तत्कालीन धौलागिरि अञ्चल बागलुङको भकुन्डे गाउँ विकास समिति बाइसे चौबिसे राज्यको बलेवा राज्यभित्र पर्ने सुन्दर र रमणीय गाउँ हो।
यो पर्यटकीय स्थलहरूमा बराह ताल, सौरेको वन, भ्यु टावर, स्वर्गीय रुद्रमान गुरुङ पार्क, भैरव स्थान मन्दिर, मुलाबारी चौर, भञ्जाङको चौतारी भएको परिवेश भएको गाउँ हो। यस गाउँबाट रमणीय हिमशृङखला गुर्जा हिमाल, धवलागिरि हिमाल, निलगिरी हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, मानापाथी हिमाल हुँदै २३ वटा हिमाल लहरै देख्न सकिने स्थान हो।
भकुन्डे गाउँको माथिल्लो भेगमा आलु, मकै, कोदो, भटमास खेती, किवी खेती तथा तल्लो भेगमा सुन्तला, केरा खेती, धान खेतीका लागि प्रख्यात छ। तर अहिले जलवायु परिवर्तनले कोदो, आलु, धान, सुन्तला खेतीमा नानाभाती नयाँ-नयाँ रोगहरू लागेर राम्रो फसल उत्पादन नहुने गरेको छ।
कुरा आजभन्दा ३५ वर्ष अगाडिदेखि सुरु हुन्छ।
गाउँभरि अधिकांश मगर समुदायका मानिसहरू बस्थे। तर मगर भाषाका मगर ढुट, खाम मगर र काइके मगर भाषाहरू बोल्दैन थिए। सबै मगर समुदायका मानिसहरू नेपाली खस भाषा नै बोल्दथे। अन्य समुदायका मानिसहरू थोरै मात्रामा बस्दथे।
गाउँको बिच भूगोलमा पुरेत गर्ने उपाध्याय रिजाल समुदायका ब्राह्मण समुदायका बाक्लो घर बस्ती बनाएर बस्थे। तर सिङ्गो गाउँ विकास समिति भित्र जम्मा तीन वटा नेवार समुदायको घर थियो। ती घरका मानिसहरू श्रेष्ठ थर जोडेर नेवार समुदाय भएको बताउँथे। नेवार भाषा अर्थात् नेपाल भाषा एक जना मात्र महिला बोल्ने गर्नुहुन्थ्यो।
बलेवाको नारायणस्थानबाट एक साइला भाइ व्यापारको लागि भकुन्डे अर्वाउदीको दोबाटो गाउँमा आएको समुदाय हो भनेर भन्थे। नेवार समुदायको घरको आडमा तत्कालीन गाउँ पञ्चायतको भवन समेत थियो। एक घरका नेवार समुदाय परिवार भने व्यापार व्यवसाय नगर्ने खालको थियो। उनका छोराहरू नेपाल प्रहरी, नेपाली सेना र भारतीय सेनामा भर्ती भएर रोजगारीमा आबद्ध थिए। तर बाँकी दुई घर मूल बाटोको चोकमा भएकोले उक्त परिवार व्यापार व्यवसाय गर्दथे।
साहुजीको घर चोकमा पर्दथ्यो। रायडाँडा गाउँ जाने, तित्याङ गाउँ जाने, मालढुंगा अस्थायी बजार जाने, अमलाचौर गाउँ, कुश्मीशेरा जाने गोरेटो बाटोमा घर जग्गा रहेको थियो। गाउँको मध्य भागमा नेवार समुदायको घर भएकोले आवतजावत गर्न समेत मूल बाटोमा नै जोडिएर गर्नुपर्ने थियो। नेवार समुदाय बाहेक सिङ्गो गाउँभरि अरू कसकैको व्यापार व्यवसाय थिएन। गाउँका युवा युवतीदेखि धेरै जसो मानिसले नेवार समुदायको महिलालाई माङ र पुरुषलाई बुवा भन्थे।
