स्थानीय तहको निर्वाचन घोषणासँगै भरतपुरको चर्चा सर्वत्र छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला र उनकै छोरी रेनु दाहालको उम्मेदवारीले २०७४ को निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको चर्चा चुलीमा थियो। त्यतिखेर नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरेर घरदैलो अभियानमा हिँडिसकेका नेता दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी केन्द्रकी नेतृ दाहाललाई मेयरमा समर्थन गर्ने निर्णय गरेको थियो।
सरकार चलाइरहेको पाँच दलीय गठबन्धनले यसपालि पनि भरतपुरको मेयर माओवादी केन्द्रकै भागमा पार्यो भने माओवादीले रेनु दाहाललाई नै मेयरको उम्मेदवार बनायो।
नेपाली कांग्रेसको वडादेखि जिल्ला तहसम्मले यसपालि भरतपुरको मेयर नछाड्न नेतृत्वलाई दबाब दिएका थिए। केन्द्रबाटै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले पार्टी बैठकमा भरतपुर मेयर कांग्रेसले छाड्न नहुने आवाज उठाए। चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरूङ र दिनेश कोइरालासहितको जिल्ला समितिले पार्टी पदाधिकारी सबैलाई भेटेर ध्यानाकर्षण गरायो। तर पार्टी नेतृत्वले तल्लो तहको कुरो सुनेन।
नेतृत्वको निर्णयमा असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमै भेला राखेर पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उम्मेदवार बनाउने घोषणा गरे। यसले केन्द्रीय राजनीतिमै तरंग ल्याइदियो। उम्मेदवारी दर्ताको दिन सबैको ध्यान पौडेलतर्फ थियो।
नेपाली कांग्रेसका नेता मात्रै नभएर माओवादी केन्द्रका नेताहरू पनि पौडेललाई फकाउन थाले। कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन अनुरोध गरे। नमानेपछि सम्झाउन आफ्ना विश्वासपात्र नेता बालकृष्ण खाँण र उमेश श्रेष्ठलाई भरतपुर पठाए। तर पौडेल टसको मस भएनन्।
भरतपुरको चर्चाका पछाडि गत निर्वाचनको मतगणना क्रममा मतपत्र च्यातिएको विषय पनि एक हो।
यहाँका २८ वटा वडाको मतगणना सकेर अन्तिम वडाका रूपमा वडा नम्बर १९ को २ हजार ८ सय ९६ मतमध्ये आधाभन्दा बढी गणना सकिँदा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवाली ७ सय ३३ भोटले अगाडि थिए। मतगणना चल्दै गर्दा मतपत्र च्यातियो। यसले ठूलो विवाद भयो र पछि उक्त वडामा फेरि मतदान गरियो।
अन्ततः माओवादी केन्द्रकी रेनु दाहालले चुनाव जितिन्। गणना हुँदै गर्दा मतपत्र च्यातिएको विषयमा अहिले पनि उत्तिकै चर्चा हुन्छ।
दाहालले मेयर हुँदाको अवधिमा भरतपुरको विकासले फड्को मारेको दाबी गर्ने गरेकी छन्। उनको कार्यकालमा भरतपुरका प्रायः सडक कालोपत्रे भएका छन्। केही ठूला आयोजना निर्माण हुन थालेका छन्।
यसपालि नेकपा एमालेले विजय सुवेदीलाई मेयर उम्मेदवार बनाएको छ। उनले उम्मेदवार बन्न बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। उनी अष्टलक्ष्मी शाक्यको बागमती प्रदेश सरकारमा केही समय सामाजिक विकास मन्त्री भएका थिए।
सुवेदी तीन कार्यकाल नेकपा एमाले चितवनको प्रमुख भएका उम्मेदवार हुन्। उनले जिल्ला अध्यक्ष हुँदा बृहत चितवनको गुरूयोजना निर्माणको संयोजन गरेका थिए। त्यतिखेर देशकै राजधानी चितवन सार्ने प्रयास गरिएको थियो। पछि उनी भरतपुर अस्पतालका अध्यक्ष भए। त्यहाँ रहँदा उनले गरेका कामको प्रशंसा हुने गर्छ।
भरतपुर महानगरपालिकामा यसपटक ३५ हजार ४ सय ७८ मतदाता थपिएका छन्। गत निर्वाचनमा १ लाख ५० हजार २ सय ७४ मतदाता थिए। तीमध्ये १ लाख १२ हजार ८ सय ९७ जनाले मतदान गरे। नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी दाहाल ४३ हजार १ सय २७ मत प्राप्त गरेर विजयी भएकी थिइन्। प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए।
एक लाख ८५ हजार ७ सय ५२ जना मतदाता रहेको भरतपुर महानगरपालिकामा यसपालिको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ।
यो प्रतिस्पर्धा दाहालले जित्लान् वा सुवेदीले? यस विषयमा माओवादी केन्द्र र एमालेको विश्लेषण र आकलन के छ?
