पनौती आफैं पनि पर्यटकीय ठाउँ भईकन पनि पनौतीको वरपर पनि घुम्ने ठाउँ निकै छन्। बल्थली, पलाञ्चोक भगवती, दोलालघाट, लाँकुरी भञ्ज्याङ जस्तै नमोबुद्ध पनि एक हो। यही नमोबुद्धमा आज अर्थात् कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) को दिन विशेष मेला लागेको छ।
त्यसो त काठमाडौं दक्षिणपूर्व अवस्थित पनौती नगरलाई विभिन्न नामले पुकारिन्छ। परापूर्व कालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न मकर संक्रान्तीको सुकेको बाँस पानीले खिइएर चिल्लो भइसकेको ढुंगामा गाडेर यिनी अन्य धार्मिक स्थलतर्फ लागे। बाह्र वर्षसम्म यताउति घुमिफिरी शची तीर्थमै आइपुगे र बाँस पलाएको देखे। त्यसबेला देखि यस ठाउँको धार्मिक महत्व थाहा पाई ‘पँ लोहँती’ अर्थात् ढुंगामा बाँस पलाएको भनि नाउँ दिए।
नेवारी भाषा अनुसार ‘पँ’ को अर्थ बाँस र ‘लोहँ’ को अर्थ ‘ढुंगा’ हुन्छ। दोश्रो कथन अनुसार ‘पँ चुली’ अर्थात् बाँसको टुसा (हाँगा) भन्ने मूल शब्दबाट नै ‘पाञ्चाली’ हुन गएको हो भन्ने छ।
धेरै मानिस नेवारी शब्द ‘पँ लोहँती’ भन्नाले ढुंगामा बाँस र ‘ती’ भन्नाले ‘तीर्थ’ पनि बुझाउने भएकाले नै ‘पन्ती’ शब्द हुन गएको विश्वास गर्दछन्। पनौतीलाई नेवारीमा ‘पन्ती’ र स्थानीय भाषामा ‘पनाती’, ‘पलाँती’ भनिन्छ। एउटै ढुंगामा अडिरहेको विश्वास गरिने पनौतीलाई अस्म नगर (पवित्र तथा अलौकिक ढुंगामा अवस्थित शहर) पनि भनिन्छ।
बौद्ध कथन अनुसार पनौतीलाई ‘पाञ्चाल देश’ भनिन्थ्यो। यसै पाञ्चाल राज्यमा राजा दिर्गरथले शासन गर्दथे। उक्त राज्य (हालको पनौती लायकु क्षेत्र) मा राजा दिर्गरथको भव्य दरबार थियो। उनको कुलमा बुद्धका ३२ औं अवतार मानिएका पनौतीका राजकुमार महासत्वको जन्म भएको विश्वास गरिन्छ। उही राजा दिर्गरथका नाति राजा महारथका तीन भाइ छोराहरु थिए। त्यसमध्ये कान्छो राजकुमार महासत्व एक दिन शिकार खेल्न निस्किने क्रममा पनौतीबाट करिब दश किमि पूर्व स्थित गन्धकूट पर्वत (नमोबुद्ध) नजिकैको जंगल तर्फ लागे। घोडामा सवार महासत्व यताउती घुमेर जीवजन्तुको शिकार खेल्ने क्रममा सोही जंगलमा एउटा सुत्केरी हुनै लागेका बघिनीको हृदयविदारक अवस्था देखे।
उक्त बघिनीको शारीरिक अवस्था कुनै हालतमा सुत्केरी हुन सक्ने खालको थिएन। गर्भिणी बघिनीको यस्तो हालतबाट मानसिक रुपमा विचलित महासत्वले आफ्नो साथमा रहेको तरबारले भटाभट आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाए। यसरी बघिनी बचे र डमरुहरु जन्माउन सफल पनि भए। यसरी महासत्वले निर्वाण प्राप्त गरेको करिब ६ सय वर्ष पछि बुद्ध घुम्दै फिर्दै यहाँ आईपुग्दा महासत्वको तपस्या गर्न नतमस्तक हुनु परेकाले ‘नमोबुद्ध’ नाम रहन गयो भनिन्छ।
