यात्रा संस्मरण
अनगिन्ति भावनात्मक अन्तरद्वन्द्वहरू छिचोल्दै समयको अविछिन्न प्रवाहसँगै जीवन गतिशील हुँदो रहेछ।
समयको कुनै पनि बिन्दुमा जीवनको सजिलो र स्पष्ट परिभाषा कहिल्यै भेटिँदो रहेनछ। कहिले स्वस्फूर्त रूपले कल्पनाका सुन्दर बगैँचाहरूमा त कहिले कठोर यथार्थमा जीन्दगीका यात्राहरू निरन्तर अघि बढिरहँदा रहेछन्।
मलाई लाग्छ यात्राका यिनै भिन्न भिन्न भोगाइ र अनुभूतिहरूमा नै संवेदनाका फरक-फरक रंगहरू जीवन्त हुँदा रहेछन्। अनि यिनै रंगहरूमा जीवन फुल्ने र झर्ने गर्दो रहेछ।
केही वर्ष अगाडि संयुक्त राष्ट्र संघीय शान्ति मिसन हाइटीमा नेपाल प्रहरी संगठनको तर्फबाट छनोट हुन पाउँदा म अत्यन्तै उत्साहित थिएँ।
संगठन र देशकै प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा विकसित मुलुकका प्रहरी अधिकारीहरूसँग कार्य गर्न पाउने मेरो लागि त्यो एउटा सुनौलो अवसर थियो। तर त्यो जति रोमान्चक थियो त्यति नै चुनौतीपूर्ण पनि।
एकातिर मिसनको परीक्षाको सफलतामा म खुसीले गदगद थिएँ भने अर्कोतिर आफ्ना प्रियजनहरूलाई छोडेर पृथ्वीको अर्कै गोलार्धमा एक वर्षसम्म बस्नुपर्ने कुरा सम्झिँदा भने अत्यास लाग्थ्यो।
हामी काठमाडौंबाट हाइटीको राजधानी पोर्ट ओ प्रिन्सतर्फ प्रस्थान गर्ने दिन पनि आयो।
हुन त बिछोडको पल त्यसै पनि भारी हुने नै भयो, त्यसमाथि पनि बाटो लाग्ने बेलामा प्रीयजनहरूका टिलपिलाएका नजरले त फलामे सुइरोले जस्तै घोप्दा रहेछन्। तर एउटा निष्ठावान् र कर्तव्यप्रति समर्पित सिपाहीको दृढ आत्मविश्वास र गहिरो समर्पणले जस्तो सुकै भावनात्मक विचलनलाई पनि परास्त गर्दो रहेछ। सायद त्यसैले होला मनमा केही पीडा र हिच्किचाहट बाबजुद पनि म चट्टान जस्तै अविचलित र दृढ थिएँ।
हुन त म आफूलाई त्यति अन्धविश्वासी पनि ठान्दिनँ तर पनि अघिल्लो दिनमात्र आशोच(जुठो) परेकोले घर छोड्ने बेलामा निधारमा साइतको रातो टीका र मान्यजनको आशिष समेत थापेर हिँड्न नपाउँदा भने खल्लो लागिरहेको थियो। किनकी बाटाको ढुङ्गालाई समेत देउताको रूपमा पूजा गर्ने हामीलाई त्यति टाढाको यात्रामा आफ्ना ईष्ट देवताहरूलाई ढोगेर समेत हिँड्न नपाउँदा केही अनिष्ठको शंका-उपशंकाहरू मनमा उब्जनु स्वभाविक कै थियो।
हिँड्ने बेला घर नजिकैको श्वेत गणेश, माता मनकामना र ईष्ट देवताहरूलाई मनमनै पुकारेँ तर पनि आफूभित्रको अनिश्चय र चिन्ताबाट भने मुक्त हुन सकेको थिइनँ। त्यसैले उमङ्ग र केही सन्त्रासको दोधारे मानसिकतामा म घरबाट हाइटीको लागि बिदा भएको थिएँ।
