पूर्वी कैलालीका चार वटा पालिका वैशाख ३० गते भएको स्थानीय तह चुनावमा अरू ठाउँको भन्दा बेग्लै नतिजा आएको छ।
संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा पर्ने यी चार वटै पालिकामा एउटै दलले जित हात पारेको छ। त्यो दल जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीले केही महिनाअघि मात्रै खोलेका थिए।
कैलालीको क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी अहिले डिल्लीबजारस्थित कारागारमा छन्।
२०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ प्रहरीको हत्या भएको घटनामा मुछिएका चौधरीले ‘भूमिगत’ भएरै २०७४ को चुनावमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी प्रहरीको फरार सूचीमा थिए।
राष्ट्रिय जनता पार्टीबाट उनले चुनाव जितेका थिए।
कैलाली जिल्ला अदालत र दीपायल उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो।
२०७४ फागुन १४ गते उनले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। जिल्ला र उच्च अदालतको निर्णयविरूद्ध उनले सर्वोच्च अदालत पुनरावेदन दिएका छन्। सर्वोच्चले उनलाई रिहा नगर्न आदेश दिएको छ। मुद्दा भने विचाराधीन छ।
चार वर्ष कारागारमा बिताएका चौधरीले यसपालिको चुनावमा भने आफ्नो निर्वाचन क्षेत्रमा एकलौटी गरेका छन्।
कैलाली क्षेत्र नम्बर १ मा पर्ने टीकापुर र भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा उनको नागरिक उन्मुक्त पार्टीले जित हात पारेको छ।
टीकापुरको मेयरसहित उनको पार्टीले २ वडाध्यक्ष जितेको छ। भजनीको मेयर र उपमेयरसहित नागरिक उन्मुक्ति पार्टीले तीन वडाध्यक्ष जितेको छ।
जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाध्यक्ष उक्त पार्टीले जितेको छ भने जोशीपुर गाउँपालिका पनि अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जित हात पारेको छ।
कैलालीका अरू पालिकाहरूमा भने उनको पार्टीको प्रभाव त्यति बलियो देखिँदैन।
लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार उल्लेख्य मत ल्याउन सकेका छैनन्।