'जिन्दगीमा कतिचोटि चौतारीमा सुस्ताइयो होला। तर, चौतारीको सही अर्थ यहाँ आएर थाहा भइरहेछ।'
दुईजना मुश्किलले हिँड्न मिल्ने बाटोको चौतारीजस्तो ठाउँमा एक युवती छे। कसैसँग मोबाइलमा कुरा गरिरहेकी। कुरा गरेभन्दा बढ्ता आफ्नो दुखेसो मोबाइलमा रोइरहेकी ती युवतीले आफ्नो जिउलाई बेस्याहार र बेढंगले चौतारामा फ्याँकिदिएकी थिई। थाकेर। हालत त हाम्रो पनि उस्तै थियो। तर हामीले हिँडाइलाई निरन्तरता दिइरह्यौं, सकिनसकी।
बिहान करिब ७ बजे घान्द्रुकबाट आफ्नो यात्रा सुरु गरेका थियौं। पैदल। पैदलको विकल्प पनि छैन यो यात्रामा। सिवाय घोडाको जुन हामीहरूको आर्थिक क्षमताभन्दा निकै परको छ। कति पर? सोधिएन पनि, ‘नजाने गाउँको बाटै नसोध्नू।’
चौतारीमा बेढंगले लडिरहेकी ती युवती देख्दा करिब एघार बजेको हुनुपर्छ। हामी भर्खरै किमरिङ खोलाको झोलुंगे पुल तरेर उकालैउकालो चढेका थियौं। उकालोको सकस निकै मज्जाले झेलेपछि सोचेँ, उकालो जिन्दगी हो। हैन, उकालो चढिरहनु नै जिन्दगी हो। सोचाइलाई 'करेक्सन' गर्छु।
साँच्चै नै, असफलभन्दा असफल मान्छे पनि आफ्नै प्रकारको सफलताको उकालो चढिरहेका हुन्छन्। उचाइ छुन्छु अथवा छुन सक्छु भन्ठानेर। तर, जिन्दगीमा उचाइमा पुग्छु र त्यहीँ घर बनाएर बस्छु भन्नु सफलतालाई 'युटोपिया' बनाउनु नै त हो। उचाइ एक युटोपिया। जिन्दगीको युटोपिया। अनायसै भारतीय प्रसिद्ध कवि केदारनाथ सिंह सम्झन्छु।
उनको ‘उचाइ’ कविता सम्झन्छुः
'म त्यहाँ पुगे
र डराएँ
मेरो सहरका ए मानिसहरू हो
यो कति भयानक छ
कि सहरका सबै भर्याङहरूले
जुन महान उचाइसम्म पुर्याउँदछ
त्यहाँ कोही रहने गर्दैनन्।'
मान्छेहरु आ–आफ्नै उचाइ चढिरहेका हुन्छन्। यो जान्दा–जान्दै कि उचाइ स्थायी हुन्न। उचाइमा घर बनाउन सकिन्न। जीवनमा स्थायी केही हुन्छ त यात्रा। थाहा हुँदाहुँदै पनि मान्छे चढिरहेकै हुन्छन्, आ–आफ्नै उचाइ। यात्रालाई ख्यालै नगरी। यात्रामा नरमाई।
यात्रा सुरुवात मैले अलि अगाडिदेखि गरेँ। या भनौं बिना सिलसिला गरेँ। थाहा छ, भ्रम हुन सक्छ पढ्दा। तर यो नियात्राको सुरुवात यहीँदेखि गर्नुपर्छ भन्ने मैले यात्रामै निधो गरिसकेको थिएँ। यात्रा वर्णन अब सुरुदेखि सुरु गरौं।
हामी केही साथीभाइ मिलेर करिब ३/४ वर्षअघिदेखि यो भ्रमणको खाका कोरेका थियौं। उनीहरूमध्ये केही छन्, जो अक्सर वर्षमा कम्तीमा एकचोटि विदेश यात्रा निस्कन्छन्। यो मेरो भाग्य हो, मेरा सबै साथी घुम्न मनपराउँछन्। विदेश घुमिरहनेलाई मेरो विशेष किसिमको अनुरोध हुन्छ।
'पहिले हामी हाम्रै देश घुमौं न। सारा संसारभरका मान्छे यो देश घुम्न आउँछन्। हामी चाँहि किन विदेश जानु?'
साथीहरूले यसलाई ‘हो, हो’ त भनिदिन्छन्। तर, मलाई थाहा छैन उनीहरूले यसलाई साँच्चै कुन रुपमा लिएका छन्?
यसरी करिब ३/४ वर्षअघि हामीले अन्नपूर्ण बेसक्याम्प जाने निर्णय गरेका थियौं। यही ठाउँ छान्नुमा मेरो एउटा व्यक्तिगत धारणा छ। चालीस उमेर पार गरेपछि अलि अप्ठ्यारा ठाउँ शारीरिक कमजोरीका कारण घुम्न गाह्रो हुनेछ। म भन्ने गर्छु, 'सकिन्छ भने यो दस वर्षभित्र केही प्रसिद्ध ट्रेकिङ रुटसम्म पुगौं। पछि सकिएला नसकिएला?' र, यसका लागि अन्नपूर्ण बेसक्याम्प सबभन्दा सजिलो र सुन्दर सुरुवात थियो।
यसरी नै हरेक वर्ष भदौ/असोज या त चैत/वैशाखमा यात्रा निधो गरिन्छ। र, त्यो निधो 'निर्धो' निधो ठहरिन्छ। निर्धो निधो गरेको झण्डै ३ वर्ष चिप्लिएर गएपछि विशाल भाइ, जो एउटा राम्रो फोटोग्राफर हो, उत्तम, मेरो स्कुल पढ्दाताकको साथी र म यो निर्धो निधोलाई बलियो बनाउने निर्णय गर्यौं। योजना बनायौं। गते तोक्यौं। तरिका सोच्यौं।
सबै तय भयो। यात्रामा उत्तमले आफ्नो छोरा उमंगलाई पनि लैजाने भयो। 'तीन से भले चार!'
