सगरमाथाको फेदीमा


‘हाम्रै हिमाल हामीलाई नै देखाए हैन त?’ एक अमुक अन्तराष्ट्रिय संस्थामा कार्यरत एक सहकर्मिले एउटा अनौपचारीक फोटोको स्लाईड सो पछि ढोकाबाट बाहिरिँदै भनिन्। ती फोटोहरुको स्लाईड सो त्यसताका भर्खरै सगरमाथाको आधार शिविर पुगेर फर्किएका आफ्नै कार्यालयका दुई विदेशी सहकर्मीहरुले गरेका थिए।

फोटो देखाउनेक्रममा उनीहरु हामी सहभागिहरुलाई विभिन्न हिमाल, नाम्चे बजार, लुक्ला एअरपोर्ट ईत्यादि औंल्याउँदै चिनाउँदै थिए। मैले पनि फोटो हेरिरहँदा त्यस्तै महशुश गरेको जस्तो मेरो साथीले गरेकी थिइन्।

त्यस्तै अर्को प्रसंगमा क्यानडामा रहेका मित्र याम घिमिरेले आफ्नो लेखमार्फत त्यहाँका साथीहरुले नेपालका हिमालहरु घुमेका छौ कि? भन्ने आसयको प्रश्न सोद्धा नाजवाफ हुनु परेको प्रसंग उल्लेख गरेका छन्।

आफ्नो राष्ट्रिय परिचयसँग जोडिएको स्थलकाबारेमा अरुले नै बताईदिने अनि त्यसकाबारेमा सोद्धा नाजवाफ हुनुपरेको प्रसंगले मलाई निकै छोयो। हुन त सानैदेखि सुनेको, पढेको सगरमाथालाई छुने धोको भित्रि मनमा कतै अंकुरित थियो नै। यिनै प्रसंग अनि अन्तइच्र्छाको बलको फलस्वरुप होला सायद केहि महिनाअघि सगरमाथाको पदयात्रा गर्ने अवशर जुर्‍यो।

३ जना व्रिटिश नागरिक जोफ, माइक र कार्ल अनि पथ प्रदर्शक जीवन बरामजीसहित निर्धारित पहिलो दिन बिहान ५ बजे नै काठमाडौंबाट लुक्ला जानका लागि एअरपोर्टतिर लाग्यौं।

हाम्रो उडान ७ बजे भनिएको भए पनि लुक्ला जाने यात्रुको चापका कारण टिकट सम्बन्धि प्रशासकीय कामका लागि र सामान चेकजाँचका लागि निर्धारित समयभन्दा अघि नै एअरपोर्ट पुग्नुपर्ने जीवन जीको सल्लाह बमोजिम हामी  समयभन्दा केहि अगावै एअरपोर्ट पुगेका थियौं।

हाम्रो उडान करिब एक घण्टा ढिला गरी भयो । काठमाडौं—लुक्ला उडान समय लगभग २७ मिनेटको रह्यो। सगरमाथाको आधार शिविरका लागि पखेटा हालिदिएकोमा गोमा एअरलाई धन्यवाद दिँदै लुक्ला एअरपोर्ट छोड्यौं अनि नजिकैको खुम्बु रिसोर्टमा बिहानको खाजाको लागि पुग्यौं।

लामो पदयात्रामा सबै सामान आफैंले बोक्न गाह्रो हुने हुनाले हाम्रो यात्राको सहयात्री कमल र हरी हुने भए। काठमाडौंबाट आएका पाँचजनाको टोली अब ७ भयौं अर्थात मेरा सहयात्रीको भाषामा ‘लक्की सेभेन’।

बिहानको खाजापछि हाम्रो यात्रा अघि बढ्यो। लुक्लाबजार छोड्नेबेला बिराङ्गना पासाङ ल्हामु शेर्पाको स्मृतिमा बनाईएको गेटबाट छिर्दै गर्दा उनको सम्मानमा माथ निहुरियो।

अघि बढ्दै जाँदा देखिएको चौरीखर्कको विद्यालय रहेको ठाउँ, त्यसवरपरका हरियाली बालीनाली साँच्चै मनमोहक थियो त्यो दृष्य। विस्तारै खुम्बुतिर जाने र फर्कने पर्यटकको दोहोरीलत्ता शुरु भयो।

