घुमाई गरेर गन्तब्यमा मात्र पुग्ने उद्देश्य भएका धेरै हुन्छ तर यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरु निक्कै कम हुन्छन्, भेटिन्छन्।
धेरै साथीहरु ट्राभल या टूरमा जाने भन्छन् यर यथार्थमा धेरैले यात्रा गर्दैनन्, घुम्छन् मात्र! यात्रा गर्दा हिमाल,डाँडा-काँडा, कन्दरा, फाँट मात्र हेरिन्नँ त्यहाँको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली, सुख-दु:ख, चालचलन पनि नजिकबाट नियालिन्छ, महशुस गर्ने प्रयत्न गरिन्छ।
घुम्नेको उद्देश्य रमाइलो गर्ने भन्ने मात्र हुन्छ, बस् कहाँ पुग्ने हो अन्तिम गन्तब्य त्यहाँ पुग्छन्, आउँछन्, फर्कन्छन, बाटाका कठिनाई, सजिलापन कुनै तीता-मिठा फल बन्दैनन् तर जो यात्रा गर्दछन् ती क्षण-क्षण बाँच्छन्, तिनका लागि ती जीवन भोगाइका सङ्गालो बनिदिन्छन्, जीवन सार्थकताको मोड बनिदिन्छन्।
साउनको पहिलो हप्ता घोप्टे विमान दुर्घटनाको २६ वर्ष पूरा भएको दिन..
१९९२ जुलाई ३१ मा घोप्टेभीर भन्ने ठाउँमा थाई विमान दुर्घटना भएको थियो, जसमा सबैभन्दा बढी थाई नागरिक र त्यसपछि नेपाली थिए। हामी फेदी पुगेको दिन ठ्याक्कै २६ वर्ष पूरा भएछ।
राति फेदि पुगेर माथिल्लो होटेलमा चिसो लुगा सुकाउँदै गर्दा साथीहरुलाई मैले प्लेन दुर्घटनाबारे बताएको थिएँ, त्यस ठाउँमा यसअघि हिउँदमा पनि मैले यात्रा गरिसकेको थिएँ।
त्यो सुन्ने बित्तिकै होटेलका एक दाईले त्यस घटनाबारे प्रीन्ट गरिएको अङ्ग्रेजी प्रतिवेदन ल्याएर मलाई दिए। मैले उल्था गरेर सुनाउँदा तामाङ दाइहरू पनि मगनमस्त सुनेर बसे।
गुराँसको दाउरा हालेर बालिएको आगोले पानी तात्दै थियो, हाम्रा चिसा लुगाहरू पनि सुक्दै थिए अनि हामी पनि न्यानो अनुभूति गर्दै थियौं।
बिहान उठ्ने बित्तिकै डाँडाहरू हुस्सुले उति साह्रै छेकिएका थिएनन्। अनि मैले साथीहरुलाई प्लेन ठोक्किएको घोप्टेभीर देखाएँ।
त्यहाँ प्लेन ठोक्किँदा त्यसका टुक्राहरु वल्लो पल्लो डाँडासम्म पनि पुगेका थियो भन्ने सुनिन्छ। त्यस विमान दुर्घटनामा १४ देशका ११३ जना मानिसहरुको मृत्यु भएको थियो, जसमा जहाजका मात्रै १४ जना सदस्य थिए।
तत्कालीन समयमा प्लेनलाई कलकत्ताको आकाश तिर उड्न सल्लाह दिए पनि पाइलटले उत्तर तिर प्लेन डोर्याउँदा ठूलो मूल्य चुकाउनुपर्यो। ट्राफिक कन्ट्रोलर र पाइलटमा भाषा संवादले समस्या निम्ताएको पनि भनिन्छ।
त्यसै दिन चीनको नान्जिङमा पनि विमान दुर्घटना भएको रहेछ। अझै पनि त्यस घोप्टेभीरमा विमानका टुक्राहरु भेट्न सकिन्छ भने हामी बसेका होटेलमा प्लेनको अगाडिको भाग देख्न सकिन्छ।
विमान दुर्घटना दुर्भाग्यपूर्ण त थियो नै, तर त्यसपछि नै त्यस ठाउँ विश्वभर चम्किएको रहेछ। लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने त्यस थारेपाटीदेखि फेदी क्षेत्र संसारभर परिचीत बनेको एक मुख्य कारण थाइ विमान दुर्घटना हो। किनकि यसै घटनापछि हेलम्बु-गोसाइँकुण्डको क्षेत्रबारे व्यापक खोजिएको रहेछ।
हामी बसेको होटेल खुलेको पनि जम्मा २० वर्ष भएको रहेछ जब कि विमान दुर्घटना भएको २६ वर्ष पूरा भएछ। त्यो एउटा कहालीलाग्दो दुर्घटनाले नेपालको पर्यटन क्षेत्रको लागि नयाँ आयम थपेको थियो।