चैत २६ गते बेलुकी साढे तीन बजेको काठमाडौं जाने गाडी थियो। बसपार्क पुग्यौं। धरानको नाइट गाडी मात्रै चल्ने बसपार्क। गाडीको नाम ‘फेसबुक ट्राभल्स’। सुनेर हामी मज्जाले हाँस्यौं। बुकिङ विशाल भाइले गरेकाले हामी अरुलाई नाम थाहा थिएन।
गाडीले बिहान ४ बजेतिर मुग्लिन छोडिदियो। पोखरा जाने गाडी समात्नु थियो। एकाबिहानै मुग्लिन हल्ला गरिरहेको थियो। यो सानो सहर हत्तपत्त सुत्दैन। नेपालका ठूला सहर भनेर नाक घोक्राउने सहर पनि सम्साँझै ‘गब्बरले भर्खरै लुटेर हिँडेको गाउँ’ भन्दा निरीह देखिन्छन्।
तर, यो ठाउँ! चौबिसै घण्टा जागा। अँध्यारैमा पनि कल्याङमल्याङ।
चिया दोकानमा भिड छ। चिया पिउने तल्तल भयो। चिया पिउने निर्णय गरिनसक्दै ‘पोखरा, पोखरा’ भन्दै कराइरहेको गाडी भेटिन्छ। चिया पिउने रहरलाई रहर नै राखेर दौडिँदै गाडी चढ्छौं। गाडी भिड छ। भाग्यवश् हामी चारले नै सीट भेट्छौं। तर, चारतिर।
हामी चढ्दा नचढ्दै गाडी हिँड्छ। ‘धिरे धिरे से मेरी जिन्दगी मे आना....’ ९० दशकको गीत घन्काउँछन् 'गुरुजी'। मनमनै सोच्छु, 'गुरुजी पनि हाम्रै उमेरको हुनुपर्छ।' मेरो ठम्याई छ, मान्छेले सुन्ने गीतबाट उसको उमेरको अन्दाज धेरथोर गर्न सकिन्छ। खैर त्यता नजाऊँ अहिले।
गाडी विस्तारै त्रिशुली पार गरेर डाँडाको चेपचेप हुँदै घस्रन सुरू गर्छ। बाहिर अन्धकार छ। केही देखिँदैन। सर्चलाइटको उज्यालोले डाँडा छिचोल्दै गाडीले एउटा गति लिन्छ। ‘लोकल गाडी परेछ ज्या....’ मनमनै सोच्दै रातभर गाडीले थकाएको जिउलाई सीटमा थन्काउँछु। आराम महशुस भयो क्यार, निदाउँछु।
तन्द्रैमा थाहा पाइरहेछु गाडी एकतमासले कुदिरहेछ। एकतमासले केही मान्छे घुरिरहेका छन्। कोही मसिनो स्वरमा कुरा गरिरहेका छन् एकतमासले। अरूलाई वाधा नपरोस् भन्ने सोचेका हुनुपर्छ, सायद। एकतमासले मान्छेको गन्ध आइरहेको छ। एकतमासले गाडीको गन्ध आइरहेको छ। तन्द्रैमा थाहा पाउँछु यी सबै। गाडी कुदिरहेकै छ। कुदेको निकै बेरपछि मान्छेको कल्याङमल्याङ बढेको महशुस हुन्छ।
निन्द्रामै मान्छेले हिमालको कुरा गरेको महशुस गर्छु। नचाही–नचाही आँखा खोल्छु। कुदिरहेको गाडीको झ्यालबाटै देख्छु अगाडि पोस्टरजस्तै टाँगिएको माछापुच्छ्रे हिमाल। बिहानीको घाममा टल्किएको पहेँलो माछापुच्छ्रे। मन प्रफुल्ल हुन्छ। लाग्छ हिमालतिरको यो यात्राको ‘सुरुवात राम्रो छ।’
करिब ७ बजे बिहान पोखरा बसपार्कमा फ्याँकेर जान्छ गाडी। रातभरको गाडी यात्रा। दुइटा गाडी फेर्नुको सास्ती। ती सबै सास्ती र थकान बसपार्ककै एउटा सानो होटलमा थन्क्याउँछौं। बेसक्याम्पसम्मको जानकारी लिन केही ठाउँ जान्छौं। पहिले नजिकैको प्रहरी चौकीमा तैनाथ प्रहरी जवानसँग सोधपुछ गर्छौं। उनीहरूले अनभिज्ञता जाहेर गरेपछि उनीहरूकै बारेमा सोध्छौं। एकजना झापातिर घर भएको र त्यतैबाट भर्खरै सरुवा भएर आएको कुरा गर्छ। अर्को काठमाडौंतिरबाट।
सबभन्दा भरपर्दो सूचनाको श्रोत बस काउण्टरहरू, जो बिहानैदेखि मान्छेका भिडले भरिएका छन्। सोधौं कसरी? फर्किएर होटल नै आउँछौं। खाजा तयार रहेछ। खाँदै होटल मालिकसँग कुरा गर्न थाल्छौं। उनले विस्तृत र सजिलो तरिकाबारे जानकारी दिन्छ। हाम्रो अगाडिको यात्रा यकिन हुन्छ।
बिहान करिब साढे दस बजे। माछापुच्छ्रे चाँदीजस्तै टल्किएको छ उत्तरतिर। बाग्लुङ बसपार्कबाट हामीलाई बोकेर एउटा बस छुट्छ। डाँडाहरूको नागबेली बाटो छिचोल्दै नयाँपुल आइपुग्छ। नयाँपुलमा करिब एक घण्टा खानाका निम्ति रोकिन्छ। दिउँसो साढे एक बजेतिर घाम्लीतिरको लागि छुट्छ गाडी।
नयाँपुलसम्म सर्रर कुदेको गाडी अबको बाटो कच्ची भएकोले हल्लिन थाल्छ। बाटो रमणीय छ। आँखा अगाडि माछापुच्छ्रे मस्किरहेकै छ। हामीलाई जिस्काउँदै। यो यात्रा दौरान एकपटक पनि बादल छिल्लिन आइपुगेको छैन माछापुच्छ्रेसँग। हामी भने जिस्काइरहन्छौं। मौनताले।
करिब ४ बजे घाम्ली पुग्छौं। आधा घण्टा-पैतालिस मिनेट उत्तरतिर उकालो चढेपछि आइपुग्छ घान्द्रुक। हामीलाई यसै भनिएको थियो। तर, करिब एक-डेढ घण्टाको सकसपूर्ण ठाडो उकालोपछि मात्रै घान्द्रुक टेक्यौं। पुच्छरतिरकै होटलभन्दा अघि नबढ्ने सामुहिक निर्णय भयो।
ढुंगा छापिएको सफा बाटो। ढुंगाकै सफा भर्याङैभर्याङ उक्लिएर पुगेका थियौ घान्द्रुक। सफा-चिटिक्क स–साना घर। सम्पूर्ण वातावरण नै सफा। सफा घले बस्ती, घान्द्रुक। तर, त्यतिन्जेल माछापुच्छ्रेलाई भने बादलको झुत्ताले छोपिसकेको थियो। बादलहरूले मैलो बनाएको थियो उत्तरतिरका हिमाल श्रृंखलाहरू।
