म सानै थिएँ। साँच्चिकै भन्नुपर्दा कहाँ रुने, कति खेर हाँस्ने भन्ने छुट्टाउन सक्ने उमेरको मान्छे भइसकेको थिइनँ। मानौँ नियतिले नियम उलङ्घन गरेर हामीमाथि कहालीलाग्दो दैवी प्रलय थुपारेको थियो। जुन प्रलय खेप्न विवश भएको थिएँ म।
कतिले सहानुभूतिका शब्दहरू खर्चँदै थिए हामीमाथि। कसैले त्यो बेला मलाई यसो भन्दै थिए- ‘हे! छोरा मान्छे भएर पनि रुन्छन्?’
अझै धमिलो आवाजमा गुन्जिरहेको हुन्छ मानसपटलमा। त्यो आफ्नाहरू मध्येका कोही चिरपरिचित व्यक्तिको आवाज थियो।
‘किन छोरा मान्छे रुन हुन्न र? छोरा मान्छेको आँखामा आँसु अनि दुख्ने मन हुन्न र?’ भनेर सोध्न मन लागे पनि म चुपचाप नबोली बसेको हिजै जस्तो लाग्छ।
तर ती आजको हिजो नभएर धेरै वर्ष अगाडिको हिजो थियो। झन्डै लगभग चार दशक पुग्न लागेछ। चार दशक अगाडीको कुरा हो। पारिवारिक कारण हाम्रो बसाइ आमाको जन्म घर अर्थात् मामाघरमा हुन पुगेको थियो। म जन्मेको ठाउँदेखि लगभग तीन कोस टाढा रहेको मेरो मामा गाउँ। साह्रै रमाइलो थियो। हुन त साना बच्चाबच्चीलाई मामाघर रमाइलो हुनु कुनै नौलो कुरा होइन।
मामाघरको बसाइका सुरुसुरुको दिनहरू जाति नै थियो। बा-आमा, सानो भाइ अनि म। उता मामाघरमा हजुरबुबा र हजुरआमा मात्रै हुनुहुन्थ्यो। आमाको दाजुभाइ थिएनन्। जिन्दगीको उत्तरार्धमा पुगेको आमाको बा-आमालाई हेरचाह गर्न भनेर नै बसाइँ सरेका थियौँ हामी।
सुरुका दिनहरू सहज थिए। सकस थिएन कुनै कुराको। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ-नयाँ मानिसहरू सँगको भेट।
नयाँ गाउँमा पुगेका हामी बिस्तारै पुरानो हुँदै गयौँ। उतै सुरु भयो प्रावि तहको स्कुलले जीवन। रमाइलो थियो ती दिनहरू। छ महिना बेँसीमा र छ महिना गाउँमा हुन्थ्यो हाम्रो बसाइँ।
बाले ज्वाइँको ठाउँबाट एक कदम अघि बढेर छोराको भूमिका निभाउने जिम्मेवार बोक्नु भएको थियो। सबै प्रकारको काम गर्नु हुन्थ्यो। निकै मेहनती हुनुहुन्थ्यो मेरो बा। बाको क्रियाकलापले खुसी हुनुहुन्थ्यो बा-आमा पनि।
समयसँगै बग्दै थियौँ हामी। हामी मामा गाउँमा बस्न थालेको केही वर्ष भइसकेको थियो। म चार कक्षामा पढ्ने भइसकेको थिएँ। सानो भाइ पनि स्कुलमा भर्ना गरिएको थियो। खुसीयाली माहौल थियो त्यो बेला। हामी स्कुल जान्थ्यौँ, स्कुलबाट फर्किएपछि सके जतिको काम गरिन्थ्यो। बा खेतबारीको कामदेखि कहिलेकाहीँ अरूको मेलापातमा उपस्थित हुनुहुन्थ्यो।
राम्रो हुँदै थियो सबै कुराहरू। सोचाइको नजिक-नजिक जीवन पुगेको देखेर विशेष गरी आमा खुसी हुनुहुन्थ्यो। आफ्नै जन्म घर अनि बा-आमाको साथ आफूले रोजेको मान्छे मेरो बा, सँगै हुर्कँदै गरेका दुइटा बालख छोराहरू। खुसी नहुने कारण थिएन उहाँको लागि।
