सानोमा स्कुल पढ्दा किताबको पानामा पढेको थिएँ राइनासकोट र लिगलिगकोटको बारेमा। लमजुङ र गोरखामा रहेका यी दुई कोटहरूको आफ्नै विशेषता छ । नेपालमा २२ से, २४ से राजाहरूको पालामा भएका कोट र दरबारहरूमध्ये यी दुई कोटमा भने आफ्नै दाजुभाइले राज्य गर्थे ।
हुन त म आफ्नै कामको शिलशिलामा लिगलिगकोटमा भने २,४ पटक पुगेको थिएँ । राइनास पुग्ने अवसर भने प्राप्त भएको थिएन। राइनासकोटको बारेमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचारहरू आइरहेका थिए। हामी पनि ग्रामीण पर्यटनलाई प्रर्वद्धन गर्ने अभियान लिएर विभिन्न ठाउँहरूमा पुगिरहेका थियौं।
यसै क्रममा एकदिन आओर टुरिजम डटकमका सह-सम्पादक प्रवीन तुलाचन जीले राइनासको होमस्टेको बारेमा जानकारी दिनुभयो। उहाँले राइनास भ्रमण गरिसक्नु भएको रहेछ। उहाँको पत्रिकामा पनि मैले पढ्ने अवसर पाएँ । होमस्टेको प्रवर्द्धनमा उहाँले गरेका आग्रह मनासिव लाग्यो।
उहाँको प्रस्ताव र हाम्रो पनि अभियानले मेल खायो। हामी ( गाउँ प्रर्यटन प्रवर्द्धन मञ्च )भिटोफले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नारा बोकेर होमस्टे प्रवर्द्धन गर्दै आएको थियौं। राइनासको पर्यटकीय महत्त्व, गुरुङ समुदायको संस्कृति, ऐतिहासिक महत्त्व, सनराइज र सनसेटको आनन्द लिन सकिने, चेपेनदी, नारायणी नदीको तट, तीन वटा हिमालको अवलोकन जस्ता विशेषता बोकेको राइनासको बारेमा पत्रकार तथा राइनासकोट प्रवर्द्धनकर्ता माधव पनेरु जीसँगको भेट प्रवीन जीले गराउनु भयो । माधव जीसँगको कुराकानीपछि उहाँको गाउँ प्रवर्द्धनको चाहना र उत्साहले हामीलाई राइनास जान थप आतुर बनायो। पनेरु जीले केही दिनपछि लमजुङबाट निर्वाचित प्रदेशसभा सदस्य माननीय मायानाथ अधिकारी, धनन्जय दवाडी तथा राइनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापासँग भेट गराउनु भयो । उहाँहरूको चाहना र हाम्रो अभियान मेल खायो।
राइनासको बारेमा सुनेपछि मलाई शाह वंशीय राजाहरूको राज्य गरेको इतिहासको पुर्नताजकी भयो । नरहरी शाह र द्रब्य शाहको राज्य प्राप्तिको लडाइ, त्यो भन्दा पहिला नरहरी शाहले राइनास र द्रब्य शाहले लिगलिगकोटको राज्य गरेको इतिहासले राइनास एक परिचित ऐतिहासिक स्थल हो भन्ने कुरा स्पष्ट पार् । कुर्सीको लडाइका प्रशस्त इतिहास बोकेका हामी नेपालीहरूको युद्धको इतिहास नै चिनारीको मुख्य साधन अहिले पनि छ। राजाहरूबीच हुने विभिन्न्न युद्ध र कोत पर्व, अलौपर्व जस्ता हत्याकाण्डदेखि वीर बलभद्र, भक्ति थापाको इतिहास युद्ध इतिहास नै हुन्।
त्यस्तै एक इतिहासको साची राइनास पनि हो। लिगलिग कोटमा घलेहरूबीच दौडिएर जो पहिला कोटमा पुग्यो उही राजा हुने परम्परामा नरहरीका भाइ द्रब्य शाह सहभागी भएर दौड जितेर राजा भए। भाइ राजा भएपछि लिगलिगकोट पनि आफ्नै राज्य भएकाले नरहरीलाई पनि दुई वटै कोटको राजा हुन मन लाग्यो। राज्य गर्ने भूत चढेका दुई दाजुभाइबीचको घमासान युद्ध, आमा बसन्तावतीले चेपेनदीमा स्तन डुबाएर दुबैले चेपेनदी नतरेपछि युद्ध अन्त्य भएको एक रणनीतिक तथा नैतिकता भित्रको आक्रोश र युद्धसरदार भित्रको नैतिकताको पाठ पनि राइनासले स्मरण गराउँछ । यति मात्र होइन युद्धवीर भक्ति थापाको गाउँ पनि राइनास नै हो।
हामी पटक पटक राइनासको बारेमा छलफल गरिरहन्थौं। माधव जीले राइनास नगरपालिकाका मेयर सिंह बहादुर थापासँग लेकसाइडमा भेट गराउँदा पर्यटन बोर्डसँगको सहकार्यमा राइनासमा एक तालिम सञ्चालन गर्ने सोच बनायौं । भिटोफले २०७५ जेठ २५ गते बाट गण्डकी प्रदेशका ११ वटा होमस्टेमा उक्त तालिम सञ्चालन गर्ने भन्दै पर्वतको महाशिला गाउँपालिकाबाट तालिम सुरू गरेको थियो।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुने १५ औं रोपाई महोत्सवको पनि इभेन्ट म्यानेजमेन्ट गर्नुपरेकोले राइनासमा अलि पछाडि मात्र जाने कुरा भयो । राइनास मै हाम्रो तालिमको समापन गर्ने निधो गरियो। बीचमा माधव जी र प्रवीन जीसहित राइनासका स्थानीय समाजसेवी पूर्ण बहादुर गुरुङ, मात्रिका अधिकारी, राइनास होमस्टे सञ्चालक विष्णुमाया गुरुङसँगको छलफलपछि नै तालिम सञ्चालनको सहमति भएको थियो।
यो बीचमा माधव जीले तालिम समापनका लागि गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्साललाई प्रमुख अतिथि तथा लमजुङका माननीय तथा प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, धनन्जय दवाडी, मधुमाया अधिकारीलाई आमन्त्रण गरेको खबर सुनाउनु भयो। हामी झन उत्साहित भयौं। तालिमका लागि हामी प्रशिक्षक, अतिथि, केही पत्रकारसहित राइनास प्रस्थान गर्यौं असार २२ गते जम्बो हाइसमा जम्बोटोली।
हामीसँग भिटोफका केन्द्रीय सल्लाहकार डा. प्रेम शर्मा, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत प्रदीप क्षेत्री सर पनि टोलीमा थपिनु भयो । पाउदीमा पुगेपछि पहिलोपटक मध्यपहाडी लोक मार्गमा यात्रा गर्ने अवसर मिल्यो । मध्यपहाडी लोकमार्गको उक्त खण्डको कालोपत्रे गर्ने काम भैरहेको थियो । सम्झनाका लागि केही तस्वीर लिँदै हामी अगाडि बढिरहेका थियौं । पहाडतिर उकालो लागेपछि हिमालका दृश्यहरू आँखा अगाडि आउन थाले । सालघारीको बाटोमा सालको रुखलाई थिचोलेका आँखाहरूले माछापुच्छ्रे , गणेश हिमाल , लमजुङ हिमाल, अन्नपूर्ण देख्न थाल्यो। केही मिनेटको पैदल यात्रापछि पुगियो राइनासकोट होमस्टे।
हामीभन्दा केही समयपछि मन्त्री र माननीयहरूको टोली पनि राइनास पुग्यो। ढुंगाले छोपेको आँगन, सफा गाउँ, ढुंगाकै पर्खाल,चारैतिर दृश्यावलोकन गर्न सकिने, उक्त होमस्टेका आमाहरूको स्वागत बिर्सन नसकिने बन्यो । गुरुङ संस्कृति अनुसार पाहुनालाई गर्ने सत्कार चरेसको बटुकोमा पा खुवाउने चलन झन् रोमान्टिक भयो।
वास्तवमा होमस्टे संस्कृति र संस्कार सिकाउने थलो हो। लोप हुन लागेका संस्कृति पनि होमस्टेले बचाउन सक्छ। कोदोको सेल, स्थानीय उत्पादनका तरकारी, राइनासे नारीपाको स्वादमा त्यहाँको घाँटु नाचको मजा लिने अवसर कमैले पाए होलान् आजसम्म। त्यहाँ पुग्दा हामीले धेरै ठाउँमा भन्ने गरेको पुराना संस्कृतिको जगेर्ना गर्ने काम भएकोमा खुशी लाग्यो। बेलुकाको कार्यक्रम सकिएपछि बाँडिएकै स्थानमा बास बसियो, बिहान ५ बजे राइनासकोट टुप्पोमा चढ्ने गरी।
तर, वर्षाको सिजन भएकाले बिहान पानी पर्यो र हामी ७ बजे मात्र कोटमा पुग्न सक्यौं, त्यहाँ नरहरी शाहले आफ्नो राज चलाउथे, आफ्नौ भाइसँग युद्ध गर्ने निर्णय लिएका थिए। तुँवालोले हामीलाई धोका दिएको थियो बिहानको सेड्युलमा। दरबार भएको क्षेत्रमा अहिले पाटी रहेछ। कालिका मन्दिर, शिवको मन्दिर र पुरानो ढुंगाले नै निर्माण गरेको स्वागतद्वार हेर्न लायक थियो। त्यहाँ पुगेपछि देखिने दृश्यावलोकन नै राइनासको सम्पति हो। जुन सम्पति जति बाड्यो उति धनी भइन्छ।
राइनासबाट प्याराग्लाइडिङको पनि सम्भाव्यता अध्ययन भएको रहेछ। कोटमा मन्त्रीज्यू तथा माननीयहरूको आगमन भयो, पत्रकारहरूले अन्तर्वार्ता लिनु भयो। केही दृश्य लिएर हामी औपचारिक कार्यक्रमका लागि होमस्टे फर्कियौं। औपचारिक कार्यक्रम सुरू भयो। मेयर सिंह बहादुर थापाको अध्यक्षता, मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यता, पत्रकार माधव पनेरुको कार्यक्रम सञ्चालनमा औपचारिक कार्यक्रम सुरू भएको थियो।
कार्यक्रममा मन्त्रीज्यूले राइनासको विकासका लागि केही घोषणा गर्नुभयो । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण, मन्त्रीज्यूको अभिनन्दन,केही मन्तव्यपछि डस्टविन वितरण गरियो। भिटोफका साथीहरूको सक्रियता, माधवजीको स्थानीय व्यवस्थापनमा देखिएको क्रियाशीलता र संवेदनशीलता, पूर्ण बहादुर, मात्रिकाजीको राइनास प्रतिको लगाम, माननीय ज्यूहरूको राइनास विकासमा देखिएको एकमत त्यहाँको विकासको लागि कोसेढुंगा हो भन्ने मैले बुझें। हामी त एक अभियन्ता हौं, मात्र निभ्न लागेको बत्ती बाल्न खोज्ने, बत्ती बालेपछि जोगाउने जिम्मा स्थानीयहरूकै हुन्छ।
राइनास पर्यटन विकास समितिका अध्यक्ष खड्क गुरुङ, उपाध्यक्ष विष्णुमाया गुरुङको मिजासिलो स्वभाव राइनासमा पर्यटक भित्र्याउने बलिया आधारहरू हुन्। एक पटक राइनास पुगेको जो कोही पनि पर्यटक पुनः राइनास जानेछन् । नेपालमै पहिलोपटक होमस्टेको बिउँ रोपेको गण्डकी प्रदेशमा अहिले ३ सय होमस्टे निर्माण गर्ने योजना प्रदेश सरकारको छ।
हामीलाई गर्व लागेको छ, यो योजना सफल बनाएर हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने हाम्रो नारा सफल हुनेछ। हामी अन्य प्रदेशलाई पनि गण्डकी प्रदेशकै सिको गर्न आग्रह गर्दछौं । बसाइसराइको अन्त्य, दिगो विकास, सम्वृद्ध नेपाल निर्माणका लागि गण्डकी प्रदेशका वातावरण तथा पर्यटनमन्त्री विकास लम्साल जस्तै ग्रामीण विकासमा लाग्न सबैलाई अनुरोध गर्दै गण्डकी प्रदेशलाई होमस्टेको राजधानीको रूपमा विकास गर्न सबैको हातेमालो जरुरी भएको स्मरण गराउँदछु।