२६ वर्षपछि भए पनि मृत आत्माहरुको चीरशान्तिको कामना गर्दै हामी गोसाइँकुण्ड यात्रा तिर लाग्यौं।
गोसाइँकुण्ड किंवदन्ती:
.jpg)
गोसाइँकुण्डबारे विभिन्न धर्मावलम्भीहरूको आफ्नै मूल्य र मान्यता छन्। ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड हिन्दू, बौद्ध र बोन्पो (तान्त्रिक) धर्मावलम्बीहरुले उत्तिकै श्रद्धा गर्ने ठाउँ हो।
गोसाइँकुण्डलाई आ-आफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने हिन्दू, बौद्धहरु, बोन्पोहरुको साझा केन्द्र हो। हिन्दू, बौद्ध विद्वानहरुले निरपेक्ष आफ्नै जाति वा धर्म विशेषको आस्थाको केन्द्र मानेर तर्क, विचार मन्थन गरेता पनि, यो सबैको साझा तीर्थस्थल हो भन्ने कुरोमा कुनै दुईमत छैन।
जसरी पदयात्री र तीर्थयात्रीले फरक उद्धेश्यले गन्तव्यमा पुगे नि गर्ने चाहिँ यात्रा नै हो त्यसरी नै हिन्दू, बौद्ध र बोन्पोहरुले अनेकन तरिकाले आ-आफ्ना महत्त्वपूर्ण देवता पूजे पनि सबैले पुज्ने ईश्वर एकै हुन्।
हिन्दूले देवाधिपती महादेव मानेर पुज्छन् भने बौद्धले आर्य अवलोकितेश्वर मान्छन्। तामाङ समुदाय भने जनैपूर्णिमा (बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित जान्छन्। `सेसे बोन्पो´ गीत गाएर नाच्दै जाँदा मनोकामना पूरा हुने उनीहरूको विश्वास रहेको छ।
(क) हिन्दू किंवदन्ती:
पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्व हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्य पान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइ फुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए।
समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के। यसैक्रममा कालकुट विष पनि निस्कियो। कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे। जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो। यो अवस्था देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपती महादेवले उक्त विष स्वयम् आफैंले सेवन गरे। विषले गर्दा उनको घाँटी निलो भएकाले महादेवलाई निलकण्ठ पनि भनियो।
विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे। त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ।
सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ।
(ख) हिन्दू किंवदन्ती:
शिवजी र भैरव विषले रन्थनिएर शीतलताको खोजीमा हिमपर्वत निलाद्रीमा पुग्दा निक्कै गाह्रो स्थितिमा पुगिसकेका थिए। शिवजीले अब आफू अर्को पाइला चल्न नसक्ने भनेपछि भैरवलाई पानी ल्याउन भने। भैरव पनि जसोतसो पानीको खोजीमा निस्किए। अलिक तल पुगेपछि सानो मुहान भेट्टाए। उनी पनि चलमल गर्न नसक्ने भए। सानो पानीलाई जसोतसो कुण्ड बनाएर त्यही पानीमा डुबुल्की मारेर बसिरहे। उनी शीतलताको आनन्द लिने क्रममा शिवजीको आदेश भुल्न पुग्छन्।
निक्कै लामो समयसम्म पनि भैरव नआएको देख्दा शिवजी भित्र भयानक रिस जाग्छ। अनि उनको पालो त्रिशूल निकालेर पहाडमा हान्छन्। त्रिशूलले लागेर तीनतिरबाट पानीको मूल फुट्छ र त्यही मूलबाट पानीको प्यास मेटाएर शीतलता अनुभूति गर्छन्। अनि भैरवलाई खोज्दै जाँदा अलिक तल कुण्डमा लमतन्न परेर बसेको देख्छन्। अनि गोसाइँकुण्डमा आएर आफूलाई सम्झेर कसैले वर मागे पूरा गर्छन् रे। तर, कसैले गोसाइँकुण्डमा आएर वर मागेर भैरवकुण्डलाई हेरेमा वर माग्नु र नमाग्नु बराबर हुनेछ भनेका छन् रे।
