काठमाडौंको धूँवा,धूलो र कोलाहल एकैछिन भए पनि भुल्न पाइने रमणीयस्थल चम्पादेवी पदयात्रा नै सबैको रोजाइमा पर्नु भनेकै चम्पादेवी पदयात्रा प्रकृतिको उपहार भएकाले नै हो।
हरियाली जंगलभित्र ढुङ्गा बिछ्याएको मार्ग हुँदै चम्पादेवीको दर्शन गर्न पाउनु हरियाली बोटबिरुवाको शिरशिर हावासँगै सुसेली हाल्दै उकाली चढ्नुको मज्जा कसैले पनि भुल्न सक्दैन।
हामी पनि यही मज्जा लिनका लागि चम्पादेवीको काखमा रमाउन बल्खुदेखि दक्षिणकालीसम्म ५ किलोमिटर गाडीमा रमाउँदै गीत गाउँदै हामी Agora Kathmandu Speakers Club परिवार काठमाडौं दक्षिणकाली नगरपालिका ६ मा पर्ने चम्पादेवी मन्दिर पदयात्राको लागि गाडीबाट उत्रेपछि चाल्नाखेलस्थित एउटा क्याफेमा पस्यौं ।
पदयात्राको लिडर गर्नु हुने राजेन्द्र महर्जन सरको जन्मदिन परेकाले राजेन्द्र सरले जोडी मैनबत्ती बाल्नु भो, चक्कूले केक काट्नु भो पवन सर, विमला र रेखा म्याडमले केक राजेन्द्र सरलाई खुवाइदिनु भो। केक अनुहार भरी दलिदिनुभो सबै जनामा खुशी रौनक बढ्यो। सबैजनाको हाँसो फिजियो अमित सर, मिन कुमार सर र अनिस सर फोटो खिच्नमै व्यस्त हुनुहुन्थ्यो। सन्दीप सर र शुबराथ सर केक बाड्न लाग्नु भो आहा! कस्तो रमाइलो भो हामी सबै जनाले राजेन्द्र सरलाई जन्म दिनको शुभकामना दियौं । केकसँगै चिया नास्ता गरिसकेपछि चम्पादेवी पदयात्रा प्रारम्भ गरेयौं।
हामी चम्पादेवीको तालुमा रमाउन हतारिएका थियौं। चम्पादेवीको तालुमा रमाउँन जोसिदै अघि बढ्न थालियौं ।काठमाडौंको धूँवा धूलो, कोलाहलमा रुमलिएको जिन्दगी, गाडीमा चढेर सयर गर्ने बानी परिसकेका हामीलाई पैदलयात्रा गर्न पाउँदा अनि हरियाली जंगलभित्र राताम्मे फुलेका लालीगुराँसको मनोरम दृष्यले तानिरहेको थियो।
चम्पादेवीको पाउँदेखि हेर्दा चम्पादेवीको शीरमा फुस्स फुस्स कुइरो उडिरहेको देखिन्थ्यो। मौसमले हामीलाई पूर्णरूपमा साथ दिएको थियो। तर हाम्रो हिडाइको तापले गर्दा पसिनाको धारा चिउँडादेखि झरिरहेको थियो सबै जनाको अनुहार असिन पसिन, रातो भएको देख्न पाइन्थ्यो।
चम्पादेवी मन्दिरको मण्डप सिङ्गारिएको सहजै रूपमा अनुमान गर्न सकिन्थ्यो। उकालो चढ्नु एकदमै कठिन रहेछ। अमित सर अघि बढ्नु भो सुरू सुरूमा त दौडिरहनु भएको थियो पछि त थाकेर खुइ खुइ गर्न लाग्नु भो म अमित सरको पछि पछि लागिरहेको थिए। हामी घनघोर जंगलभित्र पस्यौं जङ्गल सुनसान थियो चराचुरुङ्गीको आवाज पनि थिएन। बिहानको ८:३० बजेको थियो।
हामी सेपिलो ठाउँमा पुग्यौं। गर्मी समय भए पनि जंगल ओसिलो नै थियो। १९ जनाको ग्रुप गाउँदै रमाउँदै अघि बढिरहेका थियौं। अमित सर, मिन कुमार सर र म अलिक धेरै अघि बढिसकेका थियौं। पछाडीको टोली निकै पछाडि छोडिएको थियो। त्यस टोलीकी एकजना बैनीको ठूलो चिच्चाहट आवाज जङ्गल भरी गुन्जियो। हामी हास्यौं। हामीले अन्दाज गर्यौं। बैनी जुकादेखि डराइन् भनेर। साच्चिकै जुकाले सबैलाई भागभाग बनाएको रहेछ हाम्रो पनि खुट्टाभरी जुका आइरहेका थिए तर हामी जुका टिप्दै फाल्दै अघि बढिरहेका थियौं। जुकासँगको सङ्घर्ष हामीले विगतका दिनमै गरिसकेकाले हामीलाई त्यति असर गरेको महशुस गरेका थिएनौं तर पछिको ग्रुपका ती बैनीले पहिलो चोटी जुकाको आक्रमणमा पर्दा धेरै अत्तालिएर रुन लागिछन्। बैनी सहित ४ जना त्यहीबाट फर्किएको खबर हामीले पायौं।
हामी भने निरन्तर उकालो चढिरहेयौं। हाम्रो ग्रुपदेखि अन्य ३/४ वटा ठूला ग्रुप पनि अघि बढिरहेको थियो, विद्यालय, कलेज र इन्स्च्युट अनि विदेशी पर्यटकका साथै युवायुवतीसमेत गीत बजाउँदै, रमाइलो गर्दै उकाली चढिरहेका थिए।
काठमाडौं दक्षिणभेगस्थित दुई हजार २५० मिटर अग्लो चम्पादेवी क्षेत्रमा पदयात्राका लागि काठमाडौंको फर्पिङ, कीर्तिपुरको पुष्पलालपार्क, चाल्नाखेलको वोसनबाट पदमार्ग सञ्चालनमा आइसकेका रहेछन्।
पदयात्रा, दृश्यावलोकन तथा प्राकृतिक सौन्दर्यको अनुभूत गर्न चम्पादेवी साच्चिकै एक रमणीयस्थल रहेछ। नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वाश रहनुका साथै काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै जानुले पनि चम्पादेवीको गरिमा उच्च हुँदै गएको रहेछ।
छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौं दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकासमा जोड दिए अझ यस क्षेत्रको गरिमामय उच्च हुने निश्चित छ।
विशेषगरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न तथा सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिने रहेछ तर डाँडामा पुगेपछि हुस्सु लागेकाले हामीले भने अवलोकन गर्न पाएनौं।
यस डाँडाबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिने रहेछ ।
वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार भन्दा अतियुक्ति नहोला । लालीगुराँसले ढकमक्क ढाकिएको जंगलमा मन नै आनन्दित हुने सुन्दर दृश्य हेर्न तथा छोटो समयको पदयात्राका लागि पर्यटक लोभिएर लाम लस्कर लागेको हुनुपर्छ। मच्छेगाउँ–चम्पादेवी,फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत् चम्पादेवी पुग्न सकिने चम्पादेवी डाँडाबाट आँखैअघि देखिने सर्वोच्च शिखर सगरमाथाको दृश्यले सबैको मनै फुरुङ्ग हुने।
डाँडामा उभिएर काठमाडौं, भक्तपुर, ललितपुर तथा मकवानपुरका रमाइला दृश्य हेर्दा यस ठाउँबाट फर्कनै मन लाग्दैन। चम्पादेवीको दर्शन गरेर रमाइलो डाँडामा घुमफिर गर्दा समय बितेको पत्तो नी भएन हामी चम्पादेवीको तालुमा धेरै समय रमायौं अमित सरले गाएको भजन अझै पनि मानसपटलमा घुमिरहेको छ भने नाचेको गाएको दृष्य अझै पनि आखाबाट हट्न सकेको छैन।
तीन घण्टाको पदयात्रापछि हामी डाँडामा पुगेका थियौं। समुद्री सतहबाट २ हजार २ सय ५० मिटर उचाइमा रहेको चम्मादेवी मन्दिरमा पूजाआजा गरे शान्ति मिल्ने र चिताएको कुरा पुरा हुने भएकाले धार्मिक पर्यटकहरू पनि त्यहाँ पुग्ने गरेका रहेछन्। हामीले पनि पूजाआजा गरेयौं पदयात्राका क्रममा सुरूमा चराचुरुङ्गीको आवाज नसुने पनि उकालो पार गर्ने क्रममा हामीले कालिज, मैना, काँडेभ्याकुर, न्याउलो जस्ता चराहरूले जंगलको शोभा बढाइरहेको देख्न पायौं।
झ्याउकुरीको झ्याई/झ्याई खोल्साखोल्सीमा सुन्न पाइन्थ्यो भने काफल र ऐंसेलुको दानामा जुरेली चराहरू लुछालुछ गरेको दृष्य यति मनमोहक थियो कि हेरिरहूँ लाग्ने। हामीले पनि काफल र ऐंसेलुको दाना चाख्ने मौका पायौं। मृग, हरिणजस्ता जंगली जनावरहरूको कृडास्थल पनि यहीँ जंगलको थाप्लोमा देख्न पाइयो।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जामा लिनुपूर्व कीर्तिपुर हात पार्न चित्लाङ हुँदै यहीँ स्थानमा बसेर योजना बनाएको र कीर्तिपुर आक्रमण गर्न डाँडामा बंकर बनाएको ऐतिहासिक तथ्य थाहा पायौं।
ऐतिहासिकस्थल एवं बहुमूल्य जडीबुटीहरूको अध्ययन/अनुसन्धान गर्ने हो भने यस क्षेत्र प्रसिद्ध भन्ने निश्चित छ। हामी डाँडामा पुगेर रमाउँदै गर्दा ३ घण्टा बितेको पत्तो नी पाइएन हामीलाई प्रकृतिसँग भलाकुसारी र लुकामारी खेल्ने धित मरेकै थिएन । डाँडामा पानीको प्यास औधि लागेको थियो। बोतलमा बोकेको पानी उकालोमै सिद्धियो डाँडामा पानीको कुनै मुहान तथा स्रोत नभएकाले धेरै गार्हो भो।
राज्यले यस क्षेत्रलाई अझ व्यवस्थित गर्ने, मन्दिरको थाप्लोमा बस्ने प्रतिक्षालय तथा बाटोका ठाउँ/ठाउँमा प्रतिक्षालयको व्यवस्था र खानेपानीको व्यवस्था गरिदिने हो भने पनि धेरै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने थिए भने पदयात्रुलाई धेरै सहज हुनेछ। हामी प्रकृतिसँग मितेरी लगाएर फर्कियौं फर्किने क्रममा आकाश गज्रन थाल्यो पानी पर्न थाल्यो हामी पानीमा रुझ्दै पुनः गाडी चढेर बासस्थलतिर लाग्यौं।