'मामु हजुर छुइ भइस्येको हो?' (महिनावारीलाई बुझ्ने भाषामा प्रयोग हुने शब्द) कुनैदिन बिहान अबेरसम्म कोठाबाट ननिस्किएको देखिन् भने ९ वर्षिया छोरीले अनुहार मलिन बनाउँदै प्रश्न गरेकै हुन्छिन्।
उनलाई राम्रोसँग थाहा छ, महिनावारीको समयमा ४ दिनसम्म मैले भान्छाको काम केही गर्दिनँ।
स्कुल जाने छोरी उनको आफ्नै चिन्ता।
'मलाई टिफिन कस्ले हालिदिन्छ? के बनाउने खाजा ? आज हजुरको कति दिन? आज चोखिस्यो?' यस्ता प्रश्नहरू दिनदिनै आएकै हुन्छन्।
तपाईंको घरमा महिनामा कतिपटक भान्सामा पसेर काम सघाउनुहुन्छ घरका पुरूष सदस्य?
मेरो त घरमा पुरूष सदस्य आपत परेकोबेला बाहेक पकाउनै भनेर पसेको बिरलै भेटिन्छन्। हुन त परिवारका पुरूष सदस्यहरूको पनि के दोष र? समाजले दिएको शिक्षा नै त्यही छ, घरको काम त्यसमाथि पनि भान्छाको जिम्मेवारी महिलाले लिने संस्कार परम्परादेखि नै चल्दै आएको छ। यसलाई पूर्ण रूपमा तोड्ने क्षमता अहिलेसम्म युनिभर्सिटीको कुनै डिग्रीले पनि राख्न सकेको छैन।
त्यसैले पनि होला ‘चामलमा पानी कत्ति हाल्ने? तरकारी कति पकाउने, चिया बनाउन चिनी कता छ ? चियापत्ति कता छ?’ केही दिन भान्छामा काम गर्नुपर्दा भान्साको रखानधरानको बारेमा श्रीमानज्यूले सोधेर हैरान पार्नुहुन्छ।
आफू नचोखिउन्जेलसम्म भान्सामा अघिपछि दौडिनै पर्छ। नत्र ४ दिन गनगन सुन्न तयार हुनुपर्छ।
त्यही समयमा घरमा पाहुना आइदिउन् त सासूआमाका छुट्टै चिन्ता। बुढाबुढी शरीर, बिहान बेलुकै भान्सामा पसेर मिठोमसिनो बनाएर पाहुनालाई रिझाउनु सजिलो कहाँ हुन्छ र? उहाँको मनले सधैं भन्दो हो, ‘बुहारी पर सरेको बेला कोही पाहुना लाग्न नआऊन्।’
हिन्दु परम्परा अनुसार महिनावारी बार्ने चलन मेरो घरमा पनि छ। मलाई गलत पनि लाग्दैन। म महिनावारीको समयमा महिलाले बार्नैपर्छ भन्ने पक्षमा छैन न त बार्ने संस्कृतिको विरोधमा नै। मेरो विचारमा यो व्यक्तिगत धारणा हो। तर महिनावारी बार्ने चलनले कुनै पनि महिलाले शारीरिक तथा मानसिक यातना भोग्नु नपरोस् बस् यही चाहना हो।
मेरो परिवारमा महिनावारी भएको सुरूको दिनदेखि ४ दिनसम्म छोएको केही चल्दैन। उक्त समयमा मैले भान्साको चटारोबाट मुक्ति पाएझैं लाग्छ सबैलाई। तर मेरो हकमा भने कामको चटारो अदृष्य रूपमा झन् बढेर पो आउँछ।
छोरीले राम्ररी खाइन्/खाइनन्? स्कुल पठाउन टिफिन तयारी भयो या भएन? भान्सामा पकाउनेले सामान भेटे या भेटेनन् ? किचनको लथालिंग व्यवस्थापन अहो! ४ दिन कहिले बित्ला? यदि अरूको परिवारमा पनि मेरो जस्तो अवस्था भए हामी नारी महिनावारी हुँदा झन् दोहोरो मारमा पो परिरहेका पो हुनेरहेछ।
पाठकबृन्दले यति पढिरहँदा भन्नुहोला, यो केको रोइलो हो? इच्छा नलागे नबारे भैगो नि! तपाईंहरू पनि आफ्नो ठाउँमा सही हुनुहुन्छ, तर यो मेरो जीवनको मिठो अनुभव हो। यो व्यस्तताले पनि एक किसिमको सुकुन दिलाउँछ। आफ्नो अस्तित्वबोध गराउँछ।
कार्यालयको काम, घरको व्यस्तता अनि बच्चाको लागि समयको व्यवस्थापन। हामी कामकाजी महिलाको दिनचर्या यस्तै व्यस्ततामा बित्छ। अझ काखे बच्चा हुनेहरूको त कुरै नगरौं, जब बच्चा सुत्छ अनि गरौंला भनेर थाँती राखेका काम कति हो कति! आफ्नो थकान मार्ने समय त बच्चा हुर्किएपछिलाई छोडिदिए भयो।
‘हिजोआज किन माया मारेको?’
‘जागिर गर्न थालेपछि त साह्रै ठुली भयौ,’ फोनको घण्टीमा होस् या फेसबुकको म्यासेन्जरमा साथीभाइ तथा आफन्तका गुनासाका पोकाहरू कति हो कति।
'के हो म्यासेज सिन गरेर पनि नबोल्ने?' एक नजिककी देवरानीले धेरैपटक गुनासोयुक्त म्यासेज गरेपछि पटक पटकको गुनासोलाई तोड्दै मध्यरातमा भए पनि रिप्लाइ दिएँ, ‘हैन यार काम पनि छैन, फुर्सद पनि छैन भनेजस्तै भएको छ दैनिकी।’
उनले इमोजीमार्फत जिस्काएको रिप्लाई तत्कालै पठाइन्।
'ए तिमी सुतेकै छैनौ पो? रातको ११ बजिसक्यो देवरबाबु कता नि?'
छोराछोरी बल्ल सुताएर फुर्सदिएकी मैले उनलाई जिस्काएँ पनि। उनले पनि आफू पर सरेको ( महिनावारी भएको) थकान कम भएकाले निद्रा नलागेको ब्यड्ग्यात्मक अभिब्यक्तिपछि धेरै ब्यावहारिक कुराकानी पनि भए।
पूजा उनी देवरानीभन्दा पनि ज्यादा नजिककी साथी अझ भनौं दिदी बहिनी जस्ती लाग्छिन्। उनको पनि कथा ब्यथा उस्तै उस्तै नै छ।
‘बिहे गर– गर भन्दा सुन्ने होइन, सधैं हिँड्ने बेलामा मलाई कचकच’ केही वर्षअघि उनै घरमा पाहुना लाग्न जाँदा देवरबाबुको कार्यालय जाने समयमा हतारो देखिरहँदा आन्टीले (पूजाकी सासु) छोरालाई बिहे गर्न पटकपटक सुझाएको हिजो जस्तो लाग्थ्यो। समय कटेको पत्तै नहुने।
केही दिनअघि मात्र उनीहरूले वैवाहिक जीवनको वर्षगाँठ मनाइसकेका छन्।
आज तिनै देवरबाबुलाई कार्यालयको लागि सम्पूर्ण तयारी पार्ने जिम्मेवारी देवरानीजी अर्थात् पूजाको हातमा थपिएको छ।
उनी पनि देवरजस्तै निजी बैंककी कर्मचारी हुन्, उनको पनि कार्यालय जाने आउने समय उही नै हो, बस घरको जिम्मेवारी फरक।
देवरबाबुको अफिसबाट फर्किएछिको समय बैठक कोठामा बित्छ, देवरानीजीको भान्छामा। तै पनि उनी खुसी छिन् किनकि शारीरिक रूपमा थकान चरम सीमामा पुगे पनि नैतिक रूपमा परिवारबाट पूर्ण सहयोग पाएकी छन्।
श्रीमान र परिवारको खुसीमा सुख भेट्ने पूजाजस्ता कयौं महिलाहरूले नै सुन्दर परिवार निर्माण गर्न योगदान दिइरहेको कुरामा दुईमत छैन।
यो उनको मेरो मात्र कहानी हैन, नेपाली समाजका अधिकांश कामकाजी महिलाहरूको दैनिकी हो। हाम्रो दैनिकी यही ब्यस्तता र बाध्यताको बीचको ‘वे’ बाट चलिरहेको छ।
यस्तै अनेकौं ब्यस्तता र बाध्यताबीच पनि भन्न मन लाग्छ, आहा! क्या रमाइलो जिन्दगी। हामी नारी साँच्चै कति भाग्यमनी।
भाग्यमानी मानिनुलाई मैलै यसरी ब्याख्या गर्न चाहेँ।
हाम्रो परिचयबाट नै कुरा गरौं न !
जब परिचयको कुरा आउँछ, थर भन्नसाथ सोधिन्छ घर कि माइती? आमा होस् या बाबा प्रसंग चल्दा कुरा आउँछ घर कि माइतीको? हामीसँग प्रत्येक कुरामा २ जोडिएर आएकै हुन्छ।
हामीसँग छनोट गर्ने अवसर छ। जिम्मेवारी पूरा गरेर देखाउने दोहोरो अवसर छ।
हाम्रा कयौं रहरहरूलाई टाढै राखेर जिम्मेवारी र बाध्यता बीचको जिन्दगीमा तालमेल मिलाउन सके पनि साँच्चिकै आहा बन्छ जिन्दगी।
हाम्रो अनुपस्थितिमा खड्किने ममताको महसुस जब कार्यालयबाट घर पुग्दा छोराछोरीको आँखामा देखिन्छ, त्योभन्दा प्यारो ममताको महसुस के होला र? दिनभरको सारा थकान एकातिर ममताको मजबुत डोरी अर्कोतिर। त्यसैले भन्दा रहेछन्, आमा पृथ्वी हुन्। ममताकी खानी हुन्।
तर,
हामीले देख्ने अवसरहरूमा चुनौतीका पहाड सानातिना मात्र हुँदैनन्। अवसरहरू आफैमा मजबुत कहाँ हुन्छन् र? तिनीहरूले पनि परिवारबाट दिने हौसलाको हौसलाको अपेक्षा राखेका हुन्छन्। परिवारको साथ र सहयोगको आश राखेका हुन्छन्। यही परिवारको साथ हौसलाले गर्दा नै चुनौतीका पहाडहरू नाग्ने हैसियत त राख्छौं हामी नारी पनि। हामीले आफूलाई भाग्यमानी महसुस गराउन परिवारले त्याग गर्नु जरूरी पनि छैन बस् साथ र सहयोगको अपेक्षा पूरा गरिदिए मात्र पनि पुग्छ, क्षमतानुसारको कर्म गर्न हामी आफै सक्षम छौं।
तर,
सोचेजस्तो कहाँ हुन्छ र जीवन। जीवन जिउने कला व्यवहारमै खोज्नुपर्छ। आँसु र हाँसो बीचको संर्घषले साँच्चिकै जिन्दगीलाई छुन्छ।
महिलाको मर्म बुझ्ने समाज, भावना बुझिदिने परिवार र थकान महसुस गरिदिने श्रीमान भए त्यसै जिन्दगी आहा बनिदिन्छ। तर विचार नमिल्नुमा सहमति जनाउन सकिन्छ तर भावना र मर्म समेत नबुझ्ने परिवार र हौसला नबाँड्ने श्रीमानसहितको परिवार भए जिन्दगी कति असहज होला?
उदाहरण यस्तैमा देखिन्छ, पढेर पनि जागिर नखाई घरमा बसेका ‘माइतीमा छँदा बाबुको पैसा उडाएको, घरमा छँदा बुढाको।’ पढेर पनि जागिर खाएको छैन भने समाजले ब्याख्या गर्ने शब्द यही नै हो।
एक दिन एक सहकारी सस्थामा कार्यरत साथीले पीडा पोखिन्। 'हेर न आज बिहान कोठाको बत्ती बन्द गर्न बिर्सेछु, सासूआमाको कयौ बचन सुन्नुपर्यो, त्यसको पोइलाई लट्री पर्या छ तिरीहाल्छ नि खनखनी पैसा रे, जानी जानी कसैले अनावश्यक खर्च गराउँछ? के श्रीमानको घर, परिवार सम्पत्ति मेरो चाहिँ हुँदैन? आखिर हामीले आफ्नो मान्ने चाहिँ के?’
सायद उनको मनको बह पोख्ने उचित समय र मानिस सही ठानिन् उनले। त्यसैले उनले मनको भडास यसरी पोखिन्।
'हाम्रो भन्ने के? न माइतीमा दु:खेसो पोख्न सकिन्छ न त घरकाले नै भावना बुझ्छन्। यस्तै अवस्था हो भने डिप्रेसनले मरिन्छ होला।'
उनी एक प्रतिनिधि पात्र। उनीजस्ता लाखौं महिलाहरू अझै पनि आफ्नो घरपरिवारप्रति अपनत्वको सुखभोग गर्न पाएका छैनन्।
परिवार बिगार्ने र सपार्ने जिम्मा महिलाको हातमा हुन्छ भनेर समाजले बारम्बार महिलाको कर्तब्यबोध गराइरहँदा उनीहरूले पूरा गर्नुपर्ने कर्तब्यमा परिवारको जिम्मेवारी र दायित्व के रहन्छ भन्ने कुरामा त्यति ध्यान दिइएको पाइँदैन। जसले गर्दा पनि कयौं महिला क्षमतावान हुँदाहुँदै पनि परिवारको आवश्यक साथ र सहयोग नपाउँदा आफ्नो क्षमता दबाएर राख्न बाध्य छन्।
परिवारलाई बाँधिराख्ने काम महिलाको हो। जुन परिवारका महिलामा सहनशीलता छ, त्यो परिवारमा पक्का पनि शान्त र सभ्य देखिन्छ। तर त्यसमा परिवारका हरेक सदस्यहरूको १ लेबलमा हात पक्कै रहन्छ।
घर त्यो हो जहाँ मन बस्छ, जहाँ मन बस्छ, त्यहाँ सुख शान्ति अनि समृद्धि छाउँछ। अझ भनौं, घर भनेको स्वर्गजस्तै हुनुपर्छ। स्वर्ग कस्तो छ कसलाई थाहा। तर जब स्वर्ग र नर्कको कुरा चलिरहँदा जब स्वर्गको कुरा चल्छ तब हरेको मन मस्तिष्कमा सकारात्मक रक्तप्रवाह हुन्छ, हो, ठ्याक्कै त्यस्तै घर सम्झिनसाथ कार्यालयमा फाइल बन्द गर्नतर्फ हात लम्कियोस्।
गर्मीको चौतारी त जाडोको न्यानो सिरक हुनुपर्छ घर। यदि घर गर्मीको चौतारी र जाडोको न्यानो सिरक भएन भने त्यो घर साँच्चै घर हैन, बस टाउको लुकाउने छहारी बन्छ।
घर सम्झिँदा थकान सारा मेटियोस् अनि बाध्यताले होइन जिम्मेवारीले परिवारप्रतिको उत्तरदायित्वको महसुस गराओस्। त्यो पो हो घर। अनि घरभित्रको संसार। आफ्नो घर संसार। यस्तै घर संसार सजाउन सहयोग गर्ने परिवार साथमा भैदिए ‘हामी नारी साँच्चिकै भाग्यमानी।’