एक विवाहित महिलाको लागि सबैभन्दा खुसीको विषय के होला? आमा बन्न पाउँदा? वा अरू केही? जीवनमा प्राथमिकता र खुसीको मापन गर्ने इकाई सायदै बनेका होलान् तर प्रायः महिलाको खुसीको क्षण यही होला जति बेला आफू आमा बनेर प्रमाणित हुन्छ।
सामाजिक परिबन्द वा प्राकृतिक कारणले बाधा व्यवधान आउन पनि सक्छन्। जस कारण यस्तो खुसी सबैले कहाँ भोग गर्न पाउँछन् र! यो प्रक्रियामा केहीले सहजै सुख पाउँछन् भने केहीले निकै संघर्ष पनि गर्नुपर्छ। परिवार, समाज अनि विभिन्न नातागोतामार्फत सुनेको छु, कति त प्रत्यक्ष देखेको छु।
यस्तै माहौलमा म पनि हेर्दाहेर्दै आमा बनेँ। आज यही क्षणको खुसी र आफ्नो सन्तानको मुख बजानको तोते बोलीमा सुन्दाको तरंग म यहाँ उतार्दै छु।
२०७५ माघ १५ गते आचार्य प्रदीपसँग विवाह मेरो विवाह भयो। पढाइसँगै मैले बुटवलमा पत्रकारिता पेसा रोजेँ। प्रदीप पनि सँगसँगै पत्रकारितामा प्रवेश गर्नुभएको थियो।
सुरुआती चरणमा तलबले दैनिकी धान्न धौधौ हुन्थ्यो। केही कमाऊ, जमाऊ अनि मात्र विवाह गरौँ भन्ने बेला समय विचार नआएको हैन। यही मेसोमा हाम्रो विवाह भयो। विवाहपछि कोरोना महामारी आइलाग्यो। पत्रकार समाजको सूचक अर्थात् ‘फ्रन्टलाइनर’ हुन्। महामारीले पत्रकारिता क्षेत्र सुरुमै प्रभावित बन्यो। यसमा क्षति पुगेको पहिलो पक्ष हो आर्थिक।
प्रदीप एक्लो छोरा। हामी दुई जना बुटवलमा बस्दथ्यौँ। तर प्रदीपको हजुरआमा, बुवा र आमा अर्घाखाँचीमै बस्नुहुन्थ्यो। घरको सम्पूर्ण जिम्मेवारी हाम्रै काँधमा थियो।
हामीलाई काखमा नानी खेलाउने रहर निकै थियो तर सहजै लालन पोषण गर्न सकिएला र भन्ने डर पनि उत्तिकै थियो। घरपरिवार र समाजले पनि बेलाबेला हामीलाई यसबारे प्रश्न नगरेका होइनन्।
‘केही समस्या छ र?’ बिहेको ५ वर्ष पुग्ने बेलासम्म पनि सन्तान योजना नदेख्दा यस्ता प्रश्नको सामना गर्नुपरेको थियो। म केही जवाफ दिन जरुरी ठान्दैनथेँ। प्रश्न सायद प्रदीपलाई पनि सोध्थे होला, तर मात्र मलाई सोधेजस्तो लाग्थ्यो। सोच्थेँ, बच्चा जन्माउने काम के मेरो एकल हो? अनि फेरि सोच्थेँ– ए यो त पुरुषवादी समाज पो त!
सोही उमेरमा विवाह र सोही उमेरमा बच्चा हुनु राम्रो भन्ने हामी सोच्थ्यौँ। एक दिन यतिकै बूढाबूढी गफ गरेर बसिरहेका थियौँ। अब बच्चा जन्माउन उपयुक्त समय भएको कुरा गर्यौँ। हामी पहिलो सन्तानको लागि तयार भयौँ। हामीलाई केही कुरा थाहा थियो कि बच्चाको योजना बनाउनुअघि नै स्वास्थ्य जाँच गर्नुपर्छ।
चेकअप गर्ने योजनासहित लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीसँग समय लियौँ। डा शिलासँग राम्रो सम्बन्ध पनि थियो हाम्रो। उहाँले थाइराइड लगायत रगतका जाँच गर्ने र फोलिक एसिड सुरु गर्न सुझाव दिनुभयो। कुनै समस्या देखिएन।
हामीले सन्तानको आवागमन पश्चातको आवश्यक तयारी बारे छलफल पनि गरेका थियौँ। आमा बन्दै हो वा होइन जाँच्न प्रदीपले ‘सेमेस्टर’ ल्याउनुभयो। मैले टेस्ट गरेँ। दुई वटा लाइन देखिएमा आमा बनेको पक्का भन्ने चिकित्सकबाट सुनेकी थिएँ। एकै छिन कुर्दा दुई वटा लाइन देखियो। त्यो लाइनले हाम्रो ‘लाइफलाइन’मा खुसीको क्षणलाई दोब्बर बनाइदियो। आफू आमा बन्दै गरेको पहिलो महिनामा थाहा पाउँदा निकै आनन्द आयो।
