(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
कुनै घटनामा प्रश्न धेरै हुन्छन्, जबाफ एउटै हुन्न।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुदार आप्रवासी नीतिअनुसार १२ जना भुटानी शरणार्थी फिर्ता पठाइदिएको घटना पनि त्यस्तै भएको छ।
अमेरिकाबाट डिपोर्ट गरिएका शरणार्थीलाई भुटानले स्वीकार गर्न मानेन। उनीहरूलाई होटलमा खुवाइपियाइ गराएर, प्रतिव्यक्ति ३० हजार भारतीय रूपैयाँ खर्च दिएर र भारतीय नम्बर प्लेटको रिजर्भ गाडीमा हुलेर भुटान सरकारले नेपालतिर लखेटिदियो।
तीमध्ये झापाको बेलडाँगी शरणार्थी शिविर आइपुगेका तीन जना र काँकरभिट्टा नाकाबाटै पक्राउ परेका एक जना गरी चार जना १० दिनदेखि प्रहरी थुनामा छन्। बाँकी आठ जनाको अत्तोपत्तो छैन।
यो घटनाले बेलडाँगी शिविरका एक जनाको भने निँद हराम भएको छ।
उनी हुन्, ५५ वर्षीय कुमार सुवेदी।
उनी बेलडाँगी शिविर आसपासका बस्तीमा माछाका सिद्रा र सुकुटी बेचेर एक्लो जिन्दगी काटिरहेका थिए। जुन दिन ती चार जना पक्राउ परे, त्यसपछि उनको दैनिकी पूरै बिथोलियो। उनी आफ्नो व्यापारमा जान पाएका छैनन्। व्यापारको त के कुरा, भोकतिर्खा र निद्रा पनि भन्न पाएका छैनन्।
बेलडाँगी शिविरको छाप्रो नम्बर १ मा अचेल उनका रात जागै बित्छन्। कचपल्टिएको निद्रा बोकेर हरेक दिन बिहानै दमक आउँछन् र ५३ किलोमिटर लामो यात्रा गरेर पूर्वीनाका काँकडभिट्टा पुग्छन्।
जीवनमा कहिल्यै नचिताएको उनको नयाँ गन्तव्य बनेको छ, इलाका प्रहरी कार्यालय काँकडभिट्टा जहाँ ती चार जना — आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङ — हिरासतमा छन्।
उनीहरूलाई हरेक दिन भेट्न जाने मात्र होइन; खानपिन, ओढ्ने-ओछ्याउने लगायतको बन्दोबस्त जिम्मा पनि कुमारकै काँधमा आएको छ।
यसको कारण के भने, पक्राउ परेकामध्ये ३६ वर्षीय आशिष सुवेदी उनका छोरा हुन्। बाँकी तीन जनालाई उनी चिन्दैनन्। तर ती तीन जनाको निकट आफन्त यहाँ कोही छैन। जिम्मेवारी लिनेहरू कोही छैनन्। त्यसैले छोरासँगै पक्राउ परेका र आफूजस्तै भुटानी शरणार्थी भएका नाताले सबैको जिम्मेवारी कुमारले बोकिरहेका छन्।
आइतबार दिउँसो हामीसँग कुरा गर्दा पनि उनी भर्खर छोराहरूलाई भेटेर काँकरभिट्टा प्रहरी कार्यालयबाट निस्केका थिए।
'दस वर्ष भयो मैले बेलडाँगी शिविरमा एक्लो जिन्दगी बिताएको,' कुमारले हामीसँगको कुराकानीमा भने, 'अचानक चार जनाको जिम्मेवारी आइपर्दा रनुभल्ल परेको छु। प्रहरी र अध्यागमनका सरहरूसँग कुरा गर्दा अझै कति दिन थुनामा बस्नुपर्ने हो, टुंगो छैन। जबसम्म छिनोफानो नहोला, हेरविचार गर्ने त मैले नै हो। छोरा त छोरा भइहाल्यो, बाँकी तीन जना पनि आफ्नै गाउँठाउँका मान्छे हुन्। नाता पर्दैन भन्दैमा माया मार्न कहाँ सकिन्छ र!'