हामी मामाघर बसाइ सरेको चार वर्ष भइसकेको थियो। विक्रम संवत् २०४५ साल, मैले कहिल्यै भुल्न नसक्ने अप्रिय साल बनेर आयो। मेरो उमेर आठ पुगेर नौ वर्षमा प्रवेश हुँदै थियो। त्यो वर्ष अलि अफापिलो भएर गुज्रँदै थियो।
हाम्रो बसाइ बर्खा याममा बेँसीमा हुने गर्थ्यो। खेतीपातीको साथसाथै प्राङ्गारिक मल बनाउन। असोज लागेपछि गाउँमा फर्कन्थ्यौँ प्रायः दसैँको छेको पारेर।
२०४५ सालको सुरुआतसँगै बाको शरीरमा केही रोग लागेको अनुमान गरिएको थियो। बा त्यो बेला ३५ वर्षको हुनुहुन्थ्यो। धूम्रपान र मद्यपानदेखि सधैँ टाढा रहने मेरो बालाई झट्ट हेर्दा हट्टाकट्टा देखिन्थ्यो। धमिलो विस्मृत हुन खोज्दै गरेका बाको आकृति आउँछ मानसपटलमा अचेल पनि।
वैशाखमा मकै छरेर सक्काएपछि असारमा रोपाइँ हुन्थ्यो। गोडमेल, मल हाल्ने, झारपात निकाल्ने कामै काममा व्यस्त हुन्थ्यौँ हामी। थाहा थिएन हामीलाई बाको समस्या बारे। समस्याग्रस्त शरीर बोकेर खटिरहेका हुन्थे बा। हल्काफुल्का ज्वरोलाई पेलेरै हिँड्नुहुन्थ्यो। सकिन्जेल खट्नु भएको थियो।
भित्रभित्रै रोगले थलाउँदै गरेको बालाई अन्तमा भदौ महिनाको मध्यतिर लडाई छाड्यो अज्ञात रोगले।
बा लडे। ओछ्यान परे। घरमा भए भरको सिरक ओढिदिँदा पनि बा लुगलुग काँप्नु हुन्थ्यो। बा थले पनि पाक्दै गरेको बारीको बाली नउठाउने कुरा भएन। सकिनसकी स्कुलबाट बचेको समय आमालाई सघाउन अघि परिरहेँ। केही खेतालोको साथले थन्काए पाकेका बारीका बालीहरू।
बा ढलेपछि उहाँको उपचार केवल धामी र झाँक्रीमा सीमित रह्यो। अझ एउटा बिर्सनै नसकिने कुरा, हाम्रो पाखो बारीको एउटा पाटोको घारीमा ठुलो ओडार थियो। जुन ओडारमा बनझाँक्री बस्छ भन्ने मिथक थियो। विश्वस्त हुनुहुन्थ्यो मामाघरको हजुरबुबा त्यो ठाउँमा बनझाँक्री बस्छन् भन्ने कुराको। त्यसैले प्रत्येक वर्ष बाली लगाउने र बाली टिप्ने बेला पूजा गर्ने गरिन्थ्यो; एक जोडी कुखुराको भाले र पोथीको हत्या गरेर। उनीहरू सधैँ खुसी रहून् भनेर।
बा बिरामी पर्नुको कारण तिनै नदेखिने बनझाँक्रीलाई बनाइएको थियो। बा बिमार परेपछि दुई/तीन पटक पूजा गरेको याद छ।
सम्झना छ, बालाई ज्वरो आयो। त्यसपछि बिस्तारै अरू-अरू रोग थपिँदै गएको। बाको पेटमा ठुलो साह्रो डल्लो थियो। त्यो डल्लो यताउता चल्थ्यो। कहिलेकाहीँ कुन्नि कता पुगेर हो बेस्सरी दुख्यो भन्नुहुन्थ्यो। त्यो बेला आमाले तेल तताएर मालिस गर्नुहुन्थ्यो। अनि बिस्तारै दुखाइ कम भयो भन्नु हुन्थ्यो बाले।
