केन्जिङ भ्यालीमा स्वर्गका टुक्रा !


‘आयो है अमिलो मीठो टमाटरको अचार, गुन्द्रुकको अचार, टिमुरको अचार’

राम्जेको होटलको भाइले यसो भन्दा हामी लखतरान भएकालाई के चाहियो?

राम्जेको होटल पुग्दा नै असिनपसिन भइएको थियो। उनको कुरा साँच्चै भन्ठानेर मैले हत्तपत्त ‘टमाटरको अचार खाऊँ है यता’ भनिहालेँ । साथी ज्ञानेन्द्रले पनि गुन्द्रुकको अचार मगाए। भाइले त जोक्स पो भनेको रहेछ। ल्याउँदा त मुलाको भुजुरी नै पो रहेछ।

२०७४ कात्तिक २३ को कुरा हो। रसुवागढीमा केही सरकारी काम सकेर स्याफ्रुवेसी पुग्दा राति १२ बजिसकेको थियो। तयारीविनै हिँडेका हामीले केही औषधि र चकलेट किनेर भोटेकोसी (तिब्बतबाट आउने खोलालाई भोटेकोसी नै भन्ने चलन रहेछ, हामीले त भोटे त्रिशूली पनि भन्यौं कतै कतै) किनारको यात्रा सुरु गर्यौं करिब १ बजे।

करिब ३ घण्टाको हिँडाइपछि खोलाकै किनारमा रहेको एउटा होटलले यतै बसौं भनेको आग्रह बेवास्ता गर्दै हामी अघि बढ्यौं। छङछङ गर्दै आएको नदीको किनारै किनार हिँड्यौं। झमक्क साँझ पर्दा बास बस्ने होटलको छानो देखिएपछि साह्रै आनन्द महसुस भयो। धन्यले राम्रै कोठा पाइयो। होटल होस् वा बाटोमा हामीले आन्तरिक पर्यटक (नेपाली) देखेनौं। भरिया र गाइडका रुपमा आएका नेपाली मात्र देखिन्थे। जंगलको पुछारमा लामा होटल (ठाउँको नाम) रहेछ, भारी बोक्ने खच्चडदेखि पर्यटकसम्म सबैको आश्रयस्थल बनेको त्यो ठाउँमा ६/७ वटा होटल रहेछन्।

सबेरै ६ बजे नै ब्रेकफास्ट खाएर हामी बाटो लाग्यौं। लाङटाङको बेसीजस्तै लाग्ने र हरियाली हुने पहाडको अन्तिम गन्तव्यमा बिहान १० बजे पुग्यौं। एकछिन विश्रामपछि होटलमा चियाको चुस्की र तातो पानी अमृतसरह नै लाग्यो। जति माथि गए पनि पानीको छङछङ र नदीको आकार घटेको पाइएन। हाइड्रोपावरका गफ र खोला किनबेचका कुरा बाटो हिँडाउने साधन भइरहे।

लाङटाङ गाउँ नपुग्दै बाटोमा थुप्रै होटल भेटिए। तीमध्ये अन्तिम होटललाई हामीले खाना खाने गन्तव्य छान्यौं। सामान्य खानाको सेट र तातो पानी। चिसो त मुखमा राख्नै नसकिने। एक थर्मस (१ लिटर) तातो पानीको छ सय रुपैयाँ तिर्नुपर्ने रहेछ। त्यस्तो चिसो ठाउँमा पनि त्यस्तो सेवा पाउँदा पैसाको त चर्चा गर्नु नै व्यर्थ जस्तो लाग्छ। विदेशीका लागि मेनुमा विभिन्न खानेकुरा उल्लेख हुँदो रहेछ भने नेपालीका लागि सामान्य दालभात र अचार। कतिपय होटलमा आन्तरिक पर्यटक, टुरिष्ट गाइड र भरियाका लागि खानेबस्ने सुविधासमेत छ भनेर लेखेको देखियो।