तन्नेरी पूस्ताका अलावा लठ्ठी टेकेर हिँडेका बुढाबुढी अनि केटाकेटिको खुम्बुप्रतिको आकर्षण देखेर मन खुशीले उचालियो। बाटोमा झोप्पे (गाई अथवा गोरू र चौरीको ठेक्पा), खच्चड, घोडा सामान बोकेर आवतजावत गरेका, अनि १२० किलोसम्मको भारी बोकेर हिँडेका भरियाहरुलाई देख्दा खुम्बुमा रमाइलो मात्र होईन दुःख पनि मिस्रित भएको अनुभुत भयो।

त्यो दिनको बासको टुङ्गो फाक्दिङमा भएको हुनाले हामी त्यहाँस्थित होटल वियर गार्डनमा अडियौं। फराकिलो डाईनिङ हलमा काठका टेवल बेञ्च, तिनमा काठै रंगका रंग थपेर उज्यालो बनाईएका, गलेर गएका पाउनाहरुलाई थकान बिर्साउने किसिमको थियो त्यो बनावट।

त्यताका होटलको अर्को विषेशता भनेको गोबर बालेर डाइनिङ हल तताउने फलामको हिटर रहेछ जसले जाडो मौसममा राम्रै राहत दिंदो रहेछ। भोलिपल्ट ७ बजेतिर हाम्रो यात्रा सुचारु भयो। त्यो दिन झोलुङ्गे पुलको दिन रह्यो। करिब ६,७ वटा झोलुङ्गे पुल तर्दै दुधकोशीको कञ्चन पानी, त्यस वरिपरीको हरियाली सासै रोकेर हेरिरहुँजस्तो लाग्ने सौन्दर्य हुँदै बाटो अघि बढ्यो।

हिलारी पुल पुग्नै लाग्दाको उकालो नजिकै  पुगेपछि हाम्रा पथ प्रदर्शक जीवन जीले २०७१ को महाभूकम्पमा आफू त्यही ठाउँमा आईपुगेको बताउनुभयो। भन्दै हुनुहुन्थ्यो “पोर्टरहरु अगाडि पहिरो नजिकै पुगिसकेका थिए, माथिबाट ढुङ्गा खस्न थाले, यता खोलातिर भागेर ज्यान जोगायौं।” केही क्षणको उकालोपछि हामी हिलारी पुल पुग्यौं।

पहिलेको पुल जिर्ण भएकोले अझ त्योभन्दा उचाईमा अर्को झोलुङ्गे पुल बनाइएको रहेछ। हावाको झोक्काले पुल निक्कै हल्लँदो रहेछ। भारी बोकेका मानिस अनि चोक्पे, खच्चडहरुलाई हल्लिएको पुल तर्न निकै मुस्किल पर्दो रहेछ। पुलका छेऊमा लुङ्दार बाँधिएका थिए। पुल तर्दै गर्दा नेपाललाई सगरमाथाका माध्यमबाट संसारमा चिनाउने अनि नेपाललाई निःशर्त माया गर्ने सर एडमण्ड हिलारीप्रति मनमनै श्रद्धासुमन व्यक्त गरेँ।

त्यसपछिको लगभग २ घण्टाको उकालोपछि हामी नाम्चेबजार पुग्यौं। सानैदेखि पाठ्यपुस्तकमा पढेको, फोटोमा देखेको नाम्चे बजार पहाडको काखमा अवस्थित रहेछ। ढुङ्गा छापिएका स—साना गल्लिहरुमा रहेका सफा पसलहरु पदयात्रीलाई चाहिने सबै सामानहरु लिएर सेवामा हाजिर थिए।

पर्यटकको बाक्लो उपस्थितिले नाम्चे जिवन्त थियो। बजार घुम्नेक्रममा संसारकै अग्लो ठाउँमा रहेको आईरिस पबको  साईन बोर्ड देखेर मेरा एक ब्रिटिश सहयात्री मुस्कुराए र भने- ‘वि विल सेट र रिकर्ड टुनाईट।’ दिउँसो त्यसो भनेका उनीहरु बेलुका वियर घुड्क्याउन संसारकै अग्लो पवमा पुगेर नयाँ रेकर्ड कायम गरे।

यात्राको तेस्रो दिन उच्च हिमाली बातावरणसँग घुलमिल हुनकालागि नाम्चे बजार र त्यस वरिपरी घुम्यौं। बजारमाथि डाँडामा रहेको संग्रहालय, तेङ्जिङ शेर्पाको शालिक र वरिपरीका हिमश्रृंखलाहरु त्यहाँका आकर्षण थिए। डाँडामा उक्लिएका धेरै पर्यटकका क्यामेराले फुर्सद पाएनन् निकैबेर। चौंथो दिन नाम्चेबाट तेङबोचेका लागि अघि बढ्दै जाँदा हिमश्रृंखलाहरू अझ साक्षात हुँदै गए।

