बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने उपप्रमुखमा एमालेकी सावित्रा अर्याल २४ हजार ९ सय ४ मतका साथ विजयी भएकी हुन्।
नगर प्रमुखमा पराजित हुने एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ र उपप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १६ हजार ९ सय ८० मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ४ हजार २ सय ९७ र उपप्रमुखका उम्मेदवार भगवती पाण्डेयले ६ हजार ५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ अर्थात् जम्मा ६९ दशमलव ९२ प्रतिशत मत खसेको थियो। १९ वटा वडा रहेको बुटवलमा ५ वटा वडामा एमाले विजयी हुंदा १३ वटा वडामा गठबन्धन विजयी भएको छ।
त्यस्तै वडा नं. १ मा भने स्वतन्त्रका उम्मेदवारले जित हात पारेका छन्।
२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर नगरप्रमुख बनेका थिए।
अघिल्लो निर्वाचनमा पनि प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेयले २ हजार ३ सय ९८ मतले पराजित हुँदै २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमुक्तिको गठबन्धन रहेको अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा एमालेकी गोमादेवी आचार्यले माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई पराजित गरेकी थिइन्।
आचार्यले २५ हजार ३ सय १ मत ल्याएर विजयी हुँदा पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका थिए।