वैशाख १२ को भूकम्पमा हिउँपहिरोले लाङटाङ गाउँ पूरै सखाप पारेको समाचार सुनिएको थियो। हामी पुग्दा पुरानो गाउँ भनिएको ठाउँमा ढुंगामाटाका ग्रेगर मात्रै थिए। लाङटाङ हिमालदेखि हिउँ पहिरो खसेछ। त्यसले तलको भूभागलाई धक्का दिँदा ग्लेसियर जसरी खसेर गाउँ नै सखाप पारेको रहेछ। भूकम्पकै समय अन्य स्थानमा पनि पर्यटकहरु परेको सामान्य सूचना र ढुंगाका स्मारक बनाई सम्झना गरिएको रहेछ। पुरानै ढाँचामा गाउँ बन्न नसके पनि पहिरो पासपछि घरहरु बनाइएका रहेछन् र कति बन्दै पनि रहेछन्। करिब २० मिनेटको बाटोविहीन हिँडाइमा बल्ल पहिरो छिचोल्न सकियो। त्यहाँ जमिनभित्र पानी छङछङ गरेको आवाज सुनिन्छ। ढुंगाहरु खसिरहन्छन्। माथि हेर्दा भीमकाय लाङटाङको टुप्पा मात्रै देखिन्छ भने अरु काला पहाड हिउँ पर्खिरहेका जस्ता लाग्छन्।

करिब ४ बजे लाङटाङ पार गरियो। मुण्डुप पुगेपछि आजको हिँडाइ र उचाइ अलि गोर्खे नै रह्यो भन्ठानेर हामीले भर्खर बनेको होटल छान्यौं बासका लागि। पर्यटक कम भएका र चिसो बढ्दै गइरहेकाले होला, बास बस्न कतै गाह्रो परेन। चार जना थियौं, बाहिर चिसो हावाले एकै छिन पनि उभिन नसकिने, त्यस्तो उचाइमा तत्कालै सुत्न पनि नहुने। अनि त? एक बुक तास बोकिएकै थियो, कलब्रेक चल्यो।

साँझ खाना खाँदा नै बिहानको ब्रेकफास्टको अनुरोध गरियो। बिहान नखाई हिँड्न पनि नसकिने, फेरि खानलाई बनाइन्जेल कुर्न पनि समय लाग्ने। बिहान ब्रेकफास्टमा यात्राभरी एउटै मेनु रह्यो- रोटी र अमलेट। त्यो पनि हेलिकप्टर चढेर गएको।

लाङटाङ गाउँ नै एउटा रमणीय भ्याली रहेछ भने मुण्डुप अर्को अलि उचाइको भ्याली। अबको हाम्रो गन्तव्य केन्जिङ भ्याली। केन्जिन गुम्बाका नामले प्रसिद्ध रहेछ करिब ३९०० मिटर उचाइमा। बिहान दाँत माझ्न समेतलाई तातो पानी चाहिने। धन्य जोहो गरियो र ब्रेकफास्टपछि त्यहीँ फर्कने सर्तमा लठ्ठी मात्रै टेकेर बाटो लागियो। अब बल्ल सुरु भयो स्वर्गका टुक्रा पृथ्वीमा खसेका स्थान। दायाँबायाँ सेताम्य हिमाल भ्यालीको समथर बाटो अलि अलि उकालो। करिब ९ बजे हामी गन्तव्य केन्जिन गुम्बा पुग्यौं।

हेरेर नअघाइने प्रकृतिको यो स्वरुप। तीनैतिर सेताम्य फुलेका पहाड। पश्चिम उत्तर ढसमस्स परेको लाङटाङ र दायाँबायाँ उसका नन्दीभृंगीहरु। टाढा देखिने ग्लेसियर, फेदैमा हिमाल रसाएको रसिलो लाग्ने केन्जिङ भ्याली। फुटबल, क्रिकेट ग्राउण्ड जे बनाए पनि हुने समथर भ्यालीमा समेत घामलाग्दा टल्कने हिउँका कणले अझ शोभायमान बनाएका पहाडका फेदी। सिरसिर चल्ने चिसो हावामा बयेली खेल्ने याकहरु। अनि किन नमरोस् यात्राको थकान।

कि त घर भित्र बस्न पर्यो कि त तलतिरै झर्नपर्यो, अन्यथा चिसो हावा बढ्दो छ। हामीले आफ्नो ब्यागप्याक मुण्डुपमा नै छाडेर आएकाले बाटो लाग्नु नै श्रेयस्कर ठानेर करिब २ घण्टाको विश्राम र दृश्यावलोकनपछि फर्कियौं। बास बसेर ब्रेकफास्ट खाएकै ठाउँमा खाना भनिएको थियो, पर्खनु परेन। एक जना आमा रहिछन्, छोराछोरी काठमाडौंमा पढ्दै। एक्लै होटल चलाउन नसकिने, त्यही भएर पालो लगाएर कहिले छोरा त कहिले छोरी जाँदा रहेछन्। पैसा कमाएर पढ्न जाने रे।

