यो संसारमा निरन्तर बढिरहने एउटै चिज समय हो सायद। त्यसैले होला समय कसैको लागि रोकिँदैन भनिन्छ। तर कुनै समय यस्तो हुँदो रहेछ, जुन स्मृतिमा आइरहोस् लाग्ने अनि कुनै समय कहिल्यै नदोहोरियोस् लाग्ने।
थाहा छैन, त्यो समय बिताएकाहरूलाई अनि त्यो समयको पक्ष र विपक्षमा भएकाहरूको आ– आफ्नै व्याख्या होला अनि तर्क पनि। तर त्यो समयको न पक्षमा न त विपक्षमा रहेर मनै नलागेर पनि त्यही समयसँग हिँड्नु पर्नेलाई त्यो समय फेरि नदोहरियोस् कहिल्यै नदोहोरियोस् भन्ने नै लाग्दो रहिछ।
काँडेतारको बारले सिङ्गो सदरमुकाम समेटेको, लगभग ७/८ वटा जति गेट, ती गेटमा सुरक्षाकर्मी, समय समयमा यस्ता गेट वारपार गरिरहनु पर्ने। तारबार बाहिरबाट कुनै समय पड्किने बन्दुकको आवाज अनि त्यही आवाजसँगै सुरक्षाकर्मीको साइरनसँगै सुरक्षित रहनुपर्ने। सुरक्षित त के भन्नु चनाखो बन्नुपर्ने दुवै पक्षबाट गोली चलिहाले ती गोलीले सर्वसाधारण चिन्ने त होइन।
माओवादीको सशस्त्र विद्रोह वा उहाँहरूकै भाषामा जनयुद्ध चलिरहेको थियो। त्यो युद्धको इपिसेन्टर रोल्पा सदरमुकामको समय थियो त्यो। अहिले गेटहरू हटाइएको छ, काँडेतार छैन, जो जता जाँदा पनि हुन्छ, न सुरक्षाकर्मीको सुरक्षा जाँच न तत्कालीन विद्रोही पक्षको जाँच।
यो त सदरमुकामको जीवन हो। सहजै अनुमान गर्न सकिन्छ, सुरक्षा पोस्ट नभएका अनि समय समयमा गस्तीमा सुरक्षाकर्मी पुग्ने अनि समय समयमा विद्रोही पक्ष पुग्ने गाउँको समय कस्तो थियो होला! कहाँनिर कसको सुरक्षा जाँच चलिरहेको भन्ने नै भेउ नपाइने। त्यसैले एउटा पक्षलाई पहिले नै तयार पारिएको उत्तर पनि काम नलाग्ने। सुरक्षाकर्मीले विद्रोही ठान्ने हो कि विद्रोहीले उनीहरूकै भाषामा सिआइडी भेउ नै नपाइने।
गाउँमा बिहानै उठ्दा सुरक्षाकर्मीको गस्ती आफ्नै घरको आँगनमा आइपुगेको अनि सुरक्षाकर्मीमाथि विद्रोहीको आक्रमण, त्यो समय कस्तो भयो होला? घरको आड लागेर सुरक्षाकर्मीको फायरिङ, सुरक्षाकर्मीमाथि विद्रोहीको। घर छाएका केही स्लेटहरू फुटेका, विद्रोही भागिसकेको तर त्यसपछि सुरु हुन्थ्यो सुरक्षाकर्मीको सोधपुछ। जवाफ कस्तो चाहिएको पत्तै नहुने। यस्तो सोधपुछमा केही लात खान जोगियो भने ठान्नुपर्थ्यो आफूलाई धेरै भाग्यमानी।
तर केही आशा पनि जगाउँथे समय समयमा विद्रोहीहरू। एक्लै भेटिँदा सरलै देखिन्थे यद्यपि भिडन्तमा भने गोलीले कसलाई चिन्छ र! विभिन्न जाति तथा समुदायलाई पनि विद्रोहीहरूले परिचालन गरिरहेको। केही नाराहरू पनि थिए, स्वायत्तता, पहिचानका मुद्दाहरू थिए। आम मानिसहरूलाई आकर्षण पनि गरिरहेको देखिन्थ्यो। जग्गा कस्तो जोत्नेको, घर कसको पोत्नेको जस्ता आकर्षक नाराहरू थिए। बन्दुक मात्र पड्कँदैनथ्यो कहिलेकाहीँ सांस्कृतिक कार्यक्रमहरू पनि हुन्थे। दर्शक भने चाहे पनि नचाहे पनि उपस्थिति अनिवार्य अधिकांश ठाउँमा। अनि गीतहरू बज्थे- चाहिँदैन मलाई सुनकै दरबार लगायतका।