नाम्मुढा पनि भन्ने गरिएको यस चैत्यबाट अलि माथि गन्धकूट पर्वतमा महासत्वले बघिनीलाई मासु खुवाउँदै गरेको प्रतीक स्वरुप मूर्ति पनि छ। दिवंगत मानिसका अस्थि ल्याएर यहाँ हालिदिए मुक्ति मिल्छ भन्ने विश्वास छ बौद्धमार्गीमाझ।
यस्तै एउटा किंवदन्ती करिब ६ हजार वर्ष अगाडिको पनि छ। त्यस समय शिंघत छेन्पो नाम गरेको एक प्रतापी राजा रहेछ। उनका पनि राजा महारथका जस्तै तीन भाई छोरा रहेछ। त्यसमध्ये कान्छो राजकुमारको नाम सेमचेन छेन्पो रहेछ। सेमचेन छेन्पोले पनि नमोबुद्ध क्षेत्रमै भोकाएकी बघिनीलाई आफ्नै मासु काटेर ख्वाई मुक्ति पाएको उल्लेख छ। किंवदन्ती भएका कारण अघिल्लो कथा र यस कथा वस्तुमा सत्यता छ, छैन, त्यो आफ्नो ठाउँमा छ।
हाल पनि प्रत्येक वर्षको भाद्र कृष्ण द्वादशीको दिन राजा महारथको दरबार पनौतीको न्हुबहालमा नमोबुद्धबाट राजकुमार महासत्वको प्रतीक स्वरुप ‘नमोबुद्ध’ को मूर्ति ल्याइन्छ र भोलिपल्ट भाद्र कृष्ण त्रयोदशीको दिन अजाजु, अजिमाको मूर्तिका साथ बेलुका धूमधाम जात्रा गरी न्हुबहालको परम्परागत घरमा माता–पिता भेट्न भित्रयाइने परम्परा अहिले पनि जारी रहेबाट पनौती र नमोबुद्ध बीचको अहिलेको सम्बन्धले अघिल्लो किंवदन्तीमा बढ्ता सामीप्यता पाइन्छ।
भाद्र कृष्ण द्वादशीको दिन नमोबुद्ध ल्याउँदा (सिन्दूर जात्रा गर्दा) र भाद्र कृष्ण त्रयोदशी अर्थात् पञ्चदानको दिन बेलुका नमोबुद्धको जात्रा गर्दा गुँलाबाजा बजाइ नगर परिक्रमा गरिन्छ। बौद्ध धर्मावलम्बीले बहाः, बही वा आफ्नै घर आँगनमा दीपंकर, बुद्ध, बसुन्धरा, करुणामयका मूर्ति, पौभा आदि सजाई विभिन्न सामाग्री दान गरी पञ्चदान मनाइन्छ। यस पर्वमा खासगरी धान, चामल, गहुँ, सानो केराउ, रोटी, नुन तथा अन्य दैनिक आवश्यक बस्तुहरु दान गरिन्छ। दान ग्रहण गर्नेहरुमा बुद्धाचार्य, बज्राचार्य तथा शाक्य लगायतका बौद्धमार्गी हुन्छन्।
धल्चा भजन
पनौती परम्परागत कला संस्कृति, धार्मिक, ऐतिहासिक, व्यापारिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो। पनौतीमा थुप्रै सांस्कृतिक निधि, चालचलन छन्। पनौतीका यस्तै चालचलन मध्ये एउटा हो – धल्चा भजन गायन।
आषाढ शुक्ल द्वादशी देखि कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) सम्म दिनदिनै बेलुका अन्य कतिपय नेवार बस्तीमा जस्तै पनौतीको विभिन्न पाटीहरुमा पनि ‘धल्चा’ भनिने विशेष भजन गाइन्छ। चतुर्मास अवधिभर सार्वजनिक पाटी बेलुका बेलुका ढोलक, झ्याली लगायतका वाद्यवादनहरु बजाई विशेष भजन गाइन्छ। पनौतीमा प्रायः सार्वजनिक पाटीमा साँझ धल्चा भजन गाउने गरेपनि पनौती त्रिवेणीघाटमा भने बिहान उक्त भजन गाइन्छ। सम्भवतः भक्तपुरमा गाइने भजनसँग यी भजन धेरै मिल्छ।
चर्तुमास अवधिभर गाइने यो भजनमा विशेषगरि कृष्ण लीला सम्बन्धि गीत गोविन्दम् भजन गाइन्छ। टोल वा पाटी पिच्छे एक दुई पृथक भजनहरु गाइएपनि पनौतीभर गीत गोविन्दम्को भजन पुस्तिका एउटै हो। गीत गोविन्दम्मा प्रलयपय, सिताकमला, ललितल, चण्डन, सञ्चल, नृभितनी, मामीयञ्चली, निन्दती, तनबिनु, बहति, रतिसुख, पश्यन्ती, कथित, समरस, समुदित, अनिरत, रजनिज, हरिरवि, बधसि, विरंचित, मञ्जुतल, राधा, किशलय र कुरुयत गरि जम्मा २४ अध्याय छन्। प्रत्येक दिन एउटा अध्याय मात्र गाइन्छ। र यस मध्ये खोला वरिपरि बसी राधाकृष्ण बीच गर्ने जुहारी सम्बन्धी भजन बधसि र विरंचित गरि दुईटा चाहिं एकैदिन गाउनुपर्छ। गीत गोविन्दम्का २४ अध्याय २४ थरि लयमै गाउनु पर्दछ। त्यसैकारण अलि गाह्रो मानिन्छ। टेलिभिजन, इन्टरनेट लगायतका सुविधाको कारण धल्चा भजन गायन कार्यमा निकै शिथिलता आएको पाइन्छ।
धल्चा भजनको साङ्गे हुने दिन अर्थात् कार्तिक शुक्ल पूर्णिमा सकिमना पुन्ही को दिन घरैपिच्छेबाट आफ्नो क्षमता अनुसार आफ्नो नजिकको भजन गाउने पाटीमा भुटेको मकै, भटमास, गेडागुडी, उसिनेको पिंडालु र सखरखण्ड चढाउन ल्याउन्छन्। त्यसरी संकलित खाद्यपदार्थहरुबाट गणेश मन्दिर, देवलको रुपमा कलात्मक तरिकाले प्रदर्शित गरिन्छ। यसै दिन भूमीडाँडा स्थित भालेश्वरमा गई रुद्री गरि प्रसाद लिई फर्केर बेलुका काठं गणेश मन्दिरको पाटीमा पनि भुटेको अन्न तथा गेडागुडी, उसिनेको पिंडालु र सखरखण्डको आकर्षक कला प्रदर्शन गरिन्छ। धल्चा भजनको साङ्गेको राती अन्तिम भजन गाइसकेपछि आरति उतारिन्छ र ती खाद्य पदार्थहरु प्रसाद स्वरुप बाँडिदिन्छ। प्रत्येक वर्ष यसरी जाडो, वर्षा सही गाउने विशेष भजनको अन्त्य हुन्छ। र अर्को वर्ष पुनः यहि क्रम शुरु हुन्छ। श्रद्धालु वृद्धले यो सांस्कृतिक चलनलाई अझ सुचारु राखिराखेका छन्।
यसै दिन पनौतीबाट पूर्वमा अवस्थित प्रसिद्ध बौद्ध तीर्थस्थल नमोबुद्धमा विशेष मेला लाग्दछ। यस दिन प्रेमी प्रेमिका जोडी नै नमोबुद्ध आए तिनीहरुको प्रेम सफल हुन्छ भन्ने विश्वास भएका कारण उक्त दिन नमोबुद्धमा प्रेमिल युवायुवतीको व्यापक घुईंचो लाग्दछ। कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) को दिन नमोबुद्ध घुमेर राती पनौतीमा बास बस्नुभयो भने धल्चा भजनको साङ्गेको मज्जा पनि लिन पाइन्छ।