छ वर्षअघि घुमघाम निम्ति मिरिक गएको थिएँ। यसपालि फेरि जाने अवसर जुर्यो। उद्देश्य थियो, चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन।
स्वस्थानी कथा लय हालेर हुर्केको म। तामाङ भाषाका एकाध शब्दबाहेक अरू बुझ्दिनँ। यात्रामा सबै तामाङ भाषा खर्रर बोल्ने। तामाङ गीत गाउने। गाडीमा पनि तामाङ गीतै घन्किएपछि म हुरुक्कै।
‘तपाईं आफ्नो भाषा नसिक्नेरुु स्वास्थ्य क्षेत्रमा कार्यरत हिरामाया घिसिङले भनिन्, ‘तपाईंकै लागि भए नि नेपाली त बोल्दै बोल्दैनौं।’
मनमनै सोचेँ, ओहो! अझै कति झेल्नुपर्ने हो। भाषा नजानेर ठूलै भूल गरिएछ!
मंसिर २६ गते ३ बजे कोटेश्वरबाट सुरू भएको थियो यात्रा। पशुपतिनगर पुग्न बाइस घन्टा लाग्यो। त्यहाँबाट भारतको सिमाना मिरिक सुरू हुन्थ्यो।
मिरिक पशुपतिनगरबाट करिब १५ किलोमिटर दुरीमा छ। सीमापारि नेपाली रूपैयाँ चल्दैन भन्ने गाइँगुइँ सुनेँ। अपर्झट पर्ला भनेर हजार भारू साटेँ। बिचौलियालाई ४० भारू कमिसन बुझाउनुपर्यो।
मिरिक जान गाडीको पर्याप्त सुविधा रहेछ। पश्चिम बंगाल नम्बर प्लेट भएको भाडाको जिपमा नेपाली गीतले यात्रा रोमाञ्चक बनायो। भारतीय सीमा टेक्नेबित्तिकै हाम्रा तामाङ सन्तानलाई सम्मेलनमा हार्दिक स्वागतु लेखिएका स्वागतद्वार थिए ठाउँठाउँमा।
मिरिकमा भाषा एउटै। लवाइखवाइ उस्तै। राष्ट्रियता मात्र फरक।
पहाडको घुमाउरो बाटो हुँदै मिरिकको कृष्णनगर पुग्यौं। ५६ हजार जतिको जनसंख्या। सुविधासम्पन्न होटलहरू। पुरानो शैलीको बजार मिरिकको आकर्षण रहेछ।
म झोला थन्क्याएर बजार नजिकैको ‘मिरिक झिल’ अर्थात् सुमेन्दु तालतिर लागेँ। यो त्यहाँको मुख्य पर्यटकीय क्षेत्रमा पर्छ। छ वर्षअघि यो ताल यति फोहोर थिएन। ताल व्यवस्थापन र भौतिक संरचना रेखदेख निम्ति स्थानीय समूह सक्रिय छन्।
तालको एक किनारबाट अर्कोमा पुग्न पक्की पुल बनाइएको रहेछ। घोडसवारको पनि व्यवस्था थियो। मूल्यअनुसारको प्याकेज। ताल किनारमा व्यापार गर्नेको उधूम भीड थियो। पार्क निर्माणको काम पनि हुँदै रहेछ।
बजार घुम्ने क्रममा म डिपार्टमेन्ट स्टोर छिरेँ। नेपाली रूपैयाँ चल्छ कि चल्दैन भनेर सोध्न मन लाग्यो। दोकानदारले चल्छ भने। नेपाली रूपैयाँमै सामान किनेँ। बित्थामा चालीस भारू खर्चेर नोट साटेँजस्तो भयो।
नोट मात्र होइन, नेपालबाट लगेको स्काई सिमको नेटवर्क पनि मज्जाले टिप्दो रहेछ। अलि मास्तिर एनसेल नेटवर्क पनि टिप्ने। कहिलेकाहीँ त मैले बोकेको टेलिकमको नेटवर्क टिप्थ्यो।
पहिलो दिन सम्मेलनबारे एक घन्टा ब्रिफिङ भयो। यो सम्मेलन नेपाल र भारतले आलोपालो गर्ने रहेछन्। सन् २००२ मा काठमाडौंमा पहिलोपटक भएको थियो। नेपालबाहेक १७ देशमा स्थायी तथा अस्थायी बसोबास गर्ने तामाङहरू एकैठाउँ भेला भएका थिए- साझा मुद्दा केलाउन, साझा योजना र कार्यक्रम बनाउन, कार्यक्रम समीक्षा गर्ने र आगामी योजना तय गर्न।
यतिमात्र होइन, पुर्खाहरूले विकास गरेका सभ्यता, परम्परा र मान्यता पुस्तान्तरण गर्ने काममा सम्मेलनको भूमिका हुने जानकारी पायौं।
नेपाल, भारत, भुटान, म्यानमार लगायत देशमा तामाङको स्थायी बसोबास छ। नेपालमा करिब १५ लाख छन्। भारतमा दुई लाख, भुटानमा नौ हजार र बंगलादेशमा आठ सय तामाङ बसोबास रहेको नेपाल तामाङ घेदुङका सल्लाहकार परशुराम तामाङको कार्यपत्र ‘तामाङ विश्व र भावी कार्यक्रम’ मा उल्लेख छ।