गाउँभरि पर्मा, हुड्डा लगाएर खेतीपाती गर्ने प्रचलन थियो। हलो जुवा र खेताला हली लगाएर खेतबारी जोत्ने गर्दथे। गाई भैँसीको मलखाद पालो लगाएर फाल्थे। घरधनी साहुजी मथुरा श्रेष्ठ (परिवर्तित नाम)ले बटौलीबाट बाह्र/तेह्र दिन लगाएर गाउँका भरिया मगरहरूलाई लगेर नुन, तेल, कपडा लगायतका घरायसी सामानहरू बोकाएर ल्याउँथे। अलि पछि स्याङ्जाको पुतलिखेतबाट समेत भारीका भारी सामानहरू भरियामार्फत सामान लिएर गाउँभरिका मानिसहरूलाई बेच्थे।
धेरैजसो सामानहरू त अग्रणी रूपमा गाउँका मानिसहरूले अर्डर गरेका सामानहरू समेत ढुवानी हुन्थे। भरियाहरूले कार्कीनेटाको उकालो र ओरालोमा खच्चडले बाटो हिँड्न नदिएर अप्ठ्यारो पारेको बताउँथे। बाटोमा बिरामी भएर कसै कसैले दुःख दिएको समेत जानकारी साहुजी र ढाक्रेहरूले सुनाउँथे। पछिल्लो समयमा खच्चडबाट समेत सामानहरू ढुवानी गर्न थालेका थिए।
खच्चडको घण्टी सुनेर हेर्नका लागि गाउँघरका थुप्रै केटाकेटीहरू जम्मा हुन्थे। मथुरा साहुजीको पसलमा सामानहरू नुनदेखि सुनसम्म पाइन्छ भनेर गाउँलेहरू आपसमा कुराकानी गर्दथे। कोही कसैले उधारो सामान लगेमा बर्सातको समयमा काम गरिदिन खेताला स्वरूप पर्ममा काम गर्न जान्थे। साहुजीको घर भनेर समेत गाउँभरि चिनाउँथे। सामान नै नकिने पनि गाउँ भरका मानिसहरू जम्मा भएर चिया गफ गर्ने र सूचना आदानप्रदान गर्ने सार्वजनिक स्थलको रूपमा नेवार साहुजीको घर थियो।
गाउँघरमा बर्सातको समयपछि चाडपर्वमा हरितालिका तीज मेला साहुजीको घर नजिकैको चौरमा लाग्दथ्यो। तीजको मेला स्थानीय युवा क्लबले आयोजनामा बाक्लो मानिसहरूको उपस्थितिका बिच वर्षैपिच्छे बहुत रमाइलो र भव्य मेला लाग्थ्यो। तिजी मेलामा हाम्रो गाउँबाहेक छिमेकी गाउँका पैयुँपाटा, अमलाचौर, रायडाँडा, तित्याङ, रेस लगायतका गाउँका मानिसहरू स्वतःस्फूर्त रूपमा आउँथे।
म अलि सानो उमेरको थिएँ। समूह समूहमा जम्मा भएर स्वतःस्फूर्त रूपमा तीज गीत गाइरहेका महिलाहरू हुन्थे। तर मेलामा आएका मानिसहरू सबैले मथुरा साहुको पसलबाटै बिस्कुट, मिठाइ, चकलेट लगायत खाजाहरू खान्थे। त्यो समयको व्यापार भएको सम्झिँदा अहिले कति धेरै भएको हो भन्ने अनुमान गर्न सकिन्छ।
साहुजीले नचिन्ने कोही हुँदैन थिए। सबै मानिसहरू हाम्रो गाउँ लगायत छिमेकी गाउँका सबैलाई लगभग चिनेका हुन्थे। त्यसै गरी दसैँ तिहार आउने समयमा समेत त्यो साहुजीको पसलमा औधी व्यापार हुन्थ्यो। दसैँ तिहारमा चमचा, पिङ खेल्ने मानिसहरूको लर्को समेत लाग्दथ्यो। नयाँ कपडा सिलाउन, अपुग खाद्यान्न खरिद गर्न लगायत चाडबाडमा आवश्यक पूजा सामग्रीहरू सबै मथुरा साहुजीको पसलबाट नै किन्न धुइरो लाग्थ्यो। हरेक क्रियाकलापमा साहुजीको पसलबाट सामान नकिनी नहुने बाध्यता जस्तो थियो।