त्यसैले गोसाइँकुण्डमा वर मागेका तीर्थयात्रीहरु भैरवकुण्डलाई नहेरी फर्कन्छन् रे।
बौद्ध किंवदन्ती:
तिब्बतको भूगोलको किताब ‘द्जाम-ग्लिङ-ग्योस-बसाद’ ले तालमा भएको मूर्ति ( फाग्स-पा थग्स्-ज्रे चेन-पो) अर्थात् अवलोकितेश्वरको मानेको छ। ‘त्यहाँ ताल जस्तो पोखरीमा मानव आकरको प्राकृतिक ढुङ्गाको मूर्ति छ। त्यो मूर्ति खरानी-नीलो रङको छ, अनुहार गेरू रङको गलबन्दले ढाकेको छ र नौ वटा गोमन सर्पका टाउकाले संरक्षण दिइरहेको त्यो मूर्ति पानीमा उत्तानो परेर सुतिरहेको जस्तो देखिन्छ,’ भनेर हर्क गुरुङले आफ्ना किताबमा लेखेका छन्।
बोन्पो किंवदन्ती:
तामाङ समुदायमा प्रचलित एउटा कथ्य पनि प्रस्तुत गरिहालौं। वैदिक तामाङ भाषा अर्थात शास्त्रीय पूजापाठ गर्ने भाषामा ‘गो’ भनेको टाउको वा शिर हो भने ‘सा’ भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ। यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ। गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम हो।
तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड), ग्यो, ह्वे पनि भन्छन्। छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन्। ह्याप भनेको पिता, ह्युम भनेको माता हो। यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा - सयौं बोन्पोहरू भेला हुने पवित्रधाम भनिन्छ।
तामाङ समुदायकै गोले वंशको बोन्पो -झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन्। उहिले भैरव कुण्ड (छोना) को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्डभित्र लगेको कथा छ।
पहिरो, डब्बा ट्रक र छाँगासँग लडाई
लौरीबिनाबाट चोलाङ्गपाटीहुँदै हामी पाँचौ दिनमा धुञ्चे यात्रा गर्दै थियौं। चन्दनबारीको सिंगगुम्बामा भेटिएका जर्मन नागरिक र गाइडले हामीलाई अलमल नगरी धुञ्चे पुग्न भनेर सल्लाह गरे।
खोलोले पुरानो पूल छुन आँटीसकेकोले झरी झर्नु अगावै उता पुग्नु भन्ने कुरो आइसकेपछि हामी बाटोमा अलमल नगरी, सरासर ठाडो ओरालो ओर्लियौं।
मनभरी तर्क र प्रश्न गर्दै ओरालो ओर्लिंदै गर्दा एउटा जिर्ण पूल आइपुगियो। ठाडो खोलाको वेगले हुनुपर्छ, पूल भत्किन आँटीसकेको रहेछ। त्यसपछि देउराली डाँडा मुन्तिर २४०० मि. को हाराहारीमा एक घर भेटियो।
तल लाग्दै गर्दा एकजना दौरा-सुरुवाल लगाएका खैरेले मलाई रोकिन इसारा दिए। म पनि रोकिएँ, अनि मेरा साथीलाई रोकाएँ। ती खैरे २०३३ सालदेखि नेपालमा रहेछन्। क्याम्बेल थर भएका ती विदेशी प्रस्ट तामाङ बोल्दा रहेछन्।
नेपालीमै हामीसँग कुराकानी गरे। तल ठूलो पहिरो लडेको र बिहानदेखि नै ढुङ्गा झरिरहेको कुरा उनले गरे, र हामीलाई फर्केर अर्को बाटोबाट यात्रा गर्न सुझाव दिए।
हामी त्यो अप्रत्याशित र अकल्पनीय खबर सुनेर आश्चर्यचकित भयौं। अब हामी बाँडिन थाल्यौं, मैले बरू फर्केर माथिबाट जाऔं, कि त खोलो तरेर जङ्गल हुँदै पारी गाउँबाट धुञ्चे यात्रा गरौं, भनेँ। साथीहरुले बरु तलसम्म जाउँ परे यतै बसौंला भने।
