असार २८ गते।
असार २३ गतेदेखि लगातार हिँडेको आज पाँच दिन भयो। हिँड्दाहिँड्दै हिँड्ने रहर नै पुग्ने हो कि जस्तो।
आखिर केका लागि यो दुःख भनेजस्तो पनि लाग्छ। फेरि गाउँ, जङ्गल, नदी र पहाड हाम्रो आगमनले नै रमाएजस्तो लाग्छ। सम्झनामा कैयौं तस्वीर खिचिन्छन्। यिनै सम्झना क्यामेराको लेन्समा कैद गर्दै हामी ओरालिन्छौं। ओरालोमा झर्दा थर्केका हाम्रा गोडा लुला न लुला भएका छन्। ओरालो झर्न झन् गाह्रो हुँदोरहेछ। चार दिनसम्म उकालो उक्लेका हाम्रा गोडा अब ओरालोतिर झर्न मानिरहेका छैनन्।
केन्जिन गुम्बादेखि लामा होटलसम्म आउँदा कति थाकियो, मानसिक रूपमा कति गलियो कुनै लेखाजोखा नै छैन। हिजो राति बाह्र बजे गीता दिदीलाई अचानक चक्कर लागेपछि हामी सबै डरले एकै ठाउँमा डल्लो परेका थियौं। अब यो मध्यरातमा थप बिसन्चो भए के गर्ने? धन्न भगवान! हामीसँग भएकै औषधिले उहाँलाई सन्चो हुँदै आयो। लगभग चार हजार मिटर उचाइमा भएकोले पक्कै पनि उहाँलाई हाइ अल्टिच्यूटको असर परेको होला भन्ने लाग्यो। बडो मुश्किलले बिहानको पाँच बजायौं र लाङटाङतिर हान्नियौं।
केन्जिन गुम्बाबाट लाङटाङ हुँदै लगातार बाह्र घण्टा पैदल हिँडिएछ। बेलुका सात बजे लामा होटल आइपुग्यौं। पहिले लाङटाङ जाँदा बसेकै होटल खाली रहेछ। आफ्ना झोला त्यही बिसायौं। होटलका शेर्पा भाइ हाम्रो गति देखेर कठै! तिमीहरूको सहरीया ज्यानको भावमा मुस्कुराए।
उनले हामीले नदेख्ने गरी मुस्कराए भन्ने ठानेका होलान्, मैले देखिहालें।
लगातारको हिँडाइले पिडौंलामा के के डल्लो झुन्डिएजस्तो हुँदो रहेछ, सायद यसैलाई कैडा लागेको भनिन्छ।
असार मसान्त नजिकको समय, अलिअलि पानी पनि परेकोले बाटो हिलाम्मे थियो। काठमाडौंतिर ठूलो वर्षा भएर विचल्ली भएको खबर आएको आएैछ।
‘यतातिर धेरै पानी परेको छैन, नआत्तिनुस हामी सकुशल छौं,’ भन्दै घरका मान्छेलाई आश्वस्त पारे पनि हामीले घुम्ने मौसम चयन गर्न नसकेकै हो।
यही लाङटाङ शरद ऋतुमा आउने हो भने कति सुन्दर देखिन्छ रे! मौसम, खुलेको नीलो आकाश, हिमालमा बादलले नछोपेको निख्खर हिउँ, जमिनभरि फुल्ने विभिन्न जातका सुन्दर रङ्गीविरङ्गी फूल।
आहा! कति सुन्दर दृश्य। कल्पना गर्दा पनि मन नै आल्हादित हुने। अहिले पनि लाङटाङ आउनेको ठेलमठेल भीडभाड नभए पनि स्वदेशी, विदेशी सबै पदयात्रीको ओहोरदोहोर देखिन्छ। हामी पर्यटकसँग बोल्दै हिँडिरहेका हुन्छौं।
