पत्रकार उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जली
कुरा २७ पुस, २०६५ को हो। साँझ छिप्पिँदै थियो। रात बाक्लिँदै थियो। हुस्सुले पूरै जनकपुर नै ढाकिएको थियो। चिसो हावाका झोंका र सिरेटोले च्वास्स मुटुमै घोच्थ्यो। कप्पकपाउँदो जाडोले थुर्रर कामेको थियो नगर। जमाना रेडियोको थियो। रेडियोप्रतिको क्रेज नै भनिसाध्य छैन। घुर, भान्सा, घर, आँगन, खेतबारी, दलान सबै ठाउँमा रेडियो बज्थ्यो। के युवा, के वृद्ध–वृद्धा सबैका मनोरञ्जन र सूचना, समाचार एवं विचार आदान–प्रदान गर्ने साधन नै थियो–एफएम रेडियो। साँझ–सबेरमा समयसाल, गामघर, देशकोस, घरबाहिरका समाचरका लागि रेडियोले तयार पारेका वैचारिकी चासनीमा चुर्लुम्म डुब्थ्यो गाउँ–सहर।
यतिकैमा रेडियो टुडेमा कार्यरत् २४ वर्षीया पत्रकार उमा सिंहका लागि बि नेगेटिभ रगत अत्यन्त आवश्यक भएको भन्दै यहाँका ६ वटै एफएमबाट बज्न थालेपछि रगत दिनेहरूको ताँती नै लाग्यो।
चिकित्सकले रगत धेरै गइसकेको भन्दै यहाँ उपचार हुन असम्भव भएको भन्दै काठमाडौं रिफर गरे। उनको अवस्था अत्यन्त चिन्ताजनक भएकाले गाडीबाट लैजान सहज नहुने देखिएपछि तत्कालै सैनिक हेलिकप्टर मगाइयो। तर, बाक्लो हुस्सुले हेलिकप्टरलाई उडान भर्न दिएन। गाडीबाटै राजधानी लैजाने र जहाँ अनुकूल हुन्छ, त्यहीँबाट हेलिकप्टरले लैजाने योजनानुसार महोत्तरीको बर्दिबास पुग्दा राति सवा ११ बजे क्षतविक्षत अवस्थामा रहेकी उनी सदाका लागि अस्ताइन्।
रेडियो टुडेकी चर्चित समाचार वाचिका तथा स्वतन्त्र लेखिका उमा सिंहका क्रूर र कायरतापूर्ण हत्या भयो।
सञ्चारकर्मी, जनकपुर मात्रै होइन सिंगो मुलुक नै उनको मृत्युको खबरले स्तब्ध भए। जनकपुरको मनै फाट्यो। सहरका धड्कन धुजाधुजा भए। करूणामय शोक लहरीले जीवन विपतमा अल्झियो। विलापमा डुब्यो गाउँ–नगर।
यसरी पत्रकारितामा संघर्ष, समर्पण, उच्च मनोबल तथा दृढ संकल्पका साथ अघि बढिरहेकी उमाका समाचार लेख्ने हात मात्रै होइन, कार्यक्रम चलाउन स्वर निकाल्ने गला पनि ती क्रुर अपराधीहरूले जनकपुरको रजौलस्थित उनको डेरामा साँझ सवा ७ बजे रेटे। समाचार संकलन गर्ने उनको खुट्टा पनि छिनालियो।
म काम गर्ने रेडियो टुडे र जनकपुर टुडेमा कार्यरत थिइन् उनी। त्यसैले उनीसँग बिताएका कतिपय स्मरणीय क्षणहरू छन्। तर, ती सबैलाई उल्लेख गर्न मसँग सामर्थ्य छैन। यद्यपि, केही स्मरणहरूलाई उल्लेख गरिरहँदा मेरा आँखाबाट थोपाका थोपा आँसु किबोर्डमा अविरल झर्दै छन्। स्मृतिमा श्रद्धाञ्जलीका दुई पुष्प उमाप्रति समर्पित गर्न म विवश छु।
कुरा २०६५ पुस २७ गते आइतबारको हो। जुन रात उनको बीभत्स हत्या गरियो। म सधैं ढिलो गरी ११–१२ बजेतिर कार्यालय पुग्थेँ। तर, उमा मभन्दा अघि साढे ९ बजेदेखि नै अफिसमा समाचार वाचन गर्न र लेख्नमा व्यस्त हुन्थिन्। त्यो दिन अफिस पुग्दा व्यस्तताको कुनै पर्वाह नगरी उमा कुर्सीमा बसेर मज्जाले गीत सुन्दै थिइन्। गीत थियो– जीवला प्राण हम कतसँ बेसाही अर्थात् बाँच्नलाई प्राण कहाँबाट किन्नु?