जहाज चढ्ने बेला हुँदै थियो, यसो पछाडि फर्कें मेरी जीवन संगिनी मैले नदेख्ने गरी आँचलले सुटुक्क आँसु पुछिरहेकी थिइन्, उनका टिलपिलाएका आँखाहरूमा मैले धेरै बेर हेरिरहन सकिनँ। फेरि नानीहरूतिर फर्कें तिनीहरूलाई अंगालो हालेँ अनि मनमनै परिवारको सुख शान्ति एवं मेरो सम्पूर्ण भविष्य श्री पशुपतिनाथ र माता मनकामनालाई समर्पित गरेर चुपचाप बाटो लागेँ।
साँझको करिब ६ बजे हामी सबै साथीभाइहरू आबुधाबीतर्फ उड्नको लागि इत्तिहाद एयरलाइन्सको जहाजमा थियौं, हामीमध्ये धेरैका आँखा त्यतिबेलासम्म पनि ओभाएका थिएनन्। भर्खरै घरबाट बिदा भएका हामी सबैको मनमा करिब-करिब उस्तै खाले अनिश्चय, कौतुहलता र चिन्ता भएकाले पनि होला सबै चुपचाप थियौं।
केहीबेरमै जहाज जमिन छोडेर ३८ हजार फिटको उचाइमा आकासियो र हाम्रा भावनाहरू पनि त्यसैको बेगसँगै बतासिँदै गए।
जहाज उडेको केहीबेरमै निदाएछु थाहै भएन। ब्युँझिदा करिब ५ घण्टाको यात्रा तय गरी हामी आबुधावी विमानस्थलमा अवतरण भइसकेका थियौं।
आबुधाबी एयरपोर्ट अत्यन्त विशाल र भव्य थियो। त्यहाँको अत्यन्त राम्रो व्यवस्थापन, व्यवसायिक कार्यशैली र उपकरण देखेर म आश्चर्यचकित थिएँ किनकि मैले जीवनमा यी सब पहिलो पटक देखेको थिएँ।
हाम्रो देशको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट तुलना गर्दा आकाश जमिनको फरक महशुस भयो। अनि सोचेँ “ विकासका दृष्टिले दुनियाँले हामीलाई कति शताब्दी पछाडि छोडिसकेको रहेछ। ’
आबुधाबीमा हतार-हतार चेकिङ सकेर हामी अमेरिकन एयरलाइन्सको विमानबाट न्युयोर्कका लागि उड्यौं। उडेको करिब १७ घण्टापछि हामी न्युयोर्कको जोन एफ केनेडी एयरपोर्टमा अवतरण गर्यौं। अत्यन्त भव्य टर्मिनल, विशाल रन वे, अत्याधुनिक सुरक्षा जाँच प्रविधि र उपकरण भएको अत्यन्त व्यवस्थित विश्वको एक अनुपम नमूना जस्तो लाग्थ्यो त्यो विमानस्थल।
हाम्रो योजना अनुसार हामी एक दिन न्युयोर्कमै बस्नुपर्ने थियो। हामीमध्ये कति साथीहरूका आफन्तहरू न्युयोर्कमै हुनुहुन्थ्यो र उहाँहरूलाई आफन्तहरूले एयरपोर्टबाटै सँगै लिएर जानुभयो भने मलगायतका केही साथीहरू होटलमा बस्यौं।
भोलिपल्ट हाइटीको प्रस्थान गर्नुअघि केही समय बाँकी रहेकाले त्यहाँका केही प्रसिद्ध स्थानहरू घुम्यौं।
त्यहाँका अत्यन्त प्रख्यात ठाउँहरूमध्ये मैनहट्टन ब्रिजमा गयौं, विशाल इष्ट नदीमाथि बनेको मैनहट्टन ब्रिज साँच्चै नै दर्शनीय थियो, डिसेम्बर ३१,१९०९ मा सार्वजनिक रूपले खुला गरिएको ६ हजार ८ सय ५५ फिट लामो यो पुल उत्कृष्ट प्रविधि र कारिगरीको नमूना थियो। त्यहीँ नदीको किनारामा बसेर हामीले न्युयोर्कका केही मनोरम दृष्य कैद गर्यौं।
त्यसपछि त्यहाँको प्रमुख व्यापारिक, पर्यटकीय र मनोरन्जनको केन्द्र टाइम्स स्क्वायर गयौं।
विभिन्न व्लकहरूमा विभाजित अत्यन्त व्यवस्थित र सफा हरेक बस्तीहरूमा चौडा सडक पुगेको र मनग्य ताल-तलैया समेत भएको विश्वको प्रसिद्ध व्यापारिक सहर न्युयोर्क वास्तव मै भव्य रहेछ।