मथुरा साहुजीको घर अन्य गाउँ भरिका मानिसहरूको भन्दा राम्रो खालको र भव्य थियो। ढुंगाले छाएको गोठ र जस्तापाताले छाएको घर थियो। तर घना मगर बस्ती भएको गाउँभरि अधिकांश खरले छाएको छाप्रोजस्ता घरहरू मात्र थिए। कसै कसैले भारतीय सेनामा कार्यरत भएकाहरूको ढुंगाले छाएको घर हुन्थ्यो। त्यस समुदायमा गाउँमा ढुंगाले छाएको घरलाई पक्की गाउँले घर भनेर भन्थे।
खरले छाएको घरलाई दुई/तीन वर्षमा पुनः छाउनु पर्ने भएकोले गाउँमा हुने खानेहरूले गलकोट, ताराखोला, रुम, नौला जस्ता ठाउँहरूबाट ढुंगा लिएर ढुंगाले घर छाउँथे। घरको निर्माणको ढाँचाको आधारमा धनी र गरिब छुट्टिने गर्दथ्यो। नेवार साहुजीहरूको एक जनाको जस्ता पाता र अर्को साहुजीको ढुंगाले छाएको सम्पन्न ठुलो घर थियो।
गाउँभरिका मानिसहरूलाई मथुरा साहुले र उसका परिवारका सदस्यहरूले पारिवारिक नजिकको नाता लगाएर बोलाउँथे। मथुरा साहुले अधिकांश महिलाहरूलाई भान्जी, नानी, कान्छी भनेर साइनो लगाउँथे। पुरुषहरूलाई कान्छा, ठुला, साइला, माइला भन्दै बोलाउँथे। सबैलाई न्यानो मायासहित सुमधुर पारामा बोलाउन सिपालु थिए, ताकि पसलमा सामानहरू किन्न पटक पटक मेरो पसलमा नै आओस्। नजिकैको विद्यालयका शिक्षकहरू दैनिक रूपमा साहुजीको पसलमा नै खाजा खान आउने गर्दथे। विद्यार्थीहरू आफ्नो गच्छेअनुसार खाजा किनेर खान्थे।
समय बित्दै जाँदा नेवार मथुरा साहुका छोराछोरीको विवाह कार्य सम्पन्न भयो। गाउँका हुने खाने मानिसहरू बुटवल, भैरहवा, चितवनतिर बसाइसराइ गर्न थाले। विगत पन्ध्र, बिस वर्षदेखि काठमाडौँ, पोखरा र सदरमुकाम बागलुङ बजारमा बसाइसराइ गर्ने मानिसहरू बढ्न थाले। गाउँमा भारतीय सेनामा भर्ती हुनेको सङ्ख्याभन्दा वैदेशिक रोजगारमा जानेहरूको बढ्दो प्रभावका कारण आर्थिक उन्नति हुन थालेपछि मानिसहरू गाउँ बस्न बिस्तारै कम गर्न थाले।
गाउँमा कच्ची मोटर बाटो पनि आयो। बिजुली बत्ती आयो। नेवार साहुजीको पसलमा व्यापार कम हुन थाल्यो। घर नजिकै भएको विद्यालयमा विद्यार्थीहरू समेत कमी हुँदै गए। खाजा समेत खाने मानिसहरूको कमी हुँदै गयो। विद्यालयका शिक्षकहरू विद्यालयमा नै विद्यार्थीहरूलाई दिवा खाजा व्यवस्था हुन थालेपछि विद्यार्थीसँगै विद्यालयमा खाजा खान थाले।
गाउँघरका युवाहरू लाहुरे हुने क्रमसँगै नेवार मथुरा साहुजी जेठो छोरा समेत भर्ती भयो। पढाइमा आवासीय विद्यालय अध्ययन गरे पनि खासै राम्रो उच्च शिक्षा हासिल गर्न नसकेपछि भारतीय सेनामा भर्ती भएर राम्रो जीवनयापन बिताएका छन्। साहुजीको छोरीहरू मध्ये सबै दिदी बहिनीहरूको नेवार समुदायमा नै कार्की नेटा (पर्वत जिल्लामा पर्ने) गाउँमा बाजागाजा बजाएर भए पनि एक जना छोरीको विवाह भारतीय सेनामा कार्यरत मगर केटासँग भयो। सुरुआतमा अन्तरजातीय विवाहको परिवारले राम्रोसँग स्वीकार गर्न नसके पनि पछि छोरी ज्वाइँलाई समय क्रमसँगै स्वतः स्वीकार गरेका थिए।
