सुनसान बजार। झिसमिसे उज्यालो। लाग्थ्यो बजार ‘ह्याप्पी फ्राइडे’को ह्याङ मै छ जस्तो। फाट्टफुट्ट चिया पसल र कपाल काट्ने ठाउँमात्र खुलेका थिए। अन्य दिनभन्दा शनिबार ढिलै उठ्छ बजार। चिऽऽऽसो मौसममा तातो ओछ्यान छाड्न कसलाई पो रहर हुन्छ र! तर के गर्नु वचन त पूरा गर्नु नै थियो। साइकल टुर गर्ने वचन जो दिएको थिएँ।
सुनसान सडकमा एक्लै साइकल चलाउनुको मज्जा नै बेग्लै हुन्छ। नागबेली शैलीमा कुदाउँदै घोराही चोक पुगें।
अघिल्लो दिन मात्रै फोन गरेर यातायात कार्यालय राप्ती तुलसीपुरका प्रशासन प्रमुख रस्मिराज अधिकारीले साइकल टुरमा जान हौस्याएका थिए। साइकल राइड गरेर ‘हात्ती ढुंगा’ हेर्न जाने भनेर। त्यसैले निद्रालाई माया मारेरै एकाबिहानै घोराही पुगिसकेको थिएँ।
बिहान सात बजे घोराहीबाट हिँड्ने सल्लाह थियो। तर म एक घण्टा ढिलो पुगें। हेर्दा कोही थिएनन्। फोन डायल गरें। साथीहरू ग्वारखोला पुलमा कुरेर बसेका रहेछ। साइकल उतै मोडें।
साइकल राइडरसँग पहिलो पटक सँगै कुददै थिएँ। कुदाउन सक्छु कि सक्दिनँ लागिरहेको थियो।
पुलमाथि मेरो प्रतीक्षामा थिए साथीहरू। राइडर प्राय: सबै व्यापारी थिए। हुँकियौं हात्ती ढुंगातिर।
विजौरीमा पुगेपछि केहीबेर रोकियौं। केवी न्यौपानेले एक कार्टुन मिनरल वाटर किने। बाटोमा तिर्खा लाग्ला भनेर एक/एक बोत्तल च्याप्यौं।
मानपुरको सेरोफेरो हुँदै हामी दक्षिणतर्फ लाग्यौं। मानपुर दाङको पुरानो बजार। जमिनदारले छोरी चेली बिग्रन्छन् भनेर बजार सार्न लगाएको पुरानो पुस्ता बताउँछन्। आज तुलसीपुर–घोराहीले प्रगति गरेको छ भने मानपुर ९० वर्ष कटेकी बुढीआमा जस्तै छ समयसँगै झनझन ओझेलमा पर्दैछ।
फागुन सकिनै लाग्दा पनि डम्म हुस्सु थियो। घामको किरण देख्न हम्मेहम्मे। हिउँदे वर्षाले बाटो छेउछाउमा हिलोकिचो पनि उस्तै। चिसो उत्तिकै। तपतप पसिना चुहिरहेको थियो केको चिसो! दिउँसोभर कुर्सीमा बसेर काम गर्ने हामीलाई त्यति हुइँकाउँदैमा खलखल पसिना चुहिरहेको थियो चिसो त कहाँ भाग्यो कहाँ।
हुस्सु र चिसोलाई पर्वाह नगरी गाउँ घर पूरै जागिसकेको थियो। कोही वस्तु भाउलाई घाँसपात गरिरहेका थिए। महिलाहरू पानी पँधेरो र भान्सामा तल्लिन देखिन्थे।
गाईभैंसीको गोवरबाट बनाइने गुइँठाबाट आगो बालेर भातभान्सा गर्नेहरू धुँवाले छोपिएका थिए। हुस्सु र धुँवा उस्तै उस्तै।
बाटोमा धान मकैको बोरा बोकेर मिलमा जान हिँडिरहेका महिला पुरुष भेटिन्थे। गाउँ घरमा बाँडफाँड गरेर काम गर्ने चलन छ।
साना नानीहरू आमाहरूसँगै काममा लागिरहेका देखिन्थे। गाउँघरमा छोराछोरीलाई काम सिकाउँछन्। भाँडा धुनेदेखि घाँस दाउरा गर्नसम्म। कोही भने त्यो चिसोमा सडक छेउमा जमेको पानीमा खाल्डो बनाएर खेलिरहेका थिए। यी देख्दा बालापन याद आयो। कोही भने यस्तो चिसोमा गिलो माटो र पानी मोलिरहेका थिए। घरको आँगन र पेटी गोबर माटोले लिपपोत गर्ने चलन अझै कायमै रहेछ। सहरतिर कहाँ छ र यस्तो चलन!