घुम्ने क्रममा हामीले सन् २००९ मा आतंककारी संगठन अलकायदाले ध्वस्त पारेको टुइन टावर पुग्यौं। लिबर्टी आइल्याण्डमा रहेको स्ट्याचु अफ लिबर्टी अत्यन्त भव्य थियो। छोटो समयमै न्युयोर्क घुमाइको राम्रैसँग मज्जा लियौं।
स्ट्याचु अफ लिबर्टी सन् १८८६ अक्टोबर २८ मा फ्रान्सले तत्कालीन अमेरिकी राष्ट्रपति ग्रुबर किबल्याण्डको कार्यकालमा उपहारको रूपमा हस्तान्त्तरण गरेको हो। २२५ टन तौल भएको १५१ फिट १ ईन्च अग्लो उक्त मूर्तिको सुरक्षाप्रति त्यहाँ अत्यन्त संवेदनशीलता अपनाइएको देखियो। उक्त मूर्तिलाई दुइटा सुरक्षा हेलिकप्टरले चौबिसै घन्टा परिक्रमा गरिरहेका थिए।
न्युयोर्क घुम्दै गर्दा घरी-घरी आफ्नै देशको सम्झनाले पनि छोडेन। हाम्रो देशका केही ठूला सहरहरू आँखा अगाडि घुम्न थाले।
अत्यन्त अव्यवस्थित ढंगको बढ्दो सहरीकरण,साँघुरा गल्ली, जताततै अतिक्रमण ती सबै सम्झेर मन कटक्क भयो, अनि नजिकै रहनु भएका साथी विद्याराज श्रेष्ठसँग आफ्नो पीडा पोखे- ‘दाजु हाम्रो देशमा पनि यस्तै विकास कहिले हुने होला ?’ उहाँले लामो सास लिँदै भन्नु भयो ‘यस्तै पाराले त कहिले होला र खोई !.... एक छिनमा केही सम्झे जसरी भन्नु भयो ...हाम्रो जीवनकालमा त यस्तो के हुन्थ्यो र ! तर पनि मलाई लाग्छ कुनै दिन कुनै भाग्यमानी पुस्ताले भने यस्तै किसिमको विकास देख्न पाउनेछ।’
हामी दुबै जना उस्तै मनोदशामा रहेछौं। त्यसैले यस विषयमा त्यसभन्दा बढी केही कुरा गरेनौं।
न्युयोर्कको दुई दिने अविस्मरणीय बसाइपछि हामी हाम्रो मुख्य गन्तव्य हाइटीको लागि उड्यौं, करिब तीन घण्टाको त्यो उडानपछि हामी पोर्ट-ओ-प्रिन्स विमास्थलमा अवतरण गर्यौं।
त्यहाँ केही संयुक्त राष्ट्र संघीय कर्मचारी र केही नेपाली साथी हामीलाई एयरपोर्ट मै स्वागत गर्न आउनु भएको रहेछ। उहाँहरूलाई देखेर साह्रै खुसी लाग्यो, केही क्षणको भलाकुसारीपछि हामीलाई बस्ने होटलतिर लगियो, करिब चार किलोमिटरको छोटो यात्रापछि हामी होटल भिल्ला प्रिभे पुग्यौं।
यस क्रममा बाटोमा देखिएका बजार, सडक र मानिसहरू हेर्दा मलाई कता-कता आफ्नै देशको तराईतिर पुगे हो कि जस्तो पनि अनुभूति भयो जसले मन आनन्दित बनायो।
वास्तवमा हामीले सोचेको र देखिरहेको हाइटीमा आकाश जमिनको अन्तर थियो। अमेरिकाको यति नजिकै रहेको देशको अवस्था त्यति दयनीय होला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।
यो एउटा सानो क्यारेबियन देश रहेछ उत्तर एटलान्टिक महासागर र क्यारेबियन सागरको बीचमा २७७५० वर्ग किलोमिटर क्षेत्रफल भएको त्यस देशको जनसंख्या १०.९८ मिलियन रहेछ । राजधानी पोर्ट-ओ-प्रिन्समा पनि अव्यवस्थित फुटपाथ, साँघुरा सडकहरू, थोत्रा टेम्पो, यत्रतत्र फोहोर रहेछ।