अलि पछि गएर हाइड्रोशील भयो। हाइड्रोशील हुँदा कुन्नि कसले सिकाएछ, आमालाई शुद्ध गाईको नौनी हरियो सालको पातमा दलेर आगोमा तताएर सेकाए ठिक हुन्छ भनेर। आमाले त्यस्तै गर्दा तातो धेरै भएर होला बाको छालामा फोकै फोका आएको थियो। छाला पिल्सेर त्यसपछि झन् हिँडडुल गर्नै नसकिने हुनुभयो। बेला-बेलामा पेट फुलेर ठुलो हुन्थ्यो। कहिलेकाहीँ तीन-चार दिनसम्म चर्पी लाग्दैन थियो। रोगहरू पनि के-के हो के-के।
थिए होलान्, ठुलो सहरमा ठुला-ठुला अस्पताल। ठुला-ठुला धेरै जान्ने डाक्टर। तर ती सब कुराहरू हामीदेखि धेरै टाढा थियो। हामीले चाहेर पनि लग्न सकेनौँ कुनै अस्पतालमा।
एकलासमा अवस्थित आधा मान्छेलाई, आधा गाई-भैँसीलाई बनेको गोठमा बितिरहेको ती दिनहरू निक्कै कष्टकर थियो हाम्रो लागि। बाको स्वास्थ्य दिनदिनै बिग्रँदै थियो। हामीले धेरै चिन्ता गर्छौँ भनेर होला ‘मलाई ठिकै छ, बिस्तारै ठिक हुन्छु’ भन्नु हुन्थ्यो। तिमीहरू चिन्ता नगर मेरो लागि भन्नुहुन्थ्यो।
त्यो बेला मसँग केवल मन थियो। मनमनै बालाई मनकै ठुलो अस्पतालमा भर्ना गरेर बा निको भएर घर फर्केको कल्पना गरिन्थ्यो।
जीवन कल्पनामा होइन यथार्थमा बगिरहेको हुन्छ। त्यहीँ बहावमा बग्दै थियौँ हामी, बिरामी बासँगै। बाको बिरामी कम हुनुको साट्टो बढ्दै थियो। भगवान् भरोसामा थियौँ हामी।
कामको चटारो थियो। दसैँ नजिकिँदै थियो। दसैँ अगाडि पाकेको सबै बाली भित्र्याएर गाउँमा सर्नु थियो दसैँ मनाउन। सबैभन्दा बेस्सरी काम गर्ने बा नै बिरामी परेपछि कामहरू लथालिङ्ग भएको थियो।
मध्य भदौदेखि बिरामी परेका बा, बिरामी अवस्थामै भदौ महिना बिताइयो। असोज लाग्यो। असोजको अन्तिमतिर सुरु हुँदै थियो दसैँ। लगभग बारीको काम सकिसकेको थियो। दसैँको लागि चाँजोपाँजो मिलाउनु थियो। बितेको दसैँहरूमा बा अघि सरेर सबै काम गर्नु हुन्थ्यो। त्यो पालाको दसैँमा आमा अघि नसर्नुको विकल्प थिएन।
बाको संवेदनशील अंगको घाउले गर्दा केही समय बेँसीमै बस्ने निर्णय गरेका थियौँ। बाहिरी घाउले भन्दा भित्र-भित्रै च्याप्दै गरेको अज्ञात रोगले बा दिन प्रतिदिन शिथिल हुँदै थिए।
बा बिरामी भए भन्दैमा मामाघरको बाजे-बजुले दसैँ नमान्ने कुरा थिएन। बितेको वर्षहरूमा जस्तो घर कमेरो माटोले रंगिएन। साथसाथै हामीलाई नयाँ कपडा ल्याउने कुरै भएन। दसैँमा आउने पाहुना पातलाई खुवाउन र पिलाउन चाहिने सामाग्रीको जोहो गर्नु नै पर्यो।
त्यहीँ भएर आमा असोज १५ गते चिउरा कुट्न र दसैँलाई चाहिने सामान लिन गाउँदेखि टाढा पर्ने लामिडाँडा बजार जानुभयो। लगभग आधा दिन हिँडेर।
