मतगणना सुरू भएको पाँचौ रातको १० बजेतिर ६८ वर्षे हिमला गुरूङ गणनास्थल बाहिर एक्लै बसिरहेकी थिइन्। हातमा लिएको रुमालले निधारको पसिना पुछ्दै आकासतिर हेर्दै थिइन्। झट्ट हेर्दा लाग्थ्यो उनलाई ठूलै समस्या भइरहेको छ।
हिमला यसपालि भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी उनलाई उपमेयरको उम्मेदवार बनाएको हो।
भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाले तालमेल गरेका छन्। राप्रपाले एमालेले उठाएको मेयरका उम्मेदवारलाई र एमालेले राप्रपाले उठाएका उपमेयरलाई भोट हालेर सघाउने सहमति थियो।
तर अहिले आइरहेको भोटको ट्रेन्डले तालमेल सफल भएको देखिँदैन। महानगरका ६ वटा वडाको मतगणना सकिँदा उनले एमालेले उठाएको मेयरका उम्मेदवार विजय सुवेदीले भन्दा पन्ध्र सय कम भोट ल्याएकी छन्। गठबन्धनले उठाएको उपमेयरका उम्मेदवारभन्दा उनी झन्डै पाँच हजार बढी भोटले पछाडि छन्।
तैपनि हिमलाको आशा मरेको छैन।
‘भनिन्छ नि श्वास रहेसम्म आश रहन्छ। मैले आशा मारेको छैन,’ उनले भनिन्, ‘मेरो पनि पालो आउला बिस्तारै।’
उनीसँग पश्चिम चितवनको आफ्नो वडामा पुगेपछि प्रतिष्पर्धीलाई पछि पार्ने विश्वास कायमै छ। उनी भरतपुर-१९ शारदानगरकी हुन्। उनको परिवार यहाँ बस्न थालेको करिब ७ दशक भयो। उनका बाबु शारदानगर गाउँ पञ्चायतमा १५ वर्षसम्म प्रधानपञ्च भएका थिए। तर उनका काकाहरू भने कांग्रेसमा थिए।
कांग्रेसमा रहेका हिमलाका माइला काका इमानसिंह गुरूङ २०१८ सालमा सहिद भएका थिए। चितवनमा कांग्रेसको बीउ रोप्ने बखानसिंह गुरूङ हिमलाका बाजे पर्छन्।
परिवारका धेरै सदस्य कांग्रेसको राजनीतिमा लागे पनि हिमलाको राजनीतिक जीवन भने पञ्चायत र राप्रपामै बित्यो। काठमाडौं पढ्न बस्ने क्रममा २०२८ सालमा राप्रपाको महिला संगठनको सदस्यता लिएकी उनी त्यसयता निरन्तर राप्रपाको राजनीतिमा छन्।
पञ्चायतको अन्त्यपछि २०४८ सालमा भएको निर्वाचनमा उनी चितवनमा राप्रपाको तर्फबाट सांसदको उम्मेदवार बनेकी थिइन्। तर भर्खरै बहुदल आएको समयमा उनको राम्रो भोट आएन।
‘तर मलाई मान्छेहरु अहिलेका भन्दा त्यतिखेरकै ठीक थिए जस्तो लाग्छ। त्यतिखेर त भोट दिन मन नलागेकाले सिधै दिन सक्दिन भन्थे। तर अहिले कसैले दिन्न भन्दैन,’ उनी भन्छिन्, ‘भोट माग्दा सबैले भइहाल्छ, दिइहाल्छु भन्छन् तर बक्स खोलेर हेर्दा भोटै आउँदैन।’
उनले एमालेसँग तालमेल गरिए पनि दुबैतर्फ सोचेजस्तो नतिजा नआइरहेको बताइन्।
‘तालमेल त गरियो तर कार्यकर्ताको हात समातेर भोट हाल्नी कुरा भएन, केमा भोट हाल्ने भन्ने उनीहरुको इच्छाको कुरा हो,’ हिमला भन्छिन्, ‘जस्तो नतिजा आएपनि स्वीकार गर्नुको विकल्प के छ र।’
उनले वडा नम्बर १, २ र ३ मा राप्रपाको खासै प्रभाव नरहेको बताइन्। ४ नम्बरमा प्रभाव केही रहेपनि तालमेलको मर्मअनुरुप दुबै पार्टीका उम्मेदवारले भोट नपाएको उनले बताइन्।
उपमेयरकी उम्मेदवार हिमला गुरूङले आफ्नो वडा नम्बर १९ का अलावा १७, १८, २३, २७, २८ नम्बर वडाहरुमा आफूलाई राम्रो भोट आउने बताइन्।
‘मेरो ठाउँ त आएकै छैन,’ उनले भनिन्, ‘तैपनी कति भोट आउँछ भनेर कौतुहलता हुने रहेछ। घरमा बस्न मनै लाग्दैन। यहीँ आइहालौं जस्तो हुन्छ।’ उनी विहान पाँच बजेअघि नै गणना स्थलमा आइपुग्छिन्, राति ११ बजेसम्म बसेर फर्कन्छिन्। घर पुगेर १२ बजे सुत्छिन् तर ३ नबज्दै निद्रा खुलिहाल्छ।
‘परिवारका अरुले सुत्न नछोड, समयमा खाना खानुपर्छ भन्छन् तर मलाई यी कुनै कुरामा रूची छैन। बेचैनी बढेको छ,’ उनी भन्छिन्, ‘यहाँ भोट गनिँदैछ घरमा सुत्न कसरी सकिन्छ र!’
उनले मतपरिणाम नआउँदासम्म जितिन्छ कि भन्ने आश कायमै रहने बताउँदै भनिन्–‘जित्न सकिएन भने पनि केही छैन। समाजसेवा गर्नु मेरो लक्ष्य हो, त्यो त म हारें भने पनि गरिहाल्छु।’