यो घटनाले कुमारको दिमागमा अनगिन्ती प्रश्न खेल्न थालेका छन्।
उनको प्रश्न छोराहरूलाई डिपोर्ट गरेर भुटान पठाउने अमेरिकी सरकारलाई छ। भुटानबाट लखेटेर नेपाल पठाइदिने भुटान सरकारलाई छ। यहाँ आएपछि पक्राउ गरेर थुनामा राखिरहेको नेपाल सरकारलाई छ। र, शरणार्थी भनेर प्रमाणीकरण गरी अमेरिका पुनर्वासमा पठाउने संयुक्त राष्ट्रसंघलाई पनि छ।
हामी यो स्टोरीमा कुमार सुवेदीले उठाएका यी सबै प्रश्नबारे चर्चा गर्नेछौं। त्योभन्दा अगाडि कुमारकै कथा सुनौं।
उनको जन्म दक्षिण भुटानको गेलेफू जिल्ला, ललाई गाउँमा भएको हो। भुटान सरकारले एक लाखभन्दा बढी संख्यामा नेपालीभाषी समुदायलाई लखेट्दा कुमार पनि आफ्नो जन्मथलो छाड्न बाध्य भएका थिए।
'म भुटानको सरकारी सेवामा मेकानिक काम गर्थेँ। हाम्रो ५ ऐकड जमिन थियो। सुपारी बगान थियो। गाईवस्तु टन्नै थिए,' उनले भने, 'सरकारी जागिर, पुर्ख्यौली जग्गा-जमिन र गाईवस्तु सबै अन्यायपूर्वक खोसिएपछि हामी बूढाबूढी लालाबाला च्यापेर नेपाल आएका थियौं।'
उनी सन् १९९१ मा भुटानबाट लखेटिएर नेपाल आए। त्यति बेला छोरा आशिष दुई वर्षका थिए भने छोरी निलम जन्मेको केही महिना मात्र भएको थियो।
उनी नेपाल आएर सबभन्दा पहिला खुदुनाबारी शिविरमा बसे। यहाँ आएपछि पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भयो। उनले कमला गुरूङसँग दोस्रो विवाह गरे। दोस्रो विवाहबाट उनको तेस्रो सन्तान पनि छ।
राष्ट्रसंघले भुटानी शरणार्थीहरूलाई तेस्रो देशमा पुनर्वास गराउन सुरू गरेपछि उनका श्रीमती र छोराछोरी १० वर्षअघि पालैपालो अमेरिका गए। उनी आफू भने जान पाएनन्। राष्ट्रसंघले कागजपत्र नमिलेको भन्दै उनलाई 'अयोग्य' करार गरिदियो।
'कागजपत्र मिलेन कि अन्तर्वार्तामा केही गल्ती भयो कि थाहा छैन, मलाई तँ जान पाउँदैनस् भने,' कुमारले सम्झिए, 'आफू जान नपाए पनि श्रीमती र छोराछोरीले उता गएर भविष्य बनाउलान् भन्ठानेँ र आफैले जोडबल गरेर पठाएँ।'
परिवारका सबै सदस्य अमेरिका गएदेखि कुमार शिविरमा एक्लै छन्। उता गएकाहरूले बेला बेला पैसा त पठाउँथे, तर दैनिक व्यवहार चलाउन उनी यहीँ खिद्रीमिद्री व्यापारमा लागेका थिए।
अहिले एक्कासि छोरासहित चार-चार जनाको जिम्मेवारी थाप्लोमा आउँदा उनलाई खर्च कसरी धान्ने भन्ने चिन्ता थपिएको छ।
यो त भयो, कुमार सुवेदीको कथा। अब सुनौं उनको दिमागमा घुमिरहेका प्रश्नहरू।
पहिलो प्रश्न अमेरिकालाई
ट्रम्प प्रशासनले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै भुटानी शरणार्थीहरूलाई डिपोर्ट गरेको हो। पक्राउ परेका बाँकी तीन जनाले के अपराध गरेका थिए भन्ने कुमारलाई जानकारी छैन। छोरा आशिष भने श्रीमतीसँगको घरायसी झगडाका कारण थुनामा परेको उनी बताउँछन्।
