भरतपुरका ९ वटा वडाहरूको मतगणना सकिँदा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर ३ हजार कटाएकी छन्।
उनले मतान्तर निरन्तर बढाउँदै लैजाँदा वडा नम्बर १०, ११ र १२ मा के होला भन्ने चासो सर्वत्र छ। भरतपुर महानगरपालिकाको केन्द्रमा पर्ने यी तीन वटा वडामा अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता फराकिलो पारेका थिए। उनले वडा नम्बर १० मा ५३९, ११ मा ११६२ र १२ मा ६०६ (कुल २३०७) भोटले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार रेनु दाहालले भन्दा बढी भोट ल्याएका थिए।
यसपालि यी तीन वडामा १९ हजार ३ सय २० भोट खसेको छ। एमालेका नेताहरूले यी तीन वडाबाट गठबन्धनसँगको मतान्तर घटाउने दाबी गर्दै आएका छन्। गठबन्धनका नेताहरूले भने यसपालि यी वडाबाट मेयरमा एमालेको अग्रता नहुने दाबी गर्ने गरेका छन्।
‘यी तीन वडाहरूमा पहिले एमालेले राम्रै अग्रता बनाए पनि यसपालि त्यस्तो अवस्था छैन। यहाँ नपुग्दै हामीले धेरै मतको अग्रता बनाइसकेका छौं। यी वडाको गणना सकिँदा हाम्रो अग्रता थप फराकिलो हुन्छ,’ माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु शिवाकोटीको दाबी छ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको प्रभाव यी तीन वडामा राम्रै पर्ने आँकलन माओवादी केन्द्रका नेताहरूको छ।
‘एमालेकै कतिपय कार्यकर्ताले मेयरमा गठबन्धनलाई भोट हालेका छन्। एमालेसँग तालमेल गरेको राप्रपाका मतदाताले पनि मेयरमा हामीलाई भोट दिइरहेका छन्,’ माओवादी केन्द्रका अर्का एक नेताले भने, ‘त्यही खालको अवस्था यी वडाहरूमा पनि देखिँदैछ।’
एमालेबाट पहिले मेयरमा उठेका देवी ज्ञवाली भने गठबन्धनले बनाएको अग्रतालाई यी तीन वडाले काट्ने र पश्चिम चितवनतर्फ प्रवेश गर्दै गर्दा विजय सुवेदीको मत बढ्दै जाने दाबी गर्छन्।
भरतपुर-१२ एमालेको मेयर उम्मेदवार विजय सुवेदीको वडा हो।
गत निर्वाचनमा यी तीन वटै वडामा एमालेले वडाध्यक्ष पनि जितेको थियो। उनीहरूमध्ये वडा नम्बर १० का अरूणपीडित भण्डारी र १२ का नरेन्द्र कङदवा एकीकृत समाजवादीतिर गए। अहिले गठबन्धनबाट वडा नम्बर १० मा कांग्रेसले, ११ मा माओवादी केन्द्रले र १२ मा एकीकृत समाजवादीले वडाध्यक्ष उठाएका छन्।
गत निर्वाचनमा वडा नम्बर ११ मा त एमालेका वडाध्यक्षका उम्मेदवारले कांग्रेसले भन्दा १२९७ भोट बढी ल्याएका थिए। माओवादी केन्द्र तेस्रो भएको थियो।