अनि भन्ने गरिन्थ्यो, हाम्रो देश नबनेको अहिलेका शासकका कारण हो। यो समय मात्रै बदलियोस् न समयसँगै देश समृद्धिको दिशामा जान्छ। समय नयाँ आउँछ, नयाँ नेपाल बन्छ। धनी र गरिबबिचको खाडल हुँदैन। सबैले देशभित्रै रोजगारी पाउँछन्।
सायद उहाँहरूलाई लाग्थ्यो क्यारे, देश अमेरिका जस्तै बन्न समय नै लाग्दैन। त्यसैले सुरुङ युद्ध लड्न भन्दै ठाउँ ठाउँमा बनाइएका खाडल अझै पनि उस्तै छन् केही ठाउँमा। विमान नचल्ने वडाचौर विमानस्थलमा सुरक्षाकर्मी आउँछन् भन्दै तत्कालीन समयमा गाडिएका लाठीहरू त अहिले छैनन्। तर खाल्डाखुल्डी भने देखिन्छन्। अब कताकति मात्रै ती समयका त्यस्ता चिजबिज देख्न सकिन्छ।
साँच्ची! समयले काँडेतारबाट मानिसलाई बाहिर मात्र निकालेन, तत्कालीन समयमा विद्रोही कतिपय नेताहरूलाई सत्तामा पनि पुर्याइदिएको छ। तर अहिले पनि 'इपिसेन्टर' उस्तै छ। न जोत्नेको खेत हुन सक्यो न पोत्नेकै घर। त्यसको साटो ‘चाहिँदैन मलाई सुनैको दरबार’ भने पनि सुन तस्करहरूसँग कतिपय विद्रोहीका नातागोताका मान्छेको नाता जोडिएका खबरहरू सार्वजनिक हुन थाले।
साँच्ची समयले कसैलाई नपर्खँदो पो रहिछ। कतिलाई दसैँ मनाएको भनेर कारबाही गरियो, कतिलाई अनैतिक सम्बन्ध कायम गरेको भनेर जुत्ताको माला लगाइयो भनी साध्य नै छैन। कतिपयले आर्थिक सहयोगमा आनाकानी गरेकोले कारबाही भोगे कतिपयले फरक राजनीतिक विचार राखेकाले। समय बदलिन्छ भनियो, बदलियो पनि तर केही त्यसको नेतृत्व गरेकाहरूको मात्र।
दुई खाले शिक्षा हुनु हुँदैन भनियो, निजी विद्यालय खुल्न दिइएन, त्यही काँडेतार भित्र मात्र निजी चल्न पाए। तर अहिले उनैका छोराछोरी संघीय राजधानी सहरका महँगा विद्यालय पढ्न भए। आमूल परिवर्तन भनियो, न जोत्नेको खेत भयो, न त पोत्नेको घर।
अहिले तत्कालीन क्रान्तिकारीहरूका जीवनशैली फेरिएको छ। उत्सव मनाउनेहरू घटेका छन्। कतिले युद्ध सुरुवाती दिनलाई उत्सवका रूपमा मनाउँछन् पनि। अहिले पनि त्यो जारी छ। कतिले विरोध गर्छन् त कतिले समर्थन, उनीहरूका आ आफ्नै तर्क होलान् समर्थन र विरोधका लागि। तर त्यही समयका कारण आफ्नो थातथलो छोडेर जिल्ला सदरमुकाम लगायतका ठाउँमा वर्षौँ बिताउनेहरूको पीडा कम्तीको छैन।
त्यो समयको पक्ष विपक्ष कतै नहुनेहरूले भोगेका पीडा कम्ती छैनन्। यसो भन्दै गर्दा कोही यस्ता अवसरवादी छन् त्यो समयले ल्याएको उपलब्धिको उपयोग गर्ने र फेरि त्यही समयलाई स्वीकार पनि नगर्ने भन्ने आरोप लाग्ला, तर साँच्ची समय प्यारो भने थिएन।