अधिकांश मानिस अंग्रेजी भाषा नबोल्ने र उनीहरूको भाषा पनि केही नबुझिने - त्यो देखेर हाम्रो त्यहाँको बसाइ कस्तो हुने होला भन्ने सोचेर चिन्तित भयौं।
हाइटीको विगतलाई हेर्दा फ्रेन्च र अमेरिकाको लामो उपनिवेश व्यहोरेको त्यस मुलुकले कहिले विनाशकारी समुद्री आँधी, कहिले महाभूकम्प, कहिले हैजा जस्ता ठूला-ठूला प्राकृतिक विपदहरू सहेको रहेछ।
गृहयुद्धले तहस-नहस भएको त्यस देशमा गरिबी,असुरक्षा,भ्रष्टाचार र घूसखोरीले जनजीवन अत्यन्त कारूणिक एवं कष्टप्रद मात्र होइन, एचआइभी. एड्सको नरसंहार पनि कम्ती पीडादायक रहेनछ। स्वास्थ्य सुविधा यति नाजुक रहेछ कि त्यहाँ ५० वर्षभन्दा माथिका मानिसहरू नै प्राय: रहेनछन्।
भोक र रोगले आक्रान्त अधिकांश जनतासँग न कुनै रोजगारीको अवसर रहेछ न अरु कुनै बाँच्ने वैकल्पिक उपाय नै। त्यसैले त्यहाँ जीउन कै लागि कतिपय मानिसहरू वेश्यावृत्ति, चोरी, डकैती मात्र होइन हत्यासम्म गर्न पछि पर्दा रहेनछन्।कहिलेकाहीँ यस्तो लाग्थ्यो कि त्यहाँ जीवनको मूल्य ज्यादै सस्तो रहेको छ। सायद त्यसैले होला त्यहाँका जनताहरूमा जीवनप्रति ठूलो निराशा छ।
पोर्ट-ओ-प्रिन्समा सात दिने ‘इन्डक्सन कोर्स’ पछि हामीलाई देशभरिका विभिन्न ठाउँमा खटाइयो। स्थानीय भाषा क्रोयल भए पनि त्यहाँ अधिकांशले फ्रेन्च भाषा पनि बोल्दा रहेछन्।
मेरो कार्यक्षेत्र राजधानी पोर्ट-ओ-प्रिन्समा नै परेकोले तुलनात्मक रूपमा अरूको भन्दा सुविधाजनक मानिन्थ्यो। तर मेरा सहकर्मीहरू गिनी, आइभरीकोष्ट, माली, माडागास्कर, फ्रान्स र स्पेनका अधिकांश फ्रेन्च भाषीहरू भएकाले बोलीचाली,कामकाज र सञ्चारमा ज्यादै नै अप्ठ्यारो थियो।
वास्तवमा त्यहाँ हामीलाई भौगोलिक, साँस्कृतिक एवं भाषिक भिन्नताका कारणले गर्दा काम गर्न त्यति सजिलो थिएन र पनि हाम्रो कार्य सम्पादन उच्चस्तरको मानिन्थ्यो ।
त्यहाँको बसाइको क्रममा हामी कहिलेकाहीँ बिदा मनाउन समुन्द्री किनारा (बीच) मा जाने गर्दथ्यौं एक दिन हामी ‘कालीको’ बीच घुम्न गएका थियौं। त्यहाँको दृश्य देख्दा अचम्मै लाग्थ्यो। सबै आ आफ्नै तालमा मस्त अनि दुँनियासँग बेखबर जोडी भेटिन्थे।
बीचको यस्तै माहौलमा म पनि आफ्नै तरिकाले रमाइरहेको थिएँ।
अकस्मात् समुन्द्रमा मैले एक जोडी हातहरू चलमलाएको देखेँ। मलाई लाग्यो कि त्यहाँ कोही डुबेको छ। एकछिन त जे सुकै होस् भन्ने पनि लाग्यो, तै पनि कोही आफ्नै आँखा अगाडि मरिरहेको हेर्न सकिँदो रहेनछ। त्यसैले मैले आफ्नै ज्यानको बाजी लगाएर उहाँलाई सकीनसकी समुन्द्रबाट निकालेँ।
आजसम्म पनि मलाई लाग्छ कि मैले जीवनमा केही राम्रा कामहरू गरेको छु भने एउटा अवश्य पनि त्यही काम हुनुपर्छ। त्यस घटनापछि उहाँसँग मेरो सम्बन्ध अत्यन्त सुमधुर रह्यो।