त्यसपछि मैले डा. शिलालाई 'ह्वाट्सएप'मा टेस्टको फोटो पठाएँ। उहाँले बधाई दिँदै भेट्न बोलाउनु भयो। हामी सँगै क्लिनिक गयौँ। उहाँले बधाई दिँदै केही जाँच गरी आवश्यक सुरक्षा तथा हुनसक्ने जटिलताको बारेमा जानकारी गराउनु भयो। पहिलो ३ महिनामा पिसाब फेर्दा फ्रेस रगत हुनु नराम्रो मानिने रहेछ। यदि यस्तो भएमा गर्भ नै खेर जानेसम्म हुँदो रहेछ। यसको जोखिम ममा हुने सक्ने औँल्याउनुभयो। केही डर, केही उत्साहका साथ आफूलाई सम्हाल्दै डा. शिलाको कुरा मनमा खेलाउँदै हामी त्यहाँबाट निस्कियौँ। दुवै आआफ्नो अफिसतिर लाग्यौँ।
अफिसबाट घर फर्कियौँ। हामी बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा डेरामा बस्थ्यौँ। तर बढी जसो बाहिरको खाना खानुपर्ने बाध्यता। तर जब पेटमा बच्चा बस्यो हामीले बाहिरका खानेकुराहरू प्रायः बन्द गरिसकेका थियौँ। अझ भनौँ जंकफुडलाई निषेध गर्दै घरमै पकाएका खानेकुरा, फलफूल, नरिवल पानी, फ्रेस जुसलगायतको सेवन बढाएका थियौँ। त्यो दिन पनि सदाजस्तै घरकै स्वास्थ्य वर्द्धक खानेकुराहरू खायौँ।
सुत्ने बेलामा डा. शिलाले भनेको जटिलतामध्ये ‘रगत देखिनु’ वास्तविकतामै भयो। हामी अत्तालियौँ, सम्हालिन गाह्रो भयो, मनमा अनेक तरहका गलत चिन्तन आउन थाल्यो- ‘मेरो गर्भ खेर जान्छ होला, यो समस्या जहिले बल्झन्छ कि!’
यत्तिकैमा डा. शिलालाई प्रदीपले फोन गर्नुभयो। के कुरा भयो त्यो समयमा मलाई केही याद छैन। डाक्टरले प्रदीपलाई क्लिनिक बोलाउनुभएको रहेछ। ‘तिमी सुतिराख’ भन्दै क्लिनिक जानुभयो।
हामी बस्ने नजिकै तिनाउ अस्पताल थियो, २ मिनेटको पैदल दूरीमा थियो। प्रदीप स्कुटीमा क्लिनिक जानुभयो। डा. शिलाले केही खोप लगाउन दिनुभएको रहेछ। तिनाउ अस्पतालमा पुगेर लगायौँ। मेरो प्रेगनेन्सी अलिकति जटिल भएको भन्दै उहाँले केही दिन ‘बेडरेस्ट’ गर्न लगाउनु भयो।
मनमा डरले आफ्नो स्थान बनाइसकेको थियो। धेरैका घटनाहरू सुनेका थियौँ कि पहिलो ३ महिनामा गर्भ खेर जाने डर हुन्छ भन्ने। कति बेला त लाग्दथ्यो कि आफ्नै खुसीमा आफैँ पो नजर लगाएँ कि भन्ने। तर मनमा बलियो आशा र विश्वासका साथ म ढुक्क भएकी थिएँ। किनकि जस्तोसुकै समस्या आए पनि मलाई सहयोग गर्ने डा. शिला र मलाई विश्वस्त बनाउँदै हिम्मत दिने प्रदीप साथमा हुनुहुन्थ्यो।
तेस्रो डोज लगाउने बेला हुँदासम्म पनि सुधार नभएपछि डा. शिलाले सुई नियमित लगाउनुपर्ने सुझाउनुभयो।
बच्चा सुरक्षित बनाउन हामीले निकै संघर्ष गर्नुपर्यो। यो समयमा केही दैनिक केही दिन बिराएर र केही साप्ताहिक र केही पाक्षिक गरी ४८ वटा सुई लगाएँ। दैनिक रूपमा सुई लगाउनुपर्ने भएपछि अस्पतालका नर्सहरूले तपाईंको हिम्मत र सहन शक्ति निकै राम्रो रहेछ भन्दै मेरो हौसला बढाउनुहुन्थ्यो।
यो यात्रामा सबैभन्दा डर त त्यति बेला लागेको थियो जति बेला मैले सुई लगाउने अस्पतालको डाक्टरले यस्तो खालको सुई त मैले पहिलो पटक जाने भन्नु भयो।
सोच्नु होस् त त्यति बेला मलाई कस्तो भयो होला? खैर जे जस्तो भए पनि यो समयसँग जुध्न त हामीलाई थियो थियो।
नियमित सुई लगाउँदा म पनि थाकिसकेकी थिएँ। आफ्नो पेट सुमसुम्याउँदै पेटमा रहेको बच्चासँग कुरा गरेँ- हे सानु, तिमी यो संसारमा आउन र मलाई आमा बनाउन मेरो गर्भमा आएका छौ। प्लिज मलाई दुःख नदेऊ ल सानु...