सेतोपाटीले मेयर उम्मेदवार दाहालको चुनावी अभियानमा सक्रिय माओवादी नेता सुदर्शन पौडेल, भरतपुरमा एमालेबाट यसअघि मेयर उम्मेदवार बनेका देवीप्रसाद ज्ञवाली र नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उनीहरूको विश्लेषणबारे सोधेको थियो।
यी तीनै जनाको विश्लेषण उनीहरूकै शब्दमा:
सुदर्शन पौडेल (माओवादी नेता)
२०७४ को निर्वाचनमा हामीले एमालेलाई २ सय ३ भोटले पराजित गरेका थियौं। त्यतिखेर हामीलाई नेपाली कांग्रेसले सघाएको थियो। भरतपुरमा माओवादी केन्द्रका संगठित सदस्य ७ हजारजति थिए। विगतभन्दा हामी कमजोर थियौं।
पार्टीभित्रको योगदान ठूलो भए पनि रेनु दाहाल चितवनका लागि नयाँ हुनुहुन्थ्यो। त्यसैले उहाँलाई लिएर मैदानमा जान हामीलाई गाह्रो भइरहेको थियो। त्यसमाथि पार्टीको निर्णय ढिलो भयो। उता कांग्रेसमा उम्मेदवारी दर्ता गरिसकेका दिनेश कोइरालालाई फिर्ता गर्ने निर्णयको प्रभाव पनि उस्तै थियो।
गठबन्धन भएको दल कांग्रेसभित्र देखिएको असन्तुष्टिको प्रभाव मतदानमा देखियो। कांग्रेसको धेरै भोट उम्मेदवार नै नभएको रूख चिह्नमा र धेरै भोट खाली पनि गयो। यसले दुई दलका मतदाता जति थिए, त्यति भोट आउन सकेन। थोरै भोटले मात्र हाम्रो जित भयो।
यसपालि अवस्था त्यस्तो छैन। भरतपुरमा माओवादी केन्द्र आफैं बलियो भएको छ। पार्टी सदस्यहरू ७ हजारबाट बढेर १० हजार नाघेका छन्। अघिल्लो निर्वाचनमा करिब २२ हजार मत माओवादीको मात्रै आएकाले यसपालि बढेर ३५ हजार पुगेको हाम्रो प्रारम्भिक अनुमान छ।
यसबाहेक मेयर बनेको पाँच वर्ष अवधिमा रेनु दाहालले गरेको कामबाट यहाँका जनता खुसी भएको अनुभूति हामीले गरेका छौं। उहाँले भरतपुरमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायत क्षेत्रमा गर्नुभएको काम जनताले मनपराएका छन्। विशेष गरेर भरतपुरमा सडकको विकास र सुकुम्बासी समस्या समाधानमा मेयरले गरेका कामको प्रभाव देखिएको छ।
महानगरका ११, १३, २४, २५, २६ र २८ नम्बर वडाहरू त हाम्रो पहिलेबाटै राम्रो प्रभाव भएका क्षेत्र हुन्। यसपालि अन्य वडाहरूमा पनि हाम्रो जनमत राम्रो छ। भरतपुर र नारायणगढ बजार क्षेत्रमा पार्टी अलि कमजोरजस्तो देखिन्थ्यो। तर उद्योगी, व्यवसायीका लागि राम्रो वातावरण तयार पारेर मेयरले उहाँहरूको मन पनि जित्नुभएको छ। बजार क्षेत्रमा हाम्रो संगठन पनि राम्रो भइरहेको छ।
पश्चिम चितवनको नारायणीसँग जोडिएको क्षेत्रमा कांग्रेसको प्रभाव बढी हो। त्यहाँ पहिले कच्ची सडकहरू मात्रै थिए। २०७४ यता सबभन्दा बढी सडक कालोपत्रे भएको पश्चिम चितवनमै हो। बाटोका कारण त्यहाँका जनताको जीवनस्तर निकै सहज बनेको छ। यसको प्रभाव माओवादी केन्द्रमा राम्रै पर्ने हामी देख्छौं।