बिहान चाँडै हिँड्नु पर्ने भएकोले खाइवारी सुत्यौं। बिहान पाँच बजे उठेर साढे पाँच बजे नै स्याफ्रुवेंसीका लागि हिँडिहाल्यौं।
हामी सबै जना आफ्ना गुन्टा बोकेर हिँड्नै लाग्दा बाटोको अवस्थाबारे होटलका शेर्पा भाइसँग सोधपुछ गरेपछि खिस्रिक भइयो। रिम्चेभन्दा अलि तल ढुङ्गाको पहिरो गएको डरलाग्दो ठाउँ थियो। एउटा ढुङ्गा माथिबाट खस्यो भने त्यसले अरु ढुङ्गा थर्काउदै लगेर ग्वारग्वार पहिरो जाने रहेछ। फटाफट हिँड्न नसक्ने वा पहिरो गयो भन्ने भएपछि दौड्न नसक्ने मानिसको त्यहाँ भयङ्कर बिजोग हुने रहेछ।
हिमालबाट झरेको विशाल नदी तल ठूलो आवाजमा कराइरहेको थियो, उसको आवाजले अरु केही सुन्न सकिने अवस्था थिएन। पहिरो आइहाल्यो र भाग्न सकिएन भने त्यही नदीको शिकार हुनुपर्ने कुराको निष्कष्टक थिएन।
शेर्पा भाइले हिजोदेखि घोडाहरु समेत त्यो बाटोबाट नभएर सबैले शेर्पा गाउँबाट हिँडाएको बताए।
उनले हामीलाई शेर्पा गाउँकै बाटो हिँड्ने सुझाव दिए। बाटो अलिक घुमाउरो भए पनि राम्रो छ भनेकोले हामीले पनि डरलाग्दो छिटो जाने बाटोभन्दा सुविस्ताले जाने लामो बाटो रोज्यौं।
लामा होटलबाट रिम्चे कटेर ठाडै बाटो उक्लदै शेर्पा गाउँ जाने बाटोतिर लम्कियौं।
पर्यटकलाई लक्षित गरेर शेर्पा गाउँ जाने बाटो लेखेको साइनबोर्डलाई आधार बनाउँदै हिँड्यौं।
शेर्पा गाउँ जाने बाटो पहाडको चुचुरा नै चुचुरा हुँदै जानुपर्ने रहेछ। नेपाल टेलिकमको टावर मजाले टिप्ने रहेछ। पालैपालो हाम्रो समूहका मोबाइलमा घण्टी बज्न थाले। माथि अग्लो ठाउँबाट हिँड्दा भोटेकोशी नदी सुसाएको पनि नसुनिने रहेछ। बल्ल हामीले एकअर्कामा बातचित गर्दै हिँड्न पायौं।
बाटोमा लाङटाङतर्फ आउने प्रत्येक बटुवालाई बाटोबारे सोध्दा सबैले दिने एउटै उत्तर थियो, ‘भरे बेलुका आठ बजेसम्म बेसी पुग्नुहोला।’
कछुवाको चालजस्तो हिँडाइ छ। बिहान साढे पाँचबाट बेलुका आठ ओहो! खुत्रुक्कै परिने पीरले झन् गलायो।
अलिकति छिटो हिँड्ने साथी पल्लो डाँडामा पुगिसकेका हुन्थे भने हामी वरको वरै।
सुत्ने बेलासम्म स्याफ्रुवेंसी पुग्यो भयो भन्दै आफ्नो हिँडाइलाई आरामदायी बनाउन पनि खोज्थ्यौं। बाटोमा घोडा डोर्याएर आउनेहरूको दृश्यले हिमाली जनजीवनको राम्रो झल्को दिइरहेको थियो।
घरि सामान बोकेको घोडा, घरि घाँटीमा लगाएको घण्टी छिन्द्रिङछिन्द्रिङ बजाउँदै आएका घोडालाई बाटो छाडिदिँदै सइसलाई मैले सोधेकी थिएँ, ‘भाइ यी घोडाको मालिक आफैं हो?’