गाउँका एक/दुई जना मानिसहरू लुकेर, छिपेर अमेरिका जान थाले। कुनै मानिसहरू डिभी परेर अमेरिका जान थाले। कोही अस्ट्रेलिया, जापान, युके, कोरिया, जर्मनी जान थाले। मथुरा साहुको कान्छो छोरा पनि अस्ट्रेलिया पढ्नका लागि भनेर गयो। सायद आजभोलि उनले पिआर समेत पाएको छ भनेर गाउँघरमा भन्छन्।
पहिला पहिला कम जग्गा जमिन हुने दुखी गरिबले बसाइसराइ सरेर तराई भेगतिर भुइँमान्छेहरू जान्थे भनेर सुनाउँथे तर आजकल त हुने खाने सम्पन्न मानिसहरू नै गएपछि ग्रामीण भेगमा दीन दुखी र गरिब समुदाय मात्र रहने गरेको पाउन सकिन्छ। विकासे कार्यकर्ताहरू र राजनीतिज्ञले विकासका लहरहरू गाउँतिर ल्याएका छन्। तर मान्छेहरू बसाइसराइ गरेर सहरतिर जाने चलन पछिल्लो समय तीव्र रूपमा बढेर गएको छ।
अहिले गाउँघरमा पर्म, हुड्डा लगाएर खेतीपाती गर्ने प्रचलन हराउँदै गएको छ। हलो जुवा र गोरुको सट्टा मिनी टेलर हलोमार्फत खेतीपाती गरेर जोत्ने प्रचलन आएको छ। गाई भैँसीको मलखाद भारीका भारी बोकी खेतबारी गर्ने प्रचलनको सट्टा कुखुराको सुली र कृत्रिम मलको प्रयोग गर्ने प्रचलन गाउँघरमा आएको छ। झाम्रे, सालैजो, सोरठी गीत युवा पुस्ता माझ हराएको छ।
मथुरा साहुजीको घरमा भएको पसलमा पहिला जस्तो व्यापार हुन छाड्यो। पहिला पुटलिखेत, पुर्तिघाट, बटौलीबाट ल्याउनुपर्ने सामानहरू दश वर्ष पहिलेदेखि मोटर बाटो आएर मालढुंगाको खुदुरकेबाट नजिकै सामान लिएर बेच्न थाले। गाउँका मानिसहरूलाई बिहान गएर बेलुका खुदुरके, मालढुंगाबाट सामान लिन पहिलाभन्दा धेरै नजिक भएको थियो। गाउँघरको पसलमा किन्नुभन्दा मालढुंगामा धेरै कम मूल्यमा सामानहरू पाइन्थ्यो।
साथै धेरैजसोको घरमा भेडा, बाख्रा, भैँसी, राँगोहरू हुन्थ्यो। भेडा, बाख्रा पालनका लागि चरनको व्यवस्था लेकको वनमा भएकाले गाउँभरिका एकै स्थानमा जम्मा गर्दा सयौँ संख्याको बथान हुन्थ्यो। जुन बथान हेर्न लायक हुन्थ्यो। मालढुंगा खुदुरकेबाट मोटर बाटो खन्दै बागलुङ बजारमा बस आउँदा झन् सस्तोमा नजिकै घरायसी सामानहरू पाउन थाल्यो। बागलुङ बजारदेखि क्रमशः गाउँ-गाउँतिर कच्ची मोटर बाटो खन्न थालेपछि झन् गाउँ गाउँमा जिप, ट्याक्टर जान थालेपछि भरिया बनेर बोक्ने प्रचलन हराउँदै गयो। ढाक्रे बनेर जीवनयापन गर्ने भुइँमान्छेहरू ठेकेदारको श्रम गर्न बाध्य भयो। ऋण धन गरेर गाउँका अध्यक्ष श्रमिकहरू मलेसिया, कतार, दुबई तिर वैदेशिक रोजगारमा जान विवश हुने अवस्था आयो।
गाउँबाट धेरै युवा भारतीय सेनामा भर्ती भएपछिको कमाइले पोखरा, बागलुङ बजार हुँदै नारायणगढ, बुटवल, भैरहवातिर जग्गा किन्न थाले। भारतीय सेनाबाट पेन्सन आउँदासम्म त घरसमेत बनाइसकेका हुन्थे कुनै-कुनै लाहुरेहरूले। गाउँमा खरका छाना भएका घरहरू हुने खानेहरूले ढुंगाको छानाभन्दा पनि सजिलो र सस्तो पर्ने भएकोले जस्तापाताले छाउन थाले। खरका छाना भएका घरहरू लगभग फेरि नबन्ने र नआउने गरेर विस्थापित समेत भए।
खरको छाना छाउने सिपालु बुढापाकाहरू समेत मृत्यु भएर हराउन थाले। नयाँ पुस्ताले खरको छाना छाउने सिप सिक्न चाहेन। तर सहर बजारमा ठुलठुला होटेलमा खरको छाना भएको साना साना छाप्रो बनाउने फेसन आएको छ। अहिले गाउँघरमा समेत ढुंगा, गिटी, बालुवा, सिमेन्ट, छडका घरहरू सानो आकारमा बन्न थाले।
मथुरा साहुजीको घरमा व्यापार कम हुन छाडेपछि उसका छोराहरू मध्ये एक जना भारतीय सेनामा भर्ती भएको र अर्को अस्ट्रेलियामा वैदेशिक रोजगार भएकाले आम्दानी राम्रो भएको थियो। जेठा छोराले कुस्मा बजारको चोकमा र कान्छो छोराले पोखरा बजारमा घर किनेर बसाइ सरेका थिए। श्रेष्ठ थरका समुदाय पहिला बसाइसराइ सरिसकेपछि बल्ल मगर समुदायका मानिसहरू आफू अनुकूलका सहर बजार र तराईमा बसाइसराइ गर्न थाले।
बजारमा बालबच्चालाई बोर्डिङ स्कुलमा पढाउन सानो-सानो पसल नै छोडेर गएपछि साहुजी मथुराको सट्टामा केही मगर समुदायका मानिसहरूले बाटोमा घर पर्ने भएकाहरूले पसल सुरुआत गर्न थाले। बिरामी भएर उपचारका लागि राम्रो अस्पतालको खोजीमा सहरतिर बसाइसराइ समेत तीव्र रूपमा गर्न थाले। तर मगर समुदायका मानिसहरूले पसल सुरु गर्दा गाउँघरमा मोटर बाटो गइसकेको थियो। अधिकांश मानिसहरूले बजारका मुख्य पसलहरूबाट सामान लिने चलन बसिसकेकोले गाउँका पसलहरूमा राम्रो व्यापार हुँदैनथ्यो।
गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या कम भएकाले मर्जर भई विद्यालय नै विलय समेत भएका थिए। गाउँको जनसंख्या दिन प्रतिदिन बसाइ सरेर र कम सन्तान उत्पादन गरेर घटिरहेको थियो। विद्यालयमा पहिला एउटै कक्षामा ७५/८० जना विद्यार्थीहरूले अध्ययन गर्ने समय हुन्थ्यो। अहिले मुस्किलले दश जोड दुई कक्षासम्म पनि सय जना विद्यार्थी हुन समेत गाह्रो अवस्था सिर्जना भएको थियो।
गाउँका स्कुलहरूमा शिक्षक सेवा आयोग पास गरेका दक्ष, क्षमतावान् शिक्षकहरूले अध्यापन गराउने तर विद्यार्थीहरू र अभिभावकहरूको चाहना आवासीय विद्यालयहरूमा महँगो शुल्क तिरेर पढाउने चलन नेपाली समाजमा आएको छ।
