म्यानरिजम


अपरिचित नम्बरबाट फोन आयो, ‘मलाई तपाईंको एक जना साथीले नम्बर दिनु भएको।’

‘ठीक छ’, मैले भनें।

‘तपाईं अहिले कहाँ हुनु हुन्छ?’, उसले सोध्यो।

‘बालाजु’, स्कुटर स्टार्ट गरिसकेको मैले कानमै मोबाइल च्यापेर भनें।

‘तपाईं १५ मिनेटमा ठमेलको नर्सिङ चोक आउनुसक्नु हुन्छ?’, उसले हतारिएको स्वरमा भन्यो।

‘किन र?’, मैले जान्न चाहें।

‘दुई जना विदेशीलाई घुमाउन’, उसले छोटकरीमा भन्यो।

‘१५ मिनेटमा त होइन, आधा घन्टामा आउन सक्छु’, मैले भनें।

स्कुल जाँदै गरेकी छोरीलाई बालाजुको बस स्टेसन छोडेर म सिधै नर्सिङ चोक पुगें। त्यहाँ पुग्दा त्यही नम्बरबाट ५ पटकभन्दा बढी कल आइसकेको थियो।

नर्सिङ चोकमा कार र ड्राइभरसहित त्यो नम्बरवाला मान्छे अघिदेखि नै मलाई कुरिरहेको रहेछ। स्कुटर त्यहीँ छाडेर म कारमा चढें।

कार नजिकैको काठमाडौं इको होटलअगाडि रोकियो। तर, ठमेल टहल्न निस्केका विदेशी अझै होटल आइसकेका रहेनछन्। ५ मिनेटमा उनीहरु पनि आइपुगे।

हामी सोह्रखुट्टे हुँदै स्वयम्भु लाग्यौं। पर्थ, सिड्नी वा मेलवर्नबाट होइन, उनीहरु अस्ट्रेलियाको न्यु साउथ वेल्सको न्यु क्यास्टलबाट आएका रहेछन्।

रातको १२ बजे काठमाडौं झरेका उनीहरु भोलि बिहान ७ बजेको फ्लाइटमा लुक्ला उड्दै रहेछन्। यो बीचको समयलाई सदुपयोग गर्न उनीहरुले काठमाडौं दर्शनको योजना अपर्झट फिक्स गरेका रहेछन्।

नेपाल पहिलो पटक आएका उनीहरु खुम्बु क्षेत्रमा झन्डै ५ हप्ता बिताउँदै रहेछन्। गाइड नलिइकन जाँदै रहेछन् उनीहरु। ‘बिना गाइड र पोर्टर ट्रेकिङ कठिन हुन्छ भन्ने हामीलाई थाहा छ तर आफ्नै किसिमको अप्ठ्यारो र जिज्ञाशासँग मितेरी गाँस्दै यात्रा गर्न हामी मजा लाग्छ’, पिटरको कुरामा रिनीले पनि समर्थन जनाई।

शोभाभगवती पुग्दै गर्दा रिनीले सोधी, ‘आज आइतबार होइन र?’

‘हो’, सामान्य ढंगले मैले उत्तर दिएँ।

‘त्यसो भए त्यो बस कहाँ जाँदैछ?’, विद्यार्थीले भरिएको स्कुल बस देखाउँदै उसले फेरि सोधी।

‘स्कुल’, मैले फेरि सामान्य ढंगले नै उत्तर दिएँ।

‘आज त आइतबार हो’ उसले आइतबार प्रसंग दोहोराई।

उसले भन्न खोजेको कुरा मैले बुझिहालें र उसको प्रश्नको आशयलाई स्पस्ट पार्न भनें, ‘तर, यहाँ शनिबार मात्र विदा हुन्छ।’

‘हो र?’, आश्चर्य मिसाएर उसले भनी।

अरु थुप्रै पर्यटकले जस्तै उसले पनि नेपाल आउनुको कारण यहाँका पहाडहरु भएको बताई।

हामी स्वयम्भु उक्लियौं। उकालो चढ्दै गर्दा घाम पनि त्यसरी नै चढ्दै थियो। चम्किलो र तुलनात्मक रुपमा त्यो दिनको तातो घाम यदाकदा उनीहरुको आँखैमा पनि परिरहेको थियो। उनीहरु दुवैले ब्ल्याक गग लाए।

मैले स्वयम्भुसँग जोडिएका अनेक किस्सा र किंवदन्ती सुनाएँ। उनीहरुले निकै ध्यानपूर्वक सुने।

