काठमाडौंको चुच्चेपाटीमा रहेको हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएकोबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ।
हायातले विज्ञप्ति जारी गर्दै गत भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको बताएको थियो
त्यसपछि प्रधानमन्त्री कार्कीको चासो राखेको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेको रावलले बताए।
‘त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
‘तपाईंहरू आत्तिनु भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सञ्चालन गर्नुहोस्। हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्,’ अर्थमन्त्री खनालको भनाइ उद्धृत गर्दै रावलले भने।
यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने पनि रावलले बताए।
गत कात्तिक २ गते हायात होटलले विज्ञप्ति जारी गर्दै होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको बताएको थियो।
‘भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनको क्रममा यस होटल समेतमा भएको तोडफोड र आगजनी क्रियाकलापले होटल संरचनामा क्षति पुग्न गएको कारण होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेकोले यसको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नुपर्ने अपरिहार्य भएको छ,’ होटलले विज्ञप्तिमार्फत् भनेको थियो, ‘होटलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्येनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पुर्ण होटल नै पूर्ण रूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पुर्ण श्रमिकहरु अर्को सूचना प्रेषित नहुदा सम्म वा अन्य निर्णय नहुदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ।’