हाम्रो होटलवाल्नी पोखरातिरकी क्षेत्रीनी रहिछन्। उनी भन्दै थिइन्, 'तपाईंहरू भाग्यमानी हुनुहुँदो रहेछ। अस्तिसम्म मौसम निकै नराम्रो थियो। दिनरात आँखा उघार्दैन थियो। पानी परेको परेकै। हिजैदेखि हो मौसम सफा भएको। यति बादलले त पानी पर्दैन। भोलि सफा हुन्छ।'
दुई बुढाहरू उत्तम र म कोठातिर सुत्न छिर्यौं। दुई जवान विशाल र उमंग भने नजिकैको घले म्युजियम हेर्न हिँडे। जाडो निकै थियो। थाकेर ओछ्यान पल्टने बित्तिक्कै निदाएको हामी दुवैले दुई जवान आएर सुतेको पनि थाहा पाएनौं।
बिहान ५ नबज्दै निन्द्रा खुल्यो। हाम्रो तलाको बाथरुम बिहानैदेखि प्याक। ब्रस बोकेर माथिल्लो तला उक्लिएँ। त्यहाँ पनि उही ताल। त्योभन्दा अझै माथि चढेँ। चढ्दा नचढ्दै हल्ला सुनेँ।
‘आहा, वाउ, फोटो खिच खिच’ भन्ने हल्ला थियो। म सबथोक बिर्सिएर हल्ला भएतिर बढेँ। छतमा होटलमा भएका सबैजसो भेला भएका रहेछन्। र, अगाडि उत्तरतिर आँखाले भ्याउन्जेलसम्म फैलिएर बिउँझिन-बिउँझिन लागेका जस्तो तर सुतिरहेका अन्नपूर्ण हिमश्रृंखला। माछापुच्छ्रे आफ्नै अन्दाजमा देखिन्थ्यो। लहरै अन्नपूर्ण, हिउँचुलीहरू आँखा मिचिरहेझैं थिए। मौसम सफा थियो।
‘होटलवाल्नी त ज्योतिषी नै रहिछे !’ सोच्दै दौडेर केटाहरूलाई बोलाएँ। फोटोसेसन चल्यो निकै बेरसम्म हिमालहरूसँग इत्रिँदै। त्यतिन्जेल सबै हिमश्रृंखला ‘र्याम्प’ मा उत्रिसकेका थिए। माछापुच्छ्रेको ‘क्याट्वाक’ हेर्न लायक थियो।
बिहान ७ बजेतिर हामी चिया पिएर घान्द्रुकबाट हिँडेका थियौं। घान्द्रुकको आमा समूह निकै सक्रिय छ भन्ने सुनेका हामीले उदाहरण पनि बाटोमै देखिहाल्यौं। छेउमा लहर लाएर चेलीहरू ढुंगेबाटोमा उम्रिएका झार उखेल्दै थिए। कोही झाडु लाउँदै। कोही पर्खालका लेउ सफा गर्दै थिए। कुनै हल्ला नगरी। काममा ध्यानमग्न उनीहरूलाई केही सोध्न मन त लागेको हो। तर, सोचेँ यति ध्यानमग्न काममा वाधा किन पुर्याउनु?
हामी पनि चुपचाप बाटो लागिरह्यौं। बाटोको चौतारोमा ६, ७ जना युवा भेटिए। उनीहरू के गरिरहेका थिए, थाहा पाएनौं। तीन जना मुश्किलले अटाउने बाटोमा दर्जनभन्दा बढी भारी बोकिरहेका खच्चड भेटिए। खच्चड डोहोर्याइरहेका केही गोठाला भेटिए। मौन साँधिरहेका सल्लाका बोट भेटिए। मौन व्रतमा ध्यानरतः झाडी भेटिए। एकजोडी ढुक्कुर भेटिए। कुनै हल्ला नगरी भुर्रभुर्र उडिरहेका जुरेली पनि भेटिए। भेटिए एकतमासले किर्र...किर्र.... कराइरहेका किराका आवाज।
हामी पनि मौनता साँधेर हिँडिरहेको त्यो बखत हल्ला गर्ने त्यही किरा मात्रै थिए। ठीक टाउकोको मास्तिर माछापुच्छ्रे भने गफ्याउँला झैं गरिरहेको भान गर्दै थियो। ‘सदियौंदेखिको मौनता आज भाँच्नेछु। मात्रै तिमीहरू मलाई एकछिन समय देऊ न,’ भनिरहेको थियो ऊ सायद। हामीले भने उनको त्यो आग्रहमा त्यति ध्यान दिएनौं। कति खुलेको थियो ऊ। नीलो आकाशमा सेतो टलक्क टल्किएको साँच्चै नै सुन्दर। उत्तिकै सुन्दर बाटो छेउमा चुपचाप काम गरिरहेका चेलीहरू। एकधुनले चौतारोमा ठिट्यौला हर्कत गरिरहेका युवाहरू। गोठाला, खच्चड, एकजोडी ढुक्कुर, जुरेली, सल्ला र झाडी पनि उत्तिकै सुन्दर। तर, हामीलाई किमरिङ खोला झरेर किनारका होटलमा खाजा खानु थियो। हामीले ‘टार्गेट पोइन्ट’ बनाएका थियौं।
घान्द्रुकदेखि १ घण्टाजस्तो उकालिएर र फेरि एक घण्टा जस्तै ओरालिएका थियौं। जंगलको बाटो हुँदै। सुनसान बाटोमा विशाल, जो अक्सर चुपचाप बस्छ, चुपचाप नै थियो। बरु धुनका साथ फोटो खिचिरहन्थ्यो। र, उसको त्यही धुन उसका फोटामा देखिन्छ। उत्तम र उसको छोरा उमंगको एउटा वार्ताले भने मलाई मज्जा दिन्छ।
मोबाइलमा फोन आइरहने र आउने बित्तिक्कै बोल्न लुक्न जाने छोरालाई उत्तमले सोधेको थियो, 'फोनमा हाम्रो छेउमै बोल्नु हुँदैन ? गर्लफ्रेन्ड छ कि के हो तेरो?'
उत्तरमा उमंगले भन्यो, 'छ नि। बरु कतिवटा छन्? भनेर सोध्नु नि।'
हामी, अर्थात हाम्रो उमेर ढल्किँदै गएकाहरू गर्लफ्रेन्ड शब्दलाई अलि संकुचित बनाएर हेर्छौं कि? अहिलेका टिनएजरले यसलाई अलि ‘ब्रोड’ अर्थमा बुझ्छन् क्यारे! यस्तै गम्दै म हिँडिरहेको थिएँ। ओरालो।
उत्तमले भने खिस्स हाँसेर भन्यो, 'कुन दिन सबै मिलेर कुट्लान् नि!'