‘मलाई थाहा छ, तिमीहरुले मेरो कुरा निकै ध्यानपूर्वक सुन्दै छौ। तिमीहरुको आँखा मैले सीधै नदेखे पनि तिमीहरुले टाउको कसरी हल्लाइरहेका छौ, त्यसबाट त्यो पुष्टि हुन्छ’, मैले त्यति भनिसक्दा नसक्दै उनीहरु दुवैले ब्ल्याक गग आँखाबाट झिकेर हातमा लिए।

‘पर्दैन, पर्दैन। सेतो अनुहारमा कालो चश्मा निकै सुहाएको छ’, मैले भनें।

स्वयम्भुको मुख्य स्तुपासँगैको हारती माताको मन्दिरमा भक्तजनहरु रातो टिकामा देखिए।

‘किन रातो?’, पिटरले भक्तजनका निधारहरुतिर देखाउँदै सोध्यो।

रातो, पहेंलो र कालो टिका अनि त्यसको अर्थ, महत्व र विश्वासबारे मैले बताइदिएँ।

त्यहाँबाट पाटनका साँघुरा गल्ली, पुराना दरबार र आकर्षक मन्दिरहरु हुँदै हामी पशुपति हिंड्यौं। बाटोमा उनीहरुले आफ्नाबारे बताए। रिनी उसको शहरको एउटा मानसिक स्वास्थ्य सेवा केन्द्रकी संयोजक रहिछ। त्यहाँ केही नेपाली केटीहरु नर्सिङ तालिम लिंदै छन् रे।

विशेषज्ञता हाँसिल गर्दै रहेका ती केटीहरु कोर्ष सकिएपछि नेपाल फर्कनेमा ऊ ढुक्क थिई। भन्दै थिई, ‘उनीहरुले मलाई त्यस्तै भनेका छन्।’

रिनीले त्यस्तो भने पनि ती नेपाली केटीहरु अस्ट्रेलिया छोडेर नेपाल आउलान् र यहाँ सेवा गर्लान् भन्नेमा मलाई भर लागेन। तर, मैले रिनीलाई त्यो कुरा बताइनँ।

नेपालबारे अनेक कुरा भए। कुरा गर्दागर्दै उसले सोधी, ‘तिमी किन गाइडिङ गर्छौ?’

‘अनेक देश र महादेशका अनेक थरी मानिस भेट्न पाउँछु। ती मेरा लागि ज्ञानका स्रोत हुन्। म लेख्ने मान्छे। ती सब मैले लेखनमा उतार्न पाउँछु। यो पेशामा आउनुको खास कारण त्यो हो। अर्कोतिर यो मरो लागि आम्दानीको स्रोत पनि हो, जसबाट म जीवनको आर्थिक चक्र चलाउन सक्छु’, मैले सरर भनिदिएँ।

‘गाइडिङ गर्दा तिमीले कस्ता–कस्ता मान्छे भेट्यौ?’, उसले फेरि अर्को प्रश्न गरी।
‘अनेक खालका। विभिन्न भुगोल र संस्कृतिका मानिसमा म आफ्नै खालको विशेषता पाउँछु। तर, सबै देशका सबै मानिस असल वा खराब हुँदैनन्। एउटा मानिस एउटा परिस्थितिमा असल र अर्को परिस्थितिमा खराब पनि देखिन सक्छ। मानिस आम रुपमा समान छन्। तर, प्रत्येक मानिस आफैमा फरक छ। म देशको आधारमा भन्दा पनि सम्बन्धित व्यक्तिको व्यवहारलाई नजिकबाट बुझ्न मन पराउँछु’, मैले भनें।

त्यसपछि उसले मेरो भनाइबारे लामै तर दार्शनिक टिप्पणी गरी। उसको ज्ञानको आयतन निकै फराकिलो मात्र होइन, ऊ निकै गम्भीर र भावुक रहेको पनि मैले बुझें।

उसले निष्कर्षमा एउटा शब्द दोहोराई, ‘म्यानरिज्म।’

डिक्सनरीले म्यानरिज्मलाई यसरी व्याख्या गर्छ, ‘मानिसको बोल्ने र व्यवहार गर्ने तरिका।’ त्यसपछि हामीले हाम्रा अनेक सम्वाद र हाउभाउपछि म्यानरिज्म भन्ने शब्दलाई निकै पटक दाहोरायौं। म्यानरिजम त्यो दिन हाम्रो थेगो जस्तै भएको थियो। जति पटक हामीले त्यो शब्द दाहोरायौं, त्यति नै पटक हास्यौं पनि। त्यसैले त्यो दिन म्यानरिजम र हाँसोको दिन भएको थियो। विशेष अर्थसहितको एउटा शब्द कति शक्तिशाली हुन्छ भनेर हामीले अनुभव गर्दै थियौं।

