बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोस्रो कार्यकालका लागि जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ।
गाउँपालिकाका अध्यक्षमा यसअघिका इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन्। साह ५०३७ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
यहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई अध्यक्षमा निर्वाचित साहले पराजित गरेका थिए।
यसपालि कांग्रेसका मौर्यले ३६८५ मत प्राप्त गरे। त्यस्तै, तेस्रो स्थानमा आएका नेकपा एमालेकी पदमावती यादवनीले ३१२२ मत प्राप्त गरेकी थिइन्।
जसपाका साह निकटतम् प्रतिस्पर्धी कांग्रेसका मौर्यभन्दा १३५२ मतान्तरले विजयी भएका हुन्।
त्यस्तै, उपाध्यक्षमा निर्वाचित श्रीवास्तवले कांग्रेसकी अतिकुन निशालाई २०७ मतान्तरले पराजित गरिन्। श्रीवास्तवले ३८७९ मत प्राप्त गर्दा निशाले ३६७२ मत प्राप्त गरिन्। त्यस्तै, एमालेका पञ्चराम यादवले २८०४ मतमात्रै प्राप्त गरे।
यहाँ कांग्रेसले तीन र जसपाले दुई वडा जितेको छ।
कांग्रेसबाट नरैनापुर १ को वडाध्यक्षमा इसाक जोलाह, वडा नम्बर ४ मा मनोजकुमार शर्मा, वडा नं. ५ मा कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन्।
त्यस्तै, जसपाबाट वडा नं. २ मा मसुद अहमद साह र वडा नं. ३ मा अजयकुमार मिश्र निर्वाचित भएका छन्।
२०७४ सालमा नेपाली कांग्रेसले नरैनापुरका वडा नं. ३, ५ र ६ नम्बर वडाहरू जितेको थियो। बाँकी वडाहरू जसपाले जितेको थियो।
बाँकेका ८ पालिकामध्ये अब कोहलपुर नगरपालिकाको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी छ।