एक घण्टा जति ओर्लिएपछि हाम्रो टार्गेट पोइन्ट किमरिङ खोला किनारको होटल पुग्यौं। किमरिङ बगिरहेको। किमरिङमाथि मानिस हिँड्दा हल्लिरहने झोलुंगे पुल थियो। जसलाई भर्खर एक झ्वाँक हामीले हल्लाएर वारि आएका थियौं। सम्झनामा ‘अविरल बग्छ इन्द्रावती’ आयो, किमरिङको एकरुपताको बगाइसँगै। रमेश विकल पनि आए। हामीले भने सम्झँदै चिया पिइरह्यौं। घडीमा नौ बजिरहेको।
चिया पिएर असिनपसिन हुँदै एकघण्टा उकालिएपछि हामीले भेटेका थियौं यो लेखको सुरूमा उल्लेख गरेको युवतीलाई। यो ठाउँ दक्षिणतिर पर्ने किमरिङतिरबाट आउने बाटो र पश्चिमतिर पर्ने पुनहिलतिरबाट आउने बाटोको संगम थियो। र, यहाँबाट तेर्सैतेर्सो बाटो छ भनेर भनेकी थिइन् घान्द्रुककी होटलवाल्नीले। उनले साथै यो पनि भनेकी थिइन्, 'मज्जाले हिँड्नु भयो भने तपाईंहरू भोलि सिनुवा पुग्न सक्नु हुन्छ।'
एउटा टार्गेट उनले पहिल्यै बनाइदिएकी थिइन्। र, चौतारोमा अव्यवस्थित लडिरहेकी ती युवतीलाई त्यहीँ छाडेर हाम्रो टार्गेट पछ्याउन थाल्छौं।
त्यो युवती त्यही बाटोका संगमछेउकै चौतारोजस्तोमा लडिरहेकी थिई। हामीले गफ गर्यौं, युवती घान्द्रुकतिरबाट त आएकी थिइन। अड्कल काट्यौं, पक्कै पुनहिलको बाटो भएर आएकी हुनुपर्छ। अन्नपूर्ण बेसक्याम्प जाने सबभन्दा चर्चित बाटो पुनहिलतिरबाट हो। यस्तै–यस्तै गफ गर्दै हिँडिरहेका थियौं। अलि अगाडि पर्यटकको जत्था भेटिए। त्यसपछि त कति हो कति पर्यटक। पर्यटक नै पर्यटकको भिडमा हामी हिँडिरहेका थियौं। गाइडहरूले सिकाएर हो वा के हो, प्रत्येक पर्यटक आँखा जुध्यो कि ‘नमस्ते’ भन्थे। हामी पनि नमस्ते फर्काइरहेका थियौं।
हामी नमस्तेको लर्कोसँगै सिनुवालाई टार्गेट बनाएर हिँडिरहेका थियौं। साँझसम्ममा माथिल्लो सिनुवा नत्र तल्लो सिनुवा पुग्ने हिसाबले। त्यहाँदेखि छोमोरुङसम्मको यात्रा करिब तेर्सै-तेर्सो थियो। यात्रा सहज–सहज नै रह्यो। नमस्ते खाँदै–खाँदै।
छोमोरुङदेखि ठाडो ओरालो। भर्याङ नै भर्याङ। झण्डै एक, डेढ घण्टा। खोलासम्म। खोलाको नाम बिर्सिएँ। खोला पुग्दासम्म शरीर थाकेर चुरचुर थियो। खोलामा सानो झोलुंगे पुल। पुलमा थुप्रै पर्यटक। जापानिज, चाइनिज, थाई, अमेरिकन, युरोपियनहरू। अर्थात्, संसारभरकै मान्छे एउटा सानो झोलुंग् पुलमा रमाइरहेका थिए। तरून-तरूनी सेल्फी लिइरहेका थिए। बुढाबुढीहरू भने गाइड वा आफ्नै आफन्तको सहयोगमा फोटो खिचाइरहेका। भेटिनेहरूलाई नमस्ते पनि गरिरहेका थिए। हामी पनि मिसियौं। एकछिन। हामीले पनि ऐजन गतिविधि दोहोर्यायौं। एकछिन। थकान भुल्न यो गतिविधि सहायक भयो। थकान त ऐजन नै थियो। भुल्न भने उपयोगी सावित भयो।
त्यसपछि उकालै उकालो सिनुवासम्मको यात्रा। पुलसम्म पुग्दै करिब ३ बजिसकेको थियो। आधा घण्टा जति फोटोसेसन नै चल्यो होला हाम्रो त्यहाँ। पुलबाट माथिल्लो सिनुवा पुग्न एक-डेढ घण्टा लाग्छ भनिएको थियो। हिँडेको दुइटा डेढघण्टा बित्दा पनि माथिल्लो त के तल्लो सिनुवा पनि पुग्न सकिएन। खुट्टा त के पूरै शरीर थाकेर लोत थियो।
चार घण्टा घस्रिएपछि बल्ल उकालोमा एउटा समथल टारजस्तो ठाउँ पुग्यौं। जहाँबाट चारैतिर डाँडैडाँडा देखिन्थ्यो। मनोरम। विहङ्गम। सुन्दर। राम्रो हुनुको सबै उपमा कम हुने स्थान। थाक्नुको सीमा नाघेर हामी थाकेका थियौं। अलि मास्तिर टुप्पो मात्रै देखाएर माछापुच्छ्रे हामीलाई ‘खुच्चिङ’ भन्दै उभिएजस्तो थियो। हामीले उसको उपहास यादै गरेनौं। मात्र वरिपरिको सौन्दर्य अधिकतम उपयोग गर्दै सेल्फी हानिरहेका, फोटो खिचाइरहेका थुप्रै थान विदेशीको हुलमा मिसियौं। हुलै भएर।
विशाल हामीभन्दा अलि अघि पुगेर आफ्नो क्यामेरामा सौन्दर्य कैद गरिरहेको थियो। ऊ राम्रा फोटा खिच्न पाएर मख्ख देखिन्थ्यो। यद्यपी थकान उसको आँखामा पनि थियो। उमंग हामीभन्दा निकै अघि आइपुगेको रहेछ। उसले होटल बुक गरिसकेछ।
छेउ आएर उसले भन्यो, 'यो तल्लो सिनुवा रहेछ। माथिल्लो सिनुवा पुग्न अझै आधा घण्टा लाग्छ रे। तपाईंहरूलाई अझ बढी लाग्छ होला। मैले त यहीँ होटल बुक गरेँ।'
'लु ठीक गरेछौ,' हामीले भन्यौं। किनकि हाम्रो स्थिति योभन्दा माथि जान सक्ने थिएन। साढे सात जति बजिसकेको थियो। होटलमा आफ्ना सामान र शरीर थन्कायौं। होटलको बरण्डाजस्तो ठाउँबाट संसारकै सुन्दर डाँडैडाँडाहरूको सम्मेलन चलिरहेकोजस्तो दृष्य देखिन्थ्यो। चिया पिउँदै बसेका हामीसँग अरू दुई युवा मिसिन आए। उनीहरू दुवैजना दुई भिन्न थाई ग्रुप लिएर आएका गाइड रहेछन्। बेसक्याम्प पुगेर फर्किएका। उनीहरूले नै सुनाए, तल्लो सिनुवा बसेर ठीक गर्यौं हामीले। माथिल्लो सिनुवामा त पर्यटकको जाम छ।
'एउटै होटल खाली छैन माथि। माथिभन्दा अगाडि पनि कुनै होटल खाली छैन। तपाईंहरूले बुक गरेर आउनु भएको होइन भने यहीँदेखि कन्फर्म गरेर मात्रै जानुहोला। अहिले त पर्यटकीय सिजन हो।'
उनीहरूको कुराले हामी २ हजार ३ सय ४० मिटर उचाइमा रहेको सुन्दर सिनुवा आइपुगेर अनिश्चित जस्तो भएका थियौं। त्यही बेला एकजना ५०-५५ उमेरकी विदेशी महिला र एकजना गाइड मास्तिरबाट झरे। होटलवालासँग केहीबेर कुराकानी गरे। र, अँध्यारो अनुहार बनाएर तल झरे। हामीसँगै बसेका गाइडले त्यो गाइडलाई सोध्यो। उनीहरू पनि हामीजस्तै बुक नगरी आएका रहेछन्। माथिल्लो सिनुवामा बस्ने योजनामा आएका उनीहरू ठाउँ नभएर तल्लो सिनुवा झरेका रहेछन्। तल्लो सिनुवाको पुच्छरको यो होटेलमा पनि ठाउँ नभएपछि उनीहरू ‘हामी अब छोमोरुङ जाने। त्यहाँ होटेल धेरै छन्। पाइन्छ,’ भनिरहेका थिए।
ती महिलाको निराश अनुहार देखेर मलाई नराम्रो लाग्यो। छोमोरुङदेखि हामीलाई यहाँ आइपुग्न झण्डै ५-६ घण्टा लागेको थियो। र, फेरि छोमोरुङदेखि झोलुंगे पुलसम्म ठाडै ओरालो भर्याङको बाटो। सम्झेरै आतेस लाग्यो।
सम्झे, ‘छोमोरुङमै सरकारी चेक पोइन्ट छ। बिरेठाँटी लगायत अरु ठाउँमा पनि छन् भन्ने सुनेका हौं। उनीहरुको काम नै पर्यटकको गणना गर्ने हो। उनीहरूलाई त थाहा हुँदो हो यहाँका होटलको क्षमता के कति छ भन्ने। कमसेकम उनीहरूले सही जानकारी दिए हामीकहाँ आएका पर्यटकले दुःख पाउने थिएनन्।’
सोचेँ, ‘अब यिनीहरू कतिखेर पुग्ने होला छोमोरुङ? होटल पाउने होला कि नाइँ? बेसक्याम्प हिँडेका उनीहरू साँझमा उल्टो दिशा हिँडिरहेका छन्। यो दिशा फेरि सुल्टिएला? यति राम्रो र सुन्दर ठाउँ आएर यति कुरुप अनुभव बोकेर हिँडिरहेका छन् उनीहरू। यसमा दोषी को?’
