काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।
शनिबार मध्यरातसम्मको मतगणना अनुसार सिर्जनाले २० हजार ५२० मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २० हजार ३१६ छ।
स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको मत ३७ हजार ६१ पुगेको छ।
एक लाख २ हजार ७६३ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।
बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५४१ छ भने स्थापितसँग १६ हजार ७४५ छ।
सिर्जना र स्थापितको मतान्तर २०४ छ।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।
त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।
यीमध्ये वडा नम्बर ७, ९, १० र २६ मा बालेनको अग्रता छ।
वडा नम्बर ९, १० र १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। वडा नम्बर १२ को मतगणना भर्खरै सुरू भएको हो। यहाँ २०० मत गन्दा सिर्जनाले ६९, स्थापितले ४६ र बालेनले २६ मत पाएका छन्।
त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २३ नम्बर वडाको मतगणना पनि केही समयअघि मात्र सुरू भएको हो। यहाँ ४०० मत गन्दा स्थापितले १००, सिर्जनाले ७९ र बालेनले ६२ मत पाएका छन्।