मथुरा साहुको घरलाई संरक्षण गर्ने र खेतबारीमा खनजोत गर्ने जिम्मा नजिकैको मगर समुदायको बिर्खे काकालाई दिएका थिए। खेतबारीमा अझैसम्म खेतीपाती गरेका थिए। तर साहुजी बस्ने घर, गोठहरू बेहाल तरिकाले थोत्रो भएर भत्केको छ। त्यही गोठबाट वर्षभरिमा थुप्रै भेडाका साँघरहरू पूजाआजाका लागि उत्पादन भई बिक्री वितरण हुन्थे। लहिना बकेर्ना भैँसी वर्षभरि दुहेर खाने गर्थे। हलगोरु पालेर खेतबारी जोत्ने काममा हलीलाई बोलाएर खुब मिठो खानपिन गराएर खेतबारी जोताउँथे।
साहुले गाउँघरका मानिसहरू ऋणधन वा सापट माग्न आएमा रित्तो हात कसैलाई फर्काउँदैन थिए। तिनले ऋण लगानी स्वरूप गरेको रकम थुप्रै ऋणीहरूले अहिलेसम्म फिर्ता नगरेको कहानी सुनाउँथे गाउँलेहरू। अहिले ढुंगे घर पानी पर्दा चुहिएर मानिस बस्नै नसकिने गरी भत्केको देख्दा गाउँघरका पुराना मानिसहरूले खुब मन दुखी बनाउँछन्। अहिलेको परिवेशमा सो घर बनाउन स्थानीय सामाग्री र कामदारमा खर्च गर्दा बिस लाखभन्दा कम्तीमा नबन्ने तर्क गर्दछन्।
सायद सो घर पहिला बनाउँदा गुहारे प्रथाको आधारमा (गाउँघरमा नयाँ घर बनाउँदा बिना पारिश्रमिक बिना ज्याला डकर्मी जाने र घर बनाउने प्रचलन) थियो। सोही गुहारे प्रथाका आधारमा बनेको हुन सक्दछ भनेर बुढापाकाहरूले सुनाउँथे। यदि घर-परिवारका मानिसहरूले संरक्षण गर्न दिएको भए सङ्ग्रहालयको रूपमा बनाउन मिल्ने गाउँघरको पक्की घर थियो।
अहिले गाउँघरमा खाली घर बन्ने, बाँझो खेतबारी बढ्दो क्रममा रहेको छ। हरेक घरले आयात गरेका खाद्यान्न सामाग्रीहरू उपयोग गर्ने प्रचलन रहेको छ। युवाहरू र केटाकेटीहरू गाउँमा लगभग छैनन्। बूढाबूढीहरू मात्र रहेका छन्। मलामी, जन्ती जाने मानिसहरूको समेत अभाव हुन थालेको छ। बनमाराले घाँस आउने वन र खरबारी ढाकेको छ। वनमा पाइने जडीबुटीहरू त्यतिकै व्यवस्थापन नभएर खेर गएको छ।
भत्केको घरको कथा नेपालका अधिकांश गाउँघरको यथार्थ कथा बनेको छ। गाउँको घर भत्कने र सहरमा एउटा भाडाको कोठामा बास बस्न सीमित भएको अवस्था छ। पुराना घरहरू भत्कँदै जाने तर पुनर्निर्माण होला कि नहोला? रित्तो गाउँमा मानिसहरू पुनः फिर्ता होलान् कि नहोलान्? भत्केको घरसँगै अहिले गाउँमा परम्परागत सिप, कलाहरू हराउँदै गएको छ। विकासका खुसीका सूचांकहरू समृद्धि बन्ने जनताको सपना भत्केको घरबाट गएर बुनेका छन् कि छैनन्? भत्केको घरमा प्रयोग भएको श्रम र सिपको मूल्याङ्कन होला कि नहोला?
घर भत्के पनि मन, विचार, समृद्धि नभत्कोस्। सामाजिक सद्भाव, मूल्य मान्यता नभत्कोस्। भातृत्व, बन्धुत्व, नारीत्वसहित मानवअधिकारको प्रत्याभूति प्रत्येक जनजनमा छाओस्। सूचना प्रविधिको बढ्दो विकास र प्रयोगलाई भत्केका घरहरूले अवलम्बन गर्न सकोस्। भत्केका घरहरूको सङ्ख्या वृद्धि नहुने विकास र परिवर्तनसहित समृद्धि गाउँमा आओस्।