सोच्दै यसो माथि हेरेँ। खुर्पे जून पनि निराश देखियो। डाँडा निराश देखियो। र, माछापुच्छ्रे पनि निराश थियो। अब निराश हुने पालो हाम्रो थियो। किनकी हाम्रो अगाडिको यात्रा होटलको क्षमतामा भर थियो।
ती गाइडहरूले बताए, 'तपाईंहरू भोलि देउराली पुग्न सक्नु हुन्छ। त्योभन्दा माथि नजानू। यात्रा अलि कठिन छ। त्यहीँ बस्नू। होटल बुकिङ चाहिँ यहिँबाट गर्नू। नपाइने सम्भावना निकै छ। पर्यटकको फ्लो धेरै छ यसपटक।'
यो अन्नपूर्ण रुटको एउटा विशेषता मैले हिजो घान्द्रुक बस्दा पनि याद गरेको थिएँ। यहाँ पनि रहेछ। यहाँका होटलमा यो रुटका सबै ठाउँका होटलको फोन नं. टाँसिएको हुने रहेछ। यो पनि तिनै गाइडले बताइदिए। अर्को कुरा पनि थाहा पाएँ, हाम्रो मोबाइल सेटले काम गर्ने अन्तिम ठाउँ पनि यही रहेछ। अर्थात, यो भन्दामाथि टेलिकमको स्काई फोन मात्रै चल्दो रहेछ।
उनीहरूलाई ‘धन्यवाद’ देउरालीका होटलका स्काई फोनमा सम्पर्क गर्न थालेँ। जम्मा ४-५ वटा होटल भएको देउरालीमा एउटाबाहेक सबैमा फोन लगाईसक्दा पनि हामी ४ जना अटाउने ठाउँ पाइएन। जम्मै आश मरिसकेको थियो। अनिश्चित भएर अगाडि बढ्ने अवस्था थिएन। हामी सिनुवाबाटै फर्कनुको विकल्प थिएन। र पनि, कोशिश गर्नु थियो। गरेँ। उताबाट आवाज आयो। महिलाको।
जवाफ थियो, 'रुम त एउटा पनि खाली छैन।'
एकदमै नमज्जा लागेर आयो। आधा बाटो आएर फर्कन पर्ने अवस्था भइरहेको थियो। उताबाट बोलिरहेकी महिलालाई ‘इमोशनल ब्ल्याक मेल’ गर्नु पर्यो भन्ने सोचेँ र भनेँ, 'हेर्नुस्, हामी यहाँबाट सुदूर पूर्व धरानबाट आएका हौं। चार जना छौं। के हामी तपाईंको ठाउँमा यहाँसम्म आइपुगेर आधा बाटोबाटै बेसक्याम्प नहेरी फर्कनु?'
सहानुभूति पाइन्छ भन्ने आश थियो। जवाफ उल्टो आयो। उति नै दृढ आवाजमा सुनियो, 'फर्कनू। अब मैले के गर्नु त ? रुम नै नभएपछि।'
हाम्रो यात्रा आधाबाटो आइसकेपछि सक्किएको थियो। खिन्न भएर भोलि फर्कनु पर्ने सोच्दै खाना खाने तयारी गर्यौं। त्यही नै बेला देउरालीको अन्तिम होटलबाट फोन आयो मेरो मोबाइलमा। उताबाट उही महिलाको आवाज सुनियो, 'तपाईंहरू चार जना होइन?'