‘कहाँ हुनु दिदी हाम्रो साहुको हो।’
अनि कति तलब दिन्छ त साहुले? मैले भनें।
‘खाना खाएर दस हजार।’
‘ए’।
हिमाली क्षेत्रमा यही रोजगार भए पनि पाए हाम्रा दाजुभाइहरूले जस्तो लाग्यो।
बाटामा खासै घरहरू थिएनन्। परपर देखिएका घरहरू नै शेर्पा गाउँ होला भन्ने अनुमान गर्दै हिँडिरह्यौं।
बाटो र्तेसोर्तेसो थियो। पहाडको चुलीबाट हिँड्नुपर्दा हामी कहाँ हिँडिरहेका छौं भनेजस्तो लाग्थ्यो। साँघुरो बाटो भएकोले सावधानी अपनाएर हिँड्नु पर्थ्यो। बिहान साढे पाँच बजे हिँडेका हामी साढे नौ बजेतिर बल्ल शेर्पा गाउँ आइपुगियो। यो गाउँ झन् चुचुरोमा रहेछ। सेतो न सेतो भुँइकुहिरोले हामीलाई निलुँलाझैं गरेको थियो।
अगाडिका अजंगका पहाडलाई पूरै कुहिरोले ढाकिदिएको थियो।
भित्ताभरि स्याउका बोट रहेछन्। राम्ररी नपाकिसकेका कट्मिरा कट्मिरा, रातो हुन लागेका दानाहरू पनि बोटमा देखिन्थे। हामीभन्दा अगाडि आएका साथीहरू त होटलभित्र छिरेर चिया पिउन थालिसक्नु भएको रहेछ। याक चौरीको दूधबाट बनेको दूध चिया भनेपछि कालो चिया खाँदा खाँदा पाछिएको जिब्रोमा छिट्टै सेतो चिया खाऊँ/खाऊँ भयो।
हामी बेन्चमा बसेपछि, साथीहरूले भन्नुभयो, ‘हामीले असाध्यै मीठो खाजा पनि अर्डर गरेका छौं नि?’
‘हो र के खाजा हो?’ हामीले उत्सुकतापूर्वक सोध्यौं।
‘खीर र आलुको कवाफ।’
उहाँहरूको जवाफसँगै मैले दुइटी शेर्पिनी दिदीलाई दाउराको भर्भराउँदो आगो बलिरहेको चुलोमा देखेँ।
दिदीहरूले एउटा भाँडामा दूध तताइरहेका थिए। धेरै दिनदेखि मीठो खान पाइएको थिएन। आज मीठो खाजा खान पाइने भइयो भनेर मन खुसी भयो।
‘स्याउको बोट भएनेर गएर एउटा दुईटा फोटो खिचौं न है,’ मैले साथीहरूसँग प्रस्ताव राखें।
तर त्यहाँ त स्याँउस्याउँती जुकाहरू रहेछन्। हामी अघि पुगेका साथीहरू भर्खरै जुका फालेर चिया खान बसेका रहेछन्। त्यसपछि स्याउ टिपेको फोटो खिच्ने रहर सरक्कै पन्छाएर चियातिर ध्यान मोडियो।
तर चिया त यति खल्लो थियो कि, मीठो गरी चियाको घुट्को लिएको त दाँतमा ढुंगा लागेजस्तो पो भयो बा। काँचो दुधमा पानी हालेर पकाएका रहेछन् कि त त्यति विधि बेस्वादिलो भन्ने लाग्यो। चियापत्तिको रंग नै आएको छैन, त्यसमाथि महजस्तो चिनी। गुलियो तर बेस्वादको चिया तातोपानी सम्झेर खाएँ, फाल्न मन लागेन।
मौका र परिस्थितिलाई विचार नगर्ने हो भने घरै बस्नुपर्छ, मीठो मीठो आफ्नै घरमा खानु पर्छ भन्ने सम्झिएँ। अनि, त्यही चियालाई अमृत मानेर पिएँ। फेरि म हत्तपत्त खानेकुरा फाल्न हुन्न भन्ने सोचाइकी मान्छे। कसैको घरमा गएर खाना खानु पर्यो भने मीठो होस्, नमीठो होस् सबै खानेकुरा खान्छु।