आमा गएपछि बासँग भाइ र म मात्रै थियौँ। आमा गएको दिन बा उस्तै हुनुहुन्थ्यो, पहिले जस्तै। साँझ पर्यो, आमा त्यही दिन आउने कुरै थिएन। बिरामी बासँगै डराई डराई बिताइयो रात। बालाई त्यस्तो केही भएन।
भोलिपल्ट उज्यालो भयो। सक्ने काम गरेँ, बालाई तातो पिठोको खोले बनाएर ख्वाएँ। घाम एक जुवा जति माथि पुगेको हुँदो हो। गाउँबाट हजुरबुबा आउनु भयो। हाम्रो बारेमा बुझ्नु भयो र आमा घर नआइपुगेको खबर दिनु भयो।
नसके पनि सक्नु पर्ने थियो कामहरू, सकिनसकी गरेँ। भाइ बुबाको लागि साथी बस्यो।
साँझ पर्यो। बालाई केही खानेकुरा बनाएर खुवाएँ। अनि सुत्ने तरखरमा लाग्यौँ हामी तीन जना। भाइ निदाइसकेको थियो। म बासँग बोल्दै थिएँ। बाले बोल्दाबोल्दै एक्कासि अनुहार बिगारेर पीडा भएको कुरा सुनाउनु भयो। पीडा पेटमा थियो। खपी नसक्नु गरी दुख्यो भन्नुहुन्थ्यो पहिले पनि। त्यस्तै त्यो रात पनि बालाई दुखेको कुरा थाहा पाएँ।
हामीले गर्न सक्ने केही थिएन, बिहान कुर्नु सिवाय।
बालाई यति छटपटी भएको थियो कि अहिले सम्झँदा पनि आङ सिरिङ्ग भएर आउँछ। बाको दुखेको ठाउँमा मेरो सानो कलिलो हातले सुमसुम्याएँ। तेल तताएर मालिस गरिदिएँ। दुखाइ कम हुँदै भएन। बा पीडाले छटपटिएर चिच्याउनु हुन्थ्यो। आमालाई सम्झनु हुन्थ्यो।
औँसीको निष्पट रात। बाहिर पूरै अन्धकार। वरिपरि कसैको केही थिएन, पूरै पाखा हाम्रो भएकोले। गोठको बार्दलीबाट चिच्याएर जति बोलाए पनि कसैले सुन्ने कुरै थिएन।
त्यसरी दुख्दा आमाले तातो पानी तताएर दिनु हुन्थ्यो। हामीले पनि त्यसै गरिरह्यौँ रातभरि। भाइ बेलाबेलामा निदाउँथ्यो। म भने सिंगो रात आँखा झिमिक्क नगरी बसेँ। बिहानीपख बा लोलाएर सुत्नु भयो। अर्थात् ओच्छ्यानमा ढल्नु भयो। ओढ्ने मिलाएर ओढाएँ बालाई। आफू पनि सुतेँ बासँगै। रातभरको निद्राले म त झपक्कै निदाएछु।
एक्कासि ठुलो मान्छेको आवाजले बिउँझिएँ। ठुलो आवाज हजुरबुबाको रहेछ। आमा पनि आउनु भएछ। अबेर राति गाउँमा आइपुग्नु भएको रहेछ। बिहानै आउनु भएछ गोठमा।
म बिउँझिएँ, भाइ पनि बिउँझियो। तर बा बिउँझिनु भएको थिएन।
आमा बा छेउमा बसेर रुँदै हुनुहुन्थ्यो। हजुरबुबा पनि दुखी देखिनु हुन्थ्यो। बिस्तारै हाम्रो गोठमा मान्छेहरू आउँदै थिए। किन आएको हो भनेर थाहा थिएन मलाई। त्यसरी त्यत्ति धेरै मान्छे आएको पहिलो पटक थियो त्यो गोठमा।
आमा बेस्सरी बिलौना गर्दै रुँदै हुनुहुन्थ्यो। म पनि मर्छु अनि सँगै जान्छु भनेर कोशीको बाटो ताकेर भाग्न खोज्नु हुन्थ्यो। छिमेकी आमैहरूले समातेर राख्नु भएको थियो आमालाई।