'हो,' मैले भनेँ।
'तपाईंले जसरी भन्नुभो। माया लाग्यो। कमन रुममा ठाउँ बनाउन सकिने रहेछ। हुन्छ? तर, रुममा थुप्रै अरु पनि हुनेछन्। एडजस्ट गर्नुहोला,' यति सुनेपछि हामीसँग हुन्न भन्ने कुनै कारण नै थिएन।
बिहान मिर्मिरेमै माथिल्लो सिनुवातिरको उकालो लाग्यौं। चिसो निकै थियो। तर, हामी असिनपसिन थियौं। आधा घण्टा लाग्छ भनिएकोमा झण्डै एक घण्टा लाग्यो। माथिल्लो सिनुवामा पर्यटक खचाखच। संसारभरकै मान्छे भेला भएका। फोटो खिचिरहेका। खिचाइरहेका। कोही बेसक्याम्पतिर लाग्न हिँडेका। कोही पुगेर फर्किका। सिनुवालाई त्यहीँ छोडेर हामी भने बेस क्याम्पतिरकै बाटो लाग्यौं। सानो गोरेटोले बोकिरहेको थियो, थुप्रै देशी-विदेशीको लर्को। त्यही लर्कोमा थियौं हामी।
माथिल्लो सिनुवाबाट केहीबेर तेर्सैतेर्सोपछि निकै लामो आतेसलाग्दो ओरालो भेटियो। ओरालोमा ढुंगा छापिएको भर्याङको बाटो। ‘नमस्ते’ गर्दै हिँडिरहेका पर्यटकका ताँती। उनीहरू पनि थकित देखिन्थे, हामीजस्तै। बाटो छेउमा त्यसरी नै नमस्ते गरिरहेका ढकमक्क गुराँसका बोट थिए। निला डाँडाहरू। चहकिँदै उडिरहेका पुतलीहरू, चराहरू। डाँडा फोडेर, डाँडै पक्रिएर झुण्डिरहेका झरनाहरू। छेउमा बगिरहेको ‘मोदी’ खोला। र, नमस्ते गर्दै स्वागत गरिरहेका थिए, अन्नपूर्ण हिमश्रृंखला। मेरो प्यारो माछापुच्छ्रे पनि पूरै स्वागत गर्ने मूडमा थियो। नमस्ते गरिरहेको थियो।
हामीले ओरालैओरालोपछि जंगल छिचोल्यौं। स–साना तर मनोरम खोल्सा छिचोल्यौं। जंघारहरू छिचोल्यौं। त्यसपछि सुरु भयो स–साना बाँसको जंगलजस्तै ठाउँ। त्यो पनि छिचोलेपछि आयो २,३४० मिटर उचाइमा रहेको ‘ब्याम्बो’ ठाउँ जहाँ साना तर सफा र व्यवस्थित होटल थिए। हामी अघि बढिरह्यौं। बाँसको जंगल अझै देखिन्थ्यो बाटोछेउ।
ब्याम्बो काटेपछि बाटो उकालिन थालेको थियो। निकै नै। सास फुलिरहेको थियो उत्तम र मेरो। दुई जवान भने हरिणजस्तै उफ्रिँदै निकै अगाडि गइसकेका थिए। हामी दुई कछुवाको चाल हिँडिरह्यौं। उकालै उकालो। ब्याम्बोबाट हिँडेको दुई घण्टाजस्तोमा दोभान पुगेका थियौं। २,६०० मिटर उचाइको दोभानमा ५-६ वटा होटल छन्। सफा र व्यवस्थित। छेउमै बगिरहेको थियो सफा ‘मोदी’।
यो खोलाको नामलाई लिएर यात्रामा एउटा रमाइलो सम्झना छ। हामीले सिनुवामै एकजनालाई ‘यो खोलाको नाम के हो?’ भनी सोधेका थियौं। जवाफ पाएपछि सामान्यतया कम बोल्ने तर आफ्ना विचार निर्धक्क र सिधा राख्ने स्वाभावको विशालले भनेको थियो, 'छ्या, यति राम्रो खोलाको नाम कति नराम्रो। नाम चाहिँ मन परेन।' उसको यो रोसको कारण भारतीय प्रधानमन्त्रीको नाम थियो। भारतले ‘७२ मा गरेको नाकाबन्दीले नेपालीलाई भारत विरोधीजस्तो बनाएको छ।
खैर, खोलाको कुरा थाती राखेर अघि बढौं। हाम्रो यात्रा उकालै–उकालो ‘हिमालय’ भन्ने ठाउँमा पुगिसकेको थियो। २,९२० मिटर उचाइमा अवस्थित हिमालय पनि उत्तिक्कै सफा र व्यवस्थित। तर, अघिसम्मको घमाइलो र रमाइलो मौसमले यहाँ आइपुग्दा आफ्नो अनुहार बिगारिसकेको थियो।फुसफुस हिउँ पर्न थाल्यो। मौसम पूरै ढुस्सिएको थियो। वातावरण ढुस्सिएको थियो। डाँडाहरू, मोदी खोला, कोणधारी रुखहरू र पूरै अन्नपूर्ण हिमश्रृंखला सबै ढुस्सिएका थिए। माछापुच्छ्रे मात्रै कसरी फरासिलो देखियोस्। ऊ पनि ढुस्सिएको थियो।
ढुस्सिएका डाँडामा लडी-मर्ने किसिमको भिरालोमा गोरु चरिरहेका थिए। केही झारलहरु। त्यही झारललाई अचम्मैले नियालिरहेका केही देशी- विदेशी भेटिए। भेटिए त्यही अचम्मलाई आफ्नो संस्मरणका लागि क्यामरामा ‘क्याप्चर’ गरिरहेकाहरू। र, भेटिए, अलि अगाडि दगुर्दै हामीलाई छोडी हिँडेका उमंग र विशाल पनि। तात्तातो कफी पिउँदा जिउलाई राहत महशुस भयो।
मौसम झनै बिग्रिएको थियो। हिउँ पर्न छोड्यो। हुस्सुले बाटो ढाक्यो। हुस्सु छिचोल्दै त्यो दिनको हाम्रो अन्तिम गन्तव्य देउरालीसम्मको यात्रा सुरू गर्यौँं। अबको यात्रा २८० मिटर मात्रै थियो। तर ठाडै नाक छुने उकालो। हुस्सुले ढाकेको जंगल, पोथ्रापोथ्री, थुम्काथुम्की छिचोल्दै हिँड्यौं। एकाएक पर्यटकको भिडबाट एउटा नेपालीले मेरो खुट्टातिर हेर्दै चिच्याएजस्तो गरी मलाई भन्यो, 'आम्मामाऽऽऽ, तपाईंको खुट्टा हेर्नु त। जाला नि खेर। यत्तिकै बेसक्याम्प पुग्ने विचार हो कि के हो?'
उसले कराएपछि म आफ्नो खुट्टातिर ध्यान दिन्छु। शरीरमा टम्म लुगा लगाए पनि सजिलो हुन्छ भनेर म ट्रेकिङ चप्पल लगाएर हिँडेको थिएँ। 'फ्रिजिङ' मौसम भएको ठाउँ पुगिसक्दा पनि चप्पलमै हिँडिरहेको रहेछु। खुट्टा राम्ररी हेरेँ। कक्रक्क। कालो-निलो थियो। पानीमा दुई घण्टा भिजाइ राखेर चाउरिए जस्ता।
मेरो स्थिति सम्झाउनेलाई सबभन्दा पहिले ‘थ्यांक्स्’ भन्दै झोलाबाट जुत्ता-मोजा निकालेर लगाएँ। मेरो बेहोशीपनमा हाँस्दै उत्तम र म उकालिन थाल्यौं। समतल भए २० मिनेट लाग्ने २८० मिटरको यो यात्रा पूरा गर्न हामीलाई करिब झन्डै ४ घण्टा लाग्यो।
यो यात्रामा एउटा अचम्मको अनुभव पनि भइरहेको थियो- हिमालय आउँदा नआउँदै सम्पूर्ण हिमश्रृंखला समान रेञ्जमा देखिन सुरू गर्छ भने यो उकालो उक्लँदा–उक्लँदै सबै हिमाल तल अर्थात दक्षिणतिर देखिन थाल्ने रहेछ।
यो मीठो अनुभव सँगाल्दै ७ बजेतिर देउराली पुग्यौं। बुकिङ लिने होटलवाल्नीलाई भेटेर धन्यवाद दिँदै कमन रुममा थुप्रै पर्यटकको भिडसँगै सुत्ने तर्खर गर्न थाल्यौं। बिहानै ५ बजे नै उठेर बेसक्याम्प पुग्ने र त्यहीँ बस्ने निर्णय गरेका थियौं। किनिक यहाँ भोलिका लागि यही कमन रुम पनि खाली थिएनन्।
कमन रुममा फ्रेन्चहरू थिए। जर्मनहरू, अमेरिकन, जापानिज, बेलायती पनि। त्यही भिडमा केही नेपाली गाइड पनि थिए। कति थिए यकिन त छैन। तर निकै थिए। त्यसैमा हामी पनि थियौं। एकजना गाइड फरासिलो रहेछ। मैले गफैगफमा भनेँ, 'यो अन्नपूर्ण रुट जतिको सफा र व्यवस्थित छ, त्यत्तिकै सफा र व्यवस्थित पूरै नेपाल किन बनाउन सक्दैनौं हामी? यो सफाई र व्यवस्थापन नेपालभर किन फैलाउन सक्दैनौं?'
