२०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका पालिकाहरूमा एमालेले प्रमुख पदहरू गुमाए पनि उपप्रमुखहरूले जितेर साख जोगाइदिएका छन्।
१६ वटा स्थानीय तह रहेको रूपन्देहीमा अघिल्लो निर्वाचनमा बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकामा एमालेले प्रमुख उपप्रमुख दुवै पद जितेको थियो।
त्यस्तै, देवदह नगरपालिकामा उपप्रमुख जितेको एमालेले कंचन, शुद्धोधन र सियारी गाउँपालिकामा पनि अध्यक्ष/उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको थियो।
यसपटकको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा जितेका बुटवल, सैनामैना, सिद्धार्थनगर र शुद्धोधनमा प्रमुख उम्मेदवार पराजित हुँदा उपप्रमुखले भने जित हासिल गरेका छन्। देवदहमा भने अघिल्लो निर्वाचनमा उपप्रमुखले मात्रै जित हासिल गरेकोमा यसपटक प्रमुख र उपप्रमुख दुवैले जितेका छन्।
त्यस्तै, अघिल्लो निर्वाचनमा जित्न नसकेका ओमसतियामा प्रमुख र गैंडहवामा प्रमुख/उपप्रमुख दुवै पद जितेको एमालेले लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुखको जित निश्चित बनिसकेको छ।
लुम्बिनीमा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनाए पनि मत परिणाम अनुसार प्रमुख निकै पछाडि छन्।
यसरी अघिल्लो निर्वाचनमा ७ वटा प्रमुख र आठ वटा उपप्रमुख जितेको एमालेले यसपटक तीन जना प्रमुखमा जित्दा ६ जना उपप्रमुखमा महिला निर्वाचित भइसकेका छन्।
रूपन्देहीको देवदहमा ध्रुबप्रसाद खरेल, ओमसतियामा मन्जितकुमार यादव, गैडहवामा सुरेन्द्र पौड्याल यी तीन प्रमुखमा निर्वाचित हुँदा देवदहको उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ, बुटवलको उपप्रमुखमा सावित्रा अर्याल, सिद्धार्थनगर उपप्रमुखमा उमा अधिकारी, सैनामैनाको उपप्रमुखमा विना राना, गैडहवाको उपाध्यक्षमा माधुरी जैसवाल, शुद्धोधनको उपाध्यक्षमा शान्तिदेवी ज्ञवाली निर्वाचित भएका छन्।
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कडा प्रतिस्पर्धा भइरहँदा उपप्रमुखमा भने फराकिलो मत अन्तरले एमालेकी जागेश्वरी चौधरीले अग्रता लिइरहेकी छन्।