मलाई हेर्नेबित्तिकै उनले बडो भद्रतापूर्वक अभिवादन गरिन्, ‘सर नमस्कार’ भनिन्। मैले पनि विनम्रताका साथ नमस्कार फर्काएँ। उनको फुर्सदका कारण अरू केही नभएर लोडसेडिङ र नेटमा समस्या देखिएकाले थियो। मैले यो मौकालाई सदुपयोग गर्दै कुराकानी अघि बढाएँ।
उनले भनिन्, ‘सर तपाईंहरूसँग (रेडियो टुडेमा अंग्रेजी कार्यक्रम सञ्चालक सुदीप झा, सञ्चारकर्मी बटुक नाथ झा) हिजो साढे ४ बजेतिर सामाजिक, सांस्कृतिक विषयमा जुन कुराकानी भयो, त्यसले मेरो मनलाई हलुङ्गो मात्रै बनाएन, म आज बिहान ८ बजेसम्म मस्त निद्रामा निदाएँ।’
सधैं रातिराति नसुत्ने र आफ्नो परिवार तथा बुबा र दाइको हत्याको पीडामा गल्दै गएकी उमाले हामीसँग कुरा गर्दा उनको मन हलुङ्गो हुन्थ्यो। जहिले पनि समाचारका लागि बेचैन हुने र स्वस्थ, निर्भीक, साहसिक तथा जनहितमा समर्पित पत्रकारिता गर्ने उनी हामीसँग सुखदुःखका, हाँसो र रोदनका कुरा सेयर गर्थिन्। उनी मसँगै रेडियो टुडेको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘गरमागरम चाह’ पनि चलाउँथिन्।
केही दिनअघि मात्र ‘गरमागरम चाह’ को नियमित सञ्चालक श्याम सुन्दर शशि कतार गएपछि जनकपुर टुडेका सम्पादक वृजकुमार दाइले नै यो कार्यक्रम चलाउँदै आएका थिए। पछि उनी पनि जनकपुरभन्दा बाहिर रहँदा म र उमाले नै कार्यक्रम चलाउँदै आएका थियौँ।
त्यतिबेला तीला संक्रान्तिको समय हो।
मिथिलामा बहिनीकहाँ च्युरा, मुरही र तीलका लड्डु कोसेली लैजानुपर्ने परम्परा छ। ’मेरा पनि पाँच वटा बहिनी छन्। बहिनीकहाँ कोसेली पुर्याउन जान्छु भनी म भोलि आउँदिनँ उमा, तिमी एक्लै कार्यक्रम चलाउनू’, मैले यति भनिनसक्दै बीचमै निश्छल र सहज स्वरमा उनले भनिन्, ’सर हाम्रा लागि पनि च्युरा है!’
‘हस्, हुन्छ’, मैले जबाफ फर्काएँ।
उनी कसैको भोज भतेर, चिया, नास्ता खाँदैन थिइन्।
यस दुःखद समाचारले म निकै स्तब्ध भएँ। तर पनि उमाले रोजेको साहसिक र निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गर्दै पोष्टमर्टमका लागि उनको पार्थिव शरीरलाई राखिएको जनकपुर अञ्चल अस्पताल, शवलाई नगर परिक्रमा गराउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा गरिएको धर्ना तथा अन्त्येष्टि लगायतका सम्पूर्ण समाचार संकलन गर्ने क्रममा २९ पुस, २०६५ मा मसानघाटमा उपस्थित सम्पूर्ण शुभचिन्तक, सञ्चारकर्मी, परिवारजन लगायत व्यक्तिहरूको मुख अगाडि रेकर्डर राखेर आवाज लिएँ। यो गर्न मलाई असाध्यै गाह्रो भइरहेको थियो।
म मात्र होइन, सबै रोएका थिए। कति त छिनछिनमै बेहोस समेत हुने गर्थे। यसै क्रममा चिच्याँउदाचिच्याँउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधेँ, ‘काकी अब तपाईं के चाहनुहुन्छ?,’ उनले बेस्सरी चिच्याउँदै भनिन्, ‘मलाई मेरी उमा चाहिएको छ।’
आफूलाई थाम्दै हृदयलाई कठोर बनाएर ती स्वर मैले आफ्नो रेकर्डरमा कैद गरेँ। तर, केही दूरीमा रहेको चितामा उनको शरीर जलिरहेको थियो। धुवाँको लप्कोले आकाश छुन आँटेको थियो। सायद उनी हामी सबैलाई सधैंका लागि छोडेर परलोक जाँदै थिइन्।