मैले यति सोधेको मात्रै के थिएँ, ती गाइडले धाराप्रवाह आधा घण्टा जस्तो व्यवस्था, नेताहरू र कर्मचारीहरू कारक हुन् भन्ने किसिमको प्रवचन दिए। उसको कुरा जायज नै थियो। तर, थाकेको शरीरलाई उसको कुरा ‘स्लिपिङ पिल्स’ भइरहेको थियो। सुतेछु। उत्तम भने सुनिरहेको थियो। राती करिब १ बजेतिर विशाल उठेर भन्न थाल्यो, 'सास फेर्न गाह्रो भयो।'
उसले त्यसो भनेकोले उत्तम र म पनि उठ्यौं। उमंग मस्त थियो।
‘लेक लाग्यो क्यारे,’ सोच्यौं। तातोपानी पिउन र एकछिन बाहिर टहलिन भन्यौं। उसले त्यसै गर्यो। एकछिनमा ‘अलि ठीक भए जस्तो भयो,’ भन्दै सुत्न गयो।
उत्तम र म भने बाहिरको 'फ्रिजिङ' चिसोमा गफिन थाल्यौं। हाम्रो ठीक अघिल्तिर हिम श्रृंखला पनि चिसोले कामेजस्तै थियो। आकाशमा जून कामिरहेको थियो। जूनकै छेउमा माछापुच्छ्रे पनि कामिरहेको थियो। नजिकै छङछङी बगिरहेको झरना थियो। कामिरहेको थियो। हामी पनि काम्दै–काम्दै एकछिन बाहिरै गफियौं। निन्द्रा लागेजस्तो भएपछि कमन रुम छिर्यौँं। तर, हामी दुवैको आँखामा निन्द्रै आएन।
५ बजेतिर हामीले विशाल र उमंगलाई उठाएर हिँड्यौं। देउरालीदेखि ४०-५० मिटरजस्तो निकै उकालो थियो। त्यसपछि समथरजस्तो ठाउँ हिँडेको १००-१५० मिटरसम्म अलिअलि झाडी देखिन्थ्यो। अनि सुरू भयो, हिउँ नै हिउँ। घाम लागिसकेको थिएन। हिउँ सुरू हुने बित्तिक्कैदेखि रुख-बिरुवा भने गायब थिए। मात्र पोथ्रापोथ्री थिए। त्यही पोथ्रापोथ्री पनि हिउँ भएका थिए। घाँसे मैदान थियो अलि अगाडिसम्म। त्यो पनि हिउँमै छोपिएको थियो। सबैथोक जमेका थिए। छेउमा बगिरहेको मोदी खोलामाथि पनि हिउँ नै हिउँ थियो। ठाउँ ठाउँमा मात्रै खोला देखिन्थ्यो। हिउँले पोथ्राहरू जमेका थिए। पोथ्राका पात पनि। पातमा पानी जमेको थियो। जमेको बाटोमा हिउँसँग पौठेजोरी खेल्दै, लड्दै–पड्दै १० बजेतिर हामी माछापुच्छ्रे बेसक्याम्प पुग्यौं।
बेस क्याम्पमा घाम मज्जाले लागेको छ। घामले हिउँ टल्किरहेको छ। आँखामा कालो चश्मा नभई हेर्नै नसकिने चमक छ वरिपरि। तर, सबै कुरा जमेका छन्। धाराबाट आउँदा आउँदैको पानी जमेको छ। छानाबाट चुहुँदा–चुहुँदैको पानीका थोपा जमेका छन्। जमेर लामो डण्डाजस्तो चुच्चो–चुच्चो भई भूइँतिर नुहेका छन्। बग्दा–बग्दैको पानीको माथिल्लो सतह त्यहीँ माथिबाट हिँड्न मिल्नेगरी जमेका छन्। बहँदा–बहँदैको हावा पनि जमेको छ, सायद। मुटु नै छेड्लाजस्तो गरिरहेको छ।
माछापुच्छ्रे बेसक्याम्पको एउटा होटलमा ‘चाउचाउ विथ गार्लिक सुप’ खान्छौं। लसुन चाउचाउ होइन। चाउचाउ विथ गार्लिक सूप नै रे! होटलवाला शेर्पा रहेछ। उसैले भनेको, 'लेक लाग्न सक्छ। यो सूप राम्रो हो।'
मलाई टाउको दुखेजस्तो भइरहेको थियो। मनतातो पानी पिउँदा राहत भयो। र, त्यसपछि हानियौं अन्तिम गन्तव्य अन्नपूर्ण बेसक्याम्पतिर। यी दुई बेसक्याम्पको दूरी मुश्किलले १००-१५० मिटर होला। तर, बाटो दाम्सिलो–दाम्सिलो जस्तो गरेर उकालो थियो। त्यहीँमाथि हिउँ नै हिउँ। हिँड्न कठिन।
अलि मास्तिर गएपछि विदेशीहरू हिउँ खेल्दै रमाइरहेको देखियो। कोही चिप्लेटी खेलिरहेका, कोही हिउँको डल्ला बनाएर एकअर्कालाई हानिरहेका। फोटो खिच्न-खिचाउन तम्सिएकाहरू जताततै देखिए। बेसक्याम्पबाट फर्कँदै र बेसक्याम्पतिर जाँदै गरेका लर्काे। त्यही लर्कोमा हामी पनि मिस्सिएका थियौं। हिँड्दा–हिँड्दै उत्तमले टाउको दुख्यो भन्न थाल्यो।
हामीले ५०-७५ मिटर दूरीमा बेसक्याम्प देख्न थाल्यौं। बाटो हिउँ पग्लिएर हिलैहिलो छ। उत्तमले फेरि भन्यो, ‘टाउको झन् साह्रो दुख्यो। रिंगटा चलेजस्तो, भमिट होलाजस्तो भइरहेको छ।'
लेक लाग्यो होला।
उमंग र विशाल हामीलाई छाडेर हिँडेका थिए। माथि पुगिसके क्यार। देखिन छाडे। हामी पनि बल्ल–तल्ल पुग्यौं बेसक्याम्प। मान्छेको भिड थियो।
उत्तमको हालत झन् बिग्रियो। टाउको फुट्लाजस्तो हुन थाल्यो भन्दैछ ऊ। हालत मेरो पनि उस्तै छ। तर, स्थिति ‘कन्ट्रोल’ गर्न सक्ने अवस्थामै थिएँ। उत्तमको स्थिति झनै बिग्रिए जस्तो भएपछि हामीले त्यहीँ केही फोटा खिच्यौं। फोटोमै क्याप्चर भयो हिउँ नै हिउँले ढाकिएको बेसक्याम्प। हिउँ नै हिउँले ढाकिएको अन्नपूर्ण हिमश्रृंखला।