'आशिषले अमेरिका गएर हाम्रै गाउँतिरकी केटीसँग बिहे गरेको थियो। साढे दुई वर्षकी छोरी पनि छ,' कुमारले भने, 'घर-झगडाका कारण ऊ पक्राउ परेछ।'
'यसरी पक्राउ परेको मान्छे रिहा गर्दा कसै न कसैले जिम्मेवारी लिनुपर्दो रहेछ,' उनले अगाडि भने, 'श्रीमतीले जिम्मेवारी लिन नपाउँदो रहेछ। उसकी बहिनी र आमा पनि उतै थिए। तर जिम्मा लिन कोही गएनछन्। अनि उसलाई डिपोर्ट गरिएछ।'
आशिषलाई अमेरिकाको पेन्सिलभेनियाबाट डिपोर्ट गरेर पठाइएको थियो। अरू शरणार्थी पनि विभिन्न ठाउँबाट पक्राउ परेका थिए। सबैलाई न्यूयोर्कबाट भारतको दिल्ली हुँदै चैत १५ गते शुक्रबार बिहानै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो। अमेरिकी अधिकारीहरू पनि सँगै गएका थिए।
उनीहरूलाई भुटान सरकारको जिम्मामा सुम्पेपछि अमेरिकी अधिकारीहरू फर्के। त्यसपछि भुटान सरकारले कस्तो व्यवहार गर्यो, जिम्मेवारी स्वीकार गर्न मान्यो कि मानेन भन्ने अमेरिकाले वास्तै गरेन।
यहाँ अमेरिकाको ट्रम्प सरकारसँग कुमारको प्रश्न छ —
'मेरो छोरासहित अहिले डिपोर्ट गरिएका १२ जना भुटानी शरणार्थी गैरकानुनी रूपमा अमेरिका छिरेका होइनन्। अमेरिकी सरकारले अरू दसौं हजार भुटानी शरणार्थीसँगै उनीहरूलाई पनि बकाइदा अपनाएका हुन् र कानुनी रूपमा अमेरिका बस्ने अधिकार दिएका हुन्,' उनले भने, 'शरणार्थी भनेका आफ्नो देशले नागरिक हक खोसेर निकालेका मान्छे हुन्। आफ्नै देशले स्वीकार नगरेका अभागी हुन्। अमेरिकाले त्यस्ता अनागरिक शरणार्थीहरूलाई आफ्नो भूमिमा आश्रय दिएर उदार मन देखाएको थियो। अहिले त्यही अमेरिकाले उनीहरूलाई खेद्नु दु:खको कुरा हो।'
उनले अगाडि भने, 'हुन त अमेरिकाले अरू देशका नागरिकलाई पनि यसरी नै डिपोर्ट गरिरहेको छ। केही भारतीय र नेपालीहरू पनि डिपोर्ट भएका छन्। अफ्रिकाबाट गएका आप्रवासीलाई पनि सयौंको संख्यामा डिपोर्ट गरिएको सुनेको छु। तर ती भारतीय नागरिक, नेपाली नागरिक वा अफ्रिकी नागरिकभन्दा भुटानी शरणार्थीहरूको अवस्था फरक छ। उनीहरूको फर्केर जान आफ्नो देश छ, थातथलो छ। हामी शरणार्थीहरूको भने आफ्नो देश छैन, थातथलो छैन। अमेरिकालाई यो कुरा जानकारी नभएको होइन। नेपालीभाषी भुटानीहरूलाई भुटान सरकारले नै अन्यायपूर्वक लखेटेर शरणार्थी बन्न बाध्य गराएको हो भन्ने अमेरिकालाई राम्ररी थाहा छ। तैपनि उसले भुटानी शरणार्थीहरूलाई कसरी डिपोर्ट गर्यो? के आधारमा डिपोर्ट गर्यो?'