अर्को दिन बिहानै हामी मिरिकको बोकर गुम्बा गयौं। मिरिक जाने प्रायस् पर्यटक त्यहाँ पुग्छन्। त्यहाँबाट मिरिक बजार छर्लङ्गै देखिन्छ। हामी पुग्दा केही लामा पाठ पढ्न लागेका थिए। केही लामा लठ्ठी नाच गर्दै थिए। गुम्बाभित्र पस्न बन्देज थिएन। यहाँ शाक्यमुनि बुद्धबारे शिक्षा दिइने लामाहरू भन्दै थिए। यो गुम्बाले मिरिकको पर्यटनमा सहयोग गर्छ, जुन चियापछिको दोस्रो आयस्रोत हो।
दोस्रो दिनको सम्मेलनमा विचार प्रवाह सुरू भयो। संस्कृति बचाउन लागेका भए पनि सबैतिरका तामाङमा भाषिक ज्ञान कमै रहेछ। एकै जातिका भए पनि पहिरन र भाषा फरक। पहिरनको फरक त म आफैंले छुट्याएँ। भाषाको फरक बुद्धिजीवीहरूबाट थाहा पाएँ।
सम्मेलनमा स-साना बालबालिका पनि आफ्नै पहिरनमा सजिएर डम्फु बजाउँदै थिए। युवा पुस्तामा भाषा, संस्कृतिप्रति चाख बढ्दो रहेछ। आफ्नो इतिहास खोज्ने हुटहुटी भरिएका।
खाना खाएपछि मिरिकमा एक्लै बरालिएँ। तालपारि जंगलमा वनभोज समूह रमाइरहेका थिए, नेपाली गीतमै१ साथी मनु भन्दै थिइन, ‘मेरो झापा, मोरङतिरका साथीहरू एक दिनका लागि वनभोज खान आउँछन्।’ कति त दार्जिलिङसम्मै पुग्दा रहेछन्।
हामी पनि मिरिकबाट दार्जिलिङ बजारतिर लाग्यौं। त्यहाँ पुग्न जिपमा दुई घन्टा लाग्दो रहेछ। बाटोभरि चिया बगान र ठूल्ठूला रूख। यहाँका बगानले कन्यामको बगान भुलाउने काम गर्यो।
पहाडी बाटो साँघुरो थियो। तर, पक्की। सफा। सडक सानो भएकाले सानै जिप, सानै खालका ट्यांकर र ट्रक चल्ने रहेछ। दिनहुँ कलंकीको धूलो झेलेको मलाई उल्कै लाग्यो। गरे हुने रहेछ नि भन्ने मनमा आयो।
दिउँसो तीन बजे दार्जिलिङ पुगेको हामीलाई फर्कनै बेर भयो। तै त्यहाँको बतासे डाँडा र दार्जिलिङको हिमालयन रेल्वे हेर्न भ्यायौं। यो करिब ७८ किलोमिटर लामो रहेछ। पश्चिम बंगालकै छोटो दुरीको रेल सेवा। ुटोय ट्रेनु का नामले परिचित यो रेलका लागि दुई फिटको ट्रयाक बनाइएको रहेछ। यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। पहाडी रेलको उत्कृष्ट नमूनाका रूपमा विश्व सम्पदामा परेको रहेछ।
दार्जिलिङबासी अझै पनि आफूहरू हेपिएको अनुभव गर्दा रहेछन्। सन् १८१७ मा अंग्रेजसँगको युद्धमा नेपालको हार भएपछि यो भाग इष्ट इन्डिया कम्पनीलाई बुझाइएको थियो। उतिबेला सुगौली सन्धी गर्नेहरूलाई उनीहरू बेस्सरी गाली गर्छन्। हिन्दी वा बंगाली बुझे पनि नेपालीमै कुरा गर्छन्।
उनीहरूको बोलीचाली कस्तो भने, ठाउँलाई पनि आदरार्थी लगाउने। हामीसँगै एक जना महिला घुम झर्नुपर्ने रहेछ। ‘घुम त अझै आइपुग्नु भएको छैन। समय लाग्छ,’ ठाउँलाई पनि सम्मान गर्दै उनले भनिन्।
आँबो र डल्लै त उनीहरूका मुखैमा झुन्डिने। यही थेगो हामी पूर्वी नेपालमा पनि भेट्छौं। पशुपतिनगर र काँकडभिट्टा नाघेर दार्जिलिङ घुम्न जाने नेपालीहरूको ओहोरदोहोर पनि बाक्लै छ। विवाह, जन्ती र मलामीले पनि वारिपारिका मानिसलाई जोड्छ।
मिरिकमा असोजदेखि नै पर्यटकको घुइँचो लाग्ने रहेछ। मैले आफ्नो यात्रामा भने भारतीय पर्यटक मात्र देखेँ। घाम लाग्दा ३० र जाडोमा शून्य डिग्रीसम्म तापक्रम हुने मिरिक नेपालीले थोरै पैसामा घुम्न सक्ने नजिकको गन्तव्य हो। झिल छेउकै कृष्णनगरमा सुविधायुक्त होटल र लज छन्। नेपाल र नेपालीलाई माया गर्ने दार्जिलिङले थप नजिक बनाउँछ।
हावापानी हेरेर त्यसैअनुसार कृषिमा लगानी गर्न पनि दार्जिलिङले सिकाउँछ। त्यहीँ रहँदा सिलगढीबाट निस्कने दैनिक पत्रिका ‘हिमालय दर्पण’ मा मुख्यमन्त्री ममता बेनर्जीले चिया बगान र श्रमिकहरूको विकास निम्ति एक हजार करोड भारू खर्च गरेको पढेकी थिएँ।
छ वर्षअघि एक साता घुमेको मलाई टाइगर हिल, रेड पान्डा भएको त्यहाँको चिडियाखाना र पर्वतीय संग्रहालय जाने इच्छा भने इच्छा नै रहे।
ती ठाउँमा अब अरू कुनै बेला।