लामा होटल पुग्ने लक्ष्य राखेर लगातार हिड्यौं खुट्टा दुखुन्जेल। विदेशीको दुई दिनको हिँडाइ करिब आधा दिनमै सकियो पनि। झमक्कै साँझ पुगियो लामा होटल। बाटोमा धेरै विदेशीले पनि सोद्धा रहेछन् अब कति छ भनेर? अगाडि नै होटल बुक गरेका कारण त्यहाँ पुग्नुपर्ने । बाटा छेवैको होटल छानियो, अलि टाढा रोज्नलाई जाने शक्ति पनि रहेन शरीरमा। लखतरान ज्यान ढल्काउन पाए पनि आराम हुँदो हो। फेरि भोलि बिहान यात्रा गर्नु त छँदैछ। उही ब्रेकफास्टको मेनु सबेरै अनुरोध गरेर कलब्रेकको आनन्दपछि रात बिताइयो लामा होटलमा। यात्रा अवधिको अन्तिम हिसाबकिताब पनि गरेर समग्र खर्च शीर्षकमा जोड्दा कम्ता रमाइलो भएन।

राम्जेको होटलमा एक नेपालीले सोधे आन्तरिक पर्यटक ठानेर। उनले बाटो पनि फरक जान सल्लाह दिए। हो त, उही बाटो किन हिँड्नु भनेर हामी खोलाको बाटो छाडेर पहाडको उचाइको बाटो रोजियो। दुई घन्टाजति त उकालो मात्रै हिँड्नुपर्ने रहेछ। त्यो बाटोबाटै खच्चडमार्फत् सामान ढुवानी गरिँदो रहेछ देउरालीदेखि। बाटोमा सल्लाह दिनेसँग पटक-पटक रिस उठे पनि अग्ला पहाडलाई समानान्तर हेर्न पाउँदा रिस मर्थ्यो। एउटा उचाइमा सुस्ताइरहँदा एक जना फ्रेन्च महिला ट्रेकर भेटिइन्। नेपाली पनि बोल्न सक्ने। उनी ३४ वर्ष देखि प्रत्येक सिजनमा, नभए पनि वर्षको एक सिजन ट्रेकिङका लागि नेपालका पहाड नछुटाएको भन्दै थिइन्। अबको पालो आउँदो वैशाखको सिजन ( अप्रिल/मे २०१८) मा पश्चिम नेपाल जाने रे।

हामी सहर घुम्छौं, विदेश घुम्छौं। त्यो बेला हामीलाई पैसा र समय चाहिन्छ। पहाड र उचाइ घुम्न हामीलाई साथी र स्वास्थ्य पनि चाहिँदो रहेछ। आँखाले खिचेका तस्बिर कैद गर्ने क्यामरा हुँदैनन्। मनले गुथेका भावना पोख्न अक्षर कमै होलान्। शरीरले गरेका अनुभव भन्न गाह्रै होला। तसर्थ मौका नछुटाई उचाइको मज्जा लिन सबैलाई सल्लाह छ।

हामीलाई शेर्पागाउँ हुँदै र जंगलमा जंगली जनावरको आवाज सुन्दै जसरी पनि साँझसम्म स्याफ्रुवेसी पुग्नु थियो। स्याफ्रुवेसीको सिरमा एउटा रमाइलो गाउँ रहेछ। होटलकी दिदी अझै फरासिली। हामीले पनि गफै गफमा उसिनेको आलु, त्यहीँको रायोको साग, सलगम र मकै, भटमासलाई आजको खाना बनाउने निधो गर्यौं। पारीलो घाममा पहाडको छतैनिर क्षितिजमा अनेकानेक हिमाल, पहाड र गाउँ नियाल्दै गफ्फियौं।

त्यसपछि खच्चडसँग प्रतिस्पर्धात्मक दौडजस्तै लगातारको ठाडो ओरालो ओर्लियौं स्याफ्रुवेसीसम्म। त्यहाँबाट गाडी चढेर काठमाडौं।

मनभरि साँचेका भावना र आँखाले खिचेका प्राकृतिक अनुपम सौन्दर्यको वर्णन कसलाई गरुँ भनेर बाटोभरि हुटहुटी भइरह्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.