'आफ्नो देश नभएका, जाने थातथलो नभएका शरणार्थीहरूलाई अरू देशको नागरिकजस्तो डिपोर्ट गर्ने अधिकार अमेरिकालाई छ कि छैन?' कुमारको प्रश्न छ, 'यिनीहरूले कुनै अपराध गरेका भए पनि उतै जेलमा राखेर कारबाही गरिनुपर्थ्यो होला। जुन देशले लखेटेर पठायो, त्यही देश फिर्ता पठाउन मिल्छ र? यो त शरणार्थीहरूलाई जानजान मृत्युको मुखमा धकेल्नुजस्तो भएन र?'
आशिष सुवेदीदोस्रो प्रश्न भुटानलाई
अमेरिकाले चैत १५ गते पारो अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका शरणार्थीलाई भुटान सरकारले ग्रहण त गर्यो, तर स्वीकार गरेन।
उनीहरूलाई एकदिन पनि भुटानको भूमिमा बस्न नदिने मनसाय त्यहाँको सरकारले देखायो।
सबभन्दा पहिला उनीहरूसँग बयान लिइयो। राम्रो होटलमा खानपिन गराइयो। र, भनियो, 'भुटानमा तिमीहरूको आफ्नो भन्ने कोही छैन। तिमीहरूको जग्गा-जमिन छैन। घर पनि छैन। तिमीहरूले रोजगारी गरेर खानलाई कुनै काम पनि पाउँदैनौं। त्यसमाथि भुटानमा पहिलेजस्तो नेपाली भाषा बोलिँदैन। तिमीहरूलाई यहाँको भाषा आउँदा पनि आउँदैन। त्यसैले तिमीहरू यहाँ बसेर जिन्दगी बिताउन सक्दैनौं।'
उनीहरूलाई यो पनि भनियो, 'तिमीहरू यहीँ बस्ने भए जुन अपराधमा अमेरिकामा पक्राउ परेका थियौं, त्यसको सजाय भुटानको कानुनअनुसार भोग्नुपर्नेछ। बरू तिमीहरू नेपाल जाओ। तिमीहरूको आफ्नो मान्छे भन्नेहरू अहिले पनि त्यहाँ छन्। तिमीहरूले त्यहाँ काम गरेर खान पाउँछौ।'
भुटानी अधिकारीहरूको यस्तो कुरा सुनेर शरणार्थीहरू तर्सिए।
भुटानमै बस्ने भए जिन्दगीभर जेलमा बिताउनुपर्छ भन्ने चेतावनी उनीहरूले प्रस्टै बुझे। त्यसैले नेपाल जाने विकल्प रोजे।
भुटानी अधिकारीहरूले अमेरिकाबाट डिपोर्ट भएर आएका सबै शरणार्थीलाई ३० हजार भारतीय रूपैयाँका दरले बाटो खर्च दियो र गाडीको बन्दोबस्त पनि आफै गरिदियो।
उनीहरूलाई भारतीय नम्बर प्लेटका तीनवटा गाडीमा फुन्सोलिङ, जयगाउँ हुँदै पानीट्यांकी ल्याएर छाडियो।
'त्यहाँबाट उनीहरूलाई नेपाल कसरी छिर्ने भन्ने दोधार भएछ,' पक्राउ परेका छोरासँगको कुराकानीका आधारमा कुमारले हामीसँग भने, 'कोही भारततिरै लुकेर बसेछन्। कोही भने दलाललाई २२ हजार रूपैयाँ पैसा खुवाएर मेची पुल मुनिबाट नेपाल छिरेछन्।'
दलाललाई पैसा खुवाएर नेपाल छिरेकामध्ये आशिष र उनका दुई जना साथी चैत १५ गते राति बेलडाँगी शिविर आइपुगेका थिए।