हामी रित्तो खल्ती र खाली पेट लिएर यात्रामा थियौं। लौरी बिनाबाट हाम्रो खल्ती रित्तिसकेको थियो। त्यसपछि १० मिनेट लगाएर हामी तल पहिरो छेउ पुग्यौं।
ओहो! पहिरो त डरलाग्दो रहेछ। मन आत्तियो। सब मौन भए। घर पनि भेटियो। मान्छे होलान् र सोधखोज गरौंला भन्ने मनाशय बुनेँ। तर घरमा ताल्चा लागेको रैछ। अनि भेटियो पहिरो पार गरेर आएका आर्मी दाइ। ती दाइले पहिरोबाट आफू कसरी जोगिएर आए भनेर केही क्षण आफ्ना कुरा राखेँ, अनि हामीलाई पनि नआत्तिई पार गर्न भने।
हिंड्दै गर्दा पहिरो माथिको पहराबाट फेरि गुटुङ्टुङ्ग ढुङ्गा झर्यो। मुटु कांप्यो। अलिक तल पुगेपछी पहिरोबाट छरिएका ठूला ठूला ढुङ्गाहरु भेटिए। ती ढुङ्गाले वेगले ढल्किएका रूख, किचिएका अरू साना बिरुवाहरु र मडारिएका अग्ला घांसहरु प्रस्ट देखिए।
मैले सबैलाई रोकेँ। अनि त्यसपछि गोसाइँकुण्डबाट ल्याएको पवित्र जल निकालेर सम्झदैँ चढाए। अच्यूतले पशुपतिनाथ सम्झिए। अनि साथीहरूलाई पनि जल बाँडे।
त्यसपछि को पहिले जाने भन्ने भयो। म पथप्रदर्शकको रुपमा उता गएपछि, मैले आटेँ। हामी सबैले सल्लाह गर्यौं। बाटो मैले चाहिँ पहराबाट देखेछु तर हाम्रा साथी सुजनले तलबाट देखेछन्। अनि बब्लुले तलबाट छ भनेर भन्दा हामी सबै लड्दै-पड्दै तल गएको त गोसाइँकुण्ड र सूर्यकुण्डबाट बनेको त्रिशुली खोलो मात्र पो छ।
अब झन् मुटु धड्किन थाल्यो। त्यसपछि सबै माथि उक्लियौं। अनि मैले देखेकै बाटोबाट जाने कुरो भयो। म ढुङ्गा समात्दै, लठ्ठी टेक्दै, माथि अजङ्गको पहरो हेर्दै पहिरो कटाएँ।
त्यो विशाल पहिरो बीच भाग कस्तो हुन सक्छ कल्पना गर्नुस् त? त्यति कटाएर चट्टानी बाटो, सायद त्यो पुरानो रुटमा पुगिएछ।
सिस्नोको झाडी, वनमाराको घारीले बाटो नै देखिएन। फाँड्दै अघि बढियो। सबैलाई काँप्दै काँप्दै थर्केको बोलीमा बोलाएँ। म पछि बब्लु, एलेक्स अनि आवरण भाइ आएपुगे।
थुरूरू शरीर काँपीरहेकै थियो। सुजन र अभिषेकलाई देखिनँ। अनि त, मेरो झन् सातो उड्यो। पछि आवरण भाइले आउँदै छन् भनेसी त्यो चट्टानी बाटोबाट तल ओर्लियौ। ओहो लामो सास फेरेँ।
शरीर पसिनाले पानी पानी भएर निथ्रुक्क भएछ। शरीर भतभती पोल्ने तातो भएछ। सुजन र अभिषेकलाई माथि बाटो नदेखेपछि नयाँ मार्गबाट खोज्न गएँ, देखिनँ। अनि नामले बोलाएँ, धन्न आवरण भाइलाई आउँदै गरेको देखेँ।
ओहो त्यसपछि त मृत्यु जितेको अनुभूति भयो। यी सारा कुराको पहिरोको आधासम्म सुजनले भिडियो खिच्न पनि भ्याएछन्।
सम्झँदा मुटु काँप्छ। बाटोमा १५/१६ जनाको टोली रहेछ गोसाइँकुण्ड जानेको। तिनीहरूलाई हामीले हाम्रा अनुभूति साट्यौं। राम्रोसँग जान भनेर सल्लाह दियौं। मैले माथि गोसाइँकुण्डबाट ल्याएको जल खान भने, तर मानेनन्।
२ बजेको आसपास हामी धुञ्चे पुग्यौं। बब्लु र एलेक्सले एटिएमबाट पैसा निकाले। अब खाना खाइन्छ र काठमाडौं पुगिन्छ भनेर मन फुरूङ्ग भयो..।
२ बजेको आसपास धुञ्चे बजार पुगियो। रोडै रोड हिंड्दा पनि गाडीहरू देखिएनन्। बरु केरूङबाट धुञ्चे आउँदै गरेका डब्बा देखिए। डब्बा भनेको पहिले पहिलो तातोपानी भन्सार नाकाबाट सामान ओसार्न प्रयोग हुने मालवाहक ट्रकलाई भनिँदो रहेछ। टिकट काउन्टर गएर गाडी सोधेको गाडी जति पहिरोमा रोकिएको छ रे।
