छैटौं दिनको ११ बजेपछि हामी लुबुचेमा थकाइ मार्दै थियौं। शरीरलाई उचाइसँग घुममिल गराउन लुबुचे बजारबाट माथि एक घण्टाको ठाडो उकालो चढ्न हिँडेको ४५ मिनेटमै लुबुचे फर्कियौं।
हामी चढेको उकालो ५ हजार मिटरभन्दा माथिको थियो। लोबुचे बजार ४९४० मिटरमा अवस्थित छ।
हाम्रो खाजा तयारी थियो। थुक्लाको बसाइँपछि खासै भोक लाग्दैन थियो। हामीले नियमित तीन छाक खाना खाने प्रयासमा हुन्थ्यौं। चाउचाउको सुप खाएपछि मातृकाजीले बोतलमा तातो पानी भर्नुभयो।
'दिदी पैसा कति भयो?'
‘७०० दिनुहोस् न भाइ’, दिदी मुसुस्क्क हाँस्दै भन्नुभयो।
'चार बोतल तातो पानी पनि छ है दिदी'
‘पर्दैन भाइ, खानाको दिए पुग्छ।’
'हामीले मोबाइल चार्ज गरेका छौं, पानी पनि चार बोतल भएको छ। अरू सरह पैसा लिनुस् है दिदी।'
‘कम्तीमा तपाईंले त सोध्नुभयो। धेरै जसो मान्छे त थाहा पाउलान् कि भनेर हतार-हतार हिँड्छन्। ठिकै छ भाइ। त्यति दिए पुग्छ।सबै मनको कुरा रहेछ।’
'हो र दिदी?'
दुवैले एकअर्काको मुख हेर्यौं।
यही बोलचालको मौकामा पसलको छेउमा राखेको पन्जा देखाउँदै सोधेँ, ‘दिदी त्यो पन्जा बिक्रीमा हो र?’
‘होइन भाइ, हामी पन्जा बेच्दैनौं।
‘हामीलाई पन्जा चाहिएको थियो। माथितिर किन्न पाइन्छ त दिदी?’
‘पाइँदैन जस्तो लाग्छ भाइ।’
त्यति भनेर हामी छेउमा बिसाएको झोला भिर्न थाल्यौं। दिदीले बोलाउनुभयो।
‘भाइ यता आउनुस् त।’
म काउन्टरमा गएँ।
उहाँले मलाई दुई जोर पन्जा दिँदै भन्नुभयो ‘भाइ यी पन्जा कसैले यहाँ बिर्सेर गएका रहेछन्। तपाईंहरूले प्रयोग गरेर फिर्ता गर्नू है।’
मानवता, धर्म, सहयोग अनि माया भन्ने कुरा मन भएकाहरूसँगै हुने रहेछ सायद। यस्तै कुराहरू मनमा आयो।
दिदीलाई धन्यवाद भन्दै त्यहाँबाट निस्कियौं।
मैले पन्जा लिएबापत् दुई हजार रुपैयाँ डिपोजिट राख्न अनुरोध गरेँ। तर मान्नु भएन। एकदमै कर गरेपछि पैसा समाउनु भयो।
मातृकाजीलाई लुबुचेबाट अलि बढी असहज भएको महशुस गरेको थिएँ। उहाँलाई केही दिनदेखि व्यावसायिक प्रेसर थियो। उहाँ प्रेस व्यवसायी, प्रेसमा केही टेक्निकल समस्या देखिएकाले बारम्बार अफिसबाट फोन आइरहेको थियो। जसले गर्दा उहाँमा स्ट्रेस देखिन्थ्यो। उहाँले अलि छिटो गोरक्षेप पुग्ने र लजमा आराम गर्ने भन्नुभयो।
गोरक्षेप सगरमाथा बेस क्याम्प पदयात्राको अन्तिम स्टेसन हो।
पदयात्रीले गोरक्षेपलाई बेस क्यम्प बनाएर कालापत्थर, सगरमाथा बेस क्याम्पको पदयात्रा गर्छन्। सगरमाथा बेस क्यम्पमा कुनै रेष्टुरेण्ट तथा लज छैन। सगरमाथा आरोहण गर्नेहरू आफैं टेन्ट बनाएर बास बस्ने गर्छन्।
लुबुचे छोड्नुअघि मैले मातृकाजीलाई स्वास्थ्य ठीक छ भनेर सोधेको थिएँ।
‘थकित शरीरलाई ठिगुराउँदै ‘सब ठीक छ’ भन्ने जवाफ दिनुभएको थियो।
हामी दिउँसोको ठीक एक बजे दिदीलाई नमस्ते गर्दै गोरकशेपतिर लम्किर्यौं। दिउँसो ४ बजेभित्र गोरकशेप पुग्ने योजना थियो।
