कुनै पनि व्यक्तिको मनोवैज्ञानिक र सामाजिक पक्षको निरन्तर सम्बन्धलाई मनोसामाजिक शब्दबाट किटान गर्न सकिन्छ। व्यक्तिको मन (विचार, इच्छा, भावना, धारणा, संवेग, बुझाइ आदि) र समाज, साथीभाइ, छरछिमेक, घटनाक्रम वातावरण, चालचलन, धर्म संस्कृति आदिको अन्तरक्रियालाई मनोसामाजिक सम्बन्ध भनिन्छ।
व्यक्तिमा उत्पन्न हुने तनाव वा भावनात्मक अप्ठ्यारो वा असहज स्थिति नै मनोसामाजिक समस्या हो; जसको असन्तुलनले शारीरिक, मानसिक र सामाजिक समस्यालाई निम्त्याउँछ र व्यक्तिको जीवन, पेसा परिवार तथा समाजमा विभिन्न तरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्दछ। यो समस्या जहाँसुकै र जोसुकैलाई पनि हुन सक्दछ। यो जुनसुकै लिङ्ग, उमेर र जातजातिमा हुन सक्छ।
निद्रामा झस्कने, तर्सने, आक्रामक व्यवहार देखाउने, अरूसँग घुलमिल हुन मन नलाग्ने, बढी झर्कने आदि केही मनोसामाजिक समस्याहरू हुन्। यस्ता समस्याको लेखाजोखा गर्न जरुरी हुन्छ। मनोसामाजिक समस्याहरू दुई हप्ताभन्दा बढी भएमा उदासीनताको (डिप्रेसन) समस्या भएको शङ्का गर्न सकिन्छ। कतिपय अवस्थामा समस्याको गम्भीरता बढेर मानसिक रोगको रूप लिन पनि सक्छ। त्यसैले यस विषयमा हामी सबै सचेत हुनु आवश्यक छ।
मनोसामाजिक समस्याका कारणहरूमा- परिवार, साथी, नातागोता, विद्यालय, शिक्षक, समुदाय, प्राकृतिक वातावरण, विपद् तथा महामारी आदि हुन सक्छन्। विद्यार्थी मनोसामाजिक समस्यामा भावनात्मक समस्या, व्यवहारिक समस्या, सिकाइजन्य समस्या र विकासात्मक समस्या पर्दछन्। मनोसामाजिक समस्या भएका विद्यार्थीहरूमा विभिन्न लक्षणहरू देखा पर्दछन्।
शारीरिक लक्षण जस्तै- थकान, भोक नलाग्ने, पेट वा टाउको दुख्ने, निद्रामा गडबडी हुने आदि।
भावनात्मक लक्षण अन्तर्गत मनमा छटपटी हुने, आत्तिने, आत्मविश्वासको कमी हुने, रुन मन लाग्ने, निराशावादी हुने, मन चिसो हुने, एकदमै डर लाग्ने आदि लक्षणहरू पर्दछन्।
आफूलाई परेका समस्या बारे विश्वासिलो मान्छेसँग कुरा गर्ने गर्नाले मनोसामाजिक परामर्श दिइहाल्नु जरुरी हुँदैन। सामान्य अवस्थामा फर्कन सक्ने धेरै क्षमता हुन्छ। सामान्य अवस्थामा नफर्केमा मनोसामाजिक समस्यालाई समाधान गर्नको लागि मनोसामाजिक परामर्शको आवश्यकता पर्दछ।
बालबालिकाहरूको पिर, चिन्ता, तनाव एवम् अलमललाई समानुभूतिपूर्वक सुनिदिएर मनको बेचैनीलाई कम गर्न प्रदान गरिने मनोवैज्ञानिक उपचार पद्धतिलाई विद्यार्थी मनोसामाजिक परामर्श भनिन्छ। बालबालिकाहरूसँग विश्वासिलो सम्बन्धको विकास गरी उनीहरूलाई आफ्नो मनको समस्या तथा समस्याको कारण थाहा पाउनु, समस्यालाई स्वीकार गर्न भावनात्मक सहयोग प्रदान गर्नु, मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन गरी सिकाइ तत्परताको विकासमा सघाउ पुर्याउनु विद्यार्थी मनोसामाजिक परामर्शको मुख्य उद्देश्य हो।
मनोसामाजिक परामर्शमा बालबालिकाहरूलाई दोष नदिई मनोसामाजिक समस्याका कारणहरू पहिल्याउन प्रयास गर्नुपर्दछ। मनोसामाजिक परामर्श गर्दा परामर्शीसँग सम्बन्धको विकास गर्ने, परामर्शीको वास्तविक समस्याको पहिचान गर्ने, समस्या समाधानका विकल्पहरूको खोजी गर्ने, जटिल भावनाको व्यवस्थापन गर्ने, आदि विषयलाई ध्यान दिनुपर्दछ।
