नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्।
दुवै महामन्त्रीले शुक्रबार संयुक्त रूपमा जारी गरेको विशेष परिपत्रमा निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरिसकेको सन्दर्भमा पार्टीका सबै तहलाई अभियानमा केन्द्रित हुन आग्रह गरिएको छ।
परिपत्रमा छठ पर्वलगत्तै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, मातहतका सबै तहका संरचना तथा प्रदेश संसदीय दलमा रहेका सांसदहरूलाई आ–आफ्नो क्षेत्रबाट ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’ सञ्चालन गर्न निर्देशन दिइएको छ।
परिपत्रमा भनिएको छ, 'जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको दर्ता स्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिन्छ। दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य छ। नागरिकता नभएका युवाहरूले नागरिकता बनाएर सोही दिन नाम दर्ता गर्न सक्नेछन्।'
महामन्त्रीद्वयले परिपत्रमार्फत सबै तहका संरचनालाई अन्य कार्य थाती राखेर मतदाता दर्ता अभियानलाई प्राथमिकता दिन भनेका छन्।