अनि सुमो वाला काउन्टर गएको, चिनियाँहरूले भरिएर आउँछ रे। अब सोच्न भन्दा केही सकिएन। पछि एउटा डब्बा आयो। डब्बाको दाइलाई सुजन र बब्लु मनाउँदै थिए। म पनि जोडिन पुगेँ।
बब्लु निक्कै भावुक भएर मनाउँदै थियो। त्यसपछि ड्राइभर दाइले माने। हामी खुशीले उमंगीत भयौं। डिब्बामा कोचिएर जम्मा ९ जनाको संख्या पुगेछ। कच्याक कुचुक गर्दै सामेल भयौं। अब यात्रा सुरू हुन थाल्यो।
ड्राइभर दाइ, एक यात्रु र हेल्पर बाहेक हाम्रो त्यो रूटबाट पहिलो यात्रा थियो। गाडीमा गफ गर्दै जाँदा सुजन आत्तिदै थियो। एलेक्स ड्राइभर दाइको छेवैमा बसेर गफ गर्दै थ्यो। ड्राइभर दाइ आफूलाई घरबाट नजा भन्दा पनि आएको कुरो सुन्दा लाग्थ्यो, हामीलाई साथ दिन नै आइपुगेको अनुभूति हुन्थ्यो।
ड्राइभर दाईलाई गोसाइँकुण्डको जल दिएँ, अझ आशावादी भए। बब्लु एकजना चाइनिज गाडी चलाएर उसैगरी मरेको कुरो सुनाउथ्यो। अनि म बेला बेला यस्ता नचाहिदो कुरो अहिले नगर भन्दै कराउँथेँ।
अभिषेक मेरा पछाडि हंसाई मार्दै, आवरण र बब्लु आफ्नै सुरमा थिए। तर जब गाडी खाल्डाखुल्डीमा पर्थ्यो, जोडजोड्ले त्रिशूली तिर तानिएको डरलाग्दो अनुभव हुन्थ्यो। गाडी खसे सिधै खोलामा भन्दै ड्राइभर दाई हामीलाई भन्थे।
त्यति सानो रोड मैले मेरै गाउँमा पनि देखेको थिइनँ। तर, त्यो डब्बा त्यही बाटोमा हिंडाइदो रहेछ। बाटो यति साँघुरो कि एउटा लामो गाडी पनि मुस्किलले छिर्दो रहेछ। काटिएका पहाडबाट डब्बा छिर्ला र (?) भन्ने लाग्थ्यो।
घुम्ती घुम्तीमा हाम्रो सातो उड्थ्यो, केही साथीहरु त मौन थिए डरले। हुस्सु त्यति बाक्लो पनि कहिले देखिएको थिएन जति त्यहाँ देखियो।
ड्राइभर दाइले हामीलाई नआत्तिइ बस्न भनेर हौसाइरहे। मैले पनि ड्राइभर दाइको बोलीमा लोली मिलाउँदै, के ड्राइभर दाइको चाहिँ ज्यान, ज्यान नै होइन भने(?)। ड्राइभर दाइले मन्द मुस्कान छरे। हंसिला, हामी जस्तै जोसिला युवा अनि हातमा टाटु र अङ्ग्रेजी गीत सुन्दा मैले ठट्टा गर्दै ड्राइभर दाइ त `मोर्ड्न ड्राइभर´ पो रहेछन् भन्दा लजाए।
गाडी घुमाउँदा एकपटक गाडीको चक्कालाई ड्राइभर दाइको कलाले बचाए। हामी जोगियौं। केही दिनअघि मात्र पनि ड्ब्बा दुर्घटना भएर केही मानिसहरु मरेका रहेछन्। यस कुराले त हामीलाई पटक पटक झस्कायो।
कालिकास्थान नआउँदासम्म यस्तै हो भन्दा हामी तर्सिरहन्थ्यौं। सानो रोड, हुस्सुले छेकिएको रोडमा कसरी चलाउनुहुन्छ त दाइ भन्दा उन्ले आफूलाई बाटो कण्ठ भैसकेको कुरो सुनाए। अनि यस्ता रोड्मा चलाउन डर लाग्दैन भन्दा भाग्यको खेला हो भन्दै आशावादी देखिन्थे।
हुस्सुले छेकिएका रोडलाई मैले कति घुरेर र ध्यान लगाएर हेरेँ, सम्झँदा पनि अचम्म लाग्छ। हामी त झन् चुप। यसरी ठूल्ठूला पहिरो, साँघुरो रोड अनि हुस्सुले छेकिएको रोडबाट हामीलाई ड्राइभर दाइले गुम्बा डाँडामा ओराले।
अनि पछि अर्का एक ड्राइभरले सुमो रोकाइदिए। हामीले हाम्रो भाडा दिँदा, लिनै मानेनन्। ओर्लिएर दिँदा पनि मानेनन्। हामीले काठमाडौं आएर भेट्ने कुरा राख्यौं। नम्बर लियौं। बाटो भरी उनैको चर्चा गरिरह्यौं। ड्राइभरको जिन्दगी कति कठिन छ भनेर बुझ्न त्यतिले हामीलाई प्रस्ट बनायो।
***
.jpg)
इतिहासमा दोहोरिन पनि सक्छ भन्ने कुरो पढिएकै हो। जब माङ्गिन गोठमा दोस्रो दिन राति ९ बजे पुगियो, तब त्यहाँका होटेलवाला दाइसँग पुराना कुराहरु स्मरण गराउन पुगियो। यसैगरी रातमा ठूलो झरीमा हिँडदा ६ वर्ष अगाडि तीन जना ट्रेक जाँदाको कुरो सम्झना गराउनुभयो।
त्यतिबेला म्यापमा हेर्दा फेदी र घोप्टे बीचमा हेलिप्याड र होटेल देखाएको कारण ती तीनजना साथीहरुले यात्रा गरेका रहेछन्। तीनै जना राति घन्टौं हिंड्दा पनि रहेछन् पनि कतै घर नदेख्दा अत्तालिएका रहेछन्। फेदी पुगीसकेर पनि त्यहां होटेल छ भन्ने थाहा नपाउँदा उनीहरु फेरि घोप्टे फर्किन लागेछन्। तर मुसलधारे पानीले एकजना यादव थरका साथीलाई ठाडो पानीले उछिट्याएछ.....।
यहि कुराले हामीलाई पिरोल्न थाल्यो जब हामी थारेपाटी बाट फेदी यात्रा गर्न थाल्यौं। पानी कडा पर्यो। एकैछिन लजमा च्या खाएर हामी उता लाग्यौं। घोप्टे पुग्दा ५ बज्न लागिसकेको थियो। पानी रोकिने कुनै छांटकांट देखिएन। निक्कै सचेत हुँदै अघि बढियो। आफू पथप्रदर्शक हुँदाको जिम्मेवारी निभाउनै पर्ने, उनीहरुको आसलाई कायम राखिराख्न हौसला दिइ राख्नै पर्ने।
अब बिस्तारै साँझ पर्न थाल्यो। मोबाइलमा चार्ज सकिएको, टर्चलाइट एउटा निक्कै मधुरो भैसकेको भन्दै मैले सबैलाई सचे बनाउन प्रयत्न गरेँ। घोप्टेसम्म बब्लु जसो तसो पुग्यो।
अनि च्या र बिस्कुट खाएसी उमा अलिक उर्जा आयो। ऊ र अभिषेक निकै कम्जोर भैसकेका थिए हिंड्ने सवालमा। घोप्टेबाट साँढे १ घन्टाको हिंडाइपछी साँझ छिप्पिन थाल्यो। अब डरले पनि साँझसँगै ठाउँ लिन थाल्यो। बाटोमा अनगिन्ती झरनाहरु आए, ६ वर्ष अगाडि छाँगोले लिएको कथ्यले मनलाई झस्काइरह्यो।
तलतिर जोड्तोडले बगेका ठाडो खोलाको बर्खे वेग तिब्र छ। सुन्दा कहालीलाग्दो। अनि अन्तिम छांगालाई पार गर्नु अघि आयो एउटा विशाल पहरा।
मनमा अनेकन तर्कना खेलाउँदै गर्दा, त्यो पहरा माथिनै पुगियो। रात पर्न नै लाग्नु, त्यो भीर पनि पुग्नु अनि बाटो नदेख्दा त्यो भीरबाट तल झन्डै खसिएनछ। माथीबाट मैले भीरमा सचेत हुनुभन्दै धेरै बेर कराएँ।
अभिषेक त्यसैगरी अड्किएछन्। अनि त्यसपछी म, एलिक्स, आवरण र अभिषेकले काठको फड्के पनि तर्यौं। बब्लु र सुजनलाई कुर्यौं, आउँदै आउँदैनन्, सँगै आइ नपुग्दा मन मनै अती रिस पनि उठ्यो।
पछि सुजनलाई देख्दा आस जाग्यो तर बब्लु फेरि देखिएन।
बाक्लो हुस्सुले एकसाथ छोप्यो। ती डा यादवको याद आयो। बब्लु सम्झिएँ। सुजन फेरि खोज्न फर्किए। धन्न बब्लु पनि बिस्तारै आइपुगे। त्यो अँध्यारो हुस्सु रातमा कुनै अप्रिय घट्ना घट्न पुगेन।
हामी भित्र मडारिएका काला बादलहरु फेदीको होटेलमा विश्राम गरेसँगै बिट मारे।
गोसाइँकुण्ड यात्रामा, फेदिदेखि सूर्यकुण्डसम्मका पदमार्गमा फालिएका चाउचाउ, बिस्कुट, चक्लेट्का प्लास्टिक टिपेँ, बोतलमा खाँदेर टिप्दै हिँडे। पानीमा रुझ्दै टिपिरहेँ, बोतल भरियो, तर फोहोर के सकिन्थ्यो र? एक त यी फोहोर गर्ने अरू कोहि विदेशी थिएनन् न त त्यहाँका स्थानीय नै।
थिए र हुन् त केवल पढेलेखेका पदयात्री, तपाईँ हामी जस्तै `बुज्रुक´ हरू! राष्ट्रिय निकुञ्जबारे हामी बेखबर नै हौं त? पढेर ज्ञान् बटुल्दैमा के हुन्छ जब के गर्ने, के नगर्ने भन्ने नै विवेक नै छैन।
‘काठमाडौ’ लाई नदुख्ने ‘हिमाल’ हरू!
.jpg)
यात्रामा मानिसहरुको उत्तिकै खोजी हुँदोरहेछ। शहरमा कमिला जस्ता मानिससँग ठोकिन्नु परिरहँदा केही टाढा जान मन हुने। तर यात्रामा एक्लो हिँडीरहनुपर्दा कोहि भेटिए पनि हुने, गफ गर्न पाइन्थ्यो नि भन्ने लाग्ने। विशेषत मान्छेहरु भएर नै हाम्रा यात्राहरु यात्रा भएका रहेछन्।
नत्र रूख, बिरुवा, जनावर हेर्न त धेरै निकुञ्ज थिए नै। वास्तवमा मानिसहरुको जीवनशैली, आनीबानी, बोलीचाली, हेर्न पनि हामी लम्किएका हौउ।
यात्रा विशुद्ध हिमाल र कुण्ड हेर्न मात्रै पनि थिएन। यात्रामा भेटिएका मानिसहरूसँग गफ त भै नै हाल्थ्यो। कतै आफैंले सुरुवात गरियो, कतै ती विदेशीका स्थानीयले नै। यात्रामा थकानको अनुभूति कम गराउन संवादले पनि उत्तिकै भूमिका खेल्यो।
विशेषत इरानका पर्यटकसँग लामै कुराकानी गरियो। अरूसँग चाहीँ नमस्ते आदानप्रदान, अनि ५/७ मिनेट विभिन्न विषयलाई सतही टेकिन्थ्यो।
मलाई छक्क पार्ने पर्यटक। चाही यी स्विस नागरिक थिइन्, जो काठमाडौ-धुन्छे-गोसाइँकुण्ड-कुटुम्साङ्ग-चिसापानी एक्लै यात्रा गरिरहेकी रहिछिन्।
अनि किन एक्लै, जङ्गली जनावारदेखि डर लाग्दैन भन्ने मेरो प्रश्नपछि उनले भनिन्, ‘म पनि तिमीहरू जस्तै स्वीजरल्यान्डको पहाडमा हुर्किएकी केटी हुँ...!’
अब केही बुझ्नुपर्ला र? हामीलाई यही उत्तर काफी भयो। कतै स्थानीयसँग ४०/४५ मिनेट संवाद गरियो। विशेषत स्वास्थ्य सेवा र केटाकेटीलाई विद्यालयको निक्कै समस्या देखियो।
सबै ठाउँको साझा समस्या चाहिँ स्वास्थ्य सम्बन्धित कुराहरु नै रहेछन्। काठमाडौंबाट यति नजिक कै ठाउँमा पनि स्वास्थ्य सुविधा पाउन ३/४ घन्टा तल हिँडेर आउनुपर्ने रहेछ। गर्भवती महिलाहरू अकालमा मरेको सुन्नु कुनै नौलो होइन रहेछ।
यो सुन्दा मन अत्यन्तै दु:खी भयो। निकट भविस्यमा हामी के गर्न सक्छौ भनेर कुरा गर्यौं। १००‘ज ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ताले स्वास्थ्य अभियान गर्ने वचन दिएको छ। मेरा पनि सपनाहरु जोडिनेछन् बिस्तारै।
बाटो नबिराउन अहम् भूमिका खेलेको त्यो पात्र!

