तीन वर्षअघि मैले एउटा नाटकमा अभिनय गरेको थिएँ। त्यसको नाम थियो, ‘थाङ्ला’।
कथा लोमान्थाङ र त्यहाँको जीवनशैलीबारे थियो। यामाहाले लोमान्थाङको यात्रा गर्दैछ भन्ने माघमै थाहा पाएको थिएँ। यो यात्रामा म, रेमन र आशिष पनि सहभागी हुँदै थियौं।
देशभरिबाट छानिएका १३ जना ‘टफ राइडर’लाई लिएर लोमान्थाङको रोमाञ्चक यात्रामा निस्कँदै थियौं। मैले जुन स्थानलाई केन्दबिन्दुमा राखेर पहिले नै अभिनय गरिसकेको थिएँ, त्यो स्थानलाई प्रत्यक्ष अनुभव गर्ने दुर्लभ मौका पाइरहेको थिएँ। यसबाट म निकै उत्साहित थिएँ।
.....
गएको वैशाख २१, शनिबारको दिन सुरू भयो, ‘राइड विद् रोडिज्’। गन्तव्य ‘द फर्बिडन सिटी’ अर्थात् लोमान्थाङ।
काठमाडौंबाट ६५७ किलोमिटर पर, समुद्री सतहबाट ३,८४० मिटर माथि।
पहिलो दिन हामी पोखरासम्म पुग्दै थियौं। यो बाटो भएर म दर्जनौं पटक पोखरा गइसकेको थिएँ। यस पटक भने फरक अनुभूति भइरहेको थियो। राइडरहरू गियर, बुट र हेलमेट लगाएर १५ वटा मोटरसाइकलमा लस्करै, कुनै महान् मिसनका लागि अघि बढिरहेको जस्तो। मौसम एकदम रामो थियो। पारिलो घाम र ट्राफिक पनि अरु दिनमा भन्दा कम। पोखरामा पुग्दा हामीलाई वर्षाले स्वागत गर्यो। होटलमा पुगेपछि बल्ल राइडरहरूसँग चिनाजानी भयो। त्यसो त, ती राइडहरूलाई हामी तीन जनाले यो राइडका लागि छानेका थियौं। हामी तीन जजमध्ये आशिष चाहिँ काम विशेषले आउन सकेनन्। अब राइडरहरूलाई हामी नजिकबाट चिन्न थालेका थियौं। हामी एउटा लामो र यादगार यात्रामा निस्किएका थियौं।
भोलिपल्ट बिहानै यात्रा सुरू भयो। आजको गन्तव्य चाहिँ कालोपानी। हामी लेट्टेमा पुग्यौं। यो एकदमै सुन्दर ठाउँ थियो। बाटो पनि राम्रै थियो। हामी रमाइलो गर्दै आफ्नो गन्तव्यमा अघि बढिरहेका थियौं। आजको गन्तव्य अलि टाढा थियो क्यारे। राति अबेर कालोपानी पुग्यौं। त्यहाँ पुग्दा भर्खर पानी परेर रोकिएको थियो। अनि चिसो मौसम। दोस्रो दिनसम्म आइपुग्दा राइडरहरूबीच भातृत्व बढिसकेको थियो।
सोमबारको दिन हामी मुस्ताङ भएर छुक्साङ पुग्दै थियौं। अब चाहिँ राइडको मज्जा सुरू भइसकेको थियो। भूगोल र वातावरण पनि मुस्ताङ जस्तो देखिन थालेको थियो। धौलागिरी हिमश्रृंखला मज्जाले खुलिरहेको। दिउँसो जोमसोम पुग्यौं। त्यहाँको १२ बजेको हावा अनुभव गर्यौं। मुस्ताङमा त बाटो राम्रो थियो अनि चौडा पनि।
त्योभन्दा माथि बाटो पनि खराब, मौसम पनि। तर दृश्यहरू गज्जबका थिए। पहाड, चट्टान अनि खोला। मुस्ताङसम्म राम्रो यातायातको व्यवस्था भएकाले जोकोही सजिलैसँग पुग्न सक्ने भएको छ, अहिले।
तर त्योभन्दा माथि अझै पनि निकै थोरै पर्यटक पुग्छन्। त्यसैले त मानव प्रदूषणको संकेत त्यहाँ देखिएको थिएन। बाटो कठिन थियो र धुलाम्य थियो। टायरको आधा भाग डुब्ने धुलो थियो। राइडरहरू त पानी नपरे पनि धुलोबाट बच्न रेनकोट लगाएर अघि बढिरहेका थिए। त्यो दिन हामी छुक्साङमै बस्यौं।
हामीबीच टिम वर्क निकै रामो थियो। सबै जनाले कोर्डिनेट गरिरहेका थिए। राइडरहरू अनुशासित थिए। हामी एकअर्काको ख्याल गर्थ्यौं। सबै जना सँगसँगै हुन्थ्यौं। कसैलाई पछाडि छोडेर कोही पनि अगाडि बढ्दैनथ्यौं। समस्या पर्दा सहयोग गर्न सबै जना अगाडि बढ्थ्यौं।
हामो यात्रा निकै कठिन थियो। हामीलाई सुरक्षित रूपमा गन्तव्यमा पुग्नु थियो। हरेक दिनको अन्तमा हामी दिनभरिका थकान बिर्सन्थ्यौं। राइडरहरू गीत गाउँथे, नाच्थे र अनुभव साटासाट गर्थे। एकअर्काको क्यारिकेचर गर्थे। रमाइलो गर्थे। राइडरहरूमा ‘ब्रदरहुड’ एकदमै बलियो देखिन्थो। राति रमाइलो गर्थ्यौं र भोलि बिहान फेरि हामी पूर्ण रूपमा ‘फ्रेस’ हुन्थ्यौं।
चौथौ दिनको यात्रा पनि सदा झैं बिहानै थाल्यौं।
आज हामी ‘एक्जोटिक’ लोमान्थाङ पुग्दै थियौं। घामीमा दिउँसोतिर लन्च गर्यौं। बिहानैदेखिको राइडले सबैजना थाकिसकेका थिए। भोकले चूर। तर त्यहाँको खाना ‘अर्गानिक’ थियो। एकदम मीठो। त्यस्तो खाना मैले जीवनमा विरलै मात्र खाएँ होला। घामीबाट करिब दुई घन्टाको बाटो थियो, लोमान्थाङ। अन्ततः हामी हाम्रो गन्तव्य पुग्यौं, लोमान्थाङमा पुग्यौं, उपल्लो मुस्ताङको राजधानी।
.....