दक्षिणतिर हामीभन्दा पूड्कोजस्तो देखिँदै थियो माछापुच्छ्रे। हामीलाई अचम्म मानेर हेरिरहेजस्तो देखिन्थ्यो।
मैले उत्तमलाई भने, 'उत्तम, यो भिडमा केटाहरूलाई नखोजौं। एकछिन ‘इन्जोय’ गरून्। बरु हामी चाहिँ देउरालीतिरै फर्कौं। तिमीलाई लेक लागेजस्तो छ। यहीँ बसिरहे गाह्रो पार्ला।'
उत्तमले प्रस्ताव स्वीकारेपछि हामी जिल्ल परेको माछापुच्छ्रेलाई जिस्काउँदै झर्यौं। केहीबेरमै हामी माछापुच्छ्रे बेसक्याम्पमा अघिकै होटल पुग्यौं। एकजोडी फिलिपिनी थिए। उनीहरूसँग ‘अल्टिच्युड’ लागेको बेला खाने दबाइ रहेछ। उत्तमले खायो। ‘गार्लिक सूप’ पनि खायौं। तै पनि उत्तमले ठीक भएको अनुभव गरेन। होटेलवाला दाइले भन्यो, 'भाइलाई लेक निकै मजाले लागेछ। तपाईंहरू देउराली वा त्योभन्दा तल झरिहाल्नु राम्रो हुन्छ।'
हामी पनि 'केटाहरूलाई बरु देउरालीमै पर्खौं' भन्दै माछापुच्छ्रे बेसक्याम्पबाट झर्यौं। सुन्दर हिमश्रृंखला पछि पर्दै गयो। पछि पर्दै गयो, हिउँ नै हिउँले भरिएको वातावरण। खुइले डाँडा। त्यही डाँडामा झुण्डिरहेको जस्तो देखिने छहरा। तर, हामीलाई ती सबै सुन्दर दृश्यले छोइरहेको थिएन। उत्तमको अवस्था बिँग्रदो थियो।
जाँदा झण्डै ७ घण्टा लागेको हामीलाई झर्दा डेढ घण्टा पनि लागेन। देउराली पुग्यौं। नपुग्दै कुनै जादु भए झैं उत्तमको टाउको दुख्न हराएको थियो। ऊ राहतको सास लिइरहेको थियो। लेक नै लागेको रहेछ भन्नेमा निश्चिन्त भयौं। केटाहरू आइपुगेका थिएनन्। होटल साहुनीलाई भन्यौं, 'हामी आज पनि यही बस्छौं। हुन्छ?'
साहुनीका कठोर शब्द सुनिए, 'अहँ। हुन्न। मैले तपाईंहरूलाई हिजै भनेको थिएँ ठाउँ छैन भनेर।' हाम्रा अनुनय-विनय यहाँ काम लागेनन्।
तल झर्नुको विकल्प थिएन। केटाहरू पर्खदा–पर्खदैं ३ बज्यो, ४, ५ अनि ६ बज्यो। सवा छ बजेतिर आइपुगे।
भन्दै थिए, 'हामी चाहिँ तपाईंहरूलाई त्यहीँ पर्खिरहेका थियौं। आउनुहुन्छ भनेर। त्यही भएर ढिलो भयो। तर, मज्जा आयो। फोटा कति खिच्यौं खिच्यौं।'
हामीले फर्कनुको कारण बतायौं। उमंग थोरै चिन्तित देखियो। अहिले ठीक भयो भनेपछि ढुक्क भयो।
साँझ परिसकेको थियो। हामी ओरालै ओरालो खोल्सा, जंघार, फड्के, जंगल छिचोल्दै झर्दै थियौं। सुनसान बाटो। हामी चारबाहेक चरा, किरा, जंगली जनावर पनि देखिएनन् बाटामा। हामी चुपचाप झरिरह्यौं। एकाध घण्टामै हिमालय पुग्यौै। झमक्कै रात परिसकेको थियो। एकएक होटलमा सोध्यौं।
जवाफ सबैमा 'खाली छैन' पायौं। के गर्ने? के नगर्ने?
योभन्दा तल झरौं भन्ने निर्णय भयो। राती अँध्यारोमा मोबाइलको लाइट बालेर ४ जना हिमालयबाट पनि हिँड्यौं। फेरि अन्धकार बाटोमा खोल्सा, छहरा, जंघार, जंगल छिचोल्दै। एक घण्टामै दोभान पुग्यौं। ८ भन्दा बढी बजिसकेको थियो।
त्यहाँ पनि हरेक होटल भिड देखिन्थे। फेरि एक–एक होटलमा सोध्यौं। जवाफ उही नकारात्मक।
एउटा होटलमा १८/१९ वर्षको केटो देखियो। उसैलाई ‘इमोशनल ब्ल्याक मेल’ गर्ने सोच बनायौं। रुञ्चे अनुहार पारेर भन्यौं, 'बाबु, यति अँध्यारो भइसक्यो। अब हामी कहाँ जाने? योभन्दा तल पनि होटल पाइन्छ नै भन्ने के ग्यारेण्टी छ। बरु हामी उभ्रेको-पाप्रेको जे छ त्यही खान्छौं। यही बरण्डामै भए पनि सुत्छौं।'
उसले हामीलाई तलदेखि माथिसम्म हेर्यो। एकछिन पर्खन भन्यो। भित्र गएर एकजना वयस्क मान्छेसँग एकछिन कुरा गर्यो। र, आएर भन्यो, 'तपाईंलाई हामी टेण्टमा सुताउने व्यवस्था गर्छौं। हुन्छ?'
हामीलाई त ती जवान केटा कुनै भगवानजस्तै लागिरहेको थियो। उसको बोली भगवानवाणी जस्तो। हामी खुसीले उफ्रियौं। उसले भन्यो, 'बरु खानामा के खानुहुन्छ?'
साँच्चै नै ऊ कुनै देववाणी बोलिरहेको थियो। देव कार्य गरिहेको थियो। हामी देउताको पाहुना भएका थियौं त्यो रात। देव भोजन गरेर मोदी खोलाको किनारमा, त्यही खोलाको अलिकति तल बगेको झरनाको संगीत सुन्दै टेण्टमा सुतिरहेका थियौं। अलिक मास्तिर माछापुच्छ्रे पनि सुतिरहेको थियो। डाँडैडाँडाबीच एउटा टेण्टमा बसेर म कवि ‘रासा’ र उनको डाँडाबजारमाथि लेखिएको एक कविता सम्झिँदै थिएँ,
'डाँडै–डाँडा
डाँडासँग डाँडा
डाँडामाथि डाँडा
डाँडामुनि डाँडा
डाँडानजिक डाँडा
डाँडापर डाँडा
डाँडै–डाँडा,
अहा, कति राम्ररी मिलेर बसेका।
खोइ,
हामी यसरी मिलेर बस्नसकेका?'