एउटा यात्रा सफल हुन, मानिन ससना कुराहरुको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ।
हाम्रो गोसाइँकुण्ड यात्राको अभिन्न मित्र बन्न पुगेको एउटा सहयात्री मोबाइल एप पनि हो। तलको तस्बिरमा मोबाइल हेरेको देख्दा अरू केही नभएर विशुद्ध एपबाट उचाई र पुग्नुपर्ने गन्तव्यको मार्ग खोजिएको मात्र हो।
हिमाली पदयात्रा गर्दा जिपिएस अल्टिच्यूड नाप्ने एपहरू पहिले पनि प्रयोग गर्ने गर्थे। पुग्ने ठाउँको समुन्द्रबाट पर्ने उचाई सम्झियो अनि यस्तै जीपिएसबाट चल्ने एपबाट उचाई नाप्यो अनि उचाई नाप्दै जाँदा यतिमा पुगियो, अब यतिमा पुगिन्छ भनेर कल्पना गर्दै हिंड्दा आस आइरहने। पदयात्राको एउटा अभिन्न मित्र पनि।
अहिले त झन् सजिलो खालको अफलाईन चल्ने एप आएको रहेछ म्याप्स.मी कुनै त्यस्तो एप जसले साँच्चै मन जित्यो हाम्रो। थान्कुनी भञ्ज्याङ्बाट उक्लिएको दिन हामी ५ बजे कुटुमसाङ्ग पुगेका थ्यौं। त्यो रात माङ्गिन गोठ पुग्न सके, अर्को दिन फेदी पुग्न सकिन्छ र गोसाइँकुण्ड आरामैले पुगिन्छ भन्ने मनमा थ्यो।
पानी यसरी पर्यो कि रोकिने छाँट छैन। स्थानीयलाई गन्तव्य पुग्न समय सोध्दा कहिले निश्चित नहुने, त्यसो भएसी यो याप्सले मजैले काम गर्यो।
कसरी काम गर्यो म्याप्स.मी ले?

हामी कुटुमसाङबाट साँझको ५ बजे हिँड्यौं, सबैले त्यतै बास बस्न भने तर हामी त्यहाँ बसे, हाम्रो यात्रा लम्बिने र बजेटले नभ्याउने डर थियो। तपाईँहरूलाई ४/५ घन्टा लाग्छ भन्दै थिए होटेलका दाईभाउजुहरू, लगत्तै हामी हिँड्यौं।
पानी झमझम परिरहेको छ। आर्मी ब्यारेकसम्म तेर्सैं हिँडेपछि अग्ला-अग्ला रूखबीच ठाडो उकालो, हुस्सुले लुकामारी खेलिरहेको माहोल, कतै कतै आइपुग्ने पाटन बीच हामी उकालो चढिरह्यौं। साथीहरू मलाई उचाई र समय सोधिराख्थे। तर, म्याप्स.मी ले समय उत्तिकै देखाइरहन्थ्यो, विशेषगरि बब्लु, यत्रो १ घन्टा चढ्दा मात्र १० मिनेट टाइम घटेको भनेर मलाई बारम्बार प्रश्न गरिरहन्थ्यो?
म पनि यो Apps ले देखाएको समय सही हो भन्थे। रातमा निक्कै माथि पुगेसी बाटो बिराइएलाझैं भयो। दुईवटा बाटो छ, अन्धकार छ, झमझम् परिरहेको पानीको आवाज मात्र छ। उपाय केही भएन, अनि मैले मोबाइल निकालेर उचाई नापे, अनि म्याप्स.मीबाट बाटो पत्ता लगाएँ, सबैलाई सँगै हिँड्न लगाएँ।
म्याप्स.मी लाई जुम गरेर सँगै हिँड्दा तपाईँ हिंडेको बाटोको यात्रालाई एरोले गन्तव्य तिर तेर्साउँदै हिँड्छ। आखिर सहि बाटो पनि देखायो। हामी अन्ततः माङ्गिन गोठमा रहेको होटेलमा पुग्यौं।
त्यहाँ पुग्ने बित्तिकै होटेलका दाई धन्यवादको पात्र म्याप्स.मी भनेर भनिरहे। यात्राको ४ घन्टे विवरण सुनाएँ।
तपाईँहरु पनि हिमाली या अन्य कतै पदयात्रामा निस्कँदा यो म्याप्स.मी नछुटाउनुहोला। अफलाईन चल्ने यो म्याप असाध्यै उपयोगी छ भनेर तपाईँले अनुभूति गर्नुहुनेछ। त्यो रात हामीलाई सहि गन्तब्यमा पुर्याउन अहम भूमिका खेल्ने म्याप पनि हो। अघिल्लो यात्रामा हराउँदा हामीले खोलाको छङ्छङको आवाज सुन्दै दिशा पत्ता लगाएको ताजै स्मरण छ।
यात्रामा के के बोक्ने?
पानीको बोतल, रेन्कोट, टाउको दुखाइ कम गर्ने औषधि, लसुन, चप्पललगायत आफूलाई भारी कम हुने कुरा बोक्दा ठिक हुन्छ।
होटेलहरु ३/४ घन्टाको दुरीमा मात्र छन्। जति माथि गयो, होटेल उति नै अलि महङ्गो छन्।
हुन पनि लाने साधन छैन, महङ्गो पर्नु स्वाभाविक हो। ६०००/७००० पैसा बोके सुन्दरीजल, चिसापानीहुँदै, गोसाइँकुण्डबाट काठमाडौं आइपुग्दा सम्म पुग्छ।
एक्लै वा दुईजना भन्दा ४-६ जनाको संख्या ठीक हुन्छ।