भरतपुर महानगरपालिकामा मात्रै १० हजारभन्दा बढी सुकुम्बासी परिवार छन्। उनीहरूलाई जमिनको निस्सा दिइएको छ। लालपुर्जा दिने काम पनि थालिएको छ। यी परिवारमा ४० हजार बढी मतदाता छन्। तीमध्ये २५ प्रतिशत मात्रै हामीले पायौं भने पनि १० हजार मत आउँछ।
भरतपुरमा नेपाली कांग्रेस बलियो छ। नेकपा एकीकृत समाजवादीको मत पनि राम्रै छ। नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेकाले त्यसको असर गठबन्धनलाई पर्छ कि भन्ने कतिपयलाई लागेको छ। तर हामीलाई त्यसको असर त्यति ठूलो पर्छ जस्तो लाग्दैन। अघिल्लोपटक पनि कांग्रेसको भोट बाहिर गएको थियो। यसपालि पनि केही भोट जान सक्छ तर कांग्रेसको केन्द्रीय र जिल्ला समितिले दिएको निर्देशन कार्यकर्ताले मान्छन् भन्ने हामीलाई लाग्छ। जिल्ला समितिले गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आह्वान गरिरहेको छ।
कांग्रेसका नेताहरु संयुक्त घरदैलो अभियानमा निस्कन थालिसक्नुभएको छ। हाम्रो प्रारम्भिक अनुमान कांग्रेसबाट गठबन्धनका उम्मेदवारलाई ७५ प्रतिशत भोट आउँछ भन्ने छ। कांग्रेसका मतदाता गत निर्वाचनमा ३८ हजार जति थिए। अहिले बढेर ४५ हजार जति पुगे होलान्। एमालेबाट छुट्टिएको एकीकृत समाजवादीको भोट १० हजार जति हुनसक्छ। अरू साना दलहरू पनि हामीसँग छन्। ती दलबाट पनि केही भोट मेयरमा आउँछ। यसबाहेक मेयरले गरेका कामले ८ देखि १० हजार जति मत आउने अनुमान छ। यो हिसाबले हामीले यसपालि ८० हजारभन्दा बढी मत ल्याएर जित्छौं।
पहिलोपटक निर्वाचन लड्दै गरेको उम्मेदवारको भन्दा पहिले जितेर फेरि उम्मेदवार बन्नेबाट जनताले धेरै आशा राखेका हुन्छन्। माओवादी केन्द्रको नेतृत्वमा पाँच वर्षमा धेरै पूर्वाधार विकासका काम अघि बढेका छन्। ती कामलाई अब सम्पन्न गर्ने हाम्रो योजना छ। त्यसका अलावा यसपालि हामीसँग पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा, महिला, ज्येष्ठनागरिक, सुशासनका नयाँ योजनाहरू पनि छन्। भरतपुरमा इलेक्ट्रिक सार्वजनिक गाडी चलाउने, यसमा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई ५० प्रतिशत छुट गर्नेदेखि ज्येष्ठ नागरिकलाई वर्षमा एकपटक धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउनेसम्मका योजना हामीसँग छन्।
हरेकको आफ्नै घर हुने, सबैको साझा सहर हुने, किसानलाई पेन्सन, बीउदेखि ढुवानीसम्ममा अनुदान दिने, मेड इन भरतपुरको ब्रान्डिङ र बजारीकरण गर्ने, घरमै स्वास्थ्यसेवा, विशेष भत्ता, विशेष संरक्षणको व्यवस्था गर्ने, विद्यार्थीलाई निःशुल्क इन्टरनेट, युवालाई रोजगारी र स्वउद्यमको प्रत्याभूती गराउँदै प्रविधिमैत्री महानगरपालिका बनाउने संकल्प गठबन्धनले लिएको छ। यी योजना पनि हामीले जित्ने आधार हुन्।
देवी ज्ञवाली (एमाले नेता)