पर्यटकको आवतजावत यति बाक्लो थियो कि मनमनै लाग्यो पर्यटन व्यवसाय अलि व्यवस्थित हुने हो भने हामीलाई सम्पन्न हुन केहि नचाहिने रहेछ। ठाउँठाउँमा त दोहोरीलत्ता हिंड्नेको भीडले बाटो नै पाउन मुस्किल हुन्थ्यो।

खानापछि तेङ्बोचे पुग्नेबेलाको उकालोले भने निक्कै मुश्किल पार्यो। तेङ्बोचेमा होटल हिमालय हाम्रो अर्को दिनको बास बन्यो। साँझमा मौसम चिसो थियो, कम्मरमा सेतो पटुकी बाँधेजस्तो वरिपरीका डाँडाँमा बादल लागेको थियो। बिहान उठ्दा हिउँ फुस्फुसाईरहेको थियो। वरिपरी आँखाले देखुञ्जेलका डाँडा हिउँले ढाकिएका थिए भने झ्यालबाट बाहिर आँखै अगाडि सिमलको भुवा झैं हिउँ झरिरहेको थियो।

यो मेरालागि एक अभुतपूर्व अनुभव थियो। हिउँका बावजुद त्यो दिन बिहानै डिङ्बोचेका लागि अघि बढ्नु थियो, हिउँमाथि हामिभन्दा केहि अघि हिंडिसकेका पदयात्रीका चापलाई पछ्याउँदै, सल्ला र गुँरासका रुखहरुबाट टाउकोमा झर्ने हिउँसँगै रमाउँदै हामी तेङ्वोचेबाट ओह्रालो लाग्यौं। बाटो पाङ्बोचे हुँदै अघि बढ्यो।

त्यहाँ आनीहरुलाई शिक्षा प्रदान गर्ने गुम्बा रहेको पथपप्रदर्शक जिवनजी बाट थाहा भयो तर समयाभाव अनि मौसमका कारण त्यहाँ धेरैबेर अल्मलिने फुर्सद भएन। केही अघि बढेर पुल तर्दै बाटो उकालियो। हिमाली नागिमा बाक्लै कपास छरे झैं हिउँको दृष्य हेरेर आँखा अघाएनन्।

दिनभरको हिउँको हिंडाईपछि डिङ्बोचे पुगेर त्यो दिनको यात्रा टुङ्गियो। वास्तवमा त्यो दिन र अर्को दिन उचाईको वातावरणसँग घुलमिल हुनका लागि डिङ्बोचमा बास बस्नु थियो।

आँखै अघि अब्दाबलम, अलिपर आईल्याण्ड पिक अनि अन्य हिमालहरुले घेरिएको त्यो उपत्यकामा १०, १५ वटा जति घर थिए। हाम्रो बास होटल वेलकममा भयो जहाँ पर्यटकहरुको घुईँचो नै थियो।

हाम्रो होटल नजिकै हिमालयन बेकरी रहेछ जहाँ कफि, वेकरी आईटमसहित प्रत्येक दिन दिउँसो फिल्म एभरेष्ट देखाईँदो रहेछ। हिमाली दुर्गम त्यो गाउँमा पनि आफ्नो स्वाद पाउँदा मैले त्यहाँ पर्यटकहले आनन्द महशुस गरेको अनुभुत गरेँ।

साथमा पैसा तिरेर गर्नुपर्ने मोवाईल अनि क्यामेराको ब्याट्रि चार्ज निःशुल्क पाउने व्यवस्थाले अझ मान्छेको आकर्षण बढेको होला सायद त्यो बेकरीप्रति। डिङ्बोचेको दुईरातको बसाईपछि हामी अघि बढ्यौं। त्यहाँबाट अलिकति उकालो चढेर, बाटो तेर्सियो। आँखै अगाडिका हिमाल र  काला ढुङ्गाका पहाडकाबिचको नागि डाँडाहुँदै अघि बढ्दा स्वर्गानुभूति भयो तर केहिबेरपछि वेगले चलेको हावाले उडाएको बालुवा छल्न भने निकै मुस्किल पर्यो।