अब समाचार उमाले पढ्दिनन् भन्ने मलाई विश्वास लागेकै थिएन। तर, सत्यको आभास हुनेबित्तिकै मर्माहत भएँ। उमाले त अब रेडियोबाट मात्रै होइन, संसारबाटै बिदा लिइसकेकी थिइन्। यसरी निहत्थाको कलम र आवाजलाई नृशंसतापूर्वक सधैंका लागि बन्द गरियो।
उनको मृत्यु भएदेखि नै एकचोटि फेरि उनीसँग भेट्ने मेरो प्रवल इच्छा छ। उनीसँग धेरै नै सामाजिक, राजनीतिक, सांस्कृतिक र महिला हकअधिकारको सम्बन्धमा कुरा गर्नुछ। मलाई लाग्छ, उनले मेरो यो आग्रहलाई अस्वीकार गर्ने छैनन्।
पत्रकारितामा मानसम्मान खोज्नु हुँदैन। सबैसँग सहज रूपमा कुरा गर्नुपर्छ भन्ने उनको मान्यता थियो। यस्तो स्थितिमा उनी कसरी आउन सक्थिन्? पत्रपत्रिका, कार्यालय तथा धर्ना जुलुसमा राखिएको उनको तस्बिरतर्फ म हेर्दै थिएँ र उनी पनि हेर्दै थिइन्। धैर्य र शक्ति सञ्चय गर्दै उमाको पत्रकारिताको अभियान रथलाई अगाडि बढाउने बाचाका साथ स्मृतिका क्षणहरू सँगाल्दै छु।
यस दौरान रेडियोहरूमा २४ औं घण्टा मात्र शोक धुन बज्थ्यो। जनकपुर टुडेमा यस घटनाको आरम्भिक चरणमा अजित तिवारी, राजेश वर्मा र म स्वयंले कार्य गरे। पछि धेरैजसो साथीहरू कार्यालय आउन छाडे। त्यस बीचमा पत्रिका निकाल्नका लागि म र लक्ष्मण यादवले स्मृतिका पलहरू संगालेका लेख, रचनालाई प्राथमिकताका साथ छाप्नका लागि कार्य गरे। अन्तर्राष्ट्रिय मिसन टोली आउँदा जनकपुरमा भएका कार्यक्रममा पहिलोपल्ट उनीहरूसँग कुरा गर्दै अंग्रेजी भाषामै म र सुदीप झाले रेडियोमा कार्यक्रम चलाए।
यति मात्रै कहाँ हो र? पत्रकार, पत्रकारिता, महिला पत्रकार, सञ्चार जगतका समस्या यथावत् नै छ। भलै सञ्चार जगतमा भएको अकल्पनीय विद्युतीय माध्यमको प्रयोगले यसलाई विकसित तथा प्रभावकारी बनाइए पनि अझै यसका वस्तुगत समस्याको समाधान भने हुन सकेको छैन। क्रियाशील सञ्चारकर्मीहरू अझै असुरक्षाको बोध गर्दैछन्। उनीहरूले आर्थिक असुरक्षादेखि लिएर रिपोर्टिङ गर्ने क्रममा पनि असुरक्षा महसुस गर्दै आएका छन्।
सञ्चार माध्यम, सामाजिक सञ्जाल आदिमा यिनै विषयवस्तुले प्राथमिकता पाएका छन्। सञ्चार माध्यमको मुख थुन्नका लागि राज्यले अंकुश लगाउँदै छ। धमाधम सञ्चारसम्बन्धी विधेयक, ऐन, नियमहरू संघदेखि प्रदेशसम्म पनि पास हुँदै छन्। तर पनि पत्रकारको आर्थिक समृद्धि, जीउधनको सुरक्षाका लागि अग्रसरता देखाइँदैन। सूचनाको हकको प्रत्याभूति जनताले त के पत्रकारले पनि पाउन सकेका छैनन्। उनीहरूले दिएका सूचनाको हकको निवेदनलाई जनप्रतिनिधिहरूले टेरपुच्छर लाउँदैनन्।
जति महिलाहरू पत्रकारिता पेसामा प्रवेश गरेका छन्, तीमध्ये थोरै मात्र यो पेसामा टिकेका छन् र तीमध्ये थोरैले मात्र राम्रो अवसर पाएका छन्। हरेक सञ्चार संस्थामा नेतृत्वदायी तहमा उनीहरूको उपस्थिति न्यून छ। जब नीति निर्माण तहमा उनीहरूको सहभागिता नै छैन भने यसका अवयवहरू कसरी लैंगिकमैत्री बन्न सक्छन्। यिनै र यस्तै सवालका साथ उमा सिंहलाई सम्झिँदै मुलुकका विभिन्न स्थानहरूमा बहस जारी छ।