दिन बित्यो। अर्को दिन भने रगत देखिएन। म अत्यन्तै हर्षित भएँ। हुन त त्यो सुईको डोजले काम गरेको थियो, तर मलाई मेरो गर्भको बच्चाले मेरो कुरा सुन्यो र रोकियो जस्तो महसुस भयो।
रगत रोकिए पनि पहिलो तीन महिना जोखिम हुने भएकोले नियमित सुई लगाउनुपर्ने डाक्टरले बताउनुभएको थियो।
मलाई समस्या आइपर्न सुरु भइसकेको थियो। गर्भको बच्चाको स्याहारको कुरा त छँदै छ, सँगै अझै केही समय ‘बेड रेस्ट’ गर्नुपर्ने थियो। हिँड्न, डुल्न, खोक्न र बस्न सख्त मनाही थियो। म मुढो पल्टे जसरी पल्टिरहेँ।
मलाई भने निकै चिडचिडापन, रिस उठ्ने, सानो सानो कुरामा मन दुख्ने गर्थ्यो। ‘बच्चा सही छ होला कि नाइँ? अंगहरू पूर्ण रूपमा बनेको होला कि नाइँ, स्वस्थ जन्मिएन भने सबैले मलाई नै यसको लापरबाही हो वा यसमा केही कमजोरी भएर हो भन्ने होलान्’ यस्तै यस्तै सोच्थेँ।
प्रदीपले जति ख्याल गरे पनि मेरो वास्ता नगरे जस्तो लाग्ने। अनि कसैले एक दिन नसम्झे मेरो त कोही छैन जस्तो लाग्ने। आफूले भने जस्तो नहुँदा मुखमा आए जति शब्द प्रयोग गरेर कराउने। सायद ‘मुड स्विङ’ भनेको यही होला, यस्तै कुराले यसरी गाभेको थियो कि खाली नकारात्मक कुरा आउने।
सबैभन्दा बढी त त्यति बेला रिस उठ्थ्यो कि जति बेला डाक्टरले खान हुन्न भनेको कुरालाई परिवारले खाऊ केही हुन्न, हामीले खाएको केही भएन हामी ठिक छौँ भन्ने। आए जतिको रिस प्रदीपलाई पोख्थेँ। जुन हरेक श्रीमानले सामान्य रूपमा लिनुपर्ने बाध्यता यो समय। किनकि यो ‘हनिमुन पिरियड’ रहेछ, चिकित्सकीय भाषामा।
माघ १२ गते प्रेग्नेन्सी पोजेटिभ आउनु, डाक्टरले आराम गर्न भन्नु र अब अफिसमा बिदा के भनेर लिनु मलाई निकै ठुलो चुनौती बनेको थियो। आवाजविहीनहरूको आवाज बन्दै पत्रकारितामा खटे पनि आफ्नो हक अधिकारबारे मुख खोल्न पनि मुस्किल हुने।
१५ गते हाम्रो ५ औँ वैवाहिक वर्षगाँठ थियो। यतिकैमा अफिसबाट फोन आयो। २ दिन भइसकेको थियो बिना जानकारी बिदा बसेको। सायद त्यही भएर फोन आयो। के कारण देखाएर बिदा लिने, मलाई निकै अप्ठ्यारो लागेको थियो। फोनको घण्टी बजिरहेको थियो, म भने सोच मग्न।
दोहोरिएर फोन बज्दा म झस्किएँ र एकोहोरिएर फोन उठाएँ।
‘हेलो’ मैले यति भन्न नपाउँदै उताबाट ‘हेलो पूजा हेप्पी एनिभर्सरी’ भन्ने आवाज आयो, आवाज दैनिक पत्र दैनिकका व्यवस्थापक मञ्जु पौडेल दिदीको थियो। अनि पो सम्झिएँ, आज त हाम्रो विवाह भएको दिन है!
‘कता छौ, ल छिटो लड्डु लिएर आऊ,’ मैले थ्याङ्क यु भन्न नपाउँदै मञ्जु दिदीले भन्नुभयो।
‘दिदी मलाई अलिकति सन्चो छैन, केही दिन अफिस आउँदिनँ है,’ डराई डराई सानो स्वरमा यति भन्न सकेँ।
‘के भो? ल अलि ख्याल गर। खालि काम काम भनेर नदौड, चेकअप गरेर मेडिसिन खाऊ। निको भएपछि अफिस आऊ,’ यति भनेर दिदीले फोन काट्नु भयो। रेडियोमा पनि काम गर्थेँ, त्यहाँ चाहिँ म केही महिना अफिस आउन सक्दिनँ बिदा मिलाइदिनु भनेर भनिसकेकी थिएँ।
एनिभर्सरीको दिन प्रदीपले केक ल्याउनु भएको रहेछ– एकै छिन सबै बिर्सिएर केक काट्यौँ अनि रमायौँ।
चिकित्सकले नै पहिलो तीन महिनामा गर्भ खेर जाने सम्भावना बढी नै हुने बताउने गरेका थिए।
हामीले पहिलो पटक डा. शिलालाई भेट्न जाँदादेखि नै योजना बनाएका थियौँ। बच्चा बसेको कुरा घर-परिवारलाई केही समयपछि मात्रै बताउने। अझै रगत देखिने समस्या आएपछि त हामीले भन्ने हिम्मत समेत गरेका थिएनौँ।