यत्ति धेरै कुराहरू हुँदासम्म पनि थाहा थिएन मलाई बाको मृत्यु भएको कुरा। बाको कतिखेर मृत्यु भयो थाहै भएन। बा लोलाएर ढल्नु भएको थियो बिहानीपख। सोचेँ, बालाई निद्रा लागेछ। त्यहीँ भएर सिरक ओढाइदिएर आफू पनि सँगै सुतेको थिएँ। म र भाइ, मृत्यु भइसकेको बासँगै सुत्यौँ कि निदाएको बासँग सुत्यौँ थाहै भएन।
कलिलो घाम बिस्तारै जवान हुँदै थियो। हामीहरू सबै शोकाकुल भएका थियौँ। आमा रुँदारुँदै पटक-पटक बेहोस हुनुहुन्थ्यो। बाको मृत्युको खबर मेरो जन्म गाउँमा पुगिसकेको रहेछ। बिस्तारै मेरो गाउँको दाजुभाइहरू आउँदै थिए। बाको बाले मेरो छोराको पार्थिव शरीर आफ्नै गाउँमा लग्छु भनेर कुरा गर्नुभयो मावली हजुरबुबासँग।
उहाँले यति भन्नुभयो, ‘सम्धीज्यू, हजुरको जो बिचार।’
छोटो कुराकानी सक्काएर गाउँले गुठियार दाजुभाइहरूले बालाई बोक्न डोली बनाए। बालाई गोठको तलाबाट बाहिर निकालेर आफ्नै गाउँ आउने बाटोतर्फ डोराए, डोलीमा हालेर।
बालाई त्यसरी लाँदै गर्दा प्रायः त्यहाँ उपस्थित महिलाहरू सबै रोएका थिए। कतिलाई त म चिन्दिन थिएँ र पनि उनीहरू रुँदै थिए। उनीहरू रोएको देखेर म रोएँ। मसँगै भाइ रोयो। हामी रोएको देखेर आमा झन् बेसी रुन थाल्नु भयो।
ठिक त्यही बेला मलाई कसैले भने- ‘तिमी जेठो छोरा हौ। हुन त तिमी सानै छौ र पनि अब रोएर होइन निडर भएर जेठो छोरा भएकोमा बाले बोकेको जिम्मेवारी तिमीले बोक्नु पर्छ। तिमी रुनुभन्दा आमालाई सम्झाउने कोसिस गर।’
ती मान्छेले त्यो बेला भनेको कुरा केही बुझेको थिइनँ तर अचेल बुझ्दै छु।
बालाई ब्ल्याङकेटको डोलीमा हालेर आफ्नै जन्मघर ल्याइयो। बासँगै हामी पनि आफ्नै घरमा आइपुग्यौँ। पहिला-पहिला हिँड्न गाह्रो भो भन्दै बाको काँधमा चढेर हिँड्ने बाटोमा मृत्यु भएको बाको लाससँगै कसरी हिँडेर आइपुग्यौँ होला घर, हिजोआज सम्झँदा मन दुखेर आउँछ।
रीतिरिवाज अनुसार बाको दाहसंस्कार गरियो। तेह्र दिनसम्म आमा नै बस्नुभयो बरखी, हामी सानै भएको कारण। काजक्रिया गरियो। ४९ औँ दिनमा विशेष किरिया पूजा गरियो।
बिस्तारै बा कहिल्यै नबिर्सने सम्झना भएर बाँचिरहे स्मृतिमा। बाको देहावसान भएको केही वर्षपछि आमाले पनि बाले रोजेको बाटो छिट्टै रोज्नु भयो। दुवै जना शाश्वत मृत्युको प्रिय बने तर अलि चाँडै।
आफै बाँचेको जीवनको हिसाबकिताब गर्दा बा-आमाभन्दा पनि जेठो भइसकेको छु। उहाँहरूले भन्दा बेसी जीवनको अनुभव बटुलेको छु। मेरा बा-आमा म जत्तिको बुढो हुनु पर्दैन कहिल्यै।
सबै कुरा सहनु पर्दो रहेछ। थाहा छैन कहिलेसम्म सहनु पर्ने हो! जतिन्जेल सहेर जीवन बाँचिरहन्छु, त्यतिन्जेलसम्म बिर्सने छैन त्यो बितेको दिन जुन दिन ममाथि रुन अलिकति रोक लागेको थियो।