यसरी थुक्ला पुगेपछि बाटो उकालियो। थोरै तर चहकिलो त्यो उकालो कटेपछि पुगिने थुक्लापासबाट देखिएको मनोरम हिमाली दृष्यले भर्खरै चढेको उकालो बिर्साइदिँदोरहेछ। थुक्लापासको अर्को विशेषता भनेको त्यहाँ विभिन्न हिमाल आरोहण गर्नेक्रममा दिवगंत भएका व्यक्तिहरुको स्मृतिमा स्तम्भहरु बनाइएका रहेछन्। उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हामी अघि बढ्यौं।

त्यहाँबाट ढुङ्गेनी बाटोहुँदै त्यो दिनको बासस्थान लोबुचे पुग्दा ज्यान थकाईले चुर भएको थियो। दुई जना साथीहरुलाई भने लेक लाग्दाका लक्षण खाना नरुच्ने, टाउको दुख्ने भयो। केही घर, होटल भएको लोबुचे ४९१० मिटरको उचाईमा अवस्थित रहेछ। हाम्रो बास होटल ‘मदर अर्थ’ मा भयो।

अर्को दिन हाम्रो गन्तव्य सगरमाथाको आधार शिविर भएकोले चिसो मौसम अनि उचाईका कारण स्वास्थमा भएको सामान्य गडबढीका बाबजुद हाम्रो टोली उत्साहित थियो। लोबुचेबाट गोरक्षेप पुग्न धेरै दिन हिँडेको थकित ज्यानलाई लगभग पौने तीन घण्टा लाग्यो।

गोरकक्षेपबाट सगरमाथा आधारशिविर पुग्न ढुङ्गैढुङ्गाकोबाटो अघि बढ्दो रहेछ, केही ठाउँमा बाटोमाथि ढुङ्गा खस्ला झैं गरेर अडिएका। छेवैमा खुम्बु हिमनदि, त्यससँगै हिमालका लहर, कठिन बाटो र थकानलाई आधार शिविर पुग्ने उत्साहले जित्दै लग्यो। अघि बढ्दै जाँदा अर्को समूहका पथप्रदर्शकले आफ्ना टोलीका पर्यटकहरुलाई अलि पर औंल्याउँदै सगरमाथाको आधार शिविर देखाउँदै थिए।

एकाएक मेरा कान पनि ठाडा भए। मैले उनले देखाएतिर हेरेँ। आधारशिविरको स्तम्भमा मानिसहरुको भीडभाड थियो। त्यसदेखि उता खुम्बु हिमनदी अनि त्यसदेखि पारी सगरमाथाको शिखर चुम्ने आकांक्षीहरुले टाँगेका पहेंलै टेन्टहरु, त्यसनजिकैबाट हिउँ जमेको भागको शुरुवात हुनेरहेछ।

आँखै अघिल्तिर आधार शिविर देख्दा मन खुशीले फुलेल भयो।  त्यसको केहिक्षणमा हामी पनि वेश क्याम्पको स्तम्भ भएको स्थानमा पुग्यौं। ढुङ्गा थुपारेर अलि अग्लो बनाईएको, लुङ्दा बेरेको स्तम्भमा झुम्मिएर पर्यटकहरु आफ्नो गन्तव्य आइपुग्न सफल भएकोमा चिच्याएर, उफ्रिएर खुशीयाली व्यक्त गर्दै फोटो खिच्दै थिए।

मेरा लागि पनि सानैदेखि सुन्दै, पढ्दै आएको, हाम्रो राष्ट्रिय गौरव र परिचयको रूपमा स्थापित सगरमाथाको आधार शिविरको छेवैमा पुग्दा अनि आफ्नै हातले त्यसको फोटो खिच्दाको अनुभूति शब्दमा अवर्णनिय रह्यो। त्यहाँ पुगेपछि हाम्रा पथ प्रदर्शक जीवन जीले ‘मैले सगरमाथा छोएँ, तपाईँले नि?’ लेखिएको टिसर्ट उपलब्ध गराउँदा गौरवानुभुति भयो।

त्यहाँबाट फर्कंदै गर्दा मनले भन्यो मैले मेरो उचाई आफैं स्पर्श गरेँ, अब कसैले हिमाल र सगरमाथा नजिकै पुगेको छस् भन्दा कम्तिमा निरुत्तर हुनुपर्ने छैन, यो अवशर प्रत्येक नेपालीलाई कम्तिमा एकपटक जुरोस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.