‘ल खीर पाक्यो, खीर खाओ’ भन्दै शेर्पिनी दिदीहरूले राम्रा सेता ठीक्कका कचौंराहरूमा खीर ल्याए। आम्मै, अघिसम्म केही सुरसार नभएको खीर कति छिटो पाकेछ भन्ने लाग्यो।
आफ्नो भागको कचौरा समाएर हत्तपत्त एक चम्चा मुखमा के लगेकी थिएँ, लौ यो त खीर होइन रहेछ, दुधेजाउलो पो रहेछ। कुकरमा मज्जाले भात पकाएर त्यसैमा दूध र चिनी हालेर खीर पो बनाएछन्।
आलुको कवाफ भने मीठो थियो। एक कचौरा खीर र आलुको तरकारीलाई दुई सय पचास र चियालाई पचास रुपैयाँ गरी प्रतिव्यक्ति तीन सयका दरले म पैसा तिर्न जाँदा शेर्पिनी दिदीले फेरि हँसाइन्।
‘तँ पैसा तिर्न आइस् नि, तँ यो समूहको बोस होस्?’ भन्दै रमाइलो गरिन्।
बेलाबखत अङ्ग्रेजी शब्दको प्रयोग गरिरहन्थे उनीहरू। धेरैजसो पर्यटकहरू नै यो क्षेत्रमा आउने हुनाले गुड मर्निङ, गुडनाइट, हाउ आर युलगायतका केही अङ्ग्रेजी शब्द तथा वाक्य बोल्ने बानी परेको उनीहरूले बताए।
उनीहरूसँग बसेर रमाइला गफ गर्न मन भए पनि समय थिएन। बरु सबैको एउटा सामूहिक तस्वीर खिच्ने भनेर हामी आँगनमा भेला भयौं। फोटो खिचिसकेपछि हामीलाई फेरि पनि घुम्न आउनू है भने। एकैछिनमा उनीहरू हाम्रो आफ्नाजस्ता लागे। विछोड त हुनै थियो, उनीहरूलाई बाईबाई गर्दै हामी अघि बढ्यौं।
बाटोको छेउछाउका घरमा आलुचा पाकेर रातै भएका रहेछन्। खाने मान्छे पनि कम भएर हो कि यत्रतत्र झरेका थिए।
कसैको अनुमति नलिई दुई चार वटा टिपेर खाँदै अगाडि बढ्यौं। खाजा जे जस्तो भए पनि उनीहरूसँग गुजारेको पल भने निकै रोचक थियो।
आँखाभरि तिनै दिदीहरू नाचिरहेका थिए। यस्तै अविस्मरणीय पल सँगाल्न त हो, हामीले खुट्टा दुखाईको यो यात्रा गरेको। रात अधकल्चो निन्द्रामा बिताएका थियौं। खाना मीठो नमीठो जेजस्तो भए पनि, बाटो उकालो ओरालो जस्तो भए पनि यो सामान्य दिनचर्या भन्दा पृथक थियो।
यो फरक अनुभव जीवनका मीठा अनुभूतिका पानामा रङ्गिरहने कुराले पनि आनन्द महशुस हुन्थ्यो।
अघि खाएको खीर र आलुको तरानले शरीरमा केही ऊर्जा थपिएजस्तो भएको थियो।
ल है कस्सिएर हिँडौं उज्यालोमा नै स्याफ्रुबेंसी पुग्नुपर्छ भनेर डाँडाका चुचुरा चुचुरामा हामी चराजस्तै बनेर उडेजस्तो गर्यौं। हातैले आकाश छोइएला जस्तो भएको थियो। अत्यन्तै सघन रूपमा फैलिएका हरिया डाँडा आँखाले छिचोल्न नसकिने गरी परपरसम्म फैलिएका थिए।