थुक्लासम्म भेटिँदै आएको बिरूवाका बुट्टाहरू, झारपात लोबुचे प्रवेश गरेसँगै बिलाएका थिए। अबको यात्रा खुम्बु ग्लासियर र खुम्बु हिमनदीले बनाएको ढुङ्गे बगरको थियो।
‘होइन मनोजजी यी चट्टाने अग्ला चुच्चे पाहाडहरू कसरी अडिएका होलान् है?’, डरलाग्दा भयानक ढुंगाजस्ता देखिने चट्टाने पहाड देखेर आश्चर्य मान्दै मातृकाजीले सोध्नुभयो।
चिसो हावा मजाले सिगुरी खेल्दै थियो। दिन घमाइलो थियो। खुलेको आकाश, वारिपारि ग्लासियर अनि चट्टाने अग्ला पहाड खस्ला जस्तै। अति मनमोहक र सुन्दर यात्रामा हामी अघि बढिरहेका थियौं।
लोबुचेबाट खुम्बु हिमनदीबीच ढुङ्गे बगरको यो गोरकशेपको यात्रामा चारैतिर हिमालले ढाकेको जस्तो देखिन्छ। मुख्यतयः पुमोरी, लिङ्टाङ, चाङत्से, ल्होला, सगरमाथा, ल्होत्से, नुप्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
लोबुचेदेखि गोरकशेपको यो बाटो खुम्बु ग्लेसियरतिर हो। यो यात्रामा धेरै उकालो छैन। छोटो उकाली ओराली र तेर्सो बाटोमा हिँड्दा होसियार भने हुनुपर्छ। किनकि धेरैजसो बाटो ढुंगे बगर भएकोले खुट्टाहरू बाङ्गिने, भासिने र चिप्लिने गर्दछ।
थुक्लापास जस्तो डरलाग्दो उकालोको यात्रामा उचाइको कारण धेरै लामो र कठिन महशुस भइरहेको थियो। यो उचाइमा अक्सिजनको मात्र जम्माजम्मी ६० प्रतिशत मात्र भएकोले पनि हिँड्न कठिन हुन्छ।
बाटो अति अप्ठ्यारो, साना दोहोरो हिँड्न कठिन हुने खालका थिए। बाटोको यात्रा उस्तै ढुंगेबगर अनि हिमालको चिसो स्याँठ अनि कति ठाउँमा पहिरोको बीचबाट हिँड्नुपर्ने हुदाँ ढुंगा गुडेर लाग्ला कि भन्ने डर पनि हुने रहेछ।
याकको बथान आउँदा पैदलयात्रीले बाटो छोड्नु पर्थ्यो। हिमनदी हुने हुँदा बाटो नरहने रहेछ। प्रत्येक वर्ष यात्राको क्रममा बाटोहरू कोरिँदै जाने रहेछ।
पहिलो नजरमा हेर्दा माटो छरिएका चट्टानहरूले ढाकिएको सुख्खा नदीको ओछ्यान जस्तो देखिन्थ्यो। तर ग्यासियर नजिक गई हेर्दा तल्लो भागमा बरफको बाक्लो जस्तो सानो पोखरी देखिथ्यो। कतैकतै हामी हिँडिरहेको बगरमुनि पानी पनि बगिरहेको थियो।
पहिले ग्लेसियर चंग्रिको ठूलो मोराइन पार गरेपछि गोरकसेप देखिन्छ जुन उपत्यकाजस्तो छ। गोरकसेप अगाडि ट्रेलको मनोरम दृश्यसँगै पुमोरी हिमाल काला पत्थरभन्दा माथि उभिएको देखिन्छ।
गाइडको अनुसार गोरकसेप केही वर्ष पहिले सगरमाथा आरोहीको लागि आधार शिविर थियो रे! तर खुम्बु हिमनदी घटेको कारण आधार शिविर माथि सरेको हो रे! गोरकसेपमा प्रवेश गर्नुअघि एउटा सानो हेलिप्याड पनि देखिन्छ।
यसरी लुबेचेदेखीको गोरकसेपको यात्रा हामीले झण्डै तीन घण्टामा पूरा गर्यौं। हामी सवा चार बजेतिर स्नोल्याण्ड लजमा पुग्यौं।
झोला बिसाएर लामो स्वास फेर्दाको त्यो क्षण एकदमै आनन्द हुन्छ। झण्डै ५ मिनेटको यो बसाइँ अद्भूत थियो।
मातृकाजीले हाम्रो शरिरको अक्सिजन नाप्ने भन्नुभयो। अक्सोमिटर झिकेर शरीरमा अक्सिजन लेभल मापन गर्यौं शरीरको अक्सिजन लेभल घटेको थियो। मेरो ८० थियो भने मात्रीकाजीको झनै कम।