यस्ता बहसहरूलाई तार्किक निष्कर्षमा पुर्याएर कार्यान्वयनको पक्षमा जोडदार वकालत गर्नु र कार्यान्वयन गर्नू, गराउनू आजको अपरिहार्य आवश्यकता देखिन्छ। यसरी उमा सहिद भए पनि यहाँ विभिन्न बहानामा हरेक क्षण सञ्चारकर्मीको घाँटी निमोठिँदै छ, बेलैमा सर्तक रहन जरूरी छ।
उमाका लागि जनकपुर बिरानो सहर, रेडियोमा समाचारका खेतीपाती नौलो काम पनि। उनलाई राजेश वर्माको सहयोगमा जनकपुर टुडेमा कार्यरत सहदेव कार्कीले जनकपुर सहर चिनाए। उनले आफ्नै आफन्तको घरमा डेराको बन्दोबस्ती पनि गरे विस्तारै साथीसंगतीहरूसँगै घुलमिल हुन थालिन्। सहरसँगको साइनो जुड्दै, लगाव बढ्दै थियो।
तत्कालीन १० वर्षे माओवादी जनयुद्धको डोब, मधेश आन्दोलनका आले घाउ, सशस्त्र समूहको बिगबिगी र स्थानीय दादाहरूको गुण्डागर्दीबाट भयाक्रान्त जनकपुरले शान्ति अमनचयनका सास फेर्ने लागेको थियो। भयबाट उब्रिन थालेको थियो, जनकपुरले त्यतिकैमा एक असल, होनहार पत्रकार गुमायो।
जनकपुरमा एफएम पत्रकारिताको दौडका बेला मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन नगरेर विचार र समाचार उत्पादनमा रूचि राख्थिन्। यहाँ समाचारका खेती गरिरहँदाका पीडा, जटिलता र सकसका कुराहरू पनि बेला बखतमा उकेर्थिन्।
उनमा सिक्ने लगन थियो। उनी प्रखर, प्रतिभाशाली, आत्मविश्वासी र मेहनती स्वभावकी थिइन्। उनले आफ्नो पारिवारिक पृष्ठभूमि र संघर्षका कथा मन मिल्नेसँग साट्थिन्। दुई वर्षदेखि पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने उमाले जनकपुरमा आफूलाई स्थापित गरिसकेकी थिइन्। मधेसको पत्रकारितामा महिला दुर्लभ हुँदा उनको कदम साहसी छवि बन्दै थियो। सञ्चार जगतमा हस्तक्षेपकारी भूमिकामा जम्दै थिइन्।
राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा टिप्पणी गर्ने सम्मको क्षमता बोकेकी उनले दुइटा पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन्। राष्ट्रिय महिला पत्रकारिता पुरस्कार, २०६५ (महिला तथा समाज कल्याण मन्त्रालय) र महिला सशक्तिकरण पुरस्कार, २०६४।
लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरू गरेकी रेडियो टुडे हुँदै कान्तिपुर दैनिकमा विचार लेखन र हिमालीनी हिन्दी म्यागजिनमा फिचर लेख्न थालेकी थिइन्।
जनकपुरस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा आफूलाई उभ्याइन्। उनी महिला हिंसा, अन्याय र शोषणको विरूद्धमा कलम चलाउन पोख्त थिइन्।
सत्य, अहिंसाको संस्कृति तथा सन्तको सहर जनकपुरधाममा जनकपुर टुडे सञ्चार समूहका सञ्चालक तथा सञ्चार उद्यमी अरूण सिंघानियाँको पनि हत्या भयो।
एकपछि अर्को कलमबाहक तथा कलमका समर्थकहरूको हत्या गरिनुले हाम्रो संस्कृतिलाई गिज्याएको अनुभव हुँदै थियो।
यसरी जनकपुरमा हतियारधारी जत्थाद्वारा मध्ययुगीन, नृसंस, पासविक कायरतापूर्वक हत्याले जनकपुर शोकमग्न थियो, मलाई लाग्दैन आजसम्म कसैको मृत्युमा जनकपुरले यति असह्य पीडा खेपेको होला। सञ्चारकर्मी मात्रै होइन, उनका सहकर्मी, शुभचिन्तक आजसम्म उनको स्मृतिदिवस मनाई नै रहेका छन्।
सलाम उमा। हार्दिक श्रद्धाञ्जली।