मनोपरामर्शकर्ता शिक्षकसँग मनोपरामर्श सम्बन्धी आधारभूत सिपहरू खास गरी विश्वासिलो सम्बन्ध विकास, प्रभावकारी सञ्चार, प्रश्न गर्ने सीप तथा सक्रियतापूर्वक सुन्ने जस्ता आधारभूत सिपहरू विशेष महत्त्वपूर्ण मानिन्छन्। त्यसै गरी मनोपरामर्शी विद्यार्थीका भावनालाई जोगाएर गोपनीयता कायम गर्न सक्ने क्षमता, इमानदार तथा निष्कपट व्यवहार, धैर्यता, समानुभूति देखाउन सक्ने गुण बोलीमा मिठास, बालबालिकाहरूको उमेर सुहाउँदो भाषा शैलीको प्रयोग गर्न सक्ने क्षमता आदि हुनुपर्दछ।
त्यसै गरी मनोपरामर्शकर्ता शिक्षकमा भावना फर्काउने सीप पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। जस्तै: बालबालिकाहरूले गैर मौखिक तथा मौखिक रूपमा व्यक्त गरेका कुराहरूलाई ध्यानमा राख्दै त्यति बेला नै उनीहरूलाई कस्तो लागिरहेको होला, कस्तो महसुस गरिरहेका होलान् भन्ने कुरालाई ख्याल गरी उनीहरूको भावनालाई व्यक्त गरिदिनु पर्दछ। भावना फर्काउनाले मनोपरामर्शी विद्यार्थीलाई आफ्ना मनका कुराहरू भन्न सहज पनि हुन्छ र मनोपरामर्शकर्ता शिक्षकसँग उनीहरूको विश्वास पनि बढेर आउँछ।
विद्यालयहरूले मनोसामाजिक परामर्श प्रदान गर्दा एकै दिनमा धेरै क्रियाकलाप नगराई समय, आवश्यकता र अवस्थाका आधारमा शारीरिक व्यायाम, खेल, चित्र लेखन, कथा श्रवण, गीत/संगीत, प्रोत्साहन आदिका माध्यमबाट उत्प्रेरणा दिने जस्ता क्रियाकलाप गरेमा मनको डर तथा त्रास कम भएर जान मद्दत गर्दछ।
अभिभावकहरूमा पनि मनोशिक्षा सम्बन्धी ज्ञान हुनु जरुरी छ। आफ्ना बच्चाहरूका कुरा ध्यान दिएर सुन्ने, बेलाबेलामा हौसला दिने, भावना व्यक्त गर्न दिने, उनीहरूलाई सम्झाउने, अप्ठ्यारो भएमा अभिभावकलाई जानकारी गराउन हौसला दिनुपर्दछ र अभिभावकले पनि आफ्ना बच्चाहरूलाई समय दिनुपर्दछ।
उनीहरूलाई तनाव कम हुने क्रियाकलापहरूमा संलग्न गराउनुपर्दछ जस्तै: समयमा सुत्ने, पूजापाठ, योग ध्यानमा समय दिने, मनशान्त पार्न रमाइलो ठाउँमा घुम्न गएका अनुभव सुनाउने, उनीहरूलाई मन पर्ने कुराहरू गरिदिने, पठनपाठनमा सहजीकरण गरिदिने आदि गर्नुपर्दछ। विद्यालय तथा अभिभावकले बालबालिकाहरूको भावनात्मक संवेगहरू (डर, त्रास, भय, बेचैनी आदि) लाई समयमै निगरानी राखी प्रभावकारी रूपमा तत्सम्बन्धी अन्य विविध परिस्थितिजन्य कदमहरूप्रति पनि निरन्तर रूपमा होसियारीका साथ लाग्न सधैँ चनाखो हुन अपरिहार्य छ।
वर्तमान समयमा विद्यार्थीहरूमा विविध कारणहरूले मनोसामाजिक समस्या दिन प्रतिदिन बढिरहेको देख्न सकिन्छ। जसको फलस्वरूप विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर पुगेको छ। तसर्थ, सम्बन्धित निकायहरूले विद्यार्थी मनोसामाजिक परामर्श जस्तो अति संवेदनशील विषयलाई प्राथमिकतामा राखी समयमै विद्यार्थी परामर्श सम्बन्धी तालिम, छलफल, गोष्ठी लगायतका अन्य कार्यहरू तीव्र गतिमा अगाडि बढाई विद्यालयहरूमा मनोसामाजिक परामर्शकर्ता शिक्षकको व्यवस्थापन गरी व्यवहारिक रूपमा कार्यान्वयन गरी/ गराई अगाडि बढेमा शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने देखिन्छ, जुन आजको टड्कारो आवश्यकता हो।
यसर्थ विद्यार्थीहरूमा देखिने चिन्ता, डर तथा दिक्दारीपन जस्ता मनोसामाजिक समस्या जसले उदासीनता तथा मानसिक रोग निम्त्याउन सक्दछ। सोको पहिचान र व्यवस्थापन गर्न विद्यार्थीहरूको विकासात्मक समस्या र सिकाइजन्य समस्या समाधान गरी शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी मनोसामाजिक परामर्श साथै अभिभावक मनोशिक्षाको अत्यन्तै आवश्यकता छ।