साँच्चै मानिसको आँखाले कतिसम्म देख्नसक्छ? कति किलोमिटरसम्मको दृश्य ठम्याउन सक्दछ? सामान्यतया, सफा र खुला आकाशमा मानिसको आँखाले लगभग ४.८ देखि ५ किलोमिटर टाढासम्मको दृश्य स्पष्ट रूपमा देख्न सक्छ। यसमा कुनै ठूला वस्तु, जस्तै पहाड, भवन, वा अग्ला संरचना अगाडि छैन भने आँखाले लगभग ३ माइल (४.८ किलोमिटर) टाढासम्म दृश्य सजिलैसँग पहिचान गर्न सक्छ।
तर अहिलेको सहरमा दृश्यको अवस्था एकदमै फरक छ। अग्ला भवन, महल, र गगनचुम्बी घरहरूले आँखाको दृश्यलाई संकुचित बनाइदिएका छन्। खुला दृश्यको सट्टामा आधुनिक सहरको संरचना, अग्ला ठूला भवनहरूको भिड र संकुचित गल्लीहरूले हाम्रो दृश्यलाई परबाटै सीमित गरिदिएका छन्।
अझ कतिपय गल्ली यस्ता पनि छन्, त्यहाँबाट खुला आकाश समेत देख्न मुस्किल छ। जताततै उचाइमा भएका संरचनाले आकाशका दृश्यलाई समेत छेकेको छ। जसले गर्दा खुला आकाश र प्रकृतिको दृश्य सहरमा दुर्लभ नै भएको छ। आकाशका ताराहरू हेर्ने सम्भावना कम छ र सहरको जीवनशैलीले गर्दा प्रकृतिसँगको सीधा सम्पर्क घट्दै गएको छ।
केही दशकअघिसम्म उपत्यकाका मुख्य सहरबाहेक अलिकति परका सबै जमिनहरू खाली थिए। घरको छतबाटै टाढाटाढासम्मको दृश्य हेर्न सकिन्थ्यो। मलाई एक दशकअघि काठमाडौं आउँदाको दृश्य ताजा भएर आउँछ। हामी जहाँ बस्थ्यौं, त्यहाँ एकदमै थोरै घर थिए। खेतीयोग्य जमिनहरू प्रशस्त थिए। हामीलाई सहरमा बसे पनि असार लाग्थ्यो। मंसिरको चटारो हुन्थ्यो। तरकारी र फूलहरू हाम्रै आँखा अगाडि टन्नै थियो। त्यतिमात्रै होइन फाट्फुट्ट भएका घरहरूबीच गाउँको जस्तै आत्मीयता थियो। हामी एकअर्काको घरमा भएका खानेकुरा बाँडेर र अप्ठ्योरामा साथ दिएर भावनात्मक हिसाबले नजिक हुन्थ्यौं। त्यो समयको स्मृति नै साँच्चै मजाको थियो।
मैले घरको छतबाट हेर्दा हराभरा र खेती गरिएको जमिन देख्थेँ। परैबाट देख्दा पनि ती मानिसहरूमा आत्मीयता भेट्थेँ। आफ्नोपन भेट्थेँ। फेरि, करिब एक दशकपछि म त्यही ठाउँमा, त्यही घरको छतमा बसेर हेर्छु। मैले त्यहाँ घरैघर, छतभरि ट्यांकी, छतभरि सुकाएका लुगा र छतमा बसेर खेल्दै गरेका केही केटाकेटी मात्रै देख्छु। फेरि सोच्छु, यति छिट्टै यो ठाउँ कसरी कंक्रिटको सहरमा परिणत भयो। जहाँ आत्मीयता छैन, केवल देखावटी मात्रै छ। सहयोग छैन केवल स्वार्थ मात्रै छ। मानवीयता छैन, मात्रै व्यावसायिकता छ। मैले न छिमेकी चिन्छु न तिनीहरूसँग मेरो हाई-हेलोको सम्बन्ध नै छ। अहो, कति छिट्टो परिवर्तन भयो, हिजो गाउँजस्तो लागेको सहर पनि भनेर दुखी हुन्छु।
विभिन्न अध्ययनहरूले देखाएको छ कि प्रकृतिको दृष्य हेर्नु वा हरियाली वातावरणमा रहनु मानसिक स्फूर्ति र सान्त्वनाका लागि लाभदायक हुन्छ। अहिले सहरको घना निर्माणले आँखालाई संकुचित दायराभित्र सीमित बनाइदिएको छ। सहरको तीव्रतर विकास र महलबाहेक नदेखिने दृश्यले मानिसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको छ।
खुला ठाउँको अभावमा मानिसहरूले तनाव महसुस गर्ने, थकित हुने र दिमागी स्फूर्ति गुमाउने समस्याहरू विश्वव्यापी रूपमै बढ्न थालेका छन्। यसबाट केवल आँखाको दृश्यलाई मात्र होइन, मानव मनको चाहना र सौन्दर्यबोधलाई पनि सीमित तुल्याएको छ। तसर्थ, विश्वव्यापी रूपमै सहर छोडेर गाउँतिर वा शान्त एरियातिर पुगेर घर बनाएर बस्ने प्रचलन बढ्न थालेको छ।
अग्ला भवन, घरैघर र कंक्रिटले मानिसहरू अशान्त भएसँगै प्रकृतिसँग बस्न र प्राकृतिक वातावरणमा फर्कने अभियान नै चल्न थालेका छन्। जसमध्येको चर्चित अभियान इको टुरिजम भन्ने रहेको छ।
पछिल्लो तथ्यांकअनुसार इको टुरिजममा वार्षिक १०–१५ प्रतिशतको वृद्धि हुन थालेको छ। सो अभियान अन्तर्गत मानिसहरू जंगल, पहाड, नदी र समुद्र किनारजस्ता प्राकृतिक क्षेत्रहरूमा समय बिताउन चाहन्छन्। यो प्रवृत्ति विशेष गरी युवाहरू र पर्यावरणमा चासो राख्ने व्यक्तिहरूमा लोकप्रिय बन्दै गएको छ।
अर्को भनेको पार्क र हरियाली क्षेत्रहरूको वृद्धि हो। ठूला सहरहरूको विस्तारपछि अहिले विश्वव्यापी रूपमै ठूला पार्कहरू र हरियाली क्षेत्रहरूको विस्तार हुन थालेका छन्। उदाहरणका लागि, न्यूयोर्कको सेन्ट्रल पार्क, लन्डनको हाइड पार्क र सियोलको छङग्येछेओन स्ट्रिम पार्क आदि।
यस्ता पार्कहरूमा मानिसहरू नियमित रूपमा प्रकृतिसँग नजिक हुने अवसर पाउँछन्। जहाँ हजारौं व्यक्तिहरू बसेर घण्टौं समय खर्चिन गर्छन्।
पछिल्ला दिनमा ‘डिजिटल डिटॉक्स’ र ‘फरेस्ट बाथिङ‘ जस्ता अवधारणा पनि उत्तिकै लोकप्रिय बन्न थालेका छन्। फरेस्ट बाथिङ, जसलाई जापानी भाषामा शिनरिन–योकु भनिन्छ। जसको अर्थ जङ्गलको वातावरणमा डुबुल्की मार्ने वा जङ्गलको हावा महसुस गर्ने भन्ने रहेको छ। मानसिक र शारीरिक स्वास्थ्य लाभका लागि प्राकृतिक वातावरण, विशेष गरी जङ्गलमा समय बिताउने विधि अन्तर्गत यो अवधारणा चर्चित छ। शान्त वातावरणमा रहनु, प्राकृतिक दृश्य र ध्वनिहरूको अनुभूति गर्नु, हावा र प्रकाशको प्रभावलाई महसुस गर्नुजस्ता सरल तरिकाबाट यो अवधारणा चर्चित छ।
त्यस्तै,पछिल्ला दिनमा लोकप्रिय बन्दै गएको डिजिटल डिटॉक्स नामक अवधारणाले डिजिटल उपकरणहरू जस्तै स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक डिभाइसबाट केही समय टाढा बस्ने अभ्यासमा जोड दिन्छ। यसको मुख्य ध्येय डिजिटल संसारबाट अलग भएर मानसिक शान्ति, ध्यानको सुधार र व्यक्तिगत सम्बन्धमा सुधार गर्नु रहेको छ। लगातारको अनलाइन सम्पर्क र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक थकान, तनाव, र ध्यान केन्द्रित गर्ने क्षमतामा कमी ल्याउने हुँदा यो अवधारणको विकास भएको हो।
मानिस प्रकृतिको सामीप्यमै रहन विकास भएको अर्को अवधारणा सहरी खेती पनि हो। विश्वका विभिन्न ठूला सहरहरूमा सहरी खेती र बगैंचाको विकास लोकप्रिय भइरहेको छ। मानिसहरू आफ्नै छत, बाल्कनी, र खाली जमिनमा साना–साना तरकारी, फूल र फलफूल खेती गर्न चाहन्छन्। बगैंचामा काम गर्दा मानिसले मानसिक तनावबाट छुटकारा पाउँछन्। सहरी जीवनको चापबाट मुक्त भएर माटोसँगको सम्पर्कले मानिसलाई मानसिक शान्ति दिन्छ।
पछिल्ला दिनमा विभिन्न लोकप्रिय अवधारणा ल्याएर मानिस घनाबस्ती र सहरबाट टाढा जान खोजिरहेको छ। तथ्यांक हेर्ने हो भने पनि नेपालमा सहरी क्षेत्रको विकास दर औसतमा ६ प्रतिशतको हाराहारीमा बढिरहेको देखिन्छ। एक सर्वेक्षणमा देखाइएको छ कि करिब ७० प्रतिशत मानिसहरूले आफ्नो घरबाट पहाडहरू देख्न छोडेका छन्। अग्ला भवनले आकाशको एक ठूलो हिस्सा ढाकिदिएपछि मानिस प्रकृतिसँगको सम्बन्धमा पनि टाढिन गएको अनुभूति गर्न थालेको छ। योसँगै नयाँ–नयाँ मोडलका भवनहरूको निर्माणले सहरको सुन्दरता बढाएको जस्तो देखिए पनि मानिसको आँखाको दायरा साँघुरो बनाइदिएका छन्। घरका भित्ता, छाना र पर्खालबाहेक सहरी एरियामा बस्नेले केही हेर्न पाउँदैन। उतातिर गाउँमा भने सबै खेतबारी बाझाँ भएका छन् भने घरहरू पनि खाली खाली छन्। मानिस भएका घरमा पनि बुढाबुढी र अशक्त मात्रै देखिन्छन्।
सहरको सुन्दरता कायम राख्न सरकारी र सरोकारवाला निकायले केही कामहरू गर्नु जरूरी देखिन्छ। मानिस र प्रकृतिको सम्बन्ध बचाउन सरकार र स्थानीय निकायहरूले थुप्रै हरियाली पार्कहरू, रूख र वनस्पति संरक्षण गर्ने स्थानहरूको व्यवस्थापन गर्नु आवश्यक छ। साथै, भवन निर्माणको क्रममा हरियाली क्षेत्र छुट्याउनुपर्ने र अग्ला भवनहरूलाई निश्चित मापदण्डभित्र राख्नु पनि अति आवश्यक छ। सानासाना घरका बीचमा ठूलो भवन बनाउँदा मानिसहरूले थुप्रै कठिनाइहरू खेप्नु परेको छ।
बढ्दो सहरीकरण र अग्ला संरचनाहरूले मानिसलाई धेरै अवसरहरू त दिएको छ तर योसँगै प्राकृतिक वातावरण, खुला आकाश, र हरियालीले भरिपूर्ण दृष्य बिस्तारै हराउँदै गएका छन्। यस विषयमा सरकार र सरोकारवाला निकाय गम्भीर नहुने हो भने मानिस र प्रकृतिबीचको सम्बन्ध झनै कमजोर हुनसक्छ। तर, यो सम्भव भने छैन। किनभने प्रकृति र मानिस एकअर्काका परिपूरक हुन्। एकको अभावमा अर्काको अस्तित्व रहनसक्दैन। त्यतिमात्रै होइन, ठूला भवनले खुम्चिएका आँखाको दायरा र कस्मेटिक सम्बन्धहरू अझै खुम्चिन सक्छन्। तसर्थ मानिसको मौलिक अधिकारमै पर्ने प्रकृति र मानवबीचको सामीप्यता बचाइराख्न सहरमा बस्नेहरू थप सचेत हुनु जरूरी छ।