हुन त त्यहाँ कार्यरत रहँदाका अनगिन्ती स्मरणहरू छन्, तीमध्ये निर्वाचनमा खटिँदाको एउटा पाटोलाई मात्र म यहाँ उजागर गर्न चाहन्छु।
सन्दर्भ त्यहाँको विधायिकाको निर्वाचनको हो, जसका लागि म लागोनाभ भन्ने स्थानमा खटिएको थिएँ।
उक्त स्थानसम्म पुग्ने मोटर बाटो नभएका कारण हामी ब्राजिलियन आर्मीको पानी जहाजबाट गएका थियौं। हामी त्यहाँ पुगिसकेपछि जहाजमै हामीले लोड गरिएको गाडी निकालेर गाउँ घुम्यौं।
वस्तुस्थिति बुझ्ने क्रममा स्थानीयसँग पनि भेट्यौं। स्थानीय प्रहरी चौकी पुग्यौं। उत्तर अमेरिकामा पनि चौकी भवन अत्यन्तै जीर्ण, टुटे फुटेका फर्निचर, थोत्रा सवारी साधन र यत्रतत्र फोहोर देख्दा ज्यादै अचम्म लाग्यो।
त्यसबाहेक यहाँ खच्चडले सामान ओसारेको देख्न पाउनु मेरा लागि अर्को आश्चर्यको विषय बन्यो।
बाँसले छाएका स-साना कटेराहरू,भोका,नांगा र मुडुला बच्चाहरू सार्है दयनीय थियो त्यहाँको जनजीवन। त्यहाँको त्यो दरिद्रता देखेपछि मन मान्दै मानेन र हामीले आफूले खान भनेर लगेका खानेकुरा झिकेर उनीहरूलाई बाड्यौं, ती खाने कुरा पाएपछि ती बच्चाहरूको मुहारमा आएको चमक देख्दा मलाई बडो आनन्दको महशुस भयो।
छुट्टिनु अघि हामीहरूले उनीहरूसँगै बसेर केही तस्वीरहरू पनि लियौं।
निर्वाचनको पर्यवेक्षण क्रममा थाहा भयो कि त्यहाँ एकदमै कम जनसहभागिता थियो।
यसको कारण अरु धेरै हुन सक्लान तर देशको फोहोरी राजनीति र नेताहरूबाटै निरन्तर शोषित र पीडित जनताहरूको चरम राजनीतिक वितृष्णा हो भन्ने कुरा त्यहीँका स्थानीयहरूले बताए।
यसरी अधिकांश जनताले राजनीतिक प्रणालीको बहिष्कार गर्ने स्थिति सृजना हुनु त्यस देशको शान्ति र स्थायित्वको लागि ठूलो चुनौती थियो। यो कुरा त्यहाँको लागि मात्र होइन द्वन्द्वोत्तर कुनै पनि देशको लागि भयानक कुरा हो।
आखिर सहभागिता जे-जस्तो भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा नै सकियो। अनि हामी पुन: ब्राजिलियन आर्मी कै पानी जहाजबाट राजधानी प्रस्थान गर्ने तरखरमा लाग्यौं।
हाम्रो जहाज साँझ ७ बजेतिर राजधानीको लागि प्रस्थान भयो।
रात छिप्पिदै गयो र डरलाग्दो मेघ गर्जनसहितको घनघोर वर्षा हुन थाल्यो। जहाजै पल्टाउने गरी समुन्द्री छालहरू निरन्तर उर्लिन थाले,जहाजको इञ्जिन बन्द गरियो र त्यहीँ छालसँगै जहाज बग्दै गयो।
हामी बडो व्यग्रताका साथ मौसम सुधारको प्रतीक्षामा थियौं र प्रतीक्षाको त्यो एक-एक मिनेट पनि अत्यन्त कष्टकर थिए।
घरी-घरी यस्तो लागि रहन्थ्यो कि मृत्युले हामीलाई वरिपरिबाट घेरिसकेको छ।
डरले मन कापिरह्यो तर आफ्नो बसमा ईश्वरसँग प्रार्थना गर्नु र मौसम सुध्रिने प्रतीक्षा गर्नु बाहेक केही थिएन। भाग्यवश करिब १ घण्टापछि मौसम बिस्तारै सुध्रियो र हाम्रो जहाज पुन: सामान्य तवरले अगाडि बढ्यो।
