दिनहुँजसो पानी परिरहने पोखरामा जेठ अन्तिम साता दूई चार दिनदेखि पानी परिरहेको थिएन। तापक्रमको उचाई ह्वात्तै बढिरहेको थियो। उता तराई मधेसमा यो भन्दा बढी गर्मी बढेको समाचारहरु आइरहेका थिए। यहीँ समयबीच जेठ मसान्तका दिन पोखरादेखि पूर्वी नेपालको बेलबारीसम्मको यात्रामा निस्कँदै थिएँ। मनमा अलिअलि चिन्ता थियो यस्तो गर्मीमा बार, तेह्र घन्टाको रात्रीकालिन सार्वजनिक बसको यात्रामा एक्लै यात्रा गर्दा।
मेरो चिन्तालाई डरको उकेरा लगाउँदैथ्यो मैले बाँचेको समाज, दिनहुँजसो सुनिने बलात्कारका घटना र महिलाले रातबिरात एक्लै हिँड्दा मान्छेबाटै असुरक्षित हुनुपर्छ भन्ने हाम्रो समाजले स्थापित गरेको सोचले। घरीघरी अर्को चिन्ता थपिन्थ्यो मुग्लिन जामको सास्ती सम्झेर। कोशी नेपाल मिडिया प्रालिले असार १ गते बेलबारी (मोरङ)मा गरेको स्रष्टा सम्मान, स्रष्टा र सिर्जना कार्यक्रममा भाग लिन जीवनमै पहिलोपटक एक्लै रात्री बसमा यात्रा गरिरहेको थिएँ।
पोखराबाट दिउँसो ४ः१५ बजे उज्यालोमै हिँडेको बस भोलि बिहान पाँच÷छ बजे मात्रै बेलबारी पुग्छ भन्ने सम्झेरै अत्यार लाग्दै थियो। पोखराबाट सिधै विराटनगरसम्म हवाई उडान नभएपछि एक डेढ घन्टाको बाटोलाई मैले जसरी नै बार, तेह्र घन्टाको यात्रा गर्न बाध्य कति यात्रु होलान् यहाँ ? मनमा यीनै कुरा खेलिरहेका थिए। यस्तैमा अमरसिंहचोकबाट एक जना दिदी शिशु च्यापेर बस चढिन् र म सँगैको सिटमा बसिन्।
ती दिदी मेरो सिट छेउमा बसेपछि मलाई भने अब आफनो सिट छेउमा डुङ्डु्ङती पसिना, रक्सी र चुरोटको गन्ध भएको मानिस नपर्ने भयो भन्नेमा ढुक्क भयो।
यात्रामा अनावश्यक गफगाफ र टिभी हेर्नुभन्दा चुपचाप प्राकृतिक दृश्य आँखाभरि कैद गरेर हिँड्न रुचाउने मेरो छेउमा जब दिदी बसिन् मेरो ध्यान गयो। दिदीलाई वरपरका सबैले खासखुस गर्दै हेर्न थाले। झट्ट हेर्दा सुत्केरीजस्ती नदेखिने उनको काखको नवजात शिशु भने दूई चार दिनको जस्तो देखेपछि पल्लो छेउकी महिलाले हिम्मत गरेरै सोधिन् ‘तपाईं कै बच्चा हो ? कति दिनको नानी नी ? तपाई त फेरी सुत्केरीजस्तो देखिनुहुन्न त ? उनको प्रश्न सकिन नपाउँदै ती दिदीले भनिन् ‘मेरो होइन, गरीब, दुःख पाउने परिवारका रहेछन्। मेरो छोरीहरु छैनन्, जन्मेको दूई दिन भयो मैले पाल्नलाई गण्डकी हस्पिटलबाट कागजपत्र गरेर ल्याको।‘
तीनको जवाफ सुनेपछि मेरा आँखा एक्कासी त्यो नवजात शिशुमाथि पर्न गयो। कलिलो, रातो अनुहार, टाउकोमा आँखै छोपिने गरी पिङ्क कलरको टोपी, हातमा ब्ल्यु पन्जा र पिङ्क कलरकै बेबी ब्ल्यान्केटमा बेरिएर जन्मिएको २४ घन्टा नबित्दै आमाको काख छोडेर अर्को आमाकहाँ पालिन जाँदै थिइन्।
बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। एसी, वाइफाइ र टेलिभिजनको सुविधासहित डिलक्स बसमा केही यात्रु मुभी हेर्दै थिए, केही आफ्नै ल्यापटपमा त केही मोबाइलमै ब्यस्त। म भने अब मोबाइल, टिभीभन्दा बढी नवजात शिशुलाई हेर्दै थिए। बेलाबेलामा शिशु भोकले च्याठ्ठिएर रुन्थिन्। बस गुडिरहँदा बोत्तलको दूध पिलाउँदा सर्को पर्छ भनेर ती दिदीले औलाले अलिअलि मुख भिजाइदिएपछि एकछिन् शान्त हुन्थिन्। फेरी एकछिन् पछि उसैगरि रुन्थिन्। त्यतिबेला मेरो मनले भन्यो हे भगवान् ! यो कस्तो नियति ? उता आमाको छाती गानिएर दुख्दै होला होला ! यता छोरीको घाँटी सुकिरहेको छ। के साँच्चै तिमी गरिब भएकै कारण आमाको काखमा हुर्कन पाएनौ कि छोरी भएको कारण ?
छोरा भएर जन्मिएको भए के तिमी अहिले यसरी जन्मदिने आमाको काख छाडेर अरुकहाँ पालिन जानुपथ्र्यो ? मनमा यीनै र यस्तै अनेक प्रश्नहरु जन्मिदै थिए, झमक्क साँझ पर्दे गर्दा बसले मुग्लिनको यात्रा पार गरिसकेको रहेछ। अचेल मुग्लिन खण्डको बाटो अत्यन्तै सजिलो भएको रहेछ। पहिरो खसेन भने बढीमा एक घन्टामै पार गर्न सकिने रहेछ। तर ध्यान दिनुपर्ने कुरा के भने बाटो सजिलो भएपछि स्वतः सवारी साधनको गती तीव्र हुने भएकाले दुर्घटना बढ्न सक्ने भएकोले यात्रुले यसतर्फ पनि ध्यान दिनुपर्ने लाग्यो।
यति लामो बाटो, महिला, त्यो पनि एक्लै नाइट बसमा आउँदै गरेकाले होला पूर्वेली कवि बादल चाम्लिङ र अग्रज स्रष्टा तीला लेकाली दिदीले बाटोभरि बारंबार फोन गरिरहनु भएको थियो। कार्यक्रम आयोजकहरुसँग पनि फोन भइरहेको थियो। यता माइतिघरकै आँगन नाघेर गइरहेकीले होला गैडाकोटबाट बहिनी अमृता र बाबाले गैडाकोट बसेर भोलि गए हुँदैन भन्नु हुँदै थियो। यस्तै अन्य फोन रिसिभ गर्दागर्दै रातको करिब साँढे दस बजे बसले अमलेखगञ्जमा खाना खान रोक्यो। मैले फ्रुट सलाद सोधे नपाइने रहेछ। त्यसपछि रु. २५० को कुपन लिएर खानाको लाइनमा बसें। चिकन सेट खाना पैसा अनुसार त ठिकै थियो। तर बडो मुस्किलले मैले दुई चम्चासम्म मुखमा राखे। २० मिनेट खाना खाने समय भने पनि करिब १० मिनेट ढिलो गरी ११ःबजे बस अमलेखगन्जबाट अगाडि बढ्यो।
अब भने बसमा गीत, फिल्म बज्न छाडे। बत्ती झ्यापझुप निभे, केहीबेर अगाडि मोबाइल, ल्यापटप र टिभीमा मस्त सबै निदाउन थाले। मलाई भने जति प्रयास गर्दा पनि निन्द्रा लागेन। बाहिर हेरुँ सबै अँध्यारो, मोबाइल पनि कति चलाउनु ? अघि फोन गरिरहने आफन्त पनि सुतिसके होलान्।
अँध्यारो नै भए पनि सिसा खोलेर बाहिर हेरें, सायद आकाशमा जून थियो हरिया जङ्गलहरु बसको उज्यालोले सेतासेता टल्किन्थे, सिमसिम पानी परिरहेकाले मौसम चिसोचिसो थियो समग्रमा यात्रा सोचेजस्तो गर्मी र अत्यास लाग्दो पटक्कै भएन। तर खै किन हो रातभर एक झिमिक निदाउन सकिएन। बिहान करिब ४ः४०मा इटहरी पुगेपछि सम्झे बादलजी र तीला दिदीले इटहरी आइपुगेपछि फोन गर्नु भनेको र फोन गरे। बिहान पाँचबजे बसले बेलबारी पूर्व स्ट्यान्डमा झारिदियो। मैले बिहान बिहानै दुःख होला भनेर बादलजीलाई लिन आउनु पर्दैन, होटलसम्म म आफै जान्छु भनेको थिएँ तर बादलजी आएर बस स्ट्यान्डमा बसिसक्नु भएको रहेछ।
हामी दूईजना भएर होटल पुग्दै गर्दा तीला दिदी पनि आइपुग्नु भयो । केहीबेर तीनजना भएर गफियौ, सेल्फी खिच्यौ। तीला र बादलजीले पोखराकी पाहुना गौरी तमु बेलबारी आइपुग्नुभयो भनेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएपछि उहाँहरु फर्कनुभयो।
यता आयोजकले म लगायत दार्जिलिङ, कालिम्पोङ, भुटान र नेपालकै विभिन्न ठाउँबाट आउनुहुने कविका लागि एउटै होटलमा खाने,बस्ने व्यवस्था थियो। बादलजीले उहाँको घरमै बसौं पनि भन्नुभएको थियो। तर यो मामिलामा म कहिलेकाँहिँ अलि नमिल्दो मान्छे हुँ कि जस्तो पनि लाग्छ। कहीँ जाँदा कसैको दैनिकी नबिथोलुँ र सकेसम्म आफ्नो रुम सेयर गर्न नपरे हुन्थ्यो र होहल्लाभन्दा पर चुपचाप एक्लै बसुँ भन्ने अचम्मैको स्वभाव छ। त्यसकारण पनि आयोजकले ब्यवस्था गरेको होटलभन्दा पर भिन्नै होटलमा एक्लै बसेँ म। यसरी चुपचाप शान्त वातावरणमा एक्लै बस्दा पनि रातभरको अनिदो आँखा भने निदाउनै सकेन।
दिउँसो १ःबजेदेखि कार्यक्रम भएकोले सुत्ने नै हो भने पनि मसँग पाँच, छ घन्टा समय थियो तर निकै प्रयास गरे पनि निदाउन नसकेपछि कफी पिउन भनेर रुमबाट निस्कँदा ज्यान त निन्द्राले पो धङधङी भयो। कफी पिउँदै फेसबुकमा डुल्दै थिएँ बेलबारीका रंगकर्मी कृष्ण गुरुङ दाइको फोन आयो ‘बहिनी निन्द्रा पुग्यो? रविन दाइ र म अहिले आउँदै छौ तपाइलाई भेट्न।’
फोन गर्नुभएको करिब १० मिनेटपछि आजका कार्यक्रम संयोजक रविन गुरुङ दाई र कृष्ण दाई आइपुग्नुभयो। कार्यक्रम, बेलबारी, परिवार र गुरुङ समुदायबारे केहीबेर भलाकुसारी गरेपछि उहाँहरु कार्यक्रमस्थल फर्कनुभयो। करिब १ः३० बजे तीला दिदी लिन आउनुभएपछि म पनि बेलबारी नगरपालिकाको हलमा पुगें। हलमा प्रवेश गर्दागर्दै बेलबारीका अग्रज साहित्यकार एवम् राजनीतिज्ञ हर्कमान तामाङ,जेवी थुलुङ, मूर्तिकार एवम् इटहरी मेट्रिक्सका सञ्चालक बिक्रम श्रि, मेडम मारिया भिक्ट, बेलबारी साहित्य समाजका अध्यक्ष रेखा सुवेदी, मिश्र वैजयन्ती, सम्मानित हुँदै गर्नुभएका स्रष्टा धनु याक्खा, बद्री अधिकारी लगायत अन्य धेरै जनासँग कार्यक्रम अगाडि नै परिचय भयो।
मोरङभन्दा बाहिरबाट जाने म मात्रै महिला कवि थिए। धेरैले ब्यानरको नामबाटै चिन्नुभएको रहेछ सायद। केही भाइबहिनीहरुले परिचय गर्नुभयो। फोटो खिच्नुभयो। बिराटनगरदेखि कार्यक्रममा आउनुभएकी बहिनी मीना श्रेष्ठसँग अगाडि मञ्चमा जानु अगाडिसम्म निकै मिठा गफहरु भए। त्यतिबेलासम्म प्रमुख अतिथि कवि एवम् प्राज्ञ श्रवण मुकारुङ, कुन्ता शर्मा, कवि मनु मन्जिल, हेमन यात्रीहरु पनि आइसक्नुभएको थियो।
नेपालभन्दा बाहिरबाट आउनुहुने कविहरु पनि पहिल्यै नै आइसक्नुभएको रहेछ तर परिचय नभएकाले मञ्चमा आशन ग्रहणपछि मात्रै थाहा भयो उहाँहरु पनि म सँगसँगै हलमा छिर्नुभएको रहेछ। घोषित समयभन्दा करिब १ घन्टा ढिलो गरी जेवी थुलुङले कार्यक्रम सुरु गर्नुभयो। बेलबारीकी अग्रज साहित्यकार तीला लेकालीको स्वागत मन्तव्य, बादल चाम्लिङको अतिथि स्वागत सत्कार, प्रमुख अतिथि मुकारुङको दिप प्रज्वलनसँगै कार्यक्रम उद्घाटन र तीन स्रष्टाहरुलाई सम्मान एवम् उहाँहरुको मन्तव्य करिब ४५ मिनेटमा सकिएपछि दोस्रो चरणको कविता वाचन कार्यक्रम सुरु भयो।
कवि एवम् बेलबारी नगरपालिकाका उप प्रमुख तारा पराजुलीको कविता वाचनसँगै सुरु भएको दोस्रो चरणको कविता वाचन कार्यक्रममा नेपाल, भारत र भुटानका गरी १५ जना कविले दुई दुईवटा कविता वाचन गर्नुभयो। करिब पाँच घन्टाको लगातार कार्यक्रम सकेर हलबाट बाहिरिँदा साँझको ६ः३० बजिसकेको थियो। कवि बादल लगायत अन्य टिम बाहिर टेबलमा विभिन्न कवि, लेखकका पुस्तकहरुको बिक्री कक्षमै हुनुहुन्थ्यो। अघिल्लो दिनको सल्लाह अनुसार आज साँझको खाना बादलजीकोमा खान जाने समय दिएकी थिएँ।
तर कार्यक्रम हलबाट निस्कदै गर्दा कार्यक्रम संयोजक रविन दाइले साँझको खाना तमु ह्युल छोंज धीं ÷गुरुङ राष्ट्रिय परिषद् मोरङका अध्यक्ष मनकुमार गुरुङ दाइको घरमा तयार भएको जानकारी गराउनु हुँदा म एकछिन् के भनुँ के ? को स्थितिमा पुगें। र, दाईलाई भने –‘मैले त बादलजीकोमा खाना खान आउँछु भनेर समय दिइसकेको छु, एकपटक उहाँसँग सल्लाह गरेर निर्णय दिन्छु।’
बादलजीले सहजै अनुमति दिनुभएपछि उता हुन्छ भन्ने निर्णय सुनाए। त्यतिबेलासम्म साँझ परिसकेको थियो र पनि हामी नजिकै रहेको नेपाल तमु बुद्विष्ट गुम्बा अवलोकनका लागि पुग्यौं। जाँदाजाँदै गेटमै गुम्बाका अध्यक्ष रणबहादुर गुरुङ बिन्दु गुरुङजीसँग पनि भेट भयो। हामीले बेलबारीमा रहेका करिब ४७५ घरधुरी गुरुङहरुको भाषा, संस्कृति र साहित्यबारे सामान्य कुराकानी गर्यौ। मोरङमा मात्रै पूर्वी पहाडका करिब पन्ध्र÷सोह्र हजार जनसंख्या भएका गुरुङहरुमा भाषा हराए पनि केही संस्कार भने बाँकी रहेछन्।
यसपालिको पूर्व यात्रामा म गुरुङ समुदायको चेली भएको र गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षको जिम्मेवारीको हिसाबले पनि यहाँका यी गुरुङ संस्था र व्यक्तिहरुको भेटघाटलाई प्राथमिकतामा राखेको थिएँ। करिब दुई विघाहा जमिन ओगटेको गुम्बाका व्यवस्थित सभा हल, खाना खाने हल र नजिकै तमु ह्युला छोंज धींको दूई तले भवन पनि बनिरहेको रहेछ। त्यहीँ गुम्बा अगाडि उभिएर मैले दाइहरुलाई भने ‘तपाईहरुले यहाँ यति यति धेरै राम्रो कामहरु गर्नुभएको रहेछ खुसी लाग्यो। तर हामीले याद गर्नुपर्ने कुरा के हो भने ‘जुन दिन भाषा मर्छ त्यो दिन त्यो जातीको जातिय अस्तित्व नै समाप्त हुन्छ। त्यसैले यहाँका गुरुङहरुलाई जतिसक्दो चाँडै मातृभाषा प्रशिक्षणजस्ता कार्यक्रमहरु गर्न पाए राम्रो हुन्थ्यो।
मेरो आग्रह सुनेर उहाँहरुले आफुहरु यो योजनामा रहेको कुरा बताउनुभयो।
अँध्यारोमै करिब पाँच, दस मिनेटको गुम्बा अवलोकनबाट फर्कदै गर्दा गुम्बा परिसरमा अन्तर्राष्ट्रिय कराते प्रशिक्षक कुन्ती गुरुङसँग भेट भयो, सामान्य परिचय र कुराकानीपछि कुन्तीजीसँग बिदा भएर मनकुमार दाई कहाँ खाना खाएपछि नजिकै रहेको बादलजीको घरमा पनि गाल टार्न रातारात पुगें। दूई नानीहरु, बाबु र चन्द्रसरसँग पहिलोपटक भेट भयो। केही समय मिठा कुराकानी गरेपछि अब होटल जानुपर्यो भनेर जब बिदा माग्न लागेथे फेरि यहाँ पनि बादलजी त अनेक परिकार पकाएर बस्नुभएको रहेछ। उहाँको न्यानो आतिथ्यतासँगै मन राख्नकै लागि केही परिकार चाखें।
अघिल्लो रातभरको बसको अनिंदो, दिनभरको कार्यक्रम र राति साढे नौ बजेसम्मको भेटघाटले ज्यानमा थकान महसुस त थियो नै तर त्योभन्दा बढी मन आत्तिरहेको थियो घरदेखि सानी छोरी गृष्माले इमोमा भिडियो कल गर्ने भनेर गरिरहेको तारन्तारको मोबाइल फोनले। कान्छी छोरी भएकीले होली उसलाई म घर छाडेर हिँडेपछि सुत्ने बेलामा जहिल्यै भिडियो कल गर्नुपर्छ। आज त झन् म बिहानैदेखि ब्यस्त भएकाले फोनमा बोल्न पनि भ्याइरहेको थिइन र जतिसक्दो चाँडैं होटल फर्केर उसलाई कल गर्न पनि म बादलजीको एकछिन् अझै बस्नु भन्ने अनुरोधबाट बिदा मागेर होटलमा आइपुग्दा रातको ९ः४० भइसकेको थियो।
रुममा पुग्ने बित्तिकै अघिदेखि तारान्तार इमो कल गर्नु भनेकी कान्छी छोरीलाई हतारहतार फोन गर्दा उनी निदाइसकेकी रहिछन्। त्यतिबेला चाँहि साँच्चै आमा मनले माफी माग्यो। त्यसपछि कतिबेला निदाएँ पत्तै भएन। चिरबिर, चिरबिर चराको आवाज र मान्छे हिँडेको आवाजले झल्यास्स ब्युझिँदा थाहा पाए बिहानको ६ः३० बजिसकेको रहेछ।
अघिल्लो दिनको योजना बमोजिम आजको भेटघाट सेड्युलमा बिहानको चिया स्थानीय अग्रज साहित्यकार एवम् राजनीतिज्ञ हर्कमान तामाङकोमा, त्यस लगत्तै धरानमा स्व.विमल गुरुङ स्मृति पुस्तकालयमा पोएट्री पार्टीमा सहभागी हुने र पुस्तकालय अवलोकन गर्ने, फर्कदा प्रसिद्व मूर्तिकार बिक्रम श्रिको इटहरी मेट्रिक्सको अवलोकन र बेलबारीको बेतना सिमसार भ्रमण गरेर साँझ ५ः३० बजे पोखरा फर्कनु थियो।
लगभग ८÷९ घन्टाको अवधिमा धरान, इटहरीदेखि बेतना सिमसार घुमेर होटलबाट समयमै चेक आउट हुनु थियो मलाई। योजना अनुसार बिहान आठ बजे म, बादलजी, कृष्ण दाई र रविन दाई कृष्ण दाईको गाडीमै हर्कमानज्युकहाँ पुग्यौ। आफनो जीवनकालमा तीन पटकसम्म सांसद बनिसकेका राजनीतिज्ञ एवम् अग्रज साहित्यकार, शालिन व्यक्तित्व हर्कमानसँग कफीसँगै वर्तमान साहित्य हुँदै राजनीतिक अवस्थाबारेमा लामै कुराकानी भए। आधा घन्टा मात्रै बस्ने भनिए पनि करिब १ घन्टाको बसाइपछि हामी धरान प्रस्थान गर्यौ। अब भने हाम्रो यात्रामा बेलबारीकै अग्रज साहित्यकार तीला दिदी पनि थपिनुभयो। धरान जाँदा बेलाबेलामा रविन दाईको मोबाइलमा उता धरानतिरबाट स्व. विमल गुरुङका बाबा क्या. पूर्णबहादुर गुरुङको फोन आइरहेको थियो, कहाँ आइपुग्नुभयो ? खाना खाने समय ढिला भइसक्यो चाडैं आउनुहोस् है !
बेलबारीदेखि धरानसम्मको करिब आधा घन्टाको यात्रा अवधिभर हामीले वर्तमान नेपाली साहित्य, यहाँ देखा परेका विकृति र केही सकारात्मक पाटोहरु, यहाँको बजार, हावा पानी र केही पारिवारिक गफ गर्यौ। हाम्रो कुराकानीको गती सँगसँगै अगाडि सिटमा बसेर गाडीको गती बढाउँदै हुनुहुन्थ्यो कृष्ण दाई भने अभिभावकको भूमिका निभाउँदै हुनुहुन्थ्यो रविन दाई। पछिल्लो सिटमा थियौ म, तीला दिदी र बादलजी। यता भनेको समयभन्दा एक घन्टा नै ढिला भएकोले हामी विमल पुस्तकालय पुग्दा पोएट्री पार्टी भने सकिसकेको थियो।
जब गाडीबाट ओर्ले मेरा आँखा दूइतले भवनको माथिल्लो तल्लाको बीच भागमा हामीतिरै हेरेर मुस्कुराइहेका स्व.विमल गुरुङको प्रतिमामा अडिए। तल्लो तलाको गेटमा भने विमलका बुबा हामीलाई स्वागत गर्न गेटमै बस्नु भएको रहेछ। उहाँले हामीलाई पुस्तकालयको बीच भागमा पुगेपछि स्व.विमलको चित्र अङ्कित सेतो र निलो रङको पुस्तकालयको टोपी लगाइदिएर स्वागत गर्नुभयो। कुराकानीका क्रममा विमलका बाबुले विसंवत् २०२८ साल कार्तिक १९ गते हंगकंगमा जन्मेर कक्षा दूईमा पढ्दै गर्दा नेपाल आएका विमल सानैदेखि अध्ययनशील स्वभावको र राष्ट्रप्रेमको भावना भएको होनहार युवक भएको, एकपटक आफु ब्रुनाई हुँदा विमललाई ब्रुनाई घुम्न बोलाउँदा आफ्नो देश त घुमेको छैन के अर्काको देश घुम्नु बाबा ? भइरहोस् यतिबेला मलाई अध्ययनलाई नै समय पुगेको छैन भनेछन्।
उनै एक्ला छोरा विमल २० वर्ष नपुग्दै २०४८ साल वैशाख २४ गते काठमाडौंबाट धरान फर्कदै गर्दा मुग्लिनमा भएको बस दुर्घटनामा परी हामी सबैलाई छोडेर गएको नमिठो अतित सम्झनुभयो। अहिले पनि पूर्णबहादूर काठको दराजमा भएका छोराले पढेका पुस्तकहरुलाई दिनको एकपटक सुम्सुम्याउँछन्। धुलो नै नभए पनि जतनले अनि मायाले टक्टक्याउँछन्।
सुविधा सम्पन्न आफ्नै भवनको विमल पुस्तकालयको अन्डर ग्राउन्डमा कार्यक्रम हल, बीचको तलामा लाइब्रेरी र माथिल्लो तलामा कार्यक्रमहरु हुँदा पाहुना बस्ने, खाने केही कोठा र छेउ बाटोतर्फ विमलको प्रतिमासँगै आफ्नो परिवारका जीवित र स्वर्गीय सदस्यका प्रतिमाको लहरमा आफ्नो प्रतिमा समेत राखेका छन् पूर्णबहादुरले। मृत व्यक्तिको प्रतिमासँगै जीवित मान्छेको प्रतिमा देखेर मलाई अनौठो लाग्यो।
त्यतिबेला सोध्ने हिम्ममत गर्न सकिँन। पोखरा फर्केपछि यो संस्मरण लेख्दै गर्दा हिम्मत गरेर फोनमै सोधें। उहाँले जवाफमा भन्नुभयो – ‘नानी ! तपाइलेजस्तै मेरै छोरी र अरुले पनि मलाई यस्तै प्रश्न गरेका थिए। मलाई के लाग्छ भने हामीले मरेको मान्छेहरुसँग खिचेका फोटाहरु भित्तामा सजाउनु हुन्छ भने मूर्तीमा किन नहुने ? र मुख्य कुरा त नानी मलाई पीर छ, मेरो शेषपछि यो पुस्तकालय कसरी सञ्चालन होला ? सत्तरी, असी हजार खर्च गरेर मेरो छोरासँगै मेरो मूर्ती कसले राखिदेला र ? म चाहन्छु म मरेपछि मेरो मूर्ती पनि मेरो छोराको मूर्तीको छेउमै रहोस्।’
फोनमा जवाफ सुनेर एकछिन् त केही बोल्नै सकिँन। आखिर जीवन के नै रहेछ र बस् आउनु र जानु मात्रै। मैले जे अनुमान गरेको थिएँ, उहाँले त्यस्तै जवाफ दिनुभएको थियो।
उमेरले बिस्तारै डाँडा काटिरहेको उहाँलाई पुस्तकालयको थप लगानीका लागि कुनै चिन्ता थिएन। चिन्ता थियो त भएको एउटै छोरो गुमाइसकेपछि छोरी देश बाहिर, केही वर्ष अगाडि श्रीमतीको मृत्यु र अब पुस्तकालयको जिम्मेवारी सम्हाल्ने पुस्ताको अभाव र आफ्नो शेषपछि पुस्तकालय कसरी चल्ला भन्ने गहिरो चिन्ता मुहारमा प्रष्ट देखिन्थ्यो। साठी लाखको अक्षयकोष स्थापना गरेको विमल पुस्तकालयले यो वर्षदेखि एक वर्षभित्र नेपालभरबाट प्रकाशित पुस्तकमध्येबाट छनोट गरेर एक उत्कृष्ट पुस्तकलाई ५१ हजार रुपैयाँको स्व.विमल गुरुङ स्मृति पुरस्कार वितरण सुरु गरेको छ।
एउटा बाबुले पुत्र वियोगमा उनकै रुचिको क्षेत्रमा व्यक्तिगत लगानीमा खोलेको यो पुस्तकालय सायद नेपालकै ठुलो पुस्तकालय होला। करिब एक घन्टा बसाइमा हामीले पुस्तकालय अवलोकन, स्व. विमलको स्मरण, पोखराबाट लगेका केही पुस्तकहरु र विशेषगरी स्व. विमलका हाइकुहरु प्रकाशित तमु संसार त्रैमासिक पत्रिका हस्तान्तरण गर्यौ।
हामी बाहिरिने बेलामा पछि पुस्तकालयमै भेट हुनुभयो राज मंगलक र त्यसपछि पुस्तकालयका सचिव चेवन राईजीकोमा खाना खाने बेलामा भेट हुनुभयो प्रकाश दिप्साली पनि। यसरी एक डेढ घन्टाको बसाइपछि हामी धरानबाट बिदा भयौ।
धरानबाट हिँडेको करिब आधा घन्टामा हामी सुप्रसिद्व कलाकार विक्रमश्रीको इटहरी मेट्रिक्स÷ संस्कृति केन्द्रमा पस्यौ। जाँदाजाँदै मेडम मारिया भिक्टले मिठो मुस्कानसहित स्वागत गर्नुभयो उता विक्रमश्री अर्को समूहलाई मेट्रिक्स अवलोकन गराउनुहुँदै रहेछ। हामी पनि हतारमा भएकाले सरसर्ती ंसंस्कृति केन्द्रमा भएका बोटविरुवाहरु, फलफूलहरु, आदिकवि भानुभक्त आचार्यदेखि अन्य महत्वपूर्ण व्यक्तित्वका मूर्तीहरु अवलोकन गर्यौ।
इटहरी मेट्रिक्स वनस्पति अध्ययनका लागि एउटा विश्वविद्यालय नै रहेछ। मूर्तीहरु कसरी बनाइन्छन्, कति लागतमा बन्छन् भन्ने यहाँ आएर थाहा पाइयो। करिब एक घन्टा अवलोकनपछि हामी ४ बजे इटहरी मेट्रिक्सबाट बेतना सिमसारतर्फ लाग्यौ। करिब १७४.९१ हेक्टरमा फैलिएको सिमसारको ताल र डुंगा हेरिरहँदा मलाई बेतना मिनी पोखराजस्तै लाग्यो।
शनिबारको दिन भएकाले होला भिडभाड थियो। हामीले हतार हतारमै भए पनि बेतनालाई एक फन्को मार्यौ। फटाफट फोटा खिच्यौं। प्रायः फोटा र ग्रुप फोटा खिच्दा आफु छुटेर भए पनि कृष्ण दाई हाम्रो फोटा खिच्नुहुन्थ्यो। तपाई पनि बसेर खिचौ न दाइ भनेपछि दाइ सेल्फी क्लिक गर्नुहुन्थ्यो। जब हामी बेतनाबाट बाहिरिदै थियौं, बेलबारी साहित्य समाजका अध्यक्ष एवम् साहित्यकार रेखा सुवेदी पनि फोन सल्लाह बमोजिम मलाई पोखरा फर्कने बेलामा भेट्न त्यहीँ आइपुग्नुभयो। यतिबेलासम्म करिब ४ः२० बजिसकेको थियो। उता काँकडभिट्टाबाट म पोखरा हिँड्ने बस हिँडीसकेको जानकारी फोनमा आएको थियो। अब भने आधा घन्टा मात्रै समय भएकाले होटलमा पुगेर चेक आउट हुनुथियो।
हतार हतार बेतना अवलोकन छोट्याएर हामी होटल फक्र्यौ। बेतनाबाट होटल फर्कदै गर्दा धन्यवादसहितको करिब दूइ मिनेटको भिडियो क्ल्प्सि बनाए।। हिजोदेखि आजसम्मको यो ब्यस्त सेड्युलमा यतिधेरै भेटघाट र भ्रमण सम्भव भएको थियो रंगकर्मी कृष्ण गुरुङ दाईको यातायात ब्यवस्थापनले। र, पुरै दूई दिन यति रमाइलो र उपलब्धिमूलक भएको थियो तीला दिदी, बादलजी र रविन दाई साथमै भएकाले।
बेतनाबाट होटलमा आउँदा अर्जुन भाइ र सञ्चारकर्मी बबिता बहिनी हामीलाई नै पर्खेर बस्नुभएको रहेछ। म हतारहतार होटलको रुममा छिरे। सबै सामानहरु प्याकिङ सकेर बाहिर निस्केपछि फेरि एकपटक हामीले सँगै चिया पिउँदै थियौ उता बसवालाको नं बाट फोन आयो र हामी होटलबाट तल झरेपछि यसपालिको पूर्व यात्राको अन्तिम महत्वपूर्ण फोटो खिच्यौ।
मेरो बिदाइको फोटोमा क्रमशः हुनुहुन्थ्यो कृष्ण दाई, रविन दाई, म, बादलजी, तीला दिदी, बबिता बहिनी र अर्जुन भाई। करिब साढे पाँच बजे सबैसँग बिदा भएर पोखरा फर्किदै गर्दा मनले भन्यो ‘हिजो बिहानसम्म बसबाट ओर्लदा अपरिचितजस्तै लागेको यो बेलबारी, यहाँका मान्छेहरुसँग अहिले छुट्टिन लाग्दा किन नजिकैका आफन्तबाट छुट्टिए झैं लाग्दैछ ?’
बिस्तारै बस आफनै रफतारमा गुड्न थाल्यो मैले बिदाइका बेला त्यहीँ होटल अगाडि खिचिएको अन्तिम फोटो र बेतनाबाट फर्कदाको त्यही दूई मिनेटको भिडियो क्लिप्स पोष्ट गरेर सबैलाई धन्यवाद दिएँ।
करिब चौध घन्टाको यात्रा पूरा गरेर पोखरा फर्कदा अस्ति जाँदा तातिएको पोखरा रातभरि पानी परेकाले चिसो भएको थियो। काँहुडाँडा, शान्तिस्तुपा र सराङ्कोटमाथि हल्का हुस्सु लागरिहेको थियो। माछापुच्छ«ेले सेतै मुस्कुराएर स्वागत गरिरहँदा मनमा चाहिँ पूर्वेली मनहरुको माया हरियो भएर हुर्कदै थियो।