मलाई पहिलो ३ महिना बेडरेस्ट बस्नुपर्ने। ४० दिन त जसोतसो कटेको थियो। बाँकीको ५० दिन अफिसबाट बिदा बस्नुपर्ने। कार्यक्रमहरूमा नजानु त कुनै ठुलो कुरा रहेन, तर प्रत्येक महिनामा पुगिरहने माइती गाउँ पिपरा कपिलवस्तु पनि जान नपाउने भएँ।
सामान्य लापरबाही भए या त चिकित्सकको सल्लाहभन्दा बाहिरका कुराहरू गरेमा गर्भ खेर जान सक्ने सम्भावना थियो। त्यसैले हामीले प्रायःलाई झुट बोल्ने, बिरामी भएको बहाना बनाउने लगायतका कुराहरू गर्यौँ। पहिलो ३ महिनाको यो ५० दिनमा मैले ४८ वटा सुई लगाएँ भने धेरै औषधि खाए।
दैनिक रूपमा सुई लगाउनुपर्ने भएपछि अस्पतालका नर्सहरूले तपाईंको हिम्मत र सहन शक्ति निकै राम्रो रहेछ भन्दै मेरो हौसला बढाउनुहुन्थ्यो।
घरमा खाना बनाउने, सरसफाइ गर्ने, लुगा धुने, भाडा माझ्ने लगायतका सबैजसो काम प्रदीपले गर्नुहुन्थ्यो। यही बिचमा मैले काम गर्दै आएको काठमाडौँबाट सञ्चालित बाह्रखरी अनलाइनमा काम गर्न सकिनँ। भने अनुसारको काम गर्न नसकेपछि मैले स्वास्थ्य कारण देखाउँदै बिदा लिएर बसेँ। यो समयमा पत्रकार र समाजले मलाई खोजे पनि बिस्तारै ध्यान आउन छाड्यो। घरायसी कामहरूमा पनि म केही गर्ने थिइनँ। रेस्टरुम मात्रै जानुस् भन्ने चिकित्सकको सुझावअनुसार मैले ध्यान दिइरहेकी हुन्थेँ।
चौथो महिनामा जाँच गर्नको लागि नजाँदासम्म निकै कठिनाइ भएको थियो। मनमा निराशा ल्याउनु पनि मन थिएन किनकि गर्भवती आमाले तनाव लिँदा गर्भमा हुर्किरहेको बच्चामा नकारात्मक असर पर्छ भन्ने थाहा पाएकी थिएँ।
मैले यो समयमा विभिन्न उपन्यासहरू अध्ययन गरेँ। भजन सुन्ने, श्रीमद्भागवत तथा हनुमान चालिसा सुन्ने लगायतका कुराहरू गरेर समय व्यतीत गरेँ। जसले मलाई निकै सकारात्मक अनुभूति र ऊर्जावान् शक्ति प्रदान गरेको थियो।
त्यत्तिकैमा तीन महिना पार भयो। चौथो महिना आयो। करिब ३ महिनापछि घरबाट बाहिर निस्कन पाएँ। बाँधेर राखिएको पिँजडाबाट मुक्ता भए झैँ लाग्यो। म उड्न चाहन्थेँ, डुल्न, नाच्न र कुद्न चाहन्थेँ। म आभास गर्न सक्थेँ कि कसैको बन्धक भएर बस्नु केलाई भनिन्छ वा त्यो पल कति नमिठो हुन्छ भनेर।
हामी निकै विश्वासका साथ पैदलै क्लिनिक पुग्यौँ। रगत देखिएको व्यक्ति सवारीमा हिँड्दा पुनः रगत हुनसक्ने भएकोले सवारी साधन नचढ्न चिकित्सकको सुझाव थियो। करिब १८–१९ मिनेटमा हामी त्यहाँ पुग्यौँ। त्यहाँ पालो कुर्ने धेरै थिए। डा. शिला आउनुभएको थिएन। केही बेरमै आउनुभयो र मलाई देख्नसाथ सोध्नुभयो– ‘निकै गाह्रो भयो है?’
मैले हो को अभिप्रायसहित टाउको हल्लाएँ। मन डराइरहेको थियो। उहाँले भन्नुभयो, ‘पहिले भिडिओ एक्स-रे गर्नु अनि रिपोर्टसहित हेर्छु।’
धेरै जना बिरामीलाई समय दिनुपर्ने भएकोले उहाँ हतार गरेरै भित्र जानुभयो। हामी भिडिओ एक्स-रेको लाइनमा थियौँ।
प्रदीप र म भित्र गायौँ। पहिलो पटक धड्कन सुन्दाको खुसी पुनः सुन्न मन थियो। ‘बच्चा त ठिक छ नि?’ रेडियोलोजिस्ट डा. बसन्त बस्नेतले भिडिओ एक्स-रे गर्दागर्दै मैले ३ पटक सोधिसकेछु। उहाँले ‘हेर्न त दिनु’ भन्दै हाँस्नुभयो। हामी मलिन थियौँ। प्रदीप पनि मौन।
उहाँले के के कुरा हेरिरहनु भएको थियो। तर धड्कन सुनाउनु भएको थिएन। प्रदीप घोप्टो मुन्टो लगाउनु भएको थियो। मैले आफ्नो आँखा रसाइसकेकी थिएँ। आँखा बन्द गर्दै गर्दा आवाज आयो- धडक्... धडक्... धडक्...।
