाङ भ्याली नपुगी अलि अगाडि नै बस्ने निर्णय गर्यौं।
चौथो दिन लाङटाङ भ्यालीतिर लाग्यौं। २ घण्टाको यात्रापछि हामी त्यहाँ पुग्यौं र त्यो नै हाम्रो अन्तिम गन्तव्य थियो। भूकम्प पछिको नयाँ बजार निकै राम्रो थियो। हिमालको काखमा रहको त्यस ठाउँ हेर्दा जो कोही पनि रमाउन सक्छन्। हामीलाई त्यहाँको सुन्दरताले अझै माथि चढ्न प्रेरित गर्यो। हामी अलिमाथि क्यान्जिन गोम्पासम्म पुगेर फर्कियौं।
पाँचौ दिन हामी स्याफ्रुबेंसी पुग्ने भनेर छिट्टै निस्कियौं। बाटो अलि ओरालो भएकोल सजिलो भएको थियो। ९ घण्टाको यात्रापछि स्याफ्रुबेसी पुग्यौं। भोलिपल्ट काठमाडौं हिँड्नु थियो त्यसलै खाना खाइवरी सुत्यौं।
छैठौं दिन यात्रा सकाएर बिहानै काठमाडौं फर्कियौं। ती याद बोकेर अनि ती अविस्मरणीय पल मनमा कैद गरी हुँकियौं काठमाडौं।
हाम्रो दैनिकी
पहिलो दिन– काठमाडौंबाट गाडीमा स्याफ्रुबेसी (१४६२ मि)
दोस्रो दिन– स्याफ्रुबेसीबाट हिँडेर लामा होटल (२४५० मि)
तेस्रो दिन– लामा होटलबाट हिँडेर लाङटाङ (३५६० मि)
चौथो दिन– लाङटाङबाट हिँडेर क्यान्जिन गोम्पा र फर्केर लाङटाङ (३८७० मि)
पाँचौ दिन– लाङटाङ बाट हिँडेर स्याफ्रुबेसी (१४६२ मि)
छैटौं दिन– स्याफ्रुबेसीबाट गाडीमा काठमाडौं
यात्रामा खिचिएका केही तस्विरहरू: