उमेर छदाँ पैसा नहुने,
पैसा हुँदा समय नहुने,
समय हुँदा उमेर र पैसा नहुने।
हामी सबैसँग मिल्ने यो वास्तविकताले मलाई कहिलेकाहीँ यसरी पोल्छ कि मानौं जसलाई निभाउन आइसका चक्का खानुपर्छ। जोस जाँगरले भरिएको उमेर हुन्छ, घुमफिर, खानपान, साथीभाइसँग रमाउन मन लाग्छ, पकेटमा पैसा हुँदैन। बिहे गर्यो, बच्चाबच्ची भए, घरपरिवारका लागि भन्दै पैसा कमाउन थालिन्छ, अलिअलि जम्मा नि हुन्छ, यसो यताउता घुमघाम गरौं भन्दा समय नै नमिल्ने।
कहिले श्रीमानको कार्यालयको समय नमिल्ने त कहिले श्रीमतीको कामको समय नमिल्ने। कहिले केटाकेटीको स्कूलको समय नै नमिल्ने। समय मिल्ला र जाउँला भन्दाभन्दै उमेर घर्किसक्छ, रहर मर्दै जान्छन्, यो दुई दिने चोला पनि त्यसै बिति जान्छ, पैसा कहिल्यै बच्दैन्, समय कहिल्यै आउँदैन, उमेर फेरि भरिन्न।
यस्तो लाग्छ कि, यो उमेर, पैसा र समय भन्ने चीजमा मेल खोज्ने मजस्ताहरू सबै मुर्ख हुन्। उमेर हुँदा पैसा, पैसा हुदाँ उमेर अनि समय हुँदा उमेर र पैसा नहुने रैछ। यी तीन कुराले एकैपटक साथ दिएको सायदै अनुभूति गरिन्छ, यो व्यवहारिक वास्तविकता हो।
गएको चैतको पहिलो हप्ता हामीले युरोपका केही देशहरूमा पारिवारिक यात्रा गर्ने निर्णय गरेयौं। सजिलो थिएन यात्राको बन्दोबस्त गर्न। एक कक्षामा पढ्ने छोराको विद्यालयको कडा नियम छ, बिदा पाउने भनेको वर्षमा पाँच दिन मात्र हो। पोहर साल छोरालाई ज्वरो आउँदा क्लास मिसलाई खबर गरेर स्कूल नपठाको त किन पठाएनौं? तेस्रो पटक नि पठाएनौं भने मुद्दा खेप्न अदालत जानू भनेर स्कूलबाट चिठ्ठी आउँछ वा।
स्कूल पनि नछुट्ने र बिदा माग्नु पनि नपर्ने भनेर स्प्रिंग ब्रेक नै रोजियो । अनि, आफ्नो बिदा मिलाउन मलाई कत्ति पनि सजिलो थिएन। अरुको बिदा स्वीकृत गर्न जति सजिलो हुन्छ, कामको जिम्मेवारीले गर्दा आफ्नो बिदा आफैंले स्वीकृत गर्न साह्रै गाह्रो हुँदो रै’छ, अनुभव भयो। टिम बलियो भयो भने नसोचिएको काम पनि सफल सक्दो रै’छ। कहिलेकाही मान्छेहरू पनि सहयोगी भएर निस्किदिन्छन्। टिमले नै मेरो जिम्मेवारी बोकिदिने भयो। योभन्दा अर्काे सहयोग केलाई मान्ने ? हाकिमसँग प्रश्नउत्तर गर्नै परेन, अरु झन्झट खेप्न’परेन। बिदा स्वीकृत हुने पक्का भयो।
अब भने समयले साथ दियो, यात्रा हुने भयो। हामीसँग उमेर छ, समय नि मिलाइयो अब पैसाको कुरा रह्यो। पैसा सबै थोक त हो तर सबै थोक पैसा त हैन। विकसित देशमा घोटिने क्रेडिट कार्डले नसोचिएका र सोचेर नि पुरा नभएका सपनाहरू पुरा गर्न मदत गर्छन्। यसलाई सुविधाका रूपमा मान्नुपर्ला।
मार्च १९ तारिकमा न्युयोर्कको जेएफके इन्टरनेशल एयरपोर्टबाट हामी युरोप यात्राका लागि इटलीको रोममा उड्यौं। ‘चेक इन’ गर्ने ठाउँमा मेरो पासपोर्ट देखेर एकजना बंगलादेशी नागरिकले नेपालमा पछिल्लो पटक भएको दुखद युएस बंगाला एयरलाइन्सबारे कुरा गरेका थिए। हामी नी प्लेन चढ्दै थियौं मन अलिकति झसंग भयो। बादलको माथिमाथि, साथमा परिवार, सबै कुरा बिर्सिएर मन त्यसै उड्यो। अमेरिकाभित्रका कतिपय राज्यहरू यस्ता पनि छन् जहाँ पुग्न सात आठ घण्टा हवाइ उडान भर्नैपर्छ। समयको हिसाब गर्ने हो भने अमेरिकाको अर्काे राज्य पुग्ने समय अर्थात् साढे सात घण्टामा इटली पुग्यौं।यताबाट राति उडेका हामी उता पुग्दा दिउँसोको दुई बजेको थियो।
प्लेनभित्र मोनिटरबाटै खानेकुरा अर्डर गर्न सकिने र विल तिर्न सकिने फरक सिस्टमले मन तानेको थियो। रोम फुइमिसिनो (उच्चारण गलत हुन सक्छ, क्षमा) एयरपोर्ट हाम्रो युरोप यात्राको पहिलो पाइला थियो। एयरपोर्टबाट रेल चढेर पौने एक घण्टामा टर्मिनी नामक ठूलो स्टेशनमा पुगियो। स्टेशन नजिकको होटलमा झोला बिसाइयो। भोलिपल्ट रोम सहर हेर्ने ठूलो कौतुहलताले रातभरी निद्रा परेन। छेउमा छोराहरू फुसफुस निदाइरहे।
रोम आफैंमा इतिहास बोकेको ठाँउ हो । युरोपका रोम र ग्रीस पुराना र ठूला सहरका रूपमा संसारभर चिनिन्छन्। यीबारे किताबमा पढिएको थियो। यसपटक रोममा पुग्ने मौका मिलेको थियो। रोमको मानव सभ्यता हेर्न संसारका हरेक कुनाबाट आउने पर्यटकहरूले रोमको मानव सभ्यताको महत्वबारे दर्साएको महशुस गरिन्थ्यो। ८० मा बनेको विशाल कोलोसियमको भंग्नावशेष भवन हेर्नेको भीड देख्दा यस्तो लाग्थ्यो मानिसले जति नै विकास गरे पनि ती पुराना सभ्यताहरू उसका तथ्यहरू हुन् विकासका प्रमाणहरू हुन्। यातायातको राम्रो सुविधा भएकाले रोमका मुख्य आकर्षक स्थानहरू म्युजियम अफ रोम, रोमन फोरुमलगायतका स्थानहरू घुम्न धेरै समय लाग्दैन। रोमलाई हेर्दा यस्तो लाग्थ्यो, मान्छेहरू विकासका नाममा पुरातात्विक तथा मानव सभ्यतासँग जोडिएका सभ्यताहरू भत्काउन लागि पर्छन् तर यहाँ जोगाइएको देखियो। हामी नि त्यहिँ हेर्न पुगेका न थियौं।
रोमसम्म पुगेपछि संसारकै सबैभन्दा कम जनसंख्या भएको देश भ्याटिकन सिटीमा को नपुग्ला र? हामी नि पुग्यौं। त्यो देशका राजा अर्थात् क्रिश्चियनका धर्मगुरु पोपलाई भने देख्न सजिलो कहाँ होस् ?ठाउँ हेर्दै, तस्बिर लिँदै फर्किम्।
तीन दिनको रोम बसाइपछि हामी इटलीको अर्काे सुन्दर सहर भेनिस पुगेका थियौं। मुभिहरूमा देखिने सिनहरू आफ्नै आँखाले देख्ने र हातले छुने ठूलो सपना थियो। यही सपना पुरा गर्न रोमबाट २५० किलोमिटर प्रतिघण्टा स्पीडको रेल समात्यौं। यात्रा निकै रोमाञ्चक बन्दै गयो। पहिलो पटक चढेको यति हाइ स्पीडमा दौडने रेलले यात्रालाई छुट्टै अनुभव दिलायो। रेल भित्रको वाइफाइ सुविधाले केटाकेटीलाई आफ्नै दुनियाँमा रमाउन सहयोग गर्यो। स्पीडले बेलाबेलामा उनीहरूका कानमा कम्पन पैदा भएको र त्यो कम्पनले दुखाइको अनुभव गराएको सुनाउथे। साढे तीन घण्टामा हामी इटलीको सुन्दर सहर भेनिस पुग्यौं। ग्रयान्ड केनेलहरू भेनिस सहरको हेर्न लायक ठाउँ हो। पानीमा डुंगा मात्र चलेको देखेका हामीलाई ट्याक्सी, बसमा चढेर यात्रा गर्न पाउँदा कत्ति फरक अनुभव भयो होला ? मुभिमा देखेका दृश्यहरू आफ्नै आँखाले प्रत्यक्ष देख्दा र हातले छुदाँ आनन्द लाग्ने। अझ ती दृश्यहरूलाई व्याकग्राउन्ड बनाएर तस्बिर खिच्दा मन नै दंग।
भेनिसमा पानी माथिका सयौं पुराना भवनहरू देख्दा यस्तो अनुभव हुन्थ्यो, यो गोलो पृथ्वीमा हरेक स्थानको आफ्नै प्राकृतिक वा कृत्रिम सौन्दर्यता छन् जसले त्यस क्षेत्रको महिमालाई अहम बनाएका हुन्। मन नै लोभ्याउने ती दृश्यहरू जति क्यामरामा कैद गर्दा पनि औंलाहरू नथाक्ने।
ठाउँ मात्र हैन खानेकुराको स्वाद पनि फरक पर्छ। पिज्जा इटलियन फुडका रूपमा चिनिन्छ, यसलाई स्वादिष्ट बनाउने देशका आ-आफ्नै तरिका होलान्। इटलीमा पुगेपछि पिज्जा नखाइ फर्किने कसरी ? त्यसमाथि केटाकेटीको मन पर्ने फुड न पर्यो। चिकेन र भेजिटेबल मिक्स फिज्जा, स्पाइसी सस अन्ड साईड । साह्रै मिठो, अहिलेसम्म नखा’को अनुभव भयो।
सेन्ट मार्को स्क्वायरमा रहेको सयौं वर्ष पुरानो विशाल चर्चमा अवलोकन गर्न र प्रार्थना गर्न आउनेको भीडले धर्मप्रतिको आस्थालाई प्रगाढ गरेको थियो। केनल वरिपरिका साना-साना गल्ली, साना-साना पसलले हामीलाई भने ठमेलको झल्को दिइरहेका थिए।
इटलियनहरूले आफ्नै भाषालाई प्राथमिकता दिएको पाइयो। खानेकुराको लेवरमा समेत उनीहरूको भाषा भेटिनुले यसलाई पुष्टि गथ्र्याे। यात्राका दौरानमा कतिपय स्थानमा भाषाको समस्या पनि भोगियो। एउटा ठूलो ग्रोसरी स्टोरमा साधा पानी किन्न गएको अर्कै परेछ। कस्टुमर सर्भिसमा फर्काउन गएको त अंग्रेजी भाषा नै नबुझिने दिदी परिछन्। पछि बुझ्ने वाला आएपछि साटियो। भेनिसमा चल्ने सबै ट्याक्सीको रेट फिक्स पाइयो।
मेरो सपनाको सहर थियो फ्रान्सको पेरिस। भेनिसको मार्क पोलो एयरपोर्टबाट त्यसतर्फ उड्यौं, साढे एक घण्टामा पुगिदो रै’छ । फेशनको सहर भनेर चिनिने पेरिस सोचेभन्दा भव्य लाग्यो। ठूला-ठूला रेल स्टेशन, जहाँबाट निस्कनै नै समय लाग्ने। पुरानो र भव्य आइफल टावरलाई पेरिसको मुख्य आकर्षक केन्द्रविन्दु मानिन्छ।
त्यही टावरमा ट्याक्सी चलेको देख्दा त्यहाँको विकासलाई मान्नै पर्छ। टावर वरिपरि पर्यटकको घुँइचो थियो भने हाते व्यापारीले दैनिक राम्रै व्यापार गरिरहेको अनुमान लाउन सकिन्थ्यो। द लौभ्रे (The Louvre), नोट्र्रे डाम (Notre Dame), स्यानट चपेल्ले (Sainte-Chapelle), लगायतका ठाउँहरू घुम्दा समय बितेको पत्तै भएन। पेरिसमा फरक स्वादको खाना, ठूला खस्रा बाटा, भाषा शैलीले आनन्दित तुल्यायो। ठूला पेरिसका ठूला बाटोहरू पुराना ढुंगैढुंगा विछ्याइएका झै लाग्ने थिए, इटलीका बाटाहरू पनि उस्तै देखिन्थे। पेरिसका लागि तीन दिन पर्याप्त हुँदो रहेनछ। पेरिसले मन तान्दा तान्दै पनि हाम्रो तालिकाले हामीलाई डेनमार्गको कोपनहेगन एयरपोर्टमा पुर्यायो। कोपनगेहन हाम्रो स्वीडेन जाने ट्रान्जिट मात्र थियो। एयरपोर्ट बाहिर पुगेर खाना खाने, ड्यूटी फ्रिमा सामान किन्ने र गुगल म्यापमा ठाउँ खोज्ने समय भने प्रशस्त भयो।
कोपनहेगनबाट तीन घण्टाको रेल यात्रा गरेर स्वीडेनको सहर गोथनवर्गमा पुग्यौं।
यात्रा भनेकै फेमिली, फुड र फन हो। त्यसमा अर्काे एफ फेन्ड हुने हो भने त्यसले यात्रालाई थप पूर्णता दिन्छ। हाम्रो स्वीडेन र नर्वे यात्रा यसैसँग जोडिँदै थियो। यी दुई देशको यात्रामा साथीभाईको सहयात्राले त्यसलाई पूर्णता दिएको हामीले अनुभव गर्यौ। इटली र फ्रान्स हामी आफैंले तय गरेको तारिकामा हिँडेका थियौं भने अब हाम्रो यात्रामा साथीभाईको तालिका जोडिने छ।
अमेरिकामा रहँदा एउटै ठाउँमा बसेर पिएचडी सकि स्वीडेनमा बसाइ सर्नुभएका डाक्टर नरेश आचार्यले हाम्रो यात्रालाई थप रोमाञ्चक बनाउनु भएको बिर्सन पनि सकिँदैन। फरक देशमा पुग्दा फरक स्वादका खानेकुरा खाँदा नौलो अनुभूति गरिएको थियो। जब नरेश सर आफैंले बनाएको नेपाली दाल, भात, तरकारी, एभोकाडो अचार, आलुको अचारले यत्रो दिनसम्म नभरिएको पेट भरिएकोे जस्तो अनुभूति भयो।
गोथनवर्ग सहर धुमधाम, केटाकेटीका लागि कार रेसिंग, एक्वारियम भिजिट गर्दा गर्दै हाम्रो दुई दिने बसाई सकियो। नरेश सरले गोथनवर्गमात्र घुमाउनु भएन यात्रामासँगै जोडिएर नर्वेसम्मै पुग्नुभयो। स्वीडेनबाट तीन घण्टाको रेल चढेर सूर्य नअस्ताउने देश भनेर चिनिएको नर्वेको ओस्लो पुग्यौं। पढेर र सुनेर मन चञ्चल बनाइरहेको नर्वेले यसपटक मलाई नि ल्यायो। मौसम अलि चिसो थियो। अघिल्ला दुई दिनसम्म त हिउँले सेताम्य भएको रै’छ ओस्लो। भोलिपल्ट झ्याल खोल्दा चर्काे घाम लागिरहेको थियो। अब त हामीलाई भाग्यमानी मान्नुपर्ला। चर्को घाम, सेताम्य सहर कम्ता राम्रो देखिएन। होटलमा चेक आउट गरेर रेल स्टेशनमा नै लजेगहरू लग गरी राखेर छोटो समयमा धेरै ठाउँहरू घुम्न पाइयो। संसारको ठूलो स्कल्प्चर पार्क (Sculpture park) ओस्लोको नमूना केन्द्र लाग्यो, फरक अनुभूति दिलायो।
नर्वेको ओस्लोसम्म पुगेपछि यसपटकको यात्रालाई अन्तिम र फरक बनाउन नर्वेको अर्काे चिटिक्कको सहर बर्गन जाने तय गरिसकेका थियौं। नरेश सरले बिदाइका हात हल्लाउँदै स्वीडेन फर्किनुभयो। हाम्रो अर्काे रोमाञ्चकारी छ घण्टा लामो रेलको यात्रा जुन समुद्री सतहबाट ८६७ मिटरमाथिसम्म सुरू हुँदै थियो।
यात्राको दौरान कतै हिउँले ढाँकेका बस्ती, कतै स्की खेलिरहेका पर्यटक, कतै डर लाग्दा भिराला, कतै सूर्य अस्ताउन लागेको दृश्य, कतै हरिया डाँडा, पाखा दखियो जसले मन साह्रै लोभ्यायो। युरोप भ्रमणमा छुट्याउनै नहुने ओस्लोदेखि बर्गन रेलयात्रा पनि रै’छ।
यो रेल यात्राले बर्गनमा बसेर पिएचडी गरिरहनुभएका मदन स’वालको परिवारसँग जोडेको थियो। स’वाल स’र, रोजी र छोरी रेहनाको साथले सुन्दर बर्गन सहर यात्रालाई थप सुन्दर बनायो। विकसित देशमा छिरेकाहरूलाई फुर्सदको समय निकाल्न साह्रै गाह्रो हुन्छ तर स’वाल परिवारले बर्गन यात्रालाई स्वर्णिम बनायो। त्यो यात्रामा हाम्रो साथ दियो। सय वर्ष पुरानो केबुलबसमा चढेर समुद्री सतहबाट ३२० मिटर अग्लो स्थानमा पुगी सुन्दर बर्गनलाई आहा ! रोपबाट चलेको बस चढ्दा नेपालको केबुलकारको झल्को दिन्थ्यो। चारैतिर पहाडै पहाड, साना साना मिलेका बस्तीले बर्गनलाई सुन्दर बनाएको हो।
सामाजिक सञ्जालमा अपडेटेड स्टाटसहरूले हामीलाई बर्गनमै उमा र सुनिल सरसँग भेट गरायो। भेट मात्र गराएन मिठो खाना र न्यानो आतित्यथाको अनुभूति दिलाएको थियो। साथीभाइले बनाएको मिठो खाना, नयाँ ठाउँको सहज धुमधाम, गफगाफ, हाँसो ठट्टा गर्दागर्दै हाम्रो यात्रालाई बिट मार्ने दिन आयो। सुन्दर ठाउँ बर्गनबाट हाम्रो सुन्दर युरोप यात्रा पनि टुंगियो।
विकसित देशहरू भनेकै सुविधाका खानी हुन्। सुविधा भोग्दा भोग्दै स्वदेश फर्किन बिर्सिइन्छ। नफर्किने समय र नफर्किने उमेरमा रमाइलो गर्ने, नयाँ पुस्तालाई नयाँ ज्ञान र अनुभव सिकाउने उद्धेश्य रहेको यात्रामा थुप्रै नयाँ जानकारी पाइयो,देखियो।
घुमेका ती देशहरूमा पुरातात्विक चीजहरूलाई सम्पदाको रूपमा जोगाइएको पाइयो। बाटोघाटोहरूकै कुरा गर्ने हो भने पुराना र फराकिला बाटाहरूमा गाडी नै लर्किन सक्ने चिल्ला पिच भएको देखिएन। विकासमा नाममा विनाश भेटिएन। प्राइभेट गाडीभन्दा पब्लिक साधनहरू प्रयोग गरेको पाइयो, जसले गर्दा केही हदसम्म पृथ्वी जोगाउन सहयोग पुग्यो। प्लेन र रेलमा बाहेक सार्वजनिक शौचालय सशुल्क नै देखिए।
शौचालयबाट उठेको रकमसमेत स्थानीय विकासमा खर्चेर विकास गर्न सकिन्छ भन्ने उदाहरण सिक्न सकिन्थ्यो। यात्राहरू कहिल्यै पुरा हुँदैनन्, अन्त्य पनि हुँदैन।
यसपटकका लागि त्यत्तिमै बिट मारी फर्कियौं अमेरिका। न्युयोर्कको एयरपोर्टबाट झरेर बाहिर गाडीमा चढ्दै गर्दा चार वर्ष नपुगेको सानो छोराले बिजुलीको पोल देखाउँदै भन्दै थियो, आइफल टावर, देख्यौं?
‘ह्याभ यु इभर बिन इन द युरोप?’ जेठो छोराको स्कूलका जर्नलका पानाहरू यही प्रश्नबाट भरिन सुरु गरेका छन् अचेल। प्रत्येक दिन लेखिने जर्नलमा युरोपका गल्ली गल्ली समेटिरहेको देख्दा यस्तो लाग्छ युरोपका गल्लीहरू घुम्ने, खाने, मोज गर्ने स्थानमात्र हैनन् राम्रो शैक्षिक भ्रमण पनि हो।