अक्सिजन लेभल कम भएर मुटुको चाल बढिरहेको थियो। भोक नलागे पनि लसुनको सुप अर्डर गर्यौं। रगतमा अक्सिजनको मात्रा बढाउन लसुन अति उपयोगी घरेलु जडिबुटी हो।
लजमा चेक इन गर्यौं। साथी टाँसीले सिफारिस गरेको यो लज, हामीले सोचेभन्दा एकदमै राम्रो थियो। कोठा र लबी कार्पेट गरिएको थियो। चिसोबाट बच्न इन्सुलेन समेत गरिएको रहेछ।
पानीको अति अभाव रहेको यो ठाउँमा साझा शौचालय समेत सफा थियो। विद्युत नै नभए पनि सकेसम्म उज्यालोको राम्रो व्यवस्था थियो।
मातृकाजी समय/समयमा अक्सिजन नाप्दै हुनुहुन्थ्यो। उहाँको शरीरमा झण्डै ७० को लेभलमा मात्र अक्सिजन थियो। अलि कमजोर महशुस गरेजस्तो मैले पहिलेदेखि नै महशुस गरिरहेको थिएँ। उहाँलाई उचाइबाट बचाउने औषधी लिन लगाएँ।
बेलुकी सादा दातभात खायौं।
भोलि बिहानै काला पत्थर र दिउँसो सगरमाथा बेस क्याम्प जाने निर्णय गर्यौं।
सगरमाथा नजिक रहेको नेपालको खुम्बु क्षेत्रको एउटा सानो गाउँ छ। जुन सगरमाथाको आधार शिविरबाट केही घण्टा दूरीमा रहेको प्रसिद्ध एभरेष्ट बेस क्याम्प पदयात्रामा अन्तिम बिसौनी हो गोरकशेप। यो गाउँ ५,१६४ मिटर उचाइमा अवस्थित छ।
यो यात्राको पहिलो आश्चर्यजनक पक्ष भनेको हिमालयका अद्भूत सुन्दर दृश्यहरू हो। गोरकशेपको अद्भूत वास्तुकला तिब्बती र बौद्ध संस्कृतिको धेरै प्रभाव रहको पाइन्छ। गाउँ र बाटाहरूमा धेरै मठहरू र प्रार्थना झण्डाहरू भेटिन्छन्।
यो गाउँ माउन्ट लोबुचेको फेदमा अवस्थित छ। यसकारण पनि आश्चर्य दृश्य हेर्न पनि गोरकशेप उत्तम स्थान मानिन्छ। मौसमले साथ दिएमा गोरकशेपबाट सगरमाथा समेत देखिन्छ।
गोरकशेप प्रकृति प्रेमीहरूको लागि साँचो स्वर्ग नै हो।
हामीले साँझको ६ बजे बेलुकाको खाना लियौं। सबै पदयात्रीहरूले काला पत्थरबाट बिहानको सूर्योदय हेर्ने योजना बनाएका थिए। त्यसको लागी बिहानैको ४ बजे हिँड्नुपर्ने पदयात्रीले सल्लाह दिए।
मैले पनि मात्रिकाजीलाई बिहानको ३ बजेको अलार्म सेट गर्न भनेँ। शरीर जतिसुकै थाके पनि बेलुका निद्रा लाग्न भने गाह्रो नै हुन्थ्यो। सूर्योदय छ बजे हुने हुदाँ अगाडि नै काला पत्थरमा पुग्नुपर्थ्यो। नत्र सगरमाथाको चुचुरोबाट सूर्योदयको अद्भूत दृश्य हेर्न अर्को दिन कुर्नुपर्थ्यो।
त्यसकारण कुनै पनि हालतमा सूर्योदयको त्यो परिदृश्य मेरो लागि यो यात्राको प्रमुख लक्ष्य थियो। त्यही भएर मैले मातृकाजीलाई दुई चार चोटी नै अलार्म सेट भए/नभएबारे सोधेको थिएँ।
रातको आठ बजे हामी ओछ्यानमा पल्टिएका थियौं तर निद्रादेवीका आगमनको भने अत्तोपत्तो थिएन। हामी ६ दिनको यात्रा अनुभव एक अर्कालाई सुनाउँदै निदाउने प्रयासमा थियौं। रातको ११ बजेसम्म हामी कुरामै व्यस्त थियौं।
त्यसपछि कति बेला निदाएछु पत्तै भएन।
क्रमश:
(मनोजकुमार कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)
तस्बिरहरूः