'छोराछोरीले तानेर अमेरिका जाने तयारीमा थिएँ। कुनै न कुनै दिन त कागजपत्र मिल्ला भन्ने आस थियो। छोरा आफै अमेरिकाबाट खेदिएपछि सारा सपना चकनाचुर भएको छ,' कुमारले भने, 'मेरो त जिन्दगी दु:खमै बित्यो, अब छोराको भविष्य पनि अन्धकार होला भन्ने पो चिन्ता छ।'
यहाँ भुटान सरकारसँग कुमारको प्रश्न छ —
'अमेरिकाले मेरो छोरा र अरू शरणार्थीहरूलाई डिपोर्ट गरेर सिधै भुटान पुर्याउनुले उनीहरू भुटानी नागरिक नै हुन् भन्ने अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ। यसरी फिर्ता पठाइएकाहरूलाई भुटान सरकारले कि त विमानस्थलमै अस्वीकार गर्नुपर्थ्यो। उनीहरूलाई हवाईजहाजबाट ओर्लिनै दिनु हुन्थेन। जुन जहाजमा आएका थिए, त्यही जहाजबाट फिर्ता पठाउनुपर्थ्यो। तर उनीहरूले त्यसो गरेनन्। संसारको अगाडि देखासिकी गर्न शरणार्थीलाई स्वीकार गरेको नाटक देखाए र राम्रो होटलमा खुवाइपियाइ पनि गराए। अनि अन्तर्राष्ट्रिय समुदायको आँखा छल्दै उनीहरूलाई फेरि नेपालतिरै लखेटिदिए,' कुमारले भने।
उनले अगाडि भने, 'अमेरिकाले फिर्ता पठाइदिएका शरणार्थीलाई भुटान सरकारले कि आफैकहाँ सुरक्षित बस्ने व्यवस्था गर्नुपर्थ्यो, नभए के आधारमा नेपाल पठायो? के नेपाल उनीहरूको देश हो र? आशिषको त यहाँ म छु, उसको बा छ; बाँकी शरणार्थीहरूको कोही छैन। उनीहरूको परिवार सबै अमेरिकातिरै छन्। भुटान सरकारले उनीहरूलाई कसको भरमा नेपाल पठायो? के सोचेर पठायो? उनीहरू यहाँ कोसँग बस्ने? कसको सहारामा बस्ने?'
कुमारले यो पनि भने, 'भुटानले हामी नेपालीभाषीलाई दोस्रोपटक शरणार्थी बनाएको छ। यो घटनाले नेपालीभाषीहरूप्रति भुटान सरकारको अन्यायपूर्ण व्यवहार फेरि छर्लंग पारेको छ। अन्तर्राष्ट्रिय समुदायले भुटानको यो रवैया बुझ्नुपर्छ र हामीलाई न्याय दिनुपर्छ।'
तेस्रो प्रश्न नेपाललाई
कुमारका लागि छोरा र उनका साथीहरूको आगमन एकैपटक हर्ष र विस्मातको विषय बनेको थियो।
शिविरमा नयाँ मान्छे थपिएपछि स्थानीय प्रहरीलाई जानकारी दिनुपर्छ भनेर उनी खबर गर्न गए। खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयले पक्राउ गरेर लग्यो। त्यसपछि प्रहरीले काँकडभिट्टा नाकामा कडाइ गर्न थाल्यो। त्यसै क्रममा थप एक जना (अशोक गुरूङ) पक्राउ परेका हुन्।
दस दिनदेखि काँकडभिट्टा प्रहरीको नियन्त्रणमा रहेका भुटानी शरणार्थी युवाहरूलाई के गर्ने भन्नेमा कुनै निधो हुन सकेको छैन।
'उनीहरूलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो। हामीले पक्राउ गरेर राखिदिएका मात्र हौं,' काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी राजन लामाले भने, 'उनीहरूबारे सबै कुरा अध्यागमनले जान्ने हो।'
हामीले काँकडभिट्टास्थित अध्यागमन कार्यालय प्रमुख तुलसी भट्टराईलाई सोध्दा उनले पनि निर्णय हुन बाँकी रहेको बताए।
'हामी अनुसन्धान गरिरहेका छौं। अनुसन्धान अन्तिम चरणमा पुगेको छ,' उनले भने, 'अब प्रतिवेदन बनाएर विभागलाई बुझाउँछौं। त्यसपछि के गर्ने भनेर विभागले नै निर्णय गर्छ।'
उनका अनुसार यी शरणार्थीहरू बिनाकागजात कसरी नेपाल आइपुगे भन्ने विषयमा अध्यागमनले अनुसन्धान गरिरहेको छ।
'पासपोर्ट र भिसाबेगर उनीहरू कसरी नेपाल आइपुगे भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित छ,' उनले भने, 'हामी उनीहरूको विगततिर पसेका छैनौं।'
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी पनि पक्राउ परेका शरणार्थीबारे अध्यागमनको निर्णय कुरेर बसेको बताउँछन्।
प्रहरी, अध्यागमन र जिल्ला प्रशासन कार्यालयलको जबाफ सुनेर कुमार हैरान छन्। आफ्ना छोराहरू सरकारी प्रक्रियामा फसेर महिनौं थुनामा बस्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता छ। यही चिन्ताले भोकतिर्खा र निद्रा हराएको उनी बताउँछन्।
यहाँ नेपाल सरकारसँग कुमारको प्रश्न छ —
'आफूले नै आश्रय दिएर लगेका शरणार्थीलाई अमेरिकाले अन्यायपूर्वक डिपोर्ट गर्यो। ती शरणार्थीलाई नेपाल पठाएर भुटानले अर्को अन्याय गर्यो। अहिले नेपाल सरकारले बिनाकारण थुनामा राखेर अन्यायमाथि अन्याय गरिरहेको छ,' उनले भने।
उनले अगाडि भने, 'उनीहरू दुइटा देशले लखेटेपछि बाध्य भएर नेपाल आइपुगेका हुन्। कुनै अपराध गरेकै भए पनि अमेरिकामा गरेका थिए। नेपाल आएपछि गैरकानुनी काम केही गरेका छैनन्। नेपालले के आधारमा उनीहरूलाई पक्राउ गरेर राखेको छ? उनीहरूले यहाँ के अपराध गरेका छन् र?'
उनले यो पनि भने, 'यी शरणार्थीहरू नेपाली दाजुभाइको मुख हेरेर यहाँ आएका हुन्। अरू देशले बस्न-खान नदिए पनि यहाँ सुखसँग बस्न पाइएला भन्ने आसमा आएका हुन्। उनीहरूलाई पक्राउ गरेर फेरि अर्को अन्याय गरिएको छ।'
यति ठूलो संसारमा आफ्ना छोराहरू 'कहीँको पनि नरहेको' पीडा पनि उनले पोखे।
भने, 'ऊ भुटानमा जन्मियो। नेपालमा हुर्कियो। अमेरिका गयो। त्यहाँबाट भुटान हुँदै अहिले नेपालको थुनामा छ। अब कतिञ्जेल थुनिने हो? छुट्यो भने पनि कुन देशको मान्छे होला ऊ? के मेरो छोरो अब कहीँको नरहने भयो?'