पिटर अस्ट्रेलियाको ब्लु माउन्टेन नेसनल पार्कको महत्वपूर्ण ओहोदामा कार्यरत रहेछ। त्यहाँ उसको खास जिम्मेवारी रक क्लाइम्बिङसम्बन्धी रहेछ। स्वयम्भुबाट झर्दै गर्दाको उसको एउटा प्रश्नले ऊ क्लाइम्बिङसम्बन्धी काम गर्छ भन्ने मैले अनुमान गरिसकेको थिएँ। उसले सोधेको थियो, ‘आज हामी रक क्लाइम्बिङ सेन्टर हेर्न सक्छौं? काठमान्डुमा रक क्लाइम्बिङ प्राक्टिस गर्ने ठाउँ छ?’

तत्कालै जानुभन्दा पनि खुम्बुबाट फर्केपछि फुर्सदमा रक क्लाइम्बिङ सेन्टर जाउँला भन्दै आइटेनरीमा तोकिएका ठाउँहरु जान जोड गरें। हामीले त्यसै ग¥यौं।

सोह्रश्राद्धको अन्तिम दिन पशुपतिमा अरु दिनभन्दा निकै बढी घुँइचो थियो। त्यो दिन बागमती नदीको पश्चिम किनारमा मात्र होइन, पूर्व किनारमा पनि शवहरु भटाभट जलाइदै थियो। यत्रतत्र जलिरहेका शवहरुबाट निस्केको निरन्तर धुँवाले पशुपतिको आकाश पुरै ढोकेको थियो। ब्रम्हनाल छेउमा शवहरु पंक्तिवद्ध थिए। तर, ती कुनै पनि दृश्यको तस्विर उनीहरुले खिचेनन्।

‘तिमीहरु पहिलो पटक यो ठाउँमा आइपुगेका छौ। अर्को पटक आउँछौ कि आउँदैनौ भन्न सकिदैन। त्यसैले तिमीहरु यी सब दृश्यको फोटोहरु खिच्न सक्छौ’, मैले त्यसो भनेर प्रोत्साहित गर्दा पनि उनीहरुले फोटो खिचेनन्।

‘यी दृश्य र यथार्थ फोटोभन्दा माथिका कुरा हुन्। हामी फोटो खिच्न चाहदैनौं। तर, यो पवित्र परिवेश देखाएकोमा धन्यवाद’, भावुक हुँदै रिनीले भनी।

‘शव नजिकै गएर फोटो खिच्नु त्यति राम्रो होइन तर परबाट खिच्दा केही फरक पर्दैन। तर, पनि तिमीहरुको यो म्यानरिजमले तिमीहरुप्रति मेरो सम्मान अरु बढ्यो’, मैले पनि भावुक मुद्रामा उनीरुलाई भनें।

‘कति मान्छे मैले देखेको छु, जो शवनजिक गएर सेल्फी खिच्छन्। त्यो कस्तो प्रवृति वा व्यवहार हो?’, मैले त्यति भनिनसक्दै रिनीले भन्न भ्याइहाली, ‘म्यानरिजम।’
एकै पटक त्यति धेरै शवहरु जलिरहँदा टाढैबाट भुँईं नै जलिरहेजस्तो तातो देखिन्थ्यो। घाम पनि झन् झन् चर्को हुँदै थियो। म पसिनाले निथु्रक्क भइसकेको थिएँ। उनीहरु पटक पटक सनक्रिम लाइरहेका थिए। दायाँबायाँ यसो शीतल देख्नेबित्तिकै हामी त्यता नजिकिई हाल्थ्यौं।

‘आज धेरै गर्मी भयो। साँझ पक्कै पानी पर्नेछ’, पशुपतिलाई छाडेर अगाडि बढ्दै मैले भनें।

एक घन्टा पनि नबित्दै आकाश बादलले ढाक्यो।

मैले उनीहरुलाई स्वयम्भुमा १० मिनेट र पाटन म्युजियममा २० मिनेट फ्रि टाइम दिएको थिएँ। बौद्धको लन्च टेबलमा पनि मैले उनीहरुलाई ४० मिनेट फ्रि टाइम दिएँ, जहाँबाट स्तुपा, काठमान्डुको उत्तरी शहर, त्यसपछि पहाडहरु प्रस्ट र मोहक देखिन्थे।

दिएको समय सकिएपछि म उनीहरुको टेबलछेउ पुगें। कुर्सीमा बसें।

प्लेटमा केही मम र दुईटा बोतलमा झन्डै आधा–आधा बियर बाँकी थियो। उनीहरुले मलाई मम र बियर अफर गरे।

‘आइ एम अलरेडी फूल’, मैले भनें।

‘तिमी बियर त खान सक्छौ नि’, रिनीले भनी।

‘होइन, त्यो पनि म खाँदिन’, मैले अस्विकार गरें।

उसले फेरि कर गरी।
‘टुर सिद्धिएपछि स्कुटर लिएर घर फर्किनु पर्छ’, मैले त्यति मात्र भनें।

‘जिरो पर्सेन्ट नो अल्कोहल?’, उसले सोधी।

‘हो’, मैले भनें।

‘त्यसो भए ठिक छ’, उसले त्यसपछि कर गरिन।

‘ऊ मेरो भाइ हो। म सबैभन्दा जेठी। एउटी बहिनीपछि पिटर जन्म्यो। त्यसपछि फेरि अर्की बहिनी। हामी एक भाइ र तीन दिदीबहिनी छौं’, त्यति भनिसकेर रिनीले आइफोनको स्क्रिन मतिर ल्याई।

‘हेर, यीचाहिँ मेरा छोरीहरु। यिनीहरु जुम्ल्याहा हुन्।’

रिनी जुम्ल्याहा छोरीहरुकी आमा रहिछ।

उसले त्यति नभनुन्जेल उनीहरु न दिदी–भाई हुन्, न साथी–साथी हुन्, न त श्रीमान–श्रीमती हुन्? मैले अनुमान गर्न सकेको थिइनँ। भेटेको केही छिनपछि एक पटक उनीहरुको सम्बन्धबारे सोध्नै आँटेको थिएँ।

‘तिमीहरु साथी हौ?’

‘तिमीहरु प्रेमी हौ?’

‘तिमीहरु दम्पति हौ?’

‘वा तिमीहरु एक–अर्कामा के हौ?’
मैले नसोधेको राम्रो भयो। सोधेको भए, ‘तिमीहरु दिदीभाइ हौ?’ भनेर चाहिँ पक्कै सोध्ने थिइनँ।

हामीले एक–अर्काको पारिवारिक तस्विरहरु देखायौं। पिटर हामी तीनबीच सबभन्दा अग्लो थियो। त्यसपछि रिनी अनि बल्ल म। त्यसैले बौद्ध स्तुपालाई पृष्ठभुमि पारेर पिटरको लामो हातले हामी तीन जनाको सामुहिक सेल्फी खिच्यौं।

लन्च टेबलबाट उठ्ने सुरसार गर्दैगर्दा रिनीले भनी, ‘यो यात्रामा पिटरकी श्रीमती पनि आउनेवाला थिई। तर, बीचमा ऊ प्रेगनेन्ट भई। त्यसैले ऊ नआउने भई। उसको पेटभित्र ११ हप्ताको बच्चा छ। तर, हामीले उसको पटेमा बच्चा आउनुअघि नै नेपाल जाने योजना बनाएका थियौं।’

‘आफ्नो पेटभरि बादल बोकेर आकाश पनि प्रेगनेन्ट छ। एक–दुई थोपा पानीले त हामीलाई छोइ पनि सक्यो। यी थोपाहरु पिटरकी श्रीमतीको उपस्थिति हो। हो भनेर सम्झौं न’, मैले भनें।

हल्का फुलेको पेट हल्का देखिने गरी खिचेको उसकी श्रीमतीको फोटो भ¥याङको एक कुनामा पिटरले मलाई देखायो।

‘ऊ तिम्री भर्गवती श्रीमती हो र मलाई गर्भवती स्त्री निकै सुन्दर लाग्छ। पिटर तिमी भाग्यमानी छौ। चाँडै तिमी ड्याड बन्दै छौ। तिमीलाई बधाई छ’, पिटरको आइफोनमा हेर्दै मैले भनें।

‘धन्यवाद’, खुशी मिसिएको स्वरमा उसले भन्यो।

त्यो दिन बौद्धनाथ हाताभित्रै लोक–पपगीत ठूलो स्वरमा बजिरहेको थियो। त्यसैको म्युजिक भिडियो सुट भइरहेको रहेछ। नृत्यमग्न नायिका र उसका दर्जन बढी साथी सबैले नेपाली पोशाक लगाएका थिए। तर, नायक भने सेतो कोट र सेतै पाइन्टमा थियो। उसको कपाल खैरो पारिएको थियो।

‘यसरी देशको संस्कृतिको केन्द्रमा बाह्य संस्कृति मिसिएको छ। यसरी संस्कृतिमाथि आक्रमण हुँदैछ। सांस्कृतिक क्षयीकरणको एउटा संकेत हो यो’, मैले रिनीलाई भनें।

‘त्यो सेतो सुट र खैरो कपालबाहेक अरु त तिमीहरुकै संस्कृतिको निरन्तरता छ, तिमीहरुसँग’, उसले अर्कै कोणबाट निकै गम्भीर तर्क गरी।

‘हामी त संस्कृति नै नभएको जस्तो छौं। माइग्रेटडहरु आउँदैछन्। र, हाम्रो खास संस्कृति कोमामा गइसकेको छ। त्यसमाथि हामीकहाँ तिमीहरुको जस्तो पुरानो संस्कृति नै कहाँ थियो र?’, उसले निकै भावुक भई थपी।

फर्कंदै गर्दा जताततै सडक किनारमा एउटा खम्बाबाट अर्को खम्बामा बेहिसाब जोडिएका अझ अल्झाइएका जस्ता देखिने तारहरुतिर देखाउँदै पिटरले सोध्यो, ‘यी के का वायर हुन्?’

‘बिजुली, टेलिफोन र केवलका’, मैले सीधा जवाफ दिएँ।

‘यस्तो अव्यवस्थित वायरहरुका कारण आगलागी हुँदैन?’, उसले अपशकुनको आशंका मिसाएर भन्यो।

‘बिजुली सर्ट भएर कहिलेकाहीँ त चट्याङ नै परेजस्तो हुन्छ’, मैले भनें।

‘ओहो !’, उसले आश्चर्य र दुख मिसाएर भन्यो।

त्यसपछि मैले एउटा सम्झना सुनाएँ।

एक पटक खम्बामा गुजुल्टिएको बिजुली तार सर्ट भएर छेउको एउटा घरमा आगलागी भयो। आगलागी सुरु भएपछि हाहाकार सुरु भइहाल्यो। तैपनि केही स्थानीय युवा आगो लागिरहेको घरभित्र कोही बृद्ध वा बालक छन् कि भनी भित्र गए। त्यहाँ कोही भेटिएनन्। तर, एउटा कोठामा बाहिरबाट ताल्चा लागेको थियो। ताल्चा लागेको कोठाभित्र त कोही हुने कुरै भएन भन्ने सोच्दै उनीहरु आगो लागिरहेको घरबाट बाहिर निस्के। २ घन्टापछि बल्लतल्ल आगो नियन्त्रणमा आयो।

पछि थाहा भयो, बाहिरबाट ताल्चा लागेको कोठामा ६ बर्षमुनिका दिदीबहिनी थुनिएका रहेछन्। कोठाबाट आधा घन्टाको पैदल दुरीमा तरकारी पसल चलाएर जड्याँहा लोग्ने, दुई छोरी र आफ्नो गुजारा गर्दै आएकी साईंलीले त्यो दिन पनि छोरीहरुलाई पसल जानुअगाडि कोठामा थुनेर गएकी रहिछ।

आगलागी सुरु भएपछि ती साना दिदीबहिनीको क्रन्दन स्थानीयको हाहाकारभित्र कसैले सुनेन।

बेलुका तरकारी पसल बन्द गरेर आमा कोठामा आई। जलेर खण्डहर जस्तै बनेको घरभित्र छिरी। बन्द ढोकाको ताल्चा खोली। कोठाभित्र भित्तामा टाँसिएका दुई स–साना मुढाहरु थिए। ती मुढाहरु एउटी विवश आमाकी ससाना नानीहरु थिए। उनीहरुले आगोबाट बच्न भित्ताको सहारा लिएछन्। तर, भित्ता उनीहरुका आमा जस्तै विवश थियो।

त्यति भन्दाभन्दै मेरो स्वर लगलग कामिसकेको थियो। मेरा आँखाहरु भिजिसकेका थिए। पिटर मौन थियो। रिनी मसँगै रुन थाली। हामी भिजेका आँखासहित छुट्टियौं।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.