गत निर्वाचनमा म नेकपा एमालेतर्फबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनेको थिएँ। प्राविधिक कारणले म झिनो मत अन्तरले पराजित हुन पुगेँ। त्यो प्राविधिक कारण के थियो भन्ने सबैलाई थाहा छ। मैले जनताको मत जितिसकेको थिएँ, राज्यको बलमिचाइँका कारण कुर्सी मात्रै पाउन सकिनँ।
त्यतिखेर हाम्रो पार्टीबाट मेयरमा उम्मेदवार बन्न धेरैले इच्छा गर्नुभएको थियो। म उम्मेदवार बन्दा कसैको चित्त दुखेको पनि हुनसक्थ्यो। तर यसपालि त्यस्तो अवस्था छैन।
अहिले एमालेबाट सर्वसम्मत विजय सुवेदीलाई मेयर उम्मेदवार तोकिएको छ। त्यसको प्रस्ताव म आफैंले गरेको थिएँ। हाम्रा अर्का नेता कृष्णभक्त पोखरेलले त्यसमा समर्थन गर्नुभएको थियो। विजयजीलाई जिताउन नेकपा एमाले एक ढिक्का भएर लागेको छ। उहाँ क्षमतावान र लगनशील नेता हुनुहुन्छ, विभिन्न पदमा रहँदा उहाँले राम्रो काम गरेर देखाउनुभएको छ। त्यसको प्रभाव त यहाँ छँदैछ।
गत चुनावमा जस्तो धाँधली गरिएन भने शान्तिपूर्ण रूपमा मतदान हुने र जनताको मतलाई सही ढंगले प्रयोग हुन दिने हो भने हामीसँग अहिले भरतपुरमा ६६ प्रतिशत जनमत छ।
हाम्रो रेकर्डमा एमालेबाट ३ प्रतिशत मान्छे छुट्टिएर अर्को पार्टीमा गएका छन्। तर अघिल्लो चुनावमा माओवादीमा रहेका ३० प्रतिशत कार्यकर्ता हाम्रो पार्टीमा आएका छन्। रामबहादुर थापा ‘बादल’ को गृहजिल्ला चितवन हो। उहाँसँग धेरै माओवादी कार्यकर्ता एमालेमा आएका छन्। चुनाव घोषणा भइसकेपछि माओवादीका प्रभावशाली व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभयो। माओवादीबाट आएका हजारौं कार्यकर्ता विजय सुवेदीलाई जिताउन लाग्नुभएको छ।
हामीले भरतपुर महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेका छौं। राप्रपाका मेयर उम्मेदवारले गत निर्वाचनमा करिब ७ हजार भोट ल्याउनुभएको थियो। उहाँहरूको संगठन पनि पछिल्लो समय बढेको छ। यसको प्रभाव पनि अवश्य पर्छ।
मेयर उम्मेदवार आफ्नो पार्टीको नभएकोमा यसपालि नेपाली कांग्रेसमा ठूलो असन्तुष्टि छ। त्यो विविध ढंगले प्रकट भइरहेको छ। गत चुनावमा कांग्रेसबाट मलाई पाँच हजारजति भोट आएको थियो। यसपालि पनि आफ्नो पार्टीले मेयर उम्मेदवार नपाएको, फेरि उही व्यक्तिलाई दोहोर्याएकोमा कांग्रेसमा पहिलेभन्दा ठूलो असन्तुष्टि छ। भरतपुरको राजनीतिमा जनस्तरमै भिजेका नेता विजय सुवेदीलाई कांग्रेसका कार्यकर्ताको पहिलेभन्दा ठूलो साथ रहन्छ जस्तो मलाई लाग्छ।
निर्वाचन चिह्न रूख नपाए पनि हाम्रै नेता हुन् भनेर भुइँकटरमा राम्रो भोट जाला, सँगै सधैं हुकुम लाद्ने नेतृत्वलाई सबक सिकाउन यसपालि नेतृत्वले भनेको उम्मेदवारलाई हराउनुपर्छ भन्ने कांग्रेस कार्यकर्ताको मनोभावना देख्छु म। उहाँहरूले विजय सुवेदीलाई जिताएर नेतृत्वलाई आफ्नो बल देखाउन चाहनुभएको छ।
त्यसो त हामी आफैं पनि बलियो छौं। पार्टीको राष्ट्रिय महाधिवेशन नै चितवनमा भएपछि यहाँ हाम्रो संगठन थप मजबुत बनेको छ। महाधिवेशनमा हामीले चितवनका एक लाख मान्छेलाई सहभागी गराएका थियौं। उहाँहरूमध्ये धेरै भरतपुरकै हुनुहुन्छ। यति धेरै मान्छे जुटाउनु चानचुने कुरा थिएन। महाधिवेशनमा हामीले हाम्रो शक्ति देखाएका छौं। त्यसपछि थप शक्ति बढाएका छौं। पहिले हाम्रो वडास्तरमा कमिटी थिए, अहिले टोल–टोलमा कमिटी बनेका छन्।
अहिले थपिएका करिब ३६ हजार मतदातामध्ये अधिकांश हाम्रो पार्टीको समर्थक रहेको हाम्रो एक अध्ययनले देखाएको छ। उनीहरू एमालेको राष्ट्रवादी सोचबाट प्रभावित छन् र गठबन्धनको स्वार्थको राजनीतिका कारण दिक्क छन्। उनीहरूलाई यो गठबन्धनले सरकार चलाएको केही महिनामै देशको अर्थतन्त्र बर्बाद भएको राम्रोसँग थाहा छ। गभर्नरलाई मनलाग्दी हटाउने, तस्करलाई छुटाउने सरकारको पक्षमा उनीहरू लाग्न सक्दैनन्।
हामीले प्रायः ठाउँमा घरदैलो सकिसक्यौं। केही ठाउँमा त दुई-तीनपटक पनि पुगियो।
चितवन जिल्लामा अहिले हाम्रा २५ हजार संगठित सदस्य छन्। १४ हजार जना भरतपुर महानगरपालिकामा मात्रै छन्।
गत चुनावमा भरतपुरमा ७ हजारजति संगठित सदस्य थियौं। महानगरको मुख्य बजार क्षेत्रका वडाहरूमा हाम्रो संगठन थप मजबुत भएको छ। वडा नम्बर २, ९, १०, ११, १२ मा हामीले हजारौं मतदातामाझ आमसभा गरेका थियौं। यसले हामीलाई थप हौसला दिएको छ। पश्चिम चितवनका २३, २४, २५, २७ र २८ नम्बर वडाहरूमा पनि हामी बलियो छौं। साविकको चितवन नगरपालिकाका वडाहरूमा कांग्रेस बलियो छ। हाम्रा उम्मेदवारको पहिलेको गाउँ त्यही हो। त्यहाँ उहाँको छुट्टै किसिमको प्रभाव छ।
माओवादी केन्द्रका उम्मेदवारले आफ्नो पार्टीको बलमा होइन, कांग्रेसको बलमा जित्नुभयो। राज्यशक्ति, स्रोत र साधन दुरूपयोग गरेर उहाँले चुनाव जित्नुभयो। मेयर भएपछि पनि उहाँको कामको शैली त्यस्तै रह्यो।
उहाँहरू मेयर जितेर कालोपत्रे धेरै गरियो भन्नुहुन्छ। तर उहाँले ल्याएको बजेटको अनुपातमा यो काम कम हो। संघ, प्रदेशबाट ल्याएको त्यो बजेटबाट योभन्दा धेरै गर्न सकिन्थ्यो। छलेन सडक, सिटी हल केपी शर्मा ओलीको सरकारले छुट्टयाएको बजेटमा बन्दैछन्। ती योजनाको शिलान्यासमा पनि पुग्नुभएन मेयर। अहिले हामीले ल्याएको योजना भन्दै हुनुहुन्छ। सरकारी जग्गामा बनाउन थालिएका क्रिकेट रंगशालाको हविगत के भयो सबैलाई थाहै छ। जनताको पैसा उठाएर अहिले अलपत्र पारिएको छ।
यो तरिकाले काम गरेर महानगर विकास हुँदैन। महानगरको विकासका लागि गुरूयोजना चाहिन्छ। योजनाबद्ध विकास चाहिन्छ। नत्र सहर कुरूप बन्छ। हामी गुरूयोजना बनाएर बल्ल काम थाल्छौं। मानव संशाधन सबभन्दा ठूलो शक्ति हो, यहाँका जनताको क्षमता, योग्यता पत्ता लगाएर पहिचान गर्ने र परिचालन गर्ने काम हामी गर्छौं। स्रोधसाधनको सही उपयोग र पारदर्शितामा ध्यान दिन्छौं।
अहिले महानगरपालिकाका जनप्रतिनधिलाई जनताले भेट्नै गाह्रो छ। एउटा योजनाका लागि पचासौंपटक धाउनुपर्ने अवस्था छ। हामी त्यसमा परिवर्तन ल्याउन चाहन्छौं। मेयरको तजबिज अधिकार कटौती गर्ने, कर्मचारीको स्वेच्छाचारिता अन्त्य गर्ने र जनतालाई सहज रूपमा सेवा दिने हाम्रो प्रयास रहन्छ। हामी भरतपुरलाई आधुनिक सहर बनाउन चाहन्छौं। यसका लागि यहाँका शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन लगायत सबै क्षेत्र मापदण्डका आधारमा विकास हुन्छन्।
यी सबै योजना मेयरका उम्मेदवार विजयजीले प्रतिबद्धतापत्रमा राख्नुभएको छ। यी कुरा नै भरतपुर महानगरपालिकाको मेयर यसपालि नेकपा एमालेले जित्ने आधार हुन्।
जगन्नाथ पौडेल (कांग्रेसका विद्रोही उम्मेदवार)
म २०४९ सालमै भरतपुर नगरपालिकाको उपमेयर भइसकेको छु। मेरो कामको विषयमा भरतपुरवासी त्यतिखेरैदेखि जानकार छन्। नगरपालिकाको सडक विस्तार, कालोपत्रेको थालनीजस्ता काम त्यतिखेरै भएका थिए।
यसपालि म नेपाली कांग्रेसमा देखिएको विकृतिविरूद्ध चुनावमा ओर्लिएको छु। भरतपुर महानगरपालिकामा कांग्रेस सबभन्दा बलियो छ। तर अघिल्लोपटक जस्तै यसपटक पनि सत्ता स्वार्थका लागि पार्टीले यहाँको प्रमुख पद माओवादी केन्द्रलाई बुझायो। यो कुरा भरतपुरका कांग्रेस कार्यकर्ता, मतदाताले राम्रो मानेका छैनन्।
म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन। त्यो कुरो मेरो इतिहासले बताउँछ। म एक कानुन व्यवसायी पनि हुँ। मैले पढाएका धेरै जना अहिले विभिन्न अदालतमा न्यायाधीश छन्। त्यसैले मेरो छुट्टै इज्जत छ। मैले भ्रष्टाचारविरूद्ध अभियानमा आबद्ध भएर काम गरेँ। निष्ठापूर्व लामो समय पार्टीको सेवा गरेँ। त्यस कारण मेरो विश्वास गरेर हजारौं कार्यकर्ता मेरो पछाडि आउनुभएको छ। नेपाली कांग्रेसका निष्ठावान कार्यकर्ताले मलाई मत दिएर विजयी बनाउनुहुनेछ भन्ने मेरो आशा छ।
हामीले निर्वाचनका लागि घरदैलो अभियान थालेका छौं। यसमा धेरै कांग्रेस कार्यकर्ताको साथ छ। उहाँहरू कांग्रेसको चारतारे झन्डा बोकेर आइरहनुभएको छ। हामीले निर्वाचनका लागि २९ वटै वडामा युनिट खडा गरेर अभियान सुरू गरेका छौं।
कांग्रेस कार्यकर्तालाई हामीले भरतपुरको मेयर पाउनुपर्ने थियो, पार्टीले स्वार्थका लागि गठबन्धन गरेर अर्को पार्टीको मान्छेलाई मेयरको उम्मेदवार बनायो भन्ने राम्ररी थाहा छ। त्यसैले चुनाव चिह्न रूख नपाए पनि नेपाली कांग्रेसको सच्चा सिपाहीको हैसियतमा कांग्रेसका सबै कार्यकर्ताले भुइँकटहर चिह्नमा मत दिएर मलाई विजयी बनाउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु।
मैले जितेँ भने विगतको अनुभवलाई पनि प्रयोग गर्दै भरतपुरको गुरूयोजना बनाएर वृहत्तर विकासमा लाग्नेछु। महानगरलाई भ्रष्टाचारमुक्त बनाएर सुशासनको प्रत्याभूति दिनेछु।