रातको करिब ११:३० बजे हामी पोर्ट-ओ-प्रिन्स पुग्यौं।
हामी हाइटी बसाइको क्रममा लाग्रीफोन भन्ने ठाउँमा बसेका थियौं। त्यहाँ छ जना नेपालीहरूको एउटै मेस थियो।
स्थानीय अदलिन नामकी एक जना महिलाले विगत लामो समयदेखि नेपालीहरूको लागि नै खाना बनाउने भएकीले सिपालु रहिछिन्, त्यसैले हामीलाई खानाको भने कुनै ठूलो समस्या परेन। त्यसमाथि पनि त्यहीँ रहेको नेपाली सेनाको गणले कहिलेकाहीँ हाम्रो नियास्रो मेटाउथ्यो।
अझ त्यो क्यारेवियन भूमिमा नेपालीहरू (सिभिलियन, प्रहरी, सेना) सबै मिलेर बेला बेलामा गर्ने जमघट र नाँचगानको मजा बेग्लै हुन्थ्यो। यसका अतिरिक्त त्यहीँ कार्यरत भारतीय, पाकिस्तानी एवं श्रीलंकाली राष्ट्रसंघीय कर्मचारीहरूसँग हुने भेटघाट, उठबस आत्मीयताले पनि समय बिताउन ठूलो मद्धत गरेको थियो।
यसरी चिन्ता, चुनौती र अनिश्चयका बाबजुद हामीलाई त्यहाँ एक वर्ष बिताउनु नै थियो।
भाषाको समस्या, अपहरण भइने डर, मलेरियाको चिन्ताको बीच पनि हेर्दाहेर्दै एक वर्षको समय बितेछ।
हामी घर फर्कने तयारीमा लाग्यौं।
एकातिर घर पुगिने उत्साह र खुसीले हामी पुलकित हुँदै थियौं भने अर्कोतिर खाना बनाउने दिदी अदालिन, सरसफाइ सहयोगी फ्वास्वां, सहकर्मी डिरीक र मित्र बेथ इलफनियोसँग नजानिँदो किसिमले बढेको सामिप्यताले छुट्टिने बेलामा कताकता पीडा महशुस पनि भइरहेको थियो।
त्यसमाथि पनि के अब जिन्दगीमा फेरि कहिल्यै हाम्रो भेट होला र ? भन्ने साथीहरूको प्रश्नले कम्ता बिचलित पार्दैनथ्यो।
अनि मलाई त्यतिबेला पो थाहा भयो कि एक महिना अगाडि मिसन सकेर आफ्नै घर फर्किंदा पनि मेरा साथी किन भक्कानिएर रुनु भएको रहेछ भनेर।
जे जसरी भए पनि घर फर्कने दिन आयो र त्यहाँ बिताएका अविस्मरणीय क्षणहरूलाई मुटुभरि समेटेर हामी स्वदेश फर्कन एयरर्पोटतिर लाग्यौं।
कोठाबाट हिँड्दा दिदी अदलिनले भावुक हुँदै बिदाइको क्षणमा स्नेहपूर्वक दिएको असारे फूल जसलाई मैले पोर्ट-ओ-प्रिन्सबाट जापानको नारीता विमानस्थल आइपुग्दासम्म पनि साथै राखेको थिएँ।
मित्र वेथ इलाफानियोलाई मैले फेरि भेट्ने वाचा गर्दा बदलामा उहाँको निराशापूर्ण फिक्का हाँसो र गहभरिका आँसुले म कम्ती मर्माहत भएको थिइनँ।
आखिर हामी सबै भावुकताको उत्कर्षमा थियौं र जेजस्तो भए पनि गह्रुङ्गो मनका साथ पीडा र खुसीको दोसाँधमा टेकेर हामी सदाको लागि हाइटीबाट बिदा भइ पोर्ट-ओ-प्रिन्स विमानस्थलबाट स्वदेशका लागि उड्यौं, हृदयदेखि नै त्यो महान् देशका महान् जनताहरूको सुख, समृद्धि र त्यहाँको राजनीतिक स्थिरता एवं विकास कामना गर्दै ....
सबै तस्बिरहरू : रवीन्द्र केसी