हिमाली पारीको देश, कठोर तिब्बती पठारमा बनेको यो ठाउँ तिब्बती संस्कृति संरक्षण गरिएको विश्वकै दुर्लभ सहरमध्ये पर्छ। मैले सुनेको, सन् १९९२ सम्म त यहाँ कोही पनि विदेशी छिर्न पाउँदैनथे। आज पनि यो ठाउँ कुनै मध्ययुगीन गढ जस्तो देखिन्छ। सानो सहर, माटो र ढुंगाले बनेका ससाना सेता घर, चौंरी गाईको बगाल। शब्दमा वर्णन गर्न नसकिने सुन्दरता छ, लोमान्थाङमा।
यहाँ अझै पनि शताब्दियौं पुराना बौद्ध गुम्बजहरू छन्। ‘लोबा’हरू आँगनमा ‘ओम माने पदमे हँ’ गर्दै ‘माने’ घुमाइरहेका भेटिन्थे। त्यहाँका बासिन्दालाई ‘लोबा’ भनिने रहेछ। दिउँसोको गर्मीमा पनि केटाकेटीहरू चोकचोकमा बख्खु लगाएर खेलिरहेका देखिन्थे। उनीहरूका जीवनशैली कठिन होला। मनमा अनेकन दुःख होला। तर निष्फिक्री मुस्कान थियो उनीहरूमा।
त्यो दिन हामी त्यहीँ बास बस्यौं। गन्तव्य पुगेपछि राइडरहरूको ‘एक्साइटमेन्ट’ले आकाश छोयो। हामी त्यो रात नाच्यौं, गायौं र रमायौं। भोलि बिहानै हामी नेपाल र चीनको सीमा क्षेत्र कोरला पास जाँदै थियौं, त्यो कुराले पनि हामीमा रोमाञ्चकता थपिरहेको थियो।
कोरला पास चार हजार ६ सय मिटर उचाइमा पर्छ। वैशाख मसान्तमा पनि हिउँ पग्लिसकेको थिएन। मौसम चिसो थियो। वायुमण्डल पातलो। केहीलाई त श्वास फेर्न पनि असहज भइरहेको थियो। तर त्यस्तो ठाउँमा पनि यामाहाका एफजी बिना संकोच दौडिरहेका थिए। बाटो राम्रो थियो। न पिच न ग्राभल।
कोरला पासबाट लोमान्थाङ फर्केर हामीले राति डिनर गर्यौं। लोमान्थाङमा हामी दुई दिन बितायौं। त्यहाँको संस्कृति, दैनिकी र सभ्यतालाई नजिकबाट नियाल्यौं। मैले नाटकमा अनुभव गरेको लोमान्थाङभन्दा निकै भिन्न थियो, यो वास्तविक लोमान्थाङ।
त्यो नितान्त फरक अनुभव थियो। यहाँको परिवेश मैले सोचेभन्दा पनि फरक थियो, ‘मिस्टिकल एन्ड विन्डी’ र जीवनशैली मेरो कल्पनाभन्दा बाहिरको।
.....
तिब्बती पठारमा उभिएका पर्वतहरू म्याजेस्टिक थिए । ती दृश्यहरू देखेर मेरो शरीरमा काँडा उम्रेला झैं अनुभव भएको थियो। म यो यात्रालाई कहिल्यै भुल्न सक्ने छैन।
हामीलाई काठमाडौं फर्कनु थियो। भारी मन लिएर हामी त्यहीँ रूटमा फर्क्यौं। यात्रा सुखद रह्यो। टिमवर्क र अनुशासित राइडरको कारणले एक्जोटिक लोमान्थाङको यात्रा सुखद अनुभूति भयो। काठमाडौंसम्म आइपुग्दा हामी सबै जना एउटा परिवार जस्तो भइसकेका थियौं। यामाहा राइडरसँगको यो यात्रा मेरो लागि सदा यादगार रहनेछ।