मानपुरपछि कालोपत्रे सडक केहीबेरमै सकियो। लालपुर,रावत गाउँ, भेलाई,डुरुवा लगायतका गाउँ छिचोल्दै अगाडि बढ्दा ग्राभेल र कच्ची आयो। ती गाउँमा सडक स्तरोन्नतिको काम धमाधम चलिरहेको थियो।
कतै भर्खरै गिट्टी छरिएको,कतै कालो पत्रेको तयारी हुँदै थियो। गिट्टीमा टायर गुडाउन केही अप्ठ्यारो हुँदो रहेछ। बाटो ओरालो हुँदा मुश्किल भएन। बाटोमा अप्ठ्यारो आइलागे हौस्याउन साथीहरू कराउँथे। देवेन्द्र केसी हाँसी मजाग गर्न माहिर। हेमेन्द्र खड्कालाई भन्थे ‘खिच माइला खिच।’ ग्रुपमा हुँदा बेग्लै रमाइलो।
जिल्लाका प्राय: सबै गाउँमा बिजुली बत्ती पुगेको रहेछ। धमाधम राइस मिल र पोल्ट्री फार्म फस्टाउँदै छ। कृषिमा नयाँ र आधुनिक प्रविधि भित्रिएको छ।
विदेशबाट फर्किनेहरूले गाउँ घरमा पनि पक्की घर बनाउँदै छन्। तर खेतीयोग्य जमिन मासेर पक्की घर बनाउँदा मन खिन्न चाहिँ भयो। लाग्यो मान्छेहरू सुविधाभोगी हुन थाले। दु:ख गर्ने बानी हट्दै गइरहेछ।
बेहुलीले घुम्टो खोलेझैं सूर्यको किरणले हुस्सु छिचोल्दै थियो। गाउँका खेत हराभरा थिए । पहेँलपुर तोरी बारीमा पुतली र माहुरी पराग चुस्न झुम्मिरहेका थिए। लहलह झुलेका गहुँ, जौंका खेत, मसुरो, जिल्लामा हराउँदै जान थालेको अर्सी, चना र केराउ खेतमा थिए।
म भने फोटो कैद गर्दै बालापनको यादमा मस्त थिएँ। एक एकगरी फिल्मको रिल झैं मेरा आँखाअघि ती दृश्य नाचिरहेका थिए। फोटो खिच्न यति व्यस्त भएँ कि साथीहरू कहाँ पुगे भेउ नै पाउन सकिनँ।
यो भन्दा अघि नि यो ठाउँ आएको थिए तर बाटो पहिल्याउन गाह्रो भो। सोध्दै अघि बढें।
बबई नदीको पक्की पुलमा कुरेर बसेका रहेछन् साथीहरू। त्यहाँ केहीबेर फोटो सेसनपछि अघि बढ्यौं।
त्यहाँदेखिको १० मिनेट जति कुदाएपछि आइपुग्यो तुलसीपुर १४ को अकमी–ड्वाँङपुर गाउँ। जहाँ हात्ती ढुंगा छ।
स्थानीय ५८ वर्षीय वेदबहादुर विष्टले सानो छँदै यो ढुंगा यस्तै देखेका हुन् रे। तर यो कसरी बन्यो र किन हात्ती ढुंगा भनियो? उनलाई पनि थाहा छैन रे। यहीँ ठाउँमा हुर्केका उनले त्यो ढुंगामा उल्लु, परेवा लगायतका चरा चुरुङ्गीले गुड लगाएको देखेका थिए। हामी पुग्दा हात्ती ढुंगामा भिरे मौरीको एउटा घार बसेको थियो।
विष्टका अनुसार त्यो ढुंगामाथि बसेर पहिला वस्तु भाउ चराउन जानेहरू डोरी (दाम्लो) बाट्ने गर्दथे।
त्यहाँ थारु देवता भुत्वा हुन्छ भन्ने उतिबेला व्यापक त्रास हुन्थ्यो रे। मान्छे एक्लै जान डराउँथे। किम्बदन्तीअनुसार दाङ थारुहरूकै प्राचीन राज्य हो । भुत्वाको चर्चा परिचर्चा समाजमा कायमै छ।
जेहोस्, प्रकृतिको अनुपम उपहार हेर्दा आकर्षक थियो। लिंग आकारको हात्ती ढुंगा हेर्न आउने मानिहरूको संख्या बढ्दै गइरहेको छ। मानिसहरूले यसबारे अनेक अड्कलबाजी गर्दै आएका छन्।
यहाँपनि केहीबेर फोटो सेसन चल्यो। त्यहीबाट घर फर्किने कुरा थियो,तर त्यसो भएन । फेरि पूर्व तर्फको घोराहीको धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरको दर्शन गर्न जाने कुरो भो। एक्लै के फर्किनु सोचेर सँगै पछि लागें।
दामोदर मार्ग हुँदै अगाडि बढ्यौं।
दाङ निवासी तत्कालीन वडा हाकिम दामोदर अधिकारीले खोलेको ट्रयाक भएको हुँदा नाम नै दामोदर मार्ग राखिएको रहेछ। दक्षिण र उत्तरमा दामोदर मार्गले सिधा पूर्वपश्चिम छेडेको छ।
केहीबेरमा धारापानी पुग्यौं। पाण्डेवेश्वर महादेव मन्दिरमा दर्शन गर्यौं। ज्यान लखतरान भएको थियो।
६५ किलोमिटरको त्यो यात्रा यादगार रहिरहनेछ जीवनभरका लागि। बजारदेखि टाढाको भर्जिन ल्याण्डमा साइक्लिङ गर्दा बेग्लै अनुभूति भयो अनि कैद भए त्यहाँका ती प्रकृतिका अनुपम दृश्य। कतिलाई क्यामरामा त कतिलाई मनमा।
हाम्रो प्रयासले धेरैलाई साइकल राइडिङप्रति सकारात्मक सोच पुग्ने आशा राख्दै बिट मार्यौं यात्रालाई।