सार्वजनिक यातायात प्रयोग गर्दा सधैँ ढिलो हुन्छ कार्यालय पुग्न। हाजिर नै लिँदैन। हाकिमले कचकच गर्छन्। सार्वजनिक सवारीको भोगेको व्यथा न ई-हाजिरीले बुझ्छ न हाकिमले नै। मेरो जस्तो नियति अरूको पनि होला सायद। गन्तव्य पुग्नलाई एक/दुई घण्टा अतिरिक्त समय नछुट्टाई हुँदै हुँदैन। ढिलो आयो भनेर अफिसमा हाकिमको कचकच, घरमा बुढीको कचकच!
उपत्यकामा ट्राफिक जाम एउटा समस्या हो। त्योभन्दा बढी समस्या हरेक बिसौनीमा ५/१० मिनेट रोकेर थप यात्रु कुर्नु हो। सार्वजनिक यातायात अत्यन्त अस्तव्यस्त, झन्झटिलो र लोसे छ।
सिट फोहोर हुन्छ। बस डुङडुङती गनाउँछ। विवशताका बिच पनि चढ्नै पर्छ। विकल्प छैन। विकल्प भए पनि महँगो छ। धान्न सकिँदैन। गन्तव्य पुग्न थप समय दिनै पर्छ। समय बरबादीको क्षतिपूर्ति कसले देला? समयको महत्त्व कसले बुझ्ला? मन सधैँ बेचैन हुन्छ।
सबेरै घरबाट अफिस र अफिसबाट घर पुग्दा निस्पट्ट अँध्यारो भइसक्छ। टोल छिमेकका मानिसले तपाईंको बसाइँ पनि यतै हो भन्छन्! म सकी नसकी हो हजुर भन्छु।
सार्वजनिक गाडीमा यात्रा गर्नेहरू समय बढी छुट्टाउनु पर्छ भन्ने कुरामा पूरै अभ्यस्त छन्। नभएर के गर्नु? खाए खा नखाए घिच!
‘जाऊँ न गुरुजी, हतार भयो’ भन्यो भने आफ्नै गाडीमा जानु नि भन्छ। उत्तर के दिनु मजस्ता बिचराहरूले! गाडी किन्ने हैसियत भएको भए थोत्रो र कर्कश गाडीमा किन चढ्नु पर्थ्यो? विवशता र बाध्यता हो सार्वजनिक गाडी चढ्नु। त्यही विवशता र बाध्यता माथि चालक र सहचालकले दिनहुँ प्रहार गर्छन्। सुन्नु र सहनुको विकल्प हुन्न। सार्वजनिक गाडीमा पीडा र हैरानी भोग्ने धेरै होलान्, ती मध्येको म एक यात्रु!
सधैँ झैँ भक्तपुर-कलङ्की रुटको बस प्रतीक्षा गर्छु। बिच बाटोबाट चढ्ने हुनाले सिट पाउनु अमेरिकाको डिभी पर्नु जस्तै हुन्छ मलाई। बस चढ्यो कि सहचालक भाइले ‘पछाडि जानुस्, पछाडि जानुस्! पछाडि खाली छ’ भन्छ!
गठ्ठाघर र लोकन्थली पुगेपछि ‘दुई लाइनमा उभिएर बस्नुस्। पछाडि सर्नुस्। मिलेर बस्नुस्! ढोकामा नबस्नुस्’ भन्दै उर्दी जारी गर्छन्। फर्कँदाको कहानी त्योभन्दा भिन्न हुँदैन। कहिलेकाहीँ त आँखाको पावर कम छ कि क्या हो भन्न मन लाग्छ सहचालकलाई। तर भनेर कसले सुन्छ? भनेर के हुन्छ?