‘तपाईंहरू हिँड्दै जानुस्, ऊ त्यो परको डाँडा काटेर गएपछि गाडी हिँड्ने मूल बाटो भेटिन्छ, त्यही बाटो नछोडी जानुस स्याफ्रुवेंसी पुगिन्छ,’ स्थानीयहरूले भनेका थिए।
हामी त्यो बाटो कति बेला आउँछ भनेर हिँडिरहेका थियौं।
बाटो त यो अति चाक्लो र राम्रो रहेछ तर यति घुमाउँरो कि जति हिँडे पनि उस्तै बाटो आउँछ। हिँड्दा हिँड्दा अति नै गलिसक्दा पनि स्याफ्रुवेंसी आउने कुनै सुरसार नै छैन।
धेरै हिँडिसकेपछि बेलुका छ बजेतिर बल्ल लज तथा होटलहरू भएको ठाउँमा पुग्यौं। त्यहाँबाट तल हेर्दा स्याफ्रुवेंसी निकै पर देखिन्थ्यो। स्थानीयलाई यहाँदेखि त्यहाँ कति टाढा छ भनेर सोध्दा, अझै एक, दुई घण्टा लाग्छ भने।
हाम्रो हंसले ठाउँ छोड्यो। छोटो बाटो खतरायोग्य भनेर लामो र सुरक्षित बाटो रोज्दा हामीले सास्ती भोगेका थियौं। बरु जति डर लागे पनि त्यही असुरक्षित बाटो जानुपर्ने रहेछ जस्तो पनि लाग्यो।
तर यी परिस्थितिसँग सामना गर्नुबाहेक अरू कुनै उपाय पनि त थिएन। तर एउटा शिक्षा मिल्यो ‘मानिसको जिउले नसक्ने भन्ने त केही रहेनछ।’ सारा पीडा, दुःख, कष्ट एकातिर पन्छाएर हामी अगाडि दमारहरूमा छिर्यौं। सिधा बाटो भन्दा दमारहरू काट्दै जाँदा अलिकति बाटो छोटिन्छ भनेर स्थानीयले जस्तो सिकाए, हामीले त्यस्तै गरेका थियौं।
स्याफ्रु आउन अझै एक घण्टा बाँकी थियो।
हाम्रा अगाडि एउटा ठूलो भिरालो पहाड थियो। यो पहाडमा पैदल हिँड्ने डोरा परेको नागबेली बाटो थियो। देखिएको सबै नागबेली बाटो छिचोलिसकेपछि मात्र बल्ल भोटेकोशी नदीमाथिको पुल पुगिन्थ्यो। त्यो पुल पार गरेपछि बल्ल स्याफ्रुवेंसी पुगिन्थ्यो।
हामी थाकेर कछुवाको गतिले हिँडिरहेका थियौं। तल ओरालो झर्न गोडा मानिरहेका थिएनन्। बिहान पाँच तीस बजेदेखिको निरन्तर हिँडाइले गोडा थरथर कामिरहेका थिए। हामीले झर्न लागेको सल्लेरी डाँडोमा, जताततै सल्लीपीरहरू झरेका थिए।
टलक्क टल्किएका चिल्ला सल्लाहरू बाटाभरि फिँजिएका थिए। ती सल्लामा तह नमिलाई टेकियो भने सोझै नदीमा बिलाइन्थ्यो। बडो सर्तक हुँदै, अत्यन्तै सावधानी अपनाएर बल्ल बल्ल पुल तर्ने ठाउँमा आइपुग्यौं। झमक्कै रात पर्यो बजारसम्म आउँदा। स्याफ्रुवेंसी बजारमा रहेको तातोपानी कुण्डमा एकछिन डुब्ने कि भन्ने सोच्दै थियौं, अँध्यारोले मेसो पाउन अलि गाह्रो रहेछ त्यहाँ। होटल स्काइ हाम्रा लागि स्वागतका लागि तयार रहेछ, त्यतै उक्लिएर लामो सास फेर्यौं।