भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मै सोचेजस्तो नतिजा नआएपछि नेकपा एमालेले मेयर जित्ने सम्भावना कमजोर बनेको छ।
यो महानगरको सबैभन्दा बढी मतदाता रहेको वडा हो। यहाँ १३८३८ मतदातामा यसपालि ९०८१ जनाले मतदान गरेका थिए।
अहिलेसम्म यो वडाको ७८१३ मत गन्दा एमालेका विजय सुवेदीले २८३० र गठबन्धनका रेनु दाहालले २९६३ भोट पाएका छन्। ५७७७३ भोट गनेर सक्दा सुवेदी दाहालभन्दा ३१८१ भोटले पछि छन्। दाहालको २१६८३ र सुवेदीको १८५०२ भोट आएको छ। जगन्नाथ पौडेलले ८०६७ भोट ल्याएका छन्।
एमालेका नेताहरूले गठबन्धनले बनाएको अग्रतालाई भरतपुरका वडा नम्बर १०, ११ र १२ मा भेटाउने दाबी गरेका थिए। तर वडा नम्बर १० मा सुवेदी दाहालभन्दा १४२ भोटले पछि परे।
वडा नम्बर १२ मा ३६४३ मत गणना सकिँदा सुवेदी दाहालभन्दा २३९ भोटले अघि छन्।
'१२ मा लिड भइरहे पनि यति लिडले अब हामीलाई पुग्दैन। हामीले त १२ वडाको मत सकिँदा कम्तीमा बराबर बनाउन सक्नुपर्दथ्यो,' एमालेका नेता कृष्णभक्त पोखरेल भन्छन्, '११ र १२ नम्बरमा वडाध्यक्ष त पार्टीबाटै आउने भयो मेयरमा आउन सकेन।'
गणनास्थलमा रहेका एमालेका एक जना प्रतिनिधिका अनुसार भोटको ट्रेन्डलाई हेर्दा अब आउने वडाहरूमा पनि सुवेदीले धेरै मतान्तर ल्याउने सम्भावना देखिँदैन। वडा नम्बर ११ मा सुवेदी पछि पर्नुमा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी मुख्य कारण देखिएको उनले बताए। 'समाजवादीले वडाध्यक्षमा एमालेलाई भोट हालेछन्, यसको बदलामा एमालेले मेयरमा गठबन्धनलाई हालिदिएछन्,' उनले भने, 'राप्रपाको भोट पनि मेयरमा गठबन्धनलाई नै बढी गएको देखियो।'
भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो। तर दुबै पार्टीले तालमेलको मर्मअनुसार भोट नखसेको बताउँदै आएका छन्। यसले पश्चिम चितवनमा राप्रपाको प्रभाव राम्रो मानिने वडा नम्बर २३, २५, २७, २८ बाट पनि सोचेजस्तो भोट नआउने देखिएको एमालेका नेताहरू बताउँछन्।
'यो तालमेल त हाम्रो लागि अफापसिद्ध भयो। तालमेल नगरेको भए बरू एमालेको भोट एक ठाउँमा हुन्थ्यो, राप्रपाले मेयरमा आफ्नै मान्छे उठाउँथ्यो,' पश्चिम चितवनको राजनीतिलाई राम्रोसँग बुझेका एमालेका प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल भन्छन्,'अहिले त तालमेल हामीसँग भोट अर्कोतिर भयो। पश्चिममा राम्रो छ भनिएका ठाउँमा पनि हामीलाई भोट आउला जस्तो लाग्दैन।'
तालमेल असफल भएको राप्रपाका नेताहरू पनि स्वीकार्छन्। उनीहरूले एमालेका मतदाताले आफ्नो उपमेयरलाई भोट नहालेको बताएका छन्। राप्रपाका नेता जिवलाल पुरीले तालमेल उपल्लो तहमामात्रै सीमित बनेको जस्तो देखिएको बताए।
'तल्लो तहसम्म पुगेर संयुक्त कार्यक्रम गर्न एमालेले पनि सकेन, यसको असर दुबैतिर पर्यो,' उनले भने।
एमालेका कतिपय नेताले पश्चिमका वडाहरू १७, १८, १९ मा विजय सुवेदीको प्रभाव राम्रो रहेकोले त्यहाँ अग्रता लिन सक्ने आशा अझै रहेको बताएका छन्। तर गठबन्धनका नेताहरू सुवेदीको प्रभाव भनिएका क्षेत्रमा सामान्य भोटले लिड गरे पनि यसको खास अर्थ नहुने बताउँछन्। माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले वडा नम्बर १३ र १४ मा दाहालले अग्रता थप फराकिलो बनाउने भएका त्यसपछिका केही वडामा सुवेदीले सामान्य मतले अग्रता लिँदैमा असर नगर्ने बताए।
'हामीले चुनाव जितिसक्यौं। अब मतान्तर कति हुन्छ भन्ने मात्रै बाँकी हो,' उनी भन्छन्।
एमालेका जिल्ला इन्चार्ज रहेका देवी ज्ञवालीले भने अझै पनि सुवेदीले मेयर जित्ने झिनो आशा जीवितै रहेको बताए।
'कुनै ठाउँको भोटको ट्रेन्ड हेरेर अन्तको पनि त्यसै हुन्छ कि भन्न त सकिने भयो तर चुनाव हो कुनै ठाउँको मतपेटिकामा नसोचेको भोट खस्न पनि सक्छ,' २०७४ मा भरतपुरको मेयरको उम्मेदवार रहेका ज्ञवालीले भने, 'अझै आशा मारेका छैनौं, झिनो आशा बाँकी नै छ।'