एउटै रुटको यात्रामा सधैँ निस्कने हुँदा भिडभाडमा बसभित्रै चोरी चकारी गर्ने प्रायजसो पाकेटमारलाई चिनेको छु मैले। चिनेर के गर्नु? उपाय हुन्न। आजभोलि अरूले चिन्लान् भनेर मास्क लगाउँछन्। तर शरीरको बनोटबाट चिन्छु म। हाउभाउ र गतिविधि फरक हुन्छ उनीहरूको। बसमा चढेपछि ठेलमठेल सुरु गर्छन्। त्यही मौकामा चौका हान्छन्।
एक दिन सँगै उभिएको मानिसको प्रत्यक्ष पकेट मारेको देखेँ मैले। बोलेको मात्र के थिएँ राम धुलाइ खाएँ। जोगाउन कसैले खोजेनन् मलाई। सबै दर्शक बने। त्यसपछि सजग हुनु बाहेक चूँ सम्म बोलिनँ। ज्यान जोगाउन लागेँ। त्यसपछि भने अरूको पाकेट मारेको हेरेर बसेँ। दर्शक भएँ म!
सार्वजनिक यातायातमा गजब गजबको दृश्य देखिँदो रहेछ। कोही केटा वा पुरुषहरू महिलामाथि नराम्रो नजरले हेर्ने! भिडभाडमा गलत हरकत गर्दा रहेछन्। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यौन दुर्व्यवहार गर्दा रहेछन्।
बस स्टप आयो कि सह चालक फेरि एकोहोरो स्वरमा ‘पछाडि सर्नुस्, ठाउँ खाली छ’ भन्छ। सायद उसको कमाउने र जागिर बचाउने बाध्यता होला त्यो! दोहोर्याएको दोहोर्याई गर्छ। सुन्दा सुन्दा दिक्क लाग्छ। गर्मीमा असिन पसिन हुँदा गएर एक मुक्का हानौँ झैँ लाग्छ उसलाई। रिसाएर के गर्नु? जानु नै छ त्यसैमा।
कोचाकोच बसमा जुत्ता र कपडा कुल्चनेको कुरा गरी साध्य हुन्न। अफिस जाँदा महिला दिदी बहिनीको लिपस्टिक सटमा लाग्दा अफिसमा उडाउनेहरू कम हुँदैनन्। ‘के हो सर? जे छ सरकै छ!’ उनीहरूका कुरा सुनेर पहिले पहिले त अलमलिएँ म। गल्ती गरेछु कि जस्तो लाग्थ्यो! पछि पछि त्यो सामान्य भयो। उनीहरूलाई नै जिस्क्याइदिन्छु अहिले।
पुरुष यात्रुको हैरानीभन्दा महिला यात्रुको कन्त बिजोग झन् बढी छ। आधाभन्दा बढी यात्रु महिला हुन्छन् सार्वजनिक यातायातमा। २/४ सिट आरक्षणले कुनै अर्थ राख्दैन। सार्वजनिक गाडीमा अफिस समयमा चढ्नु र ओर्लनु युद्ध जित्नु सरह हुन्छ। वृद्ध र अशक्तहरूको पीडा लेखी साध्य छैन। कार्यालय आउँदा जाँदा भोगेको र देखेको दृष्टान्त हो यो।
कहर त्यति मात्र छैन; सहचालकले तोकेको भन्दा ५/१० रुपैयाँ भाडा बढी लिन्छन्। खुद्रा पैसा सधैँ हुन्न। भए पनि भाडा याद हुँदैन। भाडामै यात्रु ठगिन्छन्। यात्रुको लागि बोलिदिने कसले? ऊ निमुखो छ। एक्लो छ। थाहा भए पनि सहचालकसँग मुखामुख गरेर साध्य हुँदैन। मनपरी बोल्छन्। बोल्नुभन्दा नबोल्नु जाति। ठगिनु बाहेकको विकल्प हुँदैन।
साना गाडीलाई निरुत्साहन गर्दै सरकारले ठुला ठुला बस चल्ने व्यवस्था गरिदिए राहत हुन्थ्यो। मेरो सरकारले कहिले सुन्ला? कहिले बुझ्ला? संविधानमा उल्लेख भएको उपभोक्ताको मौलिक हकको कार्यान्वयन कहिले होला सरकार? कुरा गर्यो कुराकै दुःख! छ्या!