चौथो प्रश्न राष्ट्रसंघलाई
राष्ट्रसंघकै पहलमा अमेरिका गएका भुटानी शरणार्थीलाई अमेरिकी सरकारले डिपोर्ट गर्दा पनि र तिनलाई भुटान सरकारले फेरि शरणार्थी बनाएर नेपाल पठाउँदा पनि राष्ट्रसंघ मौन बस्नुले कुमार सुवेदीलाई थप दिक्दार बनाएको छ।
थातथलो गुमाएका शरणार्थीलाई संसारकै शक्तिशाली राष्ट्र अमेरिकाबाट भएको अन्यायमा राष्ट्रसंघ मौन रहनु उदेकलाग्दो भएको उनी बताउँछन्।
'भुटानी शरणार्थीहरू आफूखुसी अमेरिका गएका होइनन्। राष्ट्रसंघकै पहलमा अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली मुलुक लगिएको हो। आज आएर अमेरिका गएका हाम्रा छोराछोरीमाथि अन्याय भएको छ। आफ्नो देशबाट निकालिएका शरणार्थी युवाहरूलाई आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै फेरि देश निकाला गरिएको छ। यसरी शरणार्थीहरूलाई देश निकाला गर्न अन्तर्राष्ट्रिय कानुनले अनुमति दिन्छ कि दिँदैन? जुन देशमा उनीहरू सुरक्षित रहन सक्दैनन्, त्यही देशमा डिपोर्ट गरेर पठाउने हक अमेरिकालाई छ कि छैन?' कुमारले प्रश्न गरे।
उनले अगाडि भने, 'राष्ट्रसंघले यो विषयमा मौनधारण गर्नु शंकास्पद छ। अमेरिका र भुटानको अहिलेको रवैयाबारे राष्ट्रसंघले बोल्नैपर्छ। भुटानी शरणार्थीहरू सुरक्षितसँग बाँच्न पाउने हक राष्ट्रसंघले सुनिश्चित गर्नैपर्छ।'
कुमार सुवेदीकुनै घटनामा प्रश्न धेरै हुन्छन्, जबाफ एउटै हुन्न। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुदार आप्रवासी नीतिअनुसार १२ जना भुटानी शरणार्थी फिर्ता पठाइदिएको घटना पनि त्यस्तै भएको छ।
बेलडाँगी शिविरका कुमार सुवेदीले अमेरिकी सरकार, भुटान सरकार, नेपाल सरकार र राष्ट्रसंघ समक्ष राखेका प्रश्नहरू पनि अनुत्तरित छन्। जबाफ कसले दिने हो, त्यो पनि उनलाई थाहा छैन।
यसबीच नेपाल र भुटानका प्रधानमन्त्रीबीच थाइल्यान्डमा भएको बिमस्टेक सम्मेलन क्रममा भेटवार्ता भएको थियो। उनीहरूले यो मुद्दाबारे चुइँक्क बोलेनन्। अमेरिका र राष्ट्रसंघले पनि केही बोल्ला भन्ने उनलाई लागेको छैन।
'कसैले जबाफ नदिए पनि यो समस्त भुटानी शरणार्थीहरूको भविष्यसँग जोडिएको प्रश्न हो। ट्रम्प सरकारले भोलि थप भुटानी शरणार्थीहरूलाई डिपोर्ट गर्न सक्छ। के उनीहरूलाई पनि भुटान पठाइने हो? के भुटान पठाइएका शरणार्थीहरू घुमिफिरी नेपाल नै आउने हुन्?' कुमारले प्रश्न गरे।
अहिले झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा ६ हजार ५ सय हाराहारी शरणार्थी छन्। तीमध्ये धेरैले भुटान फिर्तीको माग गरिरहेका छन्। यसमा पनि कुनै सुनुवाइ भएको छैन। पछिल्लो घटनाले त भुटानी शरणार्थी समस्या थप पेचिलो बन्ने जोखिम बढाएको छ।
'अहिले पनि कोही बोलेनन् भने पहिले लखेटिएका भुटानी शरणार्थी मात्र होइन, भुटानभित्रै रहेका नेपालीभाषी समुदायको भविष्य पनि अन्धकार हुनेछ भन्ने मलाई लाग्छ,' कुमारले भने।
***
यो पनि पढ्नुहोस्: