कहिलेकाहीँ लाग्छ, यदि यसैगरी चिजको विकास भइरहने हो भने यो समाज, देश र हामी सबैको भविष्य कता जान्छ?
एकातिर प्रविधिको प्रगति, सहज पहुँच, विकासको चम्किलो सपना र अर्कोतिर सम्हाल्न नसकिने गरेर फैलिँदै गइरहेको नकारात्मक सोच, निराशा र आक्रोश।
यो कुरामा तपाईंलाई मसँग सहमत हुन त्यति गाह्रो नपर्ला।
आजको सामाजिक सञ्जालका माध्यमहरू, जस्तै फेसबुक स्क्रोल गरौं, टिकटकका भिडिओहरू हेरौं, युट्युबका विषयवस्तुहरू हेरौं, त्यहाँ आएका स्ट्याटसहरू हेरौं, कमेन्टहरू पढौं, जहाँ हामीले अधिकांश विषयवस्तुहरूमा नकारात्मकता पाउँछौं, निराशा पाउँछौं र आलोचना पाउँछौं, आक्रोश पाउँछौं।
यी यस्तै कुराहरूले नै हामी नकारात्मकताले भरिएको समाजमा बाँचिरहेका छौं भन्ने कुराको संकेत मात्र गर्दैन कि पुष्टि समेत गर्दछ।
यी केबल सामाजिक सञ्जालमा मात्र नभएर चिया पसलहरूमा हुने कुराकानीमा नकारात्मकता छ, अफिसमा सहकर्मीहरूका बीचमा असन्तुष्टि छ, परिवारमा संवादको कमी छ, छिमेकीहरूका बीचमा शंका छ, रिस छ अनि राजनीतिमा त झनै विष नै घोलिएको छ।
पक्कै पनि नकारात्मकता आफै पैदा हुँदैन र भएको छैन, यसको पछाडि पनि थुप्रै कारण छन्। जसमध्ये बेरोजगारी, गरिबी, भ्रष्ट व्यवस्था, सृजनशीलताको कमी, परनिर्भरता, आदि आदि पर्छन्। बेरोजगारीले युवाहरूमा निराशा पैदा गर्दछ। खाली दिमाग, सैतानका घर भने जस्तो, पक्कै पनि जब मान्छेले गर्ने केही हुँदैन वा बेरोजगार हुन्छ तब उसको दिमागमा निराशा पैदा हुन्छ। उसको दैनिक रूपमा गर्नका लागि केही काम हुँदैन, समय अनुसार उसलाई चल्नुपर्ने हुँदैन तब उसको दिमागमा नकारात्मक सोचाइहरू उत्पन्न हुन्छन्, अरूप्रति उसलाई रिस उठ्न थाल्छ, अरूको प्रगतिमा डाहा लाग्न थाल्छ अनि नकारात्मक कुराहरू गर्न थाल्दछ।
गरिबी पनि नकारात्मकता फैलाउने एउटा माध्यम बनेको छ। जब मानिसले आफ्ना सामान्य आवश्यकता पूरा गर्न पनि हम्मे पर्छ तब उसमा निराशा उत्पन्न हुन्छ जसले परिवारमा विखण्डन ल्याउँछ। जसको फाइदा एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले लिन्छ, एक जना गरिबको चपेटामा परेको मानिसको निराशालाई बेचेर नकारात्मकतालाई आम्दानीको स्रोत बनाइरहेको हामीले देखेका छौं।
जनताको र देशको सुन्दरको भविष्यको जिम्मा लिएर नेतृत्व गरिरहेका राजनीतिज्ञहरू पनि आफ्नै दुनो सोझ्याउनतिर लाग्दा पनि समाजमा निराशा फैलिएको छ, समाजलाई बिखण्डन गर्न र जनतालाई आक्रोशित बनाउन राजनीतिज्ञको पनि राम्रै भूमिका हामीले महसुस गरिरहेका छौं। जसले समाजलाई नकारात्मकतातिर लैजानका लागि टेवा पुगेको छ।
अहिलेका युवा जो यो देशका सुन्दर भविष्य हुन्, उनीहरूमा नै सृजनशीलताको कमी छ, अर्काले ठिक्क पारेर दिएपछि मात्र उनीहरू खान तयार छन्, उनीहरू आफ्ना लागि पनि केही गर्न तयार छैनन्। आफू सक्षम नहुनुको दोष पनि अरूलाई थुपारेर आफू आफैलाई अँध्यारोतर्फ धकेलिरहेका छन्। यदि कोही आफ्नै दममा केही गर्न चाहन्छ भने पनि अहिलेका युवाहरू उसलाई पछार्न तयार छन्, तर उसबाट आफू पनि केही सिकौं भन्ने सोच उनीहरूमा नभएको सहजै देख्न, सुन्न र महसुस गर्न सकिन्छ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता जसले त्यहाँ आउने भ्यूजलाई नै कमाइ खाने भाँडो बनाएका छन्, उनीहरूले गर्दा पनि समाजमा नकारात्मकता फैलिरहेको छ।
हाम्रो समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कैयौं विषयवस्तुहरू छन् तर पनि उनीहरूका क्यामराहरूले त्यो देखाउनै चाहँदैनन् किनकि उनीहरूलाई हाम्रो समाजमा सकारात्मकता कम बिक्छ भन्ने भ्रम बलियो गरेर बसेको छ।
नकारात्मक सोच केबल व्यक्तिमा सीमित हुँदैन, यो परिवार, समाज हुँदै परै राष्ट्रमा फैलिन्छ। जसले गर्दा युवाहरूमा क्रोध र निराशा बढ्छ, अल्छिपना बढ्छ, परनिर्भरता बढ्छ। अरूले दु:ख गरेर कमाएको खानमा बानी परेकाहरूलाई दु:ख गर्ने जाँगर र साहस पलाउन एकदमै कठिन हुन्छ।
त्यसैले चिया पसलमा, सामाजिक सञ्जालमा नकारात्कता फैलाउँदै बिताउने समयलाई सदुपयोग गरेर उत्पादनशील काममा लगाउन सक्यो भने मात्रै पनि जीवनमा धेरै अगाडि बढ्न सकिन्छ भन्ने कुरा समयमै बुझ्न सक्यो भने मात्रै फाइदा आफैलाई हुन्छ, अनि मात्र परिवार, समाज र राष्ट्रलाई फाइदा हुन्छ। यो जोस, जवानी र यी बलिया पाखुरा हुँदा नै सोच्न सकिएन भने जीवनमा पछुतोबाहेक केही हात लाग्दैन।
एक पटक हामीले सामाजिक सञ्जालहरूमा गर्ने गरेका तुच्छ टिप्पणीहरू हेरौं अनि त्यो ठाउँमा स्वयम् आफैलाई कल्पना गरौँ अनि आफ्नो परिवारलाई राखेर कल्पना गरौँ अनि कस्तो महसुस हुन्छ, आफ्नो छातीमा हात राखेर आफैलाई यसको जबाफ दिऊँ, पक्कै पनि हामी स्वयमलाई पनि सहन गाह्रो पर्छ भने अरूलाई पनि त्यस्तै हुन्छ।
हामीले अलिकति पनि मानवीय समवेदनाको पनि ख्याल नराखेर गर्ने टीकाटिप्पणीले तपाईं हाम्रै भविष्य निराशाजनक बनाइरहेको छ। समाजमा फैलिँदो नकारात्मकता कुनै एक पक्षको दोष मात्र होइन, यो हाम्रो सामूहिक चेतनाको प्रतिबिम्ब हो। यदि हामी सबैले आफ्नो सोच, व्यवहार र क्रियाकलापमा थोरै परिवर्तन ल्यायौं भने पनि ठूलै सकारात्मक परिणाम आउन सक्छ। एक पटक आफैले आफैसँग प्रश्न गरौं त, अब पनि सोच्ने बेला भएन र?
आजैदेखि एक-अर्काका कुरा सुन्ने बानी गरौँ, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी होइन, सुझाव सहितको टिप्पणीहरू गरौँ, सम्मानजनक आलोचनाहरू गरेर हेरौं, आफ्नो क्षेत्रबाट थोरै सही, तर सकारात्मक योगदान दिएर हेरौँ त पक्कै पनि केही न केही त परिवर्तन आउने छ, जसले आफू स्वयमलाई पनि आत्मसन्तुष्टि मिल्नेछ।
जसरी नकारात्मकता फैलिन्छ, त्यसैगरी सकारात्मकता पनि फैलिन्छ। यदि हामी एक जनाले सहयोग, प्रेम, सहिष्णुता, आशा र भरोसा फैलाउने हो भने समाज फेरि पनि राम्रो बन्न सक्छ भने आजैदेखि सुरूआत किन नगर्ने त?