मनले ठुलो राहत पायो। घण्टौँ अक्सिजन नपाएको शरीरले अक्सिजन पाएजस्तो। पानी नपाएर मर्न लागेको माछाले पानी भेटाए जस्तो। मैले केही सोधिनँ।
‘केही भएको छैन, सुन्नुस् धड्कन,’ डा. बसन्तले भन्नुभयो।
‘अझै एकै छिन सुनाइदिनु न,’ आँसु पुछ्दै रुन्चे स्वरले अनुरोध गरेँ। उहाँले सुनाइदिनु भयो।
प्रदीप पनि एकदमै खुसी देखेँ। सायद हाम्रो जीवनमा यो खुसी पहिलो थियो। पहिलो पटक पहिलो महिनामा सुनेको धड्कन भन्दा यो धड्कन अझै प्यारो बन्यो।
उहाँले अन्य सबै कुराहरू ठिक भएको भन्दै रिपोर्ट लिई डा. शिलालाई भेटेर आवश्यक समन्वय गर्न सुझाव दिनुभयो। हामी बाहिर निस्कियौँ। मन शान्त भइसकेको थियो। तर पनि त्यो सुई अब लगाउन पर्ला वा नपर्ला? अफिस जान पाउँछु कि पाउँदिनँ? मलाई अफिसमा जाँदा केही भन्ने पो हुन् कि? अरू जोखिम के हुने हो? लगायत चिन्ता लागिरहेको थियो।
प्रदीप भने ‘सब ठिक छ अब सब राम्रो हुन्छ’ भन्दै सम्झाइरहनु भएको थियो।
मन कुरा खेलाउँदै डाक्टरको रुममा पसेँ।
‘सबै राम्रो छ। सामान्य हिँडडुल गर्ने, लामो दूरीको यात्रा नगर्ने,’ रिपोर्ट हेरेपछि डाक्टरले भन्नुभयो।
आहा! कानमा तेल हाले झैँ आनन्द आयो। गर्भको बच्चाले हामीसँगै चियर्स गरेको आभास भयो।
‘अब यो खुसी यस्तै कायम राख्नू र यो चार्टअनुसार (गेडागुडी, फ्रेस जुस, माछा मासु, अण्डा, प्रशस्त मात्रामा पानी, झोलिलो खानेकुरा, हरियो सागपात। खान नहुने- मेवा, कालो अङ्गुर र कटहर चाहिँ नखानू) खानपान गर्नू,’ हाम्रो मुहारमा खुसी देखेर डा. शिलाले भन्नुभयो।
सँगै आइरन चक्की र क्याल्सियम अनिवार्य रूपमा बच्चा पेटमा बसेको ४ महिनादेखि बच्चा जन्मिएको १ महिनासम्म खान सुझाउनु भयो।
हामी सुझाव लिँदै त्यहाँबाट निस्कियौँ।
परिवारमा कसैलाई थाहा नभएको कुरा मलाई किन किन आमालाई सुनाउन मन लाग्यो। त्यति बेलासम्म मैले बुझिसकेको थिए मेरो आमाले मलाई हुर्काउन गर्नुभएको कष्ट।
बुबा, दाइभाइलाई सुनाउन सकिएन।
‘हुनेवाला हजुरआमालाई कस्तो छ?’ मैले ममीलाई जिस्काउँदै भनेँ। पहिले बुझ्नुभएन, बिस्तारै बुझ्नुभयो। म लजाएँ। मैले फोन काटेँ। प्रदीपको नम्बरमा फोन आयो। प्रदीपले सप्र सँग भनिदिनु भयो।
दिनहरू बितिरहेका थिए। बच्चाको तौल पनि राम्रोसँग विकास भइरहेको थियो। अब त ‘बेबीबम्प’ हल्का देखिन थालेको थियो। बिहान बेलुका केही समय प्रदीप र म हिँड्ने गरेका थियौँ। करिब १ हप्तापछि प्रदीपले घरमा मम्मीलाई पनि भन्नुभयो। यति लामो समय नभनेको भन्दै रिसाउनु भयो। तर खुसीले गद्गद् हुँदै प्रदीपको हजुरआमा र ड्याडीले फोन गर्नुभयो। हामी खुसी भयौँ।
बल्ल पत्रकारिताको लय समातेँ। म दैनिक पत्रमा जान थालेँ। मैले कार्यालयमा भने केही समय अझै कुरा लुकाएकी थिएँ। काम गर्ने दौरानमा केही समयमा थाहा भयो। कार्यालयमा म आमा बन्दै छु भन्ने कुरा थाहा पाएपछि केही सहजता भने भयो। म काममा धेरै खटिनु नपर्ने भयो। केही राहत मिल्यो।
दैनिक रिपोर्टिङमा हिँड्नेको न त बिहान उठ्नेको समय तालिका हुन्छ न राति सुत्ने! खाना-खाजा खाने टाइम टेबल त्यस्तै भद्रगोल हुन्छ। अब भने अलिक मिलाउनु पर्ने भयो। बिहानै उठ्ने, केही बेर हिँड्ने, खाजा र खाना खाएपछि दैनिकपत्र जाने, फर्किने, खाजा खाने आराम गर्ने तथा बेलुका खाना खाइसकेपछि बेलुकीपख एक छिन हिँड्ने।
भनिन्छ नि कसैले ठेगान लगाउन नसकेको बालबच्चाले लाइनमा ल्याउँछन् भनेर। त्यो सही साबित भयो। हाम्रो जीवन केही हदसम्म व्यवस्थित बन्यो। प्रदीप पनि भविष्यमा सन्तानको आगमनपश्चात् गर्नुपर्ने कामहरूको पूर्व तयारीमा लाग्नुभएको थियो भने, म पनि यसो गरौँ भन्दै योजना बनाइरहेकी हुन्थेँ।
आमा बन्न लागेको थाहा पाएर होला कहिले नसम्झने साथीभाइ र आफन्तको बधाईको ओइरो आउन थाल्यो। जसको सधैँ फोन, म्यासेज आउँथ्यो त्यो भने बन्द भयो। किन, के भएर र कसरी हामी सोच्न थालेनौँ। हामीलाई बस खुसी रहनु थियो।
यत्तिकैमा बच्चा पेटमा हुर्किरहेको थियो। हामी भिडिओ एक्स-रे गर्दा सुनिने धड्कन र अवस्था तथा तौलको बारेमा जान्न निकै उत्साहित हुने गर्दथ्यौँ। पाँच महिनामा एनोमली स्क्यान गर्यौँ। हाम्रो बच्चा निकै स्वस्थ देखियो।
५ महिना लागेपछि मैले मेरो बच्चाले लात हानेको महसुस गरेँ। महसुस गरेँ ऊ छिटै मेरो काखमा आउन चाहन्छ। चाहन्छ यो सुन्दर संसार नियाल्न र चाहन्छ आमा बाबाको हात समातेर आफ्नै पाइला चाल्न।
हामी छोरा जन्मिन्छ कि छोरी भन्दै रमाइलो ठट्टा गरिरहन्थ्यौँ। हामीले कुनै दिन पनि सोधेनौँ कि मेरो गर्भमा सन्तान के छ भनेर न त डाक्टरले नै केही भन्नु भयो। स्वास्थ्य भए पुग्यो भन्नेमा थियौँ।
दिनहरू बितिरहेका थिए। यत्तिकैमा हामी आठ महिना पूरा भएपछि चेक गर्न पुग्यौँ। त्यति बेला हामीले बच्चाको नशा, अन्य अंगहरूको विकासको बारेमा हेरेर फर्किएका थियौँ। हामी निकै खुसी थियौँ। २०८० असोज १६ गते बच्चा जन्मने दिन भनेर हामी ढुक्क साथ फर्किएका थियौँ।
जब गर्भमा बच्चा हुर्किरहेको हुन्छ नि तब एक आमा मात्र गर्भवती भएको हुँदिनन्, एक पिता पनि गर्भवती हुन्छन्। ‘वि आर प्रेगनेन्ट’ भनेर सेलिब्रेटीले पोस्ट गर्दा कतिले हाँसेर उडाउने त कतिले नानाथरीका कमेन्टहरू गरेको पाउँछौँ। एक आमा गर्भवती हुन जति प्रयत्न गर्छिन् उत्ति नै कोसिस पिताले पनि लगाएको हुने रहेछ। आमा शारीरिक रूपले गर्भधारण गर्छिन् भने पिता मानसिक रूपले।
बच्चा पेटमा राख्ने कुरा हजुरको हातमा हुँदो रहेछ तर जन्माउने कुरा भने बच्चाको हातमा। हामीले खुसीलाई यादगार बनाइराख्न २०८१ भदौ २० गते ‘फोटो सुट’ को योजना बनाएका थियौँ। पश्चिमा संस्कृति भने पनि ‘बेबिसावर’को रुचि मेरो मनमा पहिलेदेखि नै थियो। पहिलो बेबी भएकाले सामान्य फोटो सुट गर्ने बेबीको योजना हाम्रो।
हामी हाम्रो सन्तानको आउने समय कुर्दै थियौँ। जीवनयापन सामान्य जस्तै बनिरहेको थियो। यत्तिकैमा भदौ १० गते राति ‘वाटर ब्रेक’ भयो। मलाई केही दिनयता रुघाखोकी लागिरहेको थियो। यो समयमा औषधी सेवन गर्न नहुने। गर्नु नै परेमा डाक्टरको सल्लाह बिना गर्न नहुने। मैले तातो तातो सुप, ज्वानो बेसार पानी खाएकी थिएँ। तातो धेरै खाने हो भने बच्चा छिटो जन्मन सक्ने भन्ने कुरा थाहा थिएन।
राति नै आपत्कालीन रूपमा डा. शिलालाई फोन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गयौँ। प्रदीप र म मात्रै थियौँ। हामी स्कुटरमा राति करिब १२ बजेतिर गएका थियौँ। अवस्था हेरेर बच्चा हुने लक्षण भनेको हुनाले केही मनमा ढुक-ढुक थियो। त्यहाँ कार्यरत डाक्टरले पानी घट्ने क्रम बढेपछि बेथा लाग्ने औषधि सुरु गर्ने कुरा गर्नुभयो।
असोजमा भनेको जन्मिने मितिभन्दा ३६ दिनअघि जन्मिने भयो। मेरो फोटो सुटको रहर अधुरो भयो। केही टेस्ट गर्न रगत दिनुपर्ने थियो। रातिको समय थियो। माइत र घरमा जानकारी गरायौँ।
समस्या त के भयो भने मसँग तत्काल बोलाउने महिला कोही पनि हुनुहुन्थ्यो। सासूआमा अर्घाखाँचीबाट चाँजोपाँजो मिलाएर आउनुपर्ने हुन्थ्यो। मेरो ममी पनि राती नै आउन सक्ने अवस्था थिएन किनकि उहाँको खुट्टाको अप्रेसन गरिएको थियो। म भित्र प्रसूति हुने स्थानमा पुगेँ। प्रदीप घरमा ओढ्ने ओछ्याउने र सिरानी तथा पानीहरू लिन जानुभएको थियो। अब प्रदीप म भएको स्थानमा आउन नमिल्ने।
मनमा यति ठुलो हावाहुरी चलिरहेको थियो कि त्यो बेगले थिर हुन नै दिएको थिएन। त्यति बेला मुखमा कृष्ण भजन मनमा नर्मल डेलिभरीको प्रार्थना चलिरह्यो।
नर्मल भए पनि, अप्रेसन नै गर्नुपरे पनि अर्को दिन बिहान ११ गते मात्रै हुने भनेको थियो। जहाँ कोही साथमा हुँदैन त्यहाँ भगवान् हुन्छ भने जसरी मिलनसार पत्रकार बसन्तराज बरालकी श्रीमती (हाम्रो भाउजू) भित्र मसँग हुनुभयो।
प्रदीपलाई केही ढुक्क भयो। तर अब समस्या भनेको जन्मेपछि चाहिने कुराहरूको थियो। नर्मल हुने अवस्था नदेखिन थालेपछि अर्को दिन बिहानै आवश्यक सामाग्री किन्ने कुरा भयो। जेठो भिनाजु मीनराज पन्थी बुटवल नै हुनुहुन्थ्यो। मामा-माइजू पनि यहाँ नै हुनुहुन्थ्यो। माइजूलाई बिहानै बोलाएका थियौँ। उहाँ आएपछि केही सजिलो महसुस भयो।
गर्भावस्थाभरि बान्ता, खाना देख्न नरुचाउने म मात्र ओट्स र साबुदाना खाएकीलाई ११ गते बिहानै ४ बजे भोक लाग्यो, दाल भातको क्रेभिङ भयो। प्रदीप खाना बनाउन घर जानुभएको थियो। त्यो बेला डा. शिलाले प्रदीपलाई फोन गरेर अप्रेसन गर्ने कुरा गर्नुभएछ। बच्चालाई एनआइसियूमा राख्नुपर्ने हुनसक्छ भन्नुभएको रहेछ। तर यो कुरामा म अज्ञात थिएँ।
बिहान ४ बजे प्रदीपले चाउचाउ र अण्डा फ्राई मगाइदिनु भएको थियो। बच्चा जन्मेपछि केही खान नपाइने भन्ने थाहा थियो। अप्रेसनको तयारी पनि हुन थाल्यो। मनमा खासै डर थिएन।
माइजूले मलाई अप्रेसनको वेटिङ रुममा राखेर बाहिर जानुभयो। अरूका सहयोगी भित्र थिए। म भने एक्लै। प्रदीप आइदिए हुन्थ्यो भन्ने लागेको थियो। मलाई त्यहाँ करिब १० बजे लगिएको थियो। पहिलो अप्रेसन नै मेरो गर्ने कुरा भयो। प्रदीप अप्रेसन गर्न लागेको होला भन्दै सोच्दै बाहिर, म भने वेटिङ रुममा।
१०:४५ तिर प्रदीपभित्र आउनुभयो। मलाई ‘बि स्ट्रङ’ भन्ने इसारा गर्दै बाहिर जानुभयो।
‘भित्र गाइनो डाक्टर को हुनुहुन्छ?’ बाहिरबाट आवाज आइरहेको थियो। म भने सरासर एक्लै अपरेसन थिएटर रुममा गएँ। मलाई देखेर त्यहाँ सबै हेरिरहे अनि मैले आफै भनेँ- ‘डा. शिला आउनु भएको छ, उहाँले मेरो अप्रेसन गर्नुहुन्छ।’
सबै जनाले कति आँटिलो तपाईं भने। मनमा निकै डरले होला प्रतिउत्तरमा केही बोलिनँ।
मसँगै एक जना महिलाको अप्रेसनको तयारी चल्दै थियो। उहाँको दोस्रो सन्तान रहेछ। अपरेसन गर्नुअघि दिइने एनेसथेसियाले शरीरको ढाड मुनिको भागलाई बेहोस बनायो। मलाई निद्रा लागिरहेको थियो। ‘म सुत्छु ल, सकिएपछि उठाउनु है,’ मैले डाक्टरलाई भनेँ।
‘सुत्न हुँदैन,’ डाक्टरले भन्नुभयो। लट्ठिएको आँखाले मेरो शरीरमाथि राखिएको लाइट जसमा सबै देखिरहेको थियो, त्यो हेर्दै सुरु गरेँ ‘गोविन्द बोलो हरे गोपाल बोलो...’
अप्रेसन सकियो ११ बजेर ४२ मिनेटमा।
‘ल हेर्नु, बाबु भएको छ। बधाई छ,’ डा. शिलाले बच्चा देखाउँदै भन्नुभयो। त्यो दिनको पहिलो अप्रेसन नै मेरो थियो।
११:४२ मा जन्मिएको बाबु मैले भने करिब पौने १ बजे मात्रै हातमा लिन पाएकी थिएँ। यो बिचमा मनमा धेरै कुराहरू खेले। सिनेमाहरूमा बच्चा साटिएका कुराहरू पनि देखेको थिएँ। त्यो डर मनमा आएको थियो। कतै चोरीका घटनाहरू पनि देखिन्थे। एक झल्को देखेको बच्चा कतै झुक्किए के होला म आफैँ चिन्दिनँ होला भन्ने सम्मका कुरा आए।
मलाई कति बेला बाबुलाई काखमा राखौँ भन्ने लागिरहेको थियो। हामी एकबाट दुई हुँदाको भन्दा तेब्बर हुँदा खुसी भएँ। कति बेला प्रदीपलाई भेटौँ भयो। मेरो ममी आउँदै हुनुहुन्थ्यो, अस्पताल ठुलो र उहाँका लागि नौलो भएकाले लिन जानुभएको थियो।
अप्रेसन सकियो। बच्चा आफन्तलाई दिन बोलाउने कुरा भयो। बोलाउँदा माइजू जानुभएको रहेछ। म बाहिर आइसकेकी थिइनँ। प्रदीपलाई हस्ताक्षर गर्न बोलाइयो। माइजूले छोरा जन्मियो बधाई छ भनेको सुन्न भन्दा पनि एनआइसियू काउन्सिलिङ नर्मल भन्ने देखेपछि खुसी भएको प्रदीपले सुनाउनुभयो। केही समयपश्चात् मलाई बाहिर ल्याइयो।
म अप्रेसनबाट निस्केको स्ट्रेचरबाट पोस्ट-ओटीको वार्डमा सार्दा प्रदीप नजिकै भइदिए भएको लागेको थियो। तर प्रदीप ममीलाई लिन जानुभएकोले भिनाजु र त्यहीको एक कर्मचारीले सार्नुभयो।
त्यसपछि स्तनपान गराउनको लागि बाबुलाई ल्याइयो। बाबु काखमा हुँदा मलाई निकै आनन्द महसुस भयो। अर्को दिन १२ बजे मलाई क्याबिनमा सारियो। तेस्रो दिनसम्म आउँदा म आफै हिँड्ने भएकी थिएँ। तीन दिनसम्म अस्पतालमा बसेर घर फर्कियौँ। म सम्हालेर हिँड्न सक्ने भएकी थिएँ। आचार्यको पलातीमा हाम्रो छोरो जेठो बनेको थियो, घरमा ससुरा बुबा र बुढी सासूआमा निकै खुसी हुनुहुन्थ्यो।
न्वारनमा ससुराबुबा समेत आइपुग्नु भएको थियो। सामान्य पारिवारिक जमघटमा नै न्वारन भयो। म माइती नगएको ९ महिना भएको हुनाले तुरुन्तै माइत जाने अवस्था भएन। बुटवलमा नै बस्यौँ। प्रदीपले धेरै साथ दिनुभयो। करिब डेढ महिनामा मात्रै म माइत गएँ। मेरो बुबा, ममी, भाइ निकै खुसी हुनुहुन्थ्यो। ममीले नाति काखमै राखेर पिपरा पुर्याउनुभयो।
दिनहरू बितिरहेका थिए। म तेस्रो महिनादेखि दैनिक पत्रमा जान थालेँ। प्रदीप र म समय मिलाएर कार्यालय जान्थ्यौँ। बाबु सुतिरहने भएकोले केही सहज थियो।
बाबु ५ महिनाको पुग्दा ममी बुटवल बस्ने गरी आउनु भयो। प्रदीप पनि काममा जानुपर्ने र म पनि हिँड्नुपर्ने भएकाले ममीलाई बोलायौँ। यद्यपि खुवाउने लगायतका कामहरू हामीले आफै गर्दथ्यौँ। पास्नी पनि गर्यौँ।
दिनहरू कटिरहेका थिए। बाबु बिस्तारै बामे सर्ने गर्न थालिसकेको थियो। सामान्य केही शब्दहरू बोल्दथ्यो। बाबुले पहिलो महिनादेखि नै मा... मा... शब्द बोल्थ्यो। मलाई नै बोलाइरहेको छ भन्ने लाग्दथ्यो। तर जब ७ महिनाको पुग्यो, त्यति बेला प्रस्ट बुझिने गरी नै ‘मम्मा’ भन्न थालेको थियो। यो सुन्दाको अनुभव म अझै पनि बयान गर्न सक्दिनँ। काम केही नगरी काखमा नै लिइरहूँ हुन्थ्यो। अहिले पनि मम्मा भन्दै पच्छ्याउँछ। रुन्छ पनि।
दिउँसोमा धेरै समय दिन नपाए नि सकेसम्म केही समय भए पनि प्रदीप र म घरमा पुगेर बाबुसँग खेल्ने, खुवाउने गर्छौँ। ऊ स्कुटरमा घुम्न खुब रुचाउँछ। बेलुकामा हामी घर पुगेपछि ८–१० मिनेट घुमाउँछौँ।
भदौ १० गते अस्पताल गएको र ११ गते ऊसँगै मैले नयाँ जीवन पाएको हिजो जस्तै लाग्छ। ऊसँग बिताएका पलहरू यति छिटो १ वर्षमा परिणत भएछ पत्तै भएन।
यो सुनौलो ३